सरर गाडीमा आधा निद्रामा अलिअलि रमाइरहेको मलाई लाग्दै थियो — म अझै सपनामा छु।
अमेरिका बस्दा सधैं जस्तो नेपालको डाँडाकाँडामा चरा खोज्दै हिँडेको सपना देख्ने बानी थियो। त्यो पल पनि मलाई अर्धनिद्रामै लाग्दै थियो, कतै म सपनामै पो छु कि?
तर सडकका घुम्ती, साना-ठूला खाल्डाले म नेपालमै छु भनेर झस्काइरहन्थे, त्यो पनि डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज जाने यात्रामा।
त्यति बेला सायद जाजरकोटको कुनै बाटोमा गुड्दै थिएँ। छेउमै भएकी भर्खरै बिहे गरेकी मेरो श्रीमती सविनाले पनि म मलाई नेपालमै छु भनेर सम्झाइरहेकी थिइन्।
नेपालका ५८ जिल्ला पुगिसकेको मलाई डोल्पा जान निकै मन थियो। डोल्पालाई मैले आफ्नो 'हनिमुन' गन्तव्य सोचेको थिएँ। सविनाको अर्कै सोच हुन सक्थ्यो। तर हाम्रो मन मिलेझैं सोच पनि मिल्यो। हामी दुवै चरा हेर्न रमाउँछौं। त्यसैले हाम्रो यात्रा तय भयो।
काठमाडौंदेखि नेपालगञ्जसम्म १८ घन्टे यात्रा, अनि नेपालगञ्जबाट फेरि दुनैको अर्को २४ घन्टाको यात्रा। धन्न, काठमाडौं-नेपालगञ्ज बस आरामदायी थियो।
रातको समय, घुमाउरो बाटो। फाट्टफुट्ट डाँडामा बलेका बत्ती र स-साना घर। लामो यात्रा हुँदा कहिले बिहान हुन्छ जस्तो लाग्थ्यो। बरू चराहरू हेरेरै रमाउन पाइन्थ्यो।
बिहान हुँदासम्म हामी जाजरकोटको तल्लु बगर पुगिसकेका थियौं। राति नै बसको टायर पङ्चर भएको रहेछ। तल्लु बगरमै बनाउन ठीक होला भनेर गाडी रोकियो। हामी चिया पिउने बहानामा चरा हेर्न बाहिर निस्कियौं।
बिहानको चिसोमा तल्लु बगरमा चरा-मुसो देखिएको थिएन। राजमार्ग छेउछाउ स-साना पसल बाहिर दुई-चार जना मान्छे आगोको वरिपरि बसेर गफमा व्यस्त थिए। हामी वरपर चरा खोज्न थाल्यौं। खासै केही भेटिएन। अनि एउटा सानो चिया पसलतिर लाग्यौं। चिया कुर्दै गर्दा, सविनाले एउटा रूखमा सानो डल्लो देखिन्।
'उल्लू पो हो कि क्या हो?' उनले भनिन्।
म हतार हतार दुरबिन लिएर त्यो रूखतिर हेर्न थालेँ। केही बेर हेरेपछि थाहा भयो, त्यो डल्लो उल्लू होइन रहेछ। पातको डल्लो मात्र थियो। हामी दुवै एकछिन हाँस्यौं। चिया सकिनै लाग्दा पहाडी कालो कागको बथान हाम्रो माथिबाट गयो। कम्तीमा त्यस दिनका लागि चराको बोहनी भयो।
तल्लु बगरदेखि सडक खास राम्रो रहेनछ। लगभग ५ घण्टाको यात्रा बसमा हल्लिएरै बित्यो। त्रिवेणीमा फटाफट खाना खाएर आकाशतिर हेर्न थाल्यौं। केही बेरमै आकाशमा बडेमानको चरा देखियो। धेरै माथि भएकाले ठ्याक्कै के हो भन्न सकिएन। दुरबिन निकालेर नियाल्न नपाउँदै हामी दुवै एकैचोटि करायौं— बियरडेड भल्चर!
