साँझको साढे सात बजिसकेको थियो।
‘हेलो दाइ, हजुरको घर मैले भेटाउनै सकिनँ,’ मैले फोनमा भनेँ।
‘हो र! त्यसो भए चोकमा आएर बस्नुस् न त, म लिन आउँला। छ/सात मिनेट लाग्ला,’ उताबाट उत्तर आयो।
‘हुन्छ म बाइकमा हुन्छु, सेतो एनएस मा! ख्याल गर्नुहोला,’ मैले भनेँ।
‘हुन्छ म हिँडेँ है त,’ उत्तर आयो।
त्यसको लगभग दस मिनेटपछि मेरो अगाडिबाट एउटा आवाज सुनियो, ‘हजुरको नाम शिशिर हो?’
सारस चराझैँ टाउको झुकाएर मोबाइलमा गढेको मेरो ध्यान अगाडिबाट आएको त्यो आवाजतिर मोडियो।
पाइन्टको गोजीमा मोबाइल राख्दै मैले भनेँ, ‘हजुर हो! मलाई फोन गर्नु भएको हजुरले नै हो?’ मैले प्रश्न गरेँ।
‘हजुर हो,’ मैले प्रतिउत्तर पाएँ।
‘पछाडि बस्नुस् न त,’ मैले आग्रह गरेँ।
त्यसपछि ती दाइले भनेको तिर मैले आफ्नो बाइक घुमाएँ। अलिक अघि पुगेपछि मैले एकान्तमा एउटा तीन तले घर देखेँ।
‘कुन घर हो? यही हो र?,’ मैले औँल्याउँदै सोधेँ।
‘हैन हैन, अलिक अगाडि नै छ,’ उत्तर आयो।
पिच बाटो सकिएर अब हिलै-हिलो बाटोको सुरुआत भयो। हिलोमा बाइकको टायर फिस्स-फिस्स चिप्लिँदै थियो! कसो कसो कन्ट्रोल गरी अगाडि लग्दै गएँ।
‘अब यताबाट बायाँ गएपछि आइहाल्यो,’ दाइले भन्नुभयो।
अलि अघि एउटा सानो खरले छाएको घरनेर पुगेपछि दाइले मेरो कुममा थपथपाउनु भयो। मैले संकेत बुझेँ। बाइक साइड लगाएँ।
‘यही हो घर।’
घरतिर जाँदै थियौ, त्यही बेला आकाश जोडले गर्जियो।
‘अहो! पानी पो पर्छ कि क्या हो,’ टिनको पातोको ढोका उघार्दै एउटी बुढी आमा बाहिर निस्किन्।
‘आमा, नमस्ते!’
‘नमस्ते बाबु।’
म भित्र पसेँ।
मेरा आँखा चारैतिर घुम्न थालेँ। बायाँतर्फ एउटा स्टिलको पुरानो दराज थियो। दराजको छेउतिर यत्रतत्र छरिएका पोकाहरू! दायाँतर्फ भने माटोको चुलोमाथि कालो कराई टमक्क बसिरहेको थियो। लम्बरत रूपमा रहेका दुई वटा खाटहरूलाई फाटेका सिरकका खोल र दुलो परेका झुलले सिँगारेका थिए। भुइँ माटोले बनेको थियो। कतै उठेको कतै दबेको, एकनासको थिएन।
‘झोला बिसाउनु बाबु,’ आमाले भन्नुभयो। मैले आफ्नो झोला कुर्सीमाथि राखेँ।
‘कालु, ओए कालु, हेर त, को आएको छ,’ दाइले खाटमुनि लुकिरहेको कुकुरलाई बोलाउनुभयो। आँखा, कान चनाखो पार्दै कालु खाटमुनिबाट सुस्त बाहिर निस्कियो। कालुको शरीरभरि सेतो कपाल थियो।
मैले कौतुहलतापूर्वक सोधेँ, ‘शरीरभरि सेतो कपाल छ अनि नाम चाहिँ कालु?’
