नेपालमा पहिलो पटक आयोजना भएको हट एयर बेलुन महोत्सवको सफलताले मुलुकको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिएको छ।
महोत्सवले पर्यटन राजधानी पोखरालाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न थप बल पुगेको महसुस भएको छ।
एक वर्षअघिसम्म पनि पोखरामा हट एयर बेलुनको उडान हुन्छ थाहा नपाएकाले महोत्सवकै कारण यसबारे जान्ने मौका पाए। महोत्सवकै कारण पोखराको पर्यटनको चर्चा स्वदेशदेखि विदेशसम्म भयो।
महोत्सवको प्रमुख उद्देश्य पोखरामा साहसिक पर्यटकीय गतिविधिमा हट एयर बेलुन पनि छ है भन्ने सन्देश दिनुभयो। महोत्सवकै कारण सामाजिक सञ्जाल हट एयर बेलुन उड्दै भिडिओ र तस्बिरले भरिए। यसले प्रचारप्रसारमा ठूलो सहयोग पुग्यो।
स्वदेशी मिडिया मात्रै होइन, अमेरिकाका प्रसिद्ध अखबार द वाल स्ट्रिट जर्नलले पहिलो पृष्ठमै हट एयर बेलुनको तस्बिरलाई प्राथमिकता साथ प्रकाशित गर्यो। बेलायतको गार्जियन अखबारले पनि राम्रो स्थान दियो। अमेरिका, भारत, दक्षिण कोरिया, स्पेन, ब्राजिल, चीन, जापान, फ्रान्स र अष्ट्रेलियाका प्रतिष्ठित सञ्चार माध्यमले हट एयर बेलुन महोत्सवको समाचार, तस्बिर र भिडिओ प्रकाशन तथा प्रसारण गरे। पोखरामा एकै साथ आयोजना भएका अन्य दुई महोत्सवको तुलनामा हट एयर बेलुन महोत्सवको चर्चा अत्यधिक भयो। प्रचारप्रसार बढ्दै गएपछि महोत्सवको दोस्रो दिनदेखि महोत्सवस्थलमा अत्यधिक भिड लाग्न थाल्यो। यतिसम्म कि लेकसाइडदेखि महोत्सवस्थल पामेसम्म ट्राफिक जाम नै हुने अवस्था आयो।
महोत्सव आयोजनामा भएको केही प्रक्रियागत ढिलाइका कारण व्यावसायिक रूपमा केही घाटा भए पनि महोत्सवको उद्देश्य भने पूरा भयो। यसले हामीलाई ठूलो सन्तुष्टि दिएको छ। महोत्सव आयोजना गर्दैछौँ है भन्दै विभिन्न निकायमा अनुमतिका लागि जाँदै गर्दा उहाँहरू सकारात्मक भए पनि महोत्सव आयोजना हुने समयलाई लिएर सन्तुष्ट हुनुहुन्नथ्यो। नयाँ वर्ष २०२४ को अवसरमा पोखरामा आयोजना हुने परम्परागत महोत्सवलाई असर गर्छ भन्दै हट एयर बेलुन महोत्सव यो समयमा नहोस् भन्ने धेरै हुनुहुन्थ्यो।
महोत्सव सकाएर स्वदेश फर्कनुअघि ब्राजिलका पाइलट फ्रन्सिस्को नाकारातो र स्पेनकी पाइलट आद्रियाना यादोले विभिन्न सञ्चार माध्यममा नेपालमा हट एयर बेलुन सञ्चालनको मुक्तकण्ठले प्रशंसा गर्नुभयो। उहाँहरूले हट एयर बेलुनको उडानका लागि यहाँको ल्यान्डस्केपदेखि उडानका क्रममा देखिने अन्नपूर्ण हिमशृंखला, ताल, पहाड र पोखरा सहर हेर्न पाउनु निकै दुर्लभ र सौभाग्य प्राप्त भएको प्रतिक्रिया दिनुभएको थियो। उहाँहरूले आगामी वर्ष पनि महोत्सव आयोजना गर्नका लागि हौसला दिनुका साथै आफूहरूको सहयोग र साथ रहने समेत बताउनुभयो।
महोत्सवभर विभिन्न १७ देशका २२ जना पाइलटले करिब पाँच सय पटक हट एयर बेलुन उडान गरे। जसमा टे–थर्ड फ्लाइटमा तीन हजारभन्दा बढी सहभागी भए भने फ्रि फ्लाइटमा पाँच सयभन्दा बढी सहभागी भए। टे–थर्ड फ्लाइटमा बेलुनले धेरै उचाइ नलियोस् भन्नका लागि बेलुनलाई डोरीले नियन्त्रण गरेको हुन्छ, जसमा आवश्यकता अनुसार करिब ६० देखि १५०० फिटको उचाइमा उडान गरिन्छ। यो उडान विशेष गरी हावा चल्ने तथा साँघुरो स्थान, सहरभित्र तथा रातिमा गरिन्छ। फ्रि फ्लाइट भने धेरैजसो उज्यालोमा गरिन्छ। यस पोखरामा गरिने यस उडानमा पाइलटले बेलुनलाई ९००० फिट माथिसम्म पुगेर केही क्षेत्र परिक्रमा पनि गर्छन्।