अर्थात् हाडफोर गिद्ध।
यो चिन्न सकिने गिद्ध हो किनभने यसको पुच्छर किला आकारको हुन्छ। यसको अंग्रेजी नाम चाहिँ यसको अनुहारको विशेषताका कारण राखिएको हो। वयस्क हाडफोर गिद्धको अनुहारमा दारीजस्तो देखिने रौं/भुत्ला हुन्छ।
त्रिवेणीबाट दुनैतिर लाग्दै गर्दा सविनाले खोला पारि चट्टानमा केही उडेजस्तो देखेको बताइन्।
त्यहाँ भएका चट्टानहरू देखेपछि यतातिर वालक्रिपर (मुरारी पुतली) चरा पाइन्छ भनेँ। देखिएको भए सविनाका लागि त्यो चरा लाइफर (पहिलो पटक देखिने चरा) हुन्थ्यो। पहिले नदेखेको भएर फ्याट्ट उड्दा के हो भनेर उनले पक्का भन्न सकिनन्।
वालक्रिपर खरानी रङको, पखेटा रातो-कालो र सेतो थोप्ला हुने भएकाले चिन्न भने सजिलो छ।
'वालक्रिपर!,' सविना कराइन्।
मैले झ्यालबाटै हेरेँ। दुइटा वालक्रिपर अर्थात् मुरारी पुतली चरा हाम्रो बस छेउबाट उडेर अघि लागे।
खोला छेउ डुंगाभरि सेतो टाउके जलखञ्जरी र नीलाम्बर जलखञ्जरी प्रशस्त देखिए। खोलानाला वरपर यी दुई जलखञ्जरी र कल्चौंडे शतप्रतिशत देखिने चरामध्ये पर्छन्। दुनै पुग्दासम्म अरू खासै चरा देखिएन।
दुई दिनको यात्राले थकाइ लागेकाले दुनै पुगेपछि साँझ चरा हेर्न गइएन। भोलिपल्ट बिहानै उठेर हिँड्ने योजना बनायौं।
बिहान ६ बजे चरा हेर्न निस्कियौं। सहर-बजारतिर धेरैजसो भेटिने काग र भँगेरा हुन्। आफूले अध्ययन गरेको प्रजाति भएकाले नयाँ ठाउँ पुग्नासाथ म घर भँगेरा खोज्न थाल्छु। दुनैमा भने धेरैजसो रूख भँगेरा मात्र देखिए।
घर भँगेरा र रूख भँगेरा हेर्दा उस्तै देखिन्छन्। तर रूख भँगेराको गालामा सानो सेतो थोप्लो हुन्छ र टाउकोमा रातो टोपीजस्तो देखिन्छ। घर भँगेराको टाउको भने खैरो टोपीजस्तो हुन्छ।
कागमा पनि कालो काग मात्र थियो। घर काग समुद्री सतहदेखि ७५–१५२५ मिटर उचाइसम्म पाइन्छ। यो भन्दा माथि उचाइमा पाइने सबै कालो काग हुन्छन्। कालो कागमा घर कागको जस्तो खैरो घाँटी हुँदैन। हेर्दा ठूला र धेरै गाढा देखिन्छन्। चुच्चो पनि अलि ठूलो हुन्छ।
यति चरा हेरेर, हामी चिया-खाजा खाएर सुलिगढतिर लाग्यौं।
बाटोमा हिँड्दै गर्दा छेउको झ्याङबाट तीखो 'चीँचीँ' सुनिइरह्यो। आवाजले खासै चरा नचिन्ने हामी दुवैलाई एकछिन अलमल भयो। पाँच-दस मिनेट त त्यो चरा कहाँ छ भनेर खोज्नै लाग्यो। अन्ततः चरा देखियो। त्यो रहेछ यसअघि मैले मनाङमा धेरै देखेको शिला बगेडी। यो हेर्दा भँगेरा जस्तै देखिन्छ। तर यसको तल्लो भाग गाढा कैलो हुन्छ।
सुलिगढ नजिकै पुग्न लाग्दा खोला किनारबाट एउटा हाँस उड्यो। दुरबिनबाट हेरेँ। अमेरिकामा प्रशस्त देखिरहेको खडखडे हाँस रहेछ।