यही बेला आकाश फेरि जोरले गर्जियो!
‘अँ, बाबु, सानैदेखि मायाले कालु भन्ने गरियो। अनि अहिले नि कालु नै भन्छौँ,’ आमाले मुसुक्क हाँस्दै भन्नुभयो।
त्यसपछि मैले कालुको समस्याको बारेमा सोधेँ। दाइले भन्नुभयो, ‘नाकबाट पानी जस्तो बगिरहन्छ बेलाबेलामा। खाना पनि खानै छोडिसक्यो कति दिन भयो। कति मोटो थियो अस्तिसम्म, अहिले दुब्लाएर करङ सबै देखिएको छ। हल्का शरीर नि तातिए जस्तो गर्छ बेलाबेलामा।’
दाइबाट हिस्ट्री राम्रोसँग लिएपछि मैले आमातिर नजर फर्काएँ। आमाले थप्नुभयो, ‘केही भा’को हैन बाबु यसलाई, मैले कत्ति भनेको कालुलाई धेरै पानी परेको बेलामा बाहिर डुलाउन न लैजा भनेर! मान्दै मानेन अनि अहिले बिरामी नभएर के हुन्छ त!’
‘हजुर धेरै नबोल्नु त आमा,’ दाइले भन्नुभयो।
मैले फिजिकल परीक्षण गरेँ। ज्वरो पनि नापेँ। दुवै नाकबाट पानी बाहिर आइरहेको थियो। ज्वरो पनि उच्च थियो। धेरै दिनको ज्वरो र खानपिन अरुचिको कारणले गर्दा कालुको शरीरमा निर्जलीकरण र कमजोरी गढिसकेको थियो।
‘कालुलाई सलाइन पानी चढाउन पर्छ। औषधीहरू पनि नशाबाटै चलाउन पर्छ! सबै औषधी मसँगै छ, एउटा छैन! त्यो म लेखिदिन्छु कागजमा, मेडिकलमा गएर ल्याउनु है,’ मैले भनेँ।
मैले कागजको चिर्कटोमा लेखेँ, ‘डिएनएस– १ बोतल’ र दाइलाई दिएँ।
‘पानी पर्छ जस्तो छ, छाता लिएर जानु,’ मैले सुझाव दिएँ। दाइले उत्तर दिनुभयो, ‘हाम्रो छाता एउटा भाइले लगेको छ, म आइहाल्छु नि, पानी नपर्ला त्यतिन्जेल!’
‘कतै नभुली झट्टै आइहाल है बाबु,’ आमाले भन्नुभयो।
दाइ कागजको चिर्कटो गोजीमा हालेर औषधी लिन जानुभयो।
चिसो हावा चलिरहेको थियो। म घर भित्रैबाट चिसो स्याँठ महसुस गर्न सक्थेँ। घरको भित्ता पनि खरले नै बनेको थियो। भित्तामा रहेका लाम्चा-लाम्चा प्वालबाट पर रहेका गगनचुम्बी सिमेन्टका घरको झिलिमिली मज्जाले हेर्न सकिन्थ्यो।
‘अनि बाबुको घर कता पर्यो नि?,’ आमाले सोध्नुभयो।
‘कपिलवस्तु हो आमा अनि हजुरहरू पहिल्यैदेखि भैरहवामा बस्नुहुन्छ?,’ म सोध्दै थिएँ कि अचानक एकदम जोर-जोरले पानी परेको आवाज आयो।
