केटाकेटीमा, स्वर्ग र नर्क बारे धेरै कथाहरू सुन्यौँ। बाहरूले सुनाउनुभयो। आँबैहरूले सुनाउनु भयो।
उहाँहरू भन्नुहुन्थ्यो-
‘स्वर्गमा भगवानहरू बस्नुहुन्छ। त्यो भूमि बगैँचा जस्तो सुन्दर छ। त्यहाँ बाह्रै महिना फूल फुल्छन्। पहाडबाट स्वच्छ झरनाहरू झरिरहन्छन्। त्यहाँ ठाउँ-ठाउँमा पोखरी हुन्छन्। जहाँ हाँसहरू पौडी खेलिरहेका हुन्छन्। नदीनालाहरू सफा र मनमोहक हुन्छन्। जता हेर्यो उतै नाचेर गाएर रमाइलो गर्ने किन्नर, गन्धर्व र अप्सराहरू हुन्छन्। त्यहाँ बिरामी हुनै पर्दैन। भइहाले वैद्यहरू सहजै उपलब्ध हुन्छन्।
स्वर्ग निकै रमाइलो हुन्छ। त्यहाँ निकै सुख हुन्छ।’
यति सुनिसकेपछि मनलाई शान्ति मिल्थ्यो। मरेर स्वर्ग पुगेकाहरूप्रति सहानुभूति र प्रेम जाग्थ्यो। मर्नु पर्ने भय एकछिनलाई हट्थ्यो। मनमा आउने सकारात्मक तरङ्गहरूले शान्ति दिन्थे।
उहाँहरूले स्वर्ग सुनाएपछि नर्क पनि सुनाउन भन्थ्यौँ।
उहाँहरू भन्नुहुन्थ्यो-
‘नर्कमा राक्षसहरू बस्छन्। त्यहाँ रोग, भोक, शोक, अभाव र पीडाहरू मात्रै हुन्छन्।
नर्क जानेहरूले यी सबै बेहोर्नु पर्छ।
नर्कमा बस्नै नसकिने गर्मी हुन्छ। सास फेर्न पुग्ने हावा हुँदैन। राम्रोसँग सास फेर्न नपाएर, तिर्खा मेट्न नपाएर, खान नपाएर, सुत्न नपाएर सम्पूर्ण प्राणी तड्पिरहेका हुन्छन्।
त्यहाँ सबैलाई मर्ने इच्छा हुन्छ तर कोही मर्न पाउँदैनन्। नर्कमा राक्षसले खाने मुख्य भोजन नै मान्छे हो। मान्छेलाई निकै दुःख दिएर खान्छन्। खानु पहिले सर्प/बिच्छीलाई टोक्न लगाउँछन्। जिउँदै तातो तेलमा हाल्छन्।
नर्कमा बाँच्नेहरूलाई पनि निकै कष्ट हुन्छ। महिनौँ भोकभोकै खेत खन्न लगाइन्छ। सियोको टुप्पोमा सुत्न लगाइन्छ। खिलहरूले घोचिन्छ।’
यस्तै यस्तै।
यस प्रकार कथा सुनेपछि मन आत्तिन्थ्यो। फड्को पर्थ्यो। रुन मन लाग्थ्यो। केही गह्रुङ्गो चिजले घोचेजस्तो लाग्थ्यो।
अनि सोध्थ्यौँ, ‘बा, नर्क नजान के गर्नुपर्छ?’
बा भन्नुहुन्थ्यो- ‘जीवनमा असत् कर्म गर्यौँ, रिस, राग, क्रोध, मोहमा डुब्यौँ, अरूको हत्या हिंसामा लाग्यौँ भने नर्क गइन्छ। कसैलाई अनाहकमा दुःख दिएर एकछिन रमाइलोमा भुलियो भने नर्कमा सधैँभरि दुःखमा बस्नुपर्छ।
त्यसैले नर्क जाने काम गर्नुहुन्न। सधैँ राम्रो गर्नुपर्छ र स्वर्ग गइन्छ।’
यसरी स्वर्ग र नर्क बारे कथा सुनेपछि कहिल्यै गलत नगर्ने प्रण गरिन्थ्यो र हरेक काम गर्दा होसियार भइन्थ्यो।
कानुन नजानेका, नबुझेका हामीहरूलाई यस्ता कथाहरूले सधैँ रक्षा गरिरहेका छन्।
अहिले पनि यी कथाहरूको प्रभाव हाम्रो जीवनमा छ। जति धेरै पढे पनि, जति धेरै बुझे पनि स्वर्ग र नर्कको मिथ्यालाई हामी टार्नै सक्दैनौँ।
जीवनलाई एउटा सही मार्गमा हिँडाउन बाहरूका कथा निकै उपयोगी रहेछन्।
अहिले फर्केर हेर्छु बालख उमेर। नर्क र स्वर्गका कथा सुनाउने बाहरू हुनुहुन्न। उहाँ स्वर्ग हुनुहुन्छ भन्ने ठान्छु। अचेल यस्तै कथा छोराछोरीलाई सुनाउँछु।
उनीहरूमा रहेको मृत्युको भय र त्यसले सिर्जित नकारात्मक मनोविज्ञान हटाउन कोसिस गर्छु।
बाहरूले जस्तै त कसरी सक्छु र, सक्दिनँ। उहाँहरूसँग जीवन भोगाइको अग्लो माच थियो र त्यसैको आधारमा बुझाउनु हुन्थ्यो।
म त पुट्को खराई पनि होइन। हामी मान्छेहरू कहिलेकाहीँ मृत्युभन्दा मास्तिर भए जसरी व्यवहार गर्छौँ। मर्नै नपर्ने गरी व्यस्त हुन्छौँ।
मलामी जान, बिरामी भेट्न जान समेत फुर्सद नभएको स्वाङ पार्छौँ।
आफ्नाहरूलाई पद, सम्पत्ति जस्ता कुराहरूमा टेकेर अभिमान देखाउँछौँ।
सायद हामीले हाम्रा बाहरूका कथा सुनेनौँ। आमाहरूका जीवन बुझेनौँ। र, देख्दा सुखी तर निकै साँघुरो जीवन बाँच्दै छौँ। आफूहरूलाई समाजबाट अलग्गै राखेर एउटा घेरा भित्र सुखभोग गर्दै छौँ।
कतै जिउँदै नारकीय जीवनशैलीमा त छैनौ!
खैर, जो मानिसले जीवनमा ज्येष्ठ नागरिकहरूसँग समय व्यतीत गर्छ उसले नै समाजमा सकारात्मक विचारहरू बाँड्छ। खुसी हुन्छ, खुसी राख्छ।
कथा सुनौँ र कथा सुनाऊँ। कथा पढौँ र कथा लेखौँ। यो प्रक्रिया समाज शुद्धीकरण र संस्कारको पुस्तान्तरण हो।
जय पुर्खा!