सुलिगढको झोलुंगे पुल र आर्मी क्याम्प पुग्यौं। क्याम्पको बाटो हुँदै खोला पुग्न नपाउँदै वर्षका लागि दुइटा नयाँ चरा भेटिए —पहेँलो मारूनी चरी र खैरो वन्जुल।
पहेँलो मारूनी चरी फिस्टोझैं देखिन्छ। पहेँलो हुन्छ। यसले आफ्नो पुच्छर जापानी पंखाझैं फैलाउने भएकाले यसको अंग्रेजी नाम 'फ्यानटेल' हो।
खैरो वन्जुल भने मलाई एकदमै मनपर्ने र रोचक चरा हो। रोचक किनभने, यसले पानीमुनि छिरेर वा पौडी खेल्दै आफ्नो आहारा खोज्छ।
खोला किनार पछ्याउँदै हामी कागेनीतिर लाग्यौं। बाटोमा टन्नै चञ्चले फिस्टो, पीतकती फिस्टो, सुन्तलेरेखी फिस्टो, कल्चौंडे, पाण्डु चिचिल्कोटे, हरियो चिचिल्कोटे आदि थिए। पर पर निलो आकाशमा उडेका काला थोप्लाजस्तो आकृतिहरू धेरैजसो हिमाली गिद्ध र फाट्टफुट्ट हाडफोर गिद्ध थिए।
अरू प्रसिद्ध ट्रेकिङ ट्रेलको तुलनामा फोक्सुन्डो ताल ट्रेल सजिलै रहेछ। तेर्सो बाटो, खोला र डाँडाकाँडाको रमाइलो।
कागेनी पुग्नुअघि पहिरो गएको ठाउँमा केही बेर रोकिनुपर्यो। हामी दुई जना चरा खोज्न थालिहाल्यौं। खोला किनारको रूखमा मैले छेपारेचरी देखेँ। कुन प्रजातिको भनेर चिन्न सकिनँ। सविनालाई सुनाउन पछाडि फर्किँदासम्म चरा उडिसकेको थियो। त्यही बेला मैले मेरो वर्षका लागि नयाँ चरा कालीकण्ठे राजचिचिल्कोटे देखेँ। यो मलाई अत्यन्तै मनपर्ने चिचिल्कोटेमध्ये एक हो।
कैलो शिर, कालो आँखा, सेतो घाँटीमा कालो थोप्लो, कैलो नितम्ब, सेतो तल्लो भाग, अनि कालो ढाड। हेर्दा चित्रकलाझैं देखिन्छ यो चरा।
कागेनीमा खाना खाँदै गर्दा हामीले टेमुको ठूलो बथान देख्यौं। टेमु कागकै परिवारमा पर्ने चरा हो। फ्याट्ट हेर्दा कागझैं कालो भए पनि चुच्चो पहेँलो र खुट्टा रातो हुन्छ। हिमाली भेगमा यस्तै देखिने दुइटा चरा हुन्छन् — पहेँलो चुच्चो भएको टेमु र रातो चुच्चो भएको टुङा। हिमाली भेगमा ठूलो बथानमा कागभन्दा अलि पातलो देखिने चरा उडेको देख्नुभयो भने तिनका खुट्टा र चुच्चो याद गर्नु होला।
खाना खाइसकेर छेप्कासम्मको यात्रामा निस्कियौं। बाटामा टन्नै तितु देखिन्थे। धेरैजसो झिबी तितु देखिन्थे, फाट्टफुट्ट अमोंगा तितु पनि। छेप्कानजिकै त शाही बाज अर्थात् पेरिग्रिन फ्याल्कन पनि देखियो। 'डाइभ' गर्दा सबभन्दा तीव्र गति लिने प्राणी हो यो।
छेप्का पुग्दा साँझ भइसकेको थियो। त्यहाँ खासै केही देखिएन। छेप्काबाट रेंचीतिर लाग्दा बिहानै पुछरपाटे छेपारेचरी देखियो। सायद गएको दिन देखेको छेपारेचरी पनि त्यही पो थियो कि? वा अरू कुनै मैले नदेखेको छेपारेचरी पो थियो? उडी जाने चरा न हो!
