सानैदेखि ठूलो परिवारमा हुर्केर आएको हुनाले अझ त्यहीमाथि परिवारको सबभन्दा कान्छो भएर होला, पारिवारिक माया सबैको पाउँदै हुर्केको थिएँ।
मेरो बुवा २०४७/०४८ मै आइएड गरेको मान्छे, गाउँघरमा जग्गा आफूले खेती किसानी गर्न सक्यो भने खानको लागि प्रसस्तै पुग्ने अनि ठूलो घर परिवारको अभिभावकत्व ग्रहण गरेको व्यक्ति हत्तपत्त घर छोड्न आफ्नो भविष्य बनाउन, जागिरे हुन परिस्थितिले दिएन। तर विस्तारै समयसँगै परिवारको आकार बढ्दै गयो।
आजभोलि जस्तो जहाँ जुन बेला पनि गोजीमा मोबाइल बैंकिङमा पैसा हुने र खर्च गर्ने भन्ने हुँदैन थियो। तर हामी ३ (दुई मेरा दिदी अनि म), २ जना कान्छा हजुरबुवाको छोराहरू र मेरो सानो फुपू गरेर ६ जना पढ्ने भैसकेको हुनाले विस्तारै हाम्रो शिक्षादिक्षाको लागि आर्थिक जोहो आवश्यक देखियो। फेरि नपरोस् पनि कसरी ६ जनालाई गाउँको नाम चलेको बोर्डिङ स्कुलमा भर्ना गर्दिनु भएको थियो।
मेरो बुवा आफूले सरकारी स्कुलमा घरको काम गर्दै जिम्मेवारी लिँदै गर्दा सायद आफ्नो पढाइमा जग बलियो बनाउन पाउनु भएन। जमाना विस्तारै प्रतिस्पर्धी बन्दै छ, पढाइको जग बलियो हुनुपर्छ भन्दै जसोतसो हामीलाई बोर्डिङ स्कुलमा पढाइरहनु भयो। समय बित्दै जाँदा बुवाले कपुरकोट सल्यानमा खाद्यान्न व्यापार गर्न थाल्नु भयो। आम्दानी राम्रो हुन्थ्यो तर दु:ख भने ज्यादै। ट्याक्टरमा तुल्सीपुरदेखि सामान पठाएर आफू हिँडेर जानुपर्ने, त्यो बेलाको बाटो झन् अप्ठ्यारो गाडीहरू दुर्घटना हुने। यसैको डरले हजुरमाको जिद्दीले करिब २ वर्ष व्यापार गरेसी छोड्न लगाउनुभयो। त्यसपछि हामी फेरि सँगै हुन थाल्यौं। हाम्रो पढाइ पनि बुवाले सोचेजस्तै राम्रो हुन थाल्यो। मेरा दिदीहरू अनि म सबै आफ्ना आफ्ना कक्षाका प्रथम हुन्थ्यौं। यो बीचको समयमा पढ्न स्कुलको फी तिर्न थोरै समस्या हुने गरे पनि बिस्तारै बिस्तारै समस्याको समाधान हुँदै जान्थे। सायद मेरो बुवाले धेरै कुराको चिन्ता लिइरहन अनि त्यसैलाई सोचेर बसिरहन त्यति राम्रो हुँदैन सकारात्मक रूपमा कुरालाई लिनुपर्छ भन्ने बुझेर होला त्यति गाह्रो कहिल्यौ पनि भएन।
जाडोयाममा जुन बेलासँगै बिहान घरको चुलोमा आगो ताप्दै गर्दा स्कुलमा फी बुझाउन भन्नुभाछ भनेर मैले कुरा निकाल्दा मलाई सजिलैसँग कन्भिन्स गर्नुहुन्थ्यो।
हरेक सकारात्मक कुरालाई जोड गर्दै आफूले देखेका अनि सुनेका घटनाहरूको सधैं बेलुका सुत्दाखेरी प्रेरणादायी कथा सुनाउनु हुन्थ्यो। त्यसले गर्दा म प्रोत्साहित हुन्थेँ। ४/५ कक्षामा पढ्ने विद्यार्थी भएर पनि बिहान सबेरै उठेर समय तालिका बनाएर पढ्ने गर्थें।