‘ओहो, पानी त परिहाल्यो! कमल(नाम परिवर्तन) भिज्ने भयो अब,’ आमाको अनुहार खुम्चियो। ‘रोकिएला नि आमा,’ मैले भनेँ।
‘बाबु, झोला खाटमा राख्नु है, त्यहाँनिर पानी चुहिन्छ,’ आमाले भन्नुभयो। मैले झोला खाटमा सारेँ।
खरको छानोले मुसलधारे पानी के छेक्न सक्थ्यो र! छतको विभिन्न ठाउँबाट पानी चुहिरहेको थियो। आमाले पानी चुहिरहेको ठाउँको तल कचौरा र बाटा थाप्नुभयो। मैले झोला राखेको कुर्सीमाथि पनि पानी तपतप खस्न थाल्यो।
यो सब देख्दा मनमा हल्का कस्तो-कस्तो महसुस हुन थाल्यो। आमातिर हेरेँ। आमाको र मेरो नजर जुध्यो। आमाले टिलपिल-टिलपिल आँखा लिँदै भन्नुभयो, ‘एउटा टिनले छाएको सानो घर बनाउने भनेर केही समय यो अस्थायी घरमा बसिरहेका छौँ बाबु, तर खै कहिले बनाउने हो, धेर समय भइसक्यो।’
कालु हाम्रो कुरा सुनिरहेको थियो अर्को खाटबाट। आमाले थप्नुभयो, ‘कालु सानो हुँदादेखि नै हामीसँग छ, पहिले देखिको सहारा नै यही हो। एकदमै माया लाग्छ कालुको, आफ्नै परिवारको सदस्य जस्तै। बिरामी हुँदा केही भइहाल्ला कि भन्ने डर लाग्छ। त्यही भएर छिटो उपचार गराइहाल्छौँ।’
‘हजुरहरू पहिला कता बस्नु हुन्थ्यो र?,’ मैले सोधेँ।
‘पहिला उता बजारतिर भाडामा बस्थ्यौँ। एउटा सानो घर नबनाई भएन भनेर यता आएको! खै, यता पनि कहिले बन्ने हो, ठेगान छैन बाबु,’ आमाले उत्तर दिनुभयो।
आकाश फेरि जोडले गर्जियो। भुइँ थरथराउन थाल्यो। पानी झन् बेस्सरी पर्न थाल्यो। कचौरा र बाटा भरिन लागे। आमाले भरिएका कचौरा र बाटालाई पानी फालेर यथास्थानमा राख्नुभयो। मैले औषधीहरूको मात्रा तयार पार्न थालेँ। कालु मलाई टुलुटुलु हेरिरहेको थियो।
‘आमा, दाइ त अझै आउनु भएन त। कतै ओत लाग्नु भयो जस्तो छ! फोन गर्न पर्यो,’ मैले भनेँ। ‘हुन्छ, बाबु, मेरो फेरि फोन छैन, बाबु,’ आमाले भन्नुभयो!
‘हैन आमा, केही भएन! म गरिहाल्छु नि,’ मैले भनेँ।
मैले दाइको नम्बर डायल गरेँ। एकछिन घण्टी बजेपछि दाइले फोन उठाउनुभयो र मैले सोधेँ, ‘हेलो दाइ, हजुर कता हराउनु भयो? म कुरिरहेछु हजुरलाई। औषधी लिनुभयो कि नाइँ?’