भोलिपल्ट बिहानै हामी छेप्का छोडेर फोक्सुन्डो ताल रहेको गाउँ रिङ्गमोतिर लाग्यौं। ट्रेल बिस्तारै उकालो लाग्दै थियो। बिस्तारै बिस्तारै चरा खोज्दै हिँड्यौं। चराहरू भने उस्तै उस्तै नै देखिए। कालो काग र रूख भँगेरा बाक्लै थिए। स-साना झाडीमा चिचिल्कोटे उफ्रिँदै थिए। तिनमा धेरैजसो पाण्डु चिचिल्कोटे थिए। पहेँलो रङको यो चराको छाती र सिउर कालो हुने भएकाले आकर्षक हुन्छ।
फोक्सुन्डो रूटमा चल्तीको होटल 'सम्झना' मा खाना खान रोकियौं। ठ्याक्कै अगाडिको रूखमा लटरम्म फूल फूलेजस्तै तितु भँगेराको बथान थियो। टाढाबाट हेर्दा सुकेको पात जस्तो देखिएको थियो। दुई-चार वटा तितु भँगेरा उडेपछि थाहा भयो, चरा रहेछन्। वरपर झिबी तितु पनि प्रशस्त थिए।
त्यहाँबाट रिङ्गमोतिर लाग्दै गर्दा सैजोल नजिकै एउटा खोंचमा अनौठो चरा देखियो। रङ र वासस्थानका आधारमा अनुमान लाउँदा डिकुरे भ्याकुरजस्तो देखिन्थ्यो। अरू विवरण नभएकाले यही हो भनेर चिन्न चाहिँ सकिएन।
मलाई धेरै जनाले चरा कसरी चिन्ने भनेर सोध्नु हुन्छ। चरा चिन्ने काम सजिलो छैन। नेपालमा करिब ८९० प्रजातिका चरा पाइन्छन्। धेरैजसो एउटै परिवारका चरा हेर्दा उस्तै देखिन्छ। झन् स-साना चञ्चले फिस्टोजस्तो चलिरहने चरा चिन्न गाह्रै हुन्छ। त्यसैले चरा चिन्ने कुरा धैर्य र अभ्यासमा पनि निर्भर हुन्छ।
मैले विश्वविद्यालयमा चराबारे पढाउँदा विद्यार्थीहरूलाई भन्छु — कुनै चरालाई उसको पूर्ण स्वरूपमा नहेर, 'फिल्ड-मार्क' हेर। जस्तै, आँखा, पखेटा, टाउकोको रङ, आँखामा कतै गोलाकार छ कि छैन (धेरैजसो चरामा आँखा वरपर सेतो वा फुस्रो गोलाकार हुन्छ जसलाई अंग्रेजीमा 'आई रिङ' भनिन्छ), पखेटामा धर्सा वा बार छ कि छैन हेर।
सुरू सुरूमा चरा हेर्दा त्यसको पूरा शरीर हेरेर चिन्ने प्रयास गरिन्छ। त्योभन्दा राम्रो 'फिल्ड-मार्क' हेर्नु उपयुक्त हुन्छ। चरा उडेर गएछ भने पनि याद भएको एउटा सानो फिल्ड-मार्कले चिन्न सकिन्छ।
हामी बिस्तारै उकालो लाग्दै गर्दा झ्याङमा दुइटा साना चरा देखिए। सविनाले दुरबिनले हेरिन् र सानो, कालो 'चस्मा' लगाएको छ भनिन्। उनले यति भनेपछि मैले आँखामा ध्यान नदिई टाउको र पखेटातिर हेरेँ। टाउको कालो, पखेटा सुनौलो/पहेँलो र घाँटी सेतो। अब यति याद गरेपछि पुग्यो। त्यो पीतनयन फूलबुट्टा चरा थियो।