एक पटक मेरो कान्छो हजुरबुवाले बद्री पङ्गेनीका गीतहरूका क्यासेट ल्याएर आउनु भएको रहेछ, अनि तिनै गीत घरमा धेरै बज्न थाले। सायद पटक पटक सुनेर होला ती गीतहरू कण्ठ भएछन्। मैले तिनै गीतहरू अलिअलि घरमा गुनगुनाउन थालेँ। कक्षामा मिसले एक पटक हामी विद्यार्थीहरूलाई खेल खेलाउने क्रममा मलाई गीत गाउन आग्रह गर्नुभयो तर मैले कहिल्यै अरूको सामुन्ने गीत गाएर सुनाएको थिइनँ। जसोतसो लाज लुकाएर भए पनि त्यही घरमा क्यासेटमा सुनेको गीत गाएँ र यसरी मिसबाट सारै राम्रो प्रतिक्रिया पाएँ। विस्तारै मैले गीत राम्रो गाउँछु भन्नि कुरा स्कुलभरी फैलियो अनि स्कुलको प्रोग्रामहरूमा गीत गाउन थाले।
यति कुरा थाहा पाएपछि मेरो बुवालाई झन् के चाहियो र! २/४ जना मान्छेको अघि बोल्न सक्नुपर्छ भन्दै अरूका कहानी सुनाई मलाई प्रोत्साहन गर्ने बुवा आज आफ्नो छोराले धेरै मान्छेहरूको अगाडि उभिएर गीत गाउँछ अनि धेरैलाई नचाउँछ पनि। घरमा कोही पाहुना आउँदा पनि मलाई गीत गाउन लगाउने, गाउँघरमा कसैको पूजा, लाखबत्ती आदि हुँदा पनि मलाई आफूसँगै लगेर गीत गाउने ठाउँमा बसालिदिएर मैले गीत गाएको परबाट हेरेर सुनेर बस्नुहुन्थ्यो र घर फर्कंदा फलानोले तपाईंको छोरोले कति राम्रो गीत गायो भनी सुनायो भन्दै मलाई मख्ख बनाउँदै आफू खुसी बन्नुहुन्थ्यो।
घरमा सबै सन्तानभन्दा अलिकति ममा फरक स्वभाव भएर होला सबै जना आफन्ती, गाउँले छिमेकीको प्रशंसाले बुवा साह्रै खुसी हुनुहुन्थ्यो। बुवाले मलाई २/३ महिनामा १/२ पटक आफ्नो साइकलको पछाडि बसालेर तुलसीपुर बजार लैजानुहुन्थ्यो। म सानैदेखि गुलियो मन पराउने भएर यस पटक म तँलाई लालमोहन मिठाइ खुवाउँछु, अर्को पटक फ्रुटी अनि फ्यान्टा, यावत खाने कुराहरूको स्वाद मैले पहिलो पटक बुवाबाट नै पाएँ। यसरी घर बजारबाट फर्कंदासम्म बाटोभरि आफूले खुवाएको खाने कुराको बारेमा मेरो प्रतिक्रिया सुन्न रूचाउनु हुन्थ्यो।
समय बित्दै गयो र पछि बुवा ३ वर्ष युनाइटेड अरब इमिरेट्स (युएई) अनि अर्को ३ वर्ष मलेसिया जानुपर्ने भयो। दोस्रो पटक बुवा मलेसिया जाँदा भिसा लाग्दैन कि भनेर अलि चिन्तित हुनुभएको थियो रे, किनकी मेरो बुवाको उमेर ४५ कटिसकेको थियो र विदेश जानै पर्ने बाध्यता। किनकि हामी ३ छोराछोरीलाई उच्च शिक्षाको लागि काठमाडौंको कलेजमा पढ्न पठाउने आँट गर्नुभएको थियो।