उताबाट जवाफ आयो, ‘भाइ, म आउँदै छु। एकजनालाई छाता माग्या छु, औषधी पनि लिइसकेँ।’
‘ए, हुन्छ दाइ, आइहाल्नु है त,’ मैले फोन राखेँ।
‘आमा, दाइ आउँदै हुनुहुन्छ रे,’ मैले भनेँ।
‘ए, ठिक छ! अनि बाबु, हजुरको यता अब कति छ त बसाइ?’ आमाले सोध्नुभयो।
‘धेरै छैन आमा अब, एक वर्ष जति होला धेरैमा धेरै भए। अनि आमा, दाइले के काम गर्नुहुन्छ नि?,’ मैले सोधेँ।
‘सानोतिनो काम गरिरा’छ भैरहवामा अहिलेलाई, विदेश जानको लागि तयारी पनि गर्दै छ,’ आमाले भन्नुभयो।
‘ए, कुन देश नि आमा?’ मैले सोधेँ।
‘कोरिया,’ आमाले लामो सुस्केरा लिँदै भन्नुभयो।
त्यत्तिकैमा दाइ आइपुग्नु भयो।
‘आइस् बाबु, कति ढिला गरेको त,’ आमाले चिन्ता व्यक्त गर्नुभयो।
‘मेडिकल पुग्नासाथ पानी दन्किन थाल्यो। यस्तो पानीमा भिजेर आउने आँट आएन। अनि त्यही ओत लागेर बसेँ। पछि अब पानी रोकिन्न जस्तो लागेपछि पसलेलाई छाता मिलाइदिन भनेँ। त्यति बेला नै भाइको कल आएको थ्यो,’ दाइले भन्नुभयो, ‘एकछिन कुरेपछि छाता पाएँ, अनि आइहालेँ।’
‘ए ल! यता भाइलाई नि ढिलो भइसक्यो! त्यो छाता राम्रोसँग स्याहारेर राख है बाबु, भोलि नबिर्सी फिर्ता गर्दिएस्,’ आमाले भन्नुभयो।
‘हुन्छ, आमा’ भन्दै दाइले कालुलाई म बसेको खाटमा इसाराले बोलाउनुभयो।
कालु टाउको निउँरिँदै दाइनिर आएर बस्यो।
‘मेरो कालु! मेरो कालुलाई अब सन्चो हुन्छ’ भन्दै दाइले कालुलाई मसार्नुभयो।
‘मसारेर मात्र हुन्छ! मैले कति भनेको पानी परेको बेलामा धेरै बाहिर डुलाउन नलैजाऊ छोरा भनेर। आमाले भनेको त मान्न पर्छ नि,’ आमाले हकारेझैँ गर्नुभयो।
‘अब बाहिर जान खोज्छ त अनि के गर्नु? माया लाग्छ धेरै,’ दाइ चड्किनु भयो।
‘उसले खोज्यो भन्दैमा लग्ने हो त?’ आमा गर्जिनु भयो।
‘भो, चुप लाग्नु त हजुर,’ दाइले कुरा टाल्न खोज्नुभयो।
‘लिनुस् दाइ, यो मास्क लाइदिनु कालुलाई मुखमा,’ मैले भनेँ। मास्क लगाएपछि मैले नशाबाट सलाइन पानी दिन थालेँ।
इन्जेक्सनमा औषधीहरू लोड गरिसकेको थिएँ। एउटा औषधी सलाइनको पाइपबाट दिन थाल्दै थिएँ, त्यही बेला दाइले सोध्नुभयो, ‘यो कुन औषधी दिएको? किन दिएको? केही त हुन्न नि यसले? डेट यक्सपायर त छैन नि औषधीको?’
एक्कासि यति धेरै प्रश्नहरू ममाथि आइलाग्दा म केही सेकेन्ड निःशब्द भएँ। मैले हाँस्दै उत्तर दिएँ, ‘हजुर कति आत्तिनु भएको? मलाई नि त कालुको माया छ, टेन्सन नलिनुस्।’
पहिलो औषधी दिएपछिको केही मिनेटपछि मैले फेरि अर्को इन्जेक्सन सलाइन पाइपबाट दिन के थालेको थिएँ, दाइ त फेरि उही प्रश्न दोहोराउन थाल्नुभयो।
‘ए कमल, बाबुलाई आफ्नो काम गर्न दे त,’ अर्को खाटबाट आमाले भन्नुभयो।
सलाइन बोतलबाट पानी पाइपमा थोपा-थोपा गर्दै चुहिरहेको थियो। पानीको लेभल अलि तल पुगिसकेको थियो! यो देखेपछि दाइले फेरि सोध्नुभयो, ‘यो कति दिने हो? धेरै त गएन होला नि?’
‘छैन दाइ,’ मैले दुई शब्दमा उत्तर टुङ्ग्याएँ।
भोलि बिहानै मेरो आन्तरिक परीक्षा पनि थियो, मेडिसिन विषयको। एक अक्षर केही पढेको थिइनँ। मोबाइलमा भएको नोट्स हेर्न थालेँ।
‘मैले तिमीलाई औषधीको बारेमा सोधेको सोध्यै गर्नुको कारण अरू केही हैन, कालुको मायाले गर्दा हो। कालुलाई म आफूभन्दा नि बढी माया गर्छु। उसलाई केही भइहाल्छ कि भनेर एकदमै डर लाग्छ। त्यही भएर बारम्बार सोधेको, तिमी आफू नि सजक हुन्छौ भनेर, औषधी गर्दा,’ मैले एक लाइन पढ्न नपाउँदै दाइले आफ्नो मर्का सुनाउनुभयो।
‘हजुर दाइ, म बुझ्छु यी कुराहरू,’ मैले भनेँ।
कालु त एउटा उदाहरण मात्र हो। आफूलाई भन्दा आफूले पालेको कुकुर-बिरालोलाई माया गर्ने मान्छेको जमात नेपालमा बढ्दो छ। कुकुर-बिरालोलाई सुरक्षाको हेतुले भन्दा पनि आफ्नो परिवारको सदस्य या भनौँ एउटा साथीको रूपमा भित्र्याउने गरिन थालिएको छ।
एउटा घटना सुनाउँछु। केही महिना अघिको कुरा हो। एउटा कुकुरको छालाको रोग उपचार गर्न एकजनाको घर गएको थिएँ। पछि कुरा गर्दागर्दै थाहा भयो कि उहाँको पूजा-सामग्रीको पसल रहेछ। उहाँलाई धेरै जनाले ‘पूजाको सामान बेच्नेले पनि कुकुर पाल्ने हो...’ आदि इत्यादि नानाथरी कुरा मान्छेहरूले सुनाउने रहेछन् तर उहाँले कुकुर पाल्न चाहिँ छोड्नुभएन।
कति मान्छे त उहाँको पसल आउन पनि छोडे रे, कुकुर पाल्छन् भन्ने थाहा भएर। उहाँको वाक मलाई अझै नि याद छ, ‘कुकुर-तिहारमा चाहिँ कुकुर कहाँ छ भन्दै टीका र अबिर लिएर बाटो-बाटो दौडिने अनि अरू बेला चाहिँ अशुद्ध हो भन्दै धपाउनेलाई अब के नै भन्न सकिन्छ र! मान्छेभन्दा बढी त कुरा कुकुरले बुझ्छ! मान्छेभन्दा बढी भरोसा लायक र वफादार त कुकुरहरू हुन्छन्।’
रातिको ९:३० बजिसकेको थियो। पानी पनि बिदा भइसकेको थियो। सबै औषधीहरू कालुलाई दिइसकेपछि मैले आफ्नो झोलामा सामान हाल्न थालेँ।
‘सकियो बाबु?,’ आमाले सोध्नुभयो।
‘आजलाई सकियो आमा, भोलि पनि गर्न पर्छ आज गरेजस्तै,’ मैले भनेँ।
‘बडो दुःखको काममा लाग्नुभएछ बाबु, जनावरहरूसँग काम गर्न कहाँ सजिलो छ !,’ आमाले भन्नुभयो।
म मुस्कुराएँ मात्र, केही बोलिनँ।
‘धेरै धेरै धन्यवाद भाइलाई,’ दाइले भन्नुभयो।
म मुस्कुराएँ।
‘हुन्छ दाइ, हुन्छ आमा म निस्किन्छु। भोलि मेरो परीक्षा पनि छ’ भन्दै म बिदाबारी भएँ।