धेरैजसो तेर्सो फोक्सुन्डो ट्रेलको अन्तिममा भने उकालो रहेछ। होटल छोडेर उकालो लाग्दै गर्दा चरा हेरिरह्यौं। एउटा फाँटमा आराम गरेका बेला तितु चराको हल्लाखल्ला सुनियो। भुर्र उडेका तितुतिर हेर्दा तिनलाई लखेटिरहेको एउटा वन बाज पनि देखियो। वर्षको लागि नयाँ चरा!
त्यही भिडमा पंखथोप्ले ठूलो तितु पनि देखियो। त्यो चरा वर्षका लागि मेरो ५०० औं प्रजाति पनि थियो। गएको तीन वर्षदेखि म एक वर्षभित्र पाँच सय वटा प्रजाति खोज्छु भनेर लागिपरेको थिएँ। सोचेझैं सजिलो काम रहेनछ। यो वर्ष भने सफल भयो। त्यसको खुसी अर्कै थपियो। किनभने, एक वर्षमा पाँच सय प्रजाति देख्नु भनेको संसारमा भएकामध्ये ५ प्रतिशत चरा देख्नु हो। यो खुसीले पनि उकालोको दुःख अलि अलि मेटायो।
साँझपख हामी फोक्सुन्डो ताल पुग्यौं।
अर्को दिन बिहानै होटल बाहिर चराहरू कराएको सुनियो। सबभन्दा धेरै कराउने चाहिँ रूख भँगेरा थियो। भुर्रभर्र उडिरहेका भँगेराको आवाज पनि सुनिन्थ्यो।
जिन्दगीका सात वर्ष भँगेरासँग बिताएकाले तिनीहरू भुर्र उडेको आवाज पनि याद भइसक्यो। बाटामा पनि भुर्र मात्र आवाज आउँदा सविनाले के उड्यो भनेर सोधेकी थिइन्। मैले भँगेराको भनेको थिएँ। नभन्दै रूख भँगेरा थियो।
त्यो बिहान पनि रूख भँगेराको कमी थिएन।
हामी होटल बाहिर निस्कियौं। होटलको ठ्याक्कै अगाडि डाँडामा उडिरहेको चराको बथान थियो। हिमाली भेगमा त्यसरी बथान भएर उड्ने केही चरामध्ये हिमाली मलेवा एक हो। हेर्दा परेवाजस्तो देखिने त्यसको छाति भने सेतो हुन्छ। उड्दा पनि सेतो टल्किएको देखिन्छ।
'स्नो पिजन,' सविना कराइन्।
मैले हो र भनेर प्रश्न गरेँ। किनभने, हिमाली मलेवाको छाती र अगाडिको भाग सेतो हुन्छ। तर हामीले देखेको परेवा/मलेवाको खरानीको रङ थियो।
सविनाले त्यो उड्दा पुच्छरमा सेतो देखिन्छ भनिन्। तर त्यसो पुच्छरको सेतो 'यू' अकारको थियो। हिमाली मलेवामा त्यो फराकिलो 'एन' अकारको हुन्छ।
बिस्तारै नियाल्दै गएपछि त्यो लेकाली मलेवा भएको थाहा पाइयो। हामी दुवैका लागि लाइफर!