यसरी अध्ययन गर्दै जाँदा स्नातक कृषि (बिएस्सी एग्रिकल्चर) विषय पढ्नको लागि छात्रवृत्तिमा मेरो नाम निस्कियो। सानोमा मेरो जीवनको लक्ष्य भन्ने शीर्षकमा निबन्ध लेख्दा डाक्टर बन्ने लेख्थेँ, तर १२ पासपछि लक्ष्य परिवर्तन भयो तर बुवाको हौसला, साथ समर्थन परिवर्तन भएन। जसोतसो राम्रो अङ्क ल्याएर पास भएँ। तत्पश्चात म कहिले प्राइभेट कृषि फार्ममा व्यवस्थापकको रूपमा काम गरेँ, कहिले शिक्षण पेसामा, त कहिले इभेन्ट प्लानर, मेरा पेसा परिवर्तन हुँदै गए तर मसँगै खम्बा भएर उभिने बुवा म सँगसँगै हुनुभयो। यो नगर, ऊ नगर कहिल्यै भन्नुभएन, कपाल लामो भएछ काट, तँलाई यस्तो कपडा राम्रो देखिन्छ भन्दै ठूलो हुँदासम्म नजिकैबाट मलाई नियालेर हेर्न कहिल्यै छोडनु भएन। कहिलेकाहीँ केही काम, कुरामा मैले पिर चिन्ता लिएर बसेको छु भने पनि मलाई त्यसबाट छुट्कारा नहुँदासम्म मसँगै बसेर बाटो देखाइ दिनुहुन्थ्यो। ठूलो हुँदासम्म पनि कहिलेकाहीँ स्वास्थ्यमा बिसन्चो हुँदा उहाँलाई नभनेसम्म आफूलाई निको नभएको जस्तो महसुस हुने गर्दथ्यो, त्यतिसम्मको दरिलो खम्बा हुनु भएको छ मेरो बुवा। समय बित्दै जाँदा पढेपछि जागिर र पेसाको स्थायित्वको खोजीमा मान्छेले संघर्ष गरिराखेको हुन्छ।
हो त्यसैमा मैले पनि अठोट गरेँ सायद म घर नजिकैको कलेजमा नभई छुट्टै ठाउँमा जागिर गर्दै लोक सेवा तयारीमा लाग्थेँ भने गाह्रो हुनसक्थ्यो होला। गारो पनि नहोस् कसरी? पढ्दा निद्रा लाग्यो होला भन्दै अमिलो साँधेर खानको लागि ल्याएर मलाई दिने मेरी मम्मी, अनि मूड स्विङ भयो भनि मोटिभेट गर्ने मेरो बुवासँग म हुन्थेँ। यसरी सोचेझैँ कर्णाली प्रदेश लोक सेवा आयोगबाट कृषि अधिकृत (सातौं तहमा) म सिफारिस भएँ। नतिजा बेलुकाको ८ बजेतिर आएको थियो। त्यो रात मलाई निद्रा पर्ने कुरा नै भएन झन् बुवालाई पनि निद्रा लागेनछ।
भोलि बिहान ममीबाट थाहा भयो कि सबभन्दा छोरो विदेश नगइदिए हुन्थ्यो भन्ने कुरा लोक सेवाको नतिजापछि उहाँहरूलाई ढुक्क भयो।
हरेक व्यक्तिले अर्को कुनै व्यक्तिलाई आफ्नो प्रतिस्पर्धी सोचिरहँदा बुवा मात्र एउटा यस्तो व्यक्ति हो जसले आफ्नो सन्तानको लागि आफू सजिल्यै हारिदिन तयार हुनुहुन्छ। मेरा हरेक कुरामा मलाई सहयोग गर्ने, मेरो आडमा हुने, मैले गर्न खोजेको हरेक कुरामा आफ्ना रहर अनि इच्छाको तिलान्जली दिने, मेरो बुवालाई आफूसँगै बाइकमा बसालेर सल्यान बागचौर नगरपालिकामा आफूसँगै राखी अधिकृतको नियुक्ति बुझेँ।