यसरी सम्भव भयो महोत्सव
हामीले बेलुन कम्पनी मात्रै सञ्चालन गरेका थियौं। विश्वका केही देशमा हट एयर महोत्सव हुन्छ भन्ने जानकारी भए पनि यसबारे ज्ञान थिएन। एक वर्ष अगाडि बेलुनका सामान खरिद गर्ने सिलसिलामा हामी थाइल्याण्ड पुगेका थियौं। त्यहाँ सिंगा हट एयर बेलुन महोत्सव आयोजना हुने क्रममा रहेछ। हामीलाई पनि चासो लाग्यो।
महोत्सवमा सहभागिताका लागि आयोजकलाई अनुरोध गर्यौं। तर उहाँहरूले सहभागी हुनका लागि पाइलटका रूपमा आफ्नै बेलुन लिएर आउनुपर्ने कुरा गर्नुभयो। हामीसँग त नेपाली पाइलट नै थिएनन्। हामी कम्पनी सञ्चालक मात्रै भयौं, त्यो पनि हामीसँग एउटा मात्रै बेलुन भएकाले लिएर जान सम्भव थिएन। त्यसैले हामीलाई उहाँहरूलाई सम्पूर्ण खर्च आफै बेहोर्ने गरी आउने र महोत्सव सञ्चालनको अवलोकन गर्ने प्रस्ताव गर्यौं। यसमा उहाँहरूले सहमति जनाएपछि म र कम्पनीका अध्यक्ष बिक्रम बाडे त्यसतर्फ लाग्यौं। महोत्सवभर हामीले डेस्क मिलाउनेदेखि ब्यानर टाँस्नेलगायत क्रु मेम्बरको पनि काम गर्यौं। यसले हामीलाई महोत्सव आयोजनाबारे धेरै जानकारी दियो। साथै विभिन्न देशका पाइलटसँग अन्तर्क्रिया गर्ने र सम्बन्ध स्थापित गर्ने अवसर पनि दियो।
महोत्सव चलिरहेका बेलामा हामीले आयोजक कम्पनीलाई मिडियासँग आफ्नै खर्चमा नेपाली नाइट आयोजनाको प्रस्ताव गर्यौं। उहाँहरूले हाम्रो प्रस्ताव स्वीकार गर्नुभयो। कार्यक्रम हुने तय भएपछि नेपालबाट कम्पनीका प्रबन्ध निर्देशक सविन महर्जनलाई ढाका टोपी र खादा लिएर आउनु भन्यौं। त्यो कार्यक्रमले त्यहाँको माहोल नेपालीमय बनाउन सहयोग गर्यो। नेपालमा पनि हट एयर बेलुन छ है भन्ने सन्देश दिन सफल भयौं। त्यति मात्रै होइन उक्त महोत्सवमा नेपालका तर्फबाट भएको हाम्रो सहभागिताबारे नेपालका सञ्चार माध्यमले पनि राम्रो स्थान दिए। नेपालमा यसको संयोजन विष्णुकान्त घिमिरेले गरिरहनुभएको थियो। उहाँको संयोजनमा विभिन्न सञ्चार माध्यमले प्राथमिकताका साथ समाचार प्रकाशित भएपछि हामीलाई थप हौसला मिल्यो। त्यसैले थाइल्याण्डबाट फर्कंदै गर्दा हामीमा नेपालमा हट एयर बेलुन महोत्सव आयोजना गर्ने महत्वाकांक्षी सपना पलाइसकेको थियो।
नेपाल आएपछि यो कसरी सम्भव छ? खर्च गर्न सकिन्छ वा सकिन्न भन्ने विषयमा लामो समय अध्ययन पनि गर्यौं। मुख्य कुरा त बेलुन उडानका लागि फराकिलो जमिन र आकाश भएको क्षेत्रफल आवश्यक पर्ने भएकोले पोखरामा महोत्सवका लागि ठाउँ पाउनै मुस्किल भयो। ठाउँ पहिचान र अनुमतिका लागि मात्रै कैयौँ पटक काठमाडौँ–पोखरा–काठमाडौंको यात्रा गर्यौं। अन्ततः फेवातालको सिरानमा चंखुपुरको पामेमा महोत्सव स्थल छानियो। त्यसपछि अनुमति लिनेदेखि महोत्सव आयोजना गर्नका लागि निकै लामो प्रक्रियागत झन्झट पनि भोग्यौं। हामी जहाँ जान्थ्यौँ, त्यहाँ काम राम्रो भन्ने तर विश्वास नगर्ने अवस्था भयो। एउटा सानो कम्पनीले एउटा महोत्सव कसरी आयोजना गर्छ भन्ने उहाँहरूलाई विश्वास नै थिएन।
यसैबीच तीन महिनाअघि विदेशी मिडियामा नेपालमा हट एयर बेलुन महोत्सव आयोजना गर्दैछौं भनी विज्ञापन प्रकाशित गर्यौं। त्यसमा विभिन्न देशका ३० भन्दा बढी पाइलटले रूचि देखाउनुभयो। उहाँहरूको सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि खर्च कति हुन्छ भन्ने हिसाब निकाल्