उठ्न नपाई लाइफर देखियो भनेर हामी दंग पर्यौं।
चिया पिएर फोक्सुन्डोको भ्यु प्वाइन्टतिर लाग्यौं। बाटोभरि चिचिल्कोटे र तितु चरा देखिए। आकाशमा फाटफुट्ट गिद्ध पनि थिए।
चरासँगै त्यो दिन भने हामी त्यो विशाल फोक्सुन्डो तालको प्रशंसामा पनि व्यस्त भयौं।
सफा र निलो तालको किनारै किनार डाँडाको ढिस्कोमा हिँड्यौं। भ्यु-प्वाइन्ट जाने बाटोमै पहिरो गएको रहेछ। हिउँ पहिरोले सोरेर ल्याएका जस्ता ढुंगा थिए।
ढुंगाकै किनारमा सल्लाको सानो जंगल नै रहेछ। त्यहाँ टन्नै चरा थिए।
चिचिल्कोटे धेरै थिए। यहीँ हामीले फेरि दुवै जनाको लागि लाइफर चरा स्वर्णचुल फिस्टो भेट्यौं। एकछिन नयाँ चरा देखेकोमा रमाउँदै हिँड्यौं।
भ्यु-प्वाइन्टबाट देखिने फोक्सुन्डोको बयान गरेर नसकिने रहेछ। तल घाममा टल्किएको रिङ्गमो गाउँ अनि गाउँको छेउमा निलो ताल।
तर डाँडाको टुप्पोमा सास फेर्न गाह्रो हुने गरी धेरै ठूलो हावा चलिरहेको थियो। केही बेर त्यहाँ रमाएर हामी रिङ्गमोतिर झर्यौं।
बिहान ताल नजिकै नपुगेकाले फर्किँदा पानी छुँदै जाऔं भनेर गाउँ नजिकैको वैकल्पिक रूटबाट हिँड्यौं। भुइँबाट चाँचरजस्तो देखिने चरा उड्यो। के कस्तो थियो भनेर मैले हेर्न भ्याइनँ। सविनाले अलि राम्रोसँग देखिन् र चाँचरजस्तो केही उड्यो भनिन्। म दुरबिन लिएर हेर्न थालेँ।
चाँचर भनिसकेपछि मैले फिल्ड-मार्कमा मात्र ध्यान दिए पुग्थ्यो। त्यो चरा खोजेर आँखा र प्वाँखतिर हेर्न थालेँ।
तर सुरूमै रातो घाँटी देखेँ र म कराएँ, 'रेड थ्रोटेड थ्रस।' अर्थात् कैलोकण्ठे चाँचर।
त्यो हामी दुवैका लागि लाइफर थियो।
यति उपलब्धि भएपछि त्यो साँझ हामीले आराम मात्र गर्यौं।
अर्को दिन बिहानै उठेर तल ओर्लिँदै गर्दा बाटोमा गाजले लेकचरी देखियो। अर्को लाइफर!
छेप्का नजिकै पुग्दा सेटोपेटे छेपारेचरी देखियो। त्यो पनि लाइफर नै भयो।
फोक्सुन्डो ट्रेकमा भेटेको अन्तिम लाइफर त्यही हुन गयो।
शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा ६६ प्रजातिका चरा भेटिए। त्यीमध्ये मेरा लागि ९ वटा र सविनाका लागि १५ वटा लाइफर।
यही यात्रामा सविना र म दुवैले सँगै देखेका/हेरेका चरा प्रजातिको संख्या पनि तीन सय कट्यो।
शे-फोक्सुन्डो यात्रामा जाँदा तपाईंहरूलाई पनि रूचि भयो भने, कस्ता कस्ता चरा देखिन्छन्, हेर्नुहोस् है!
(लेखक अनुज घिमिरेले नर्थ डाकोटा स्टेट युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन्।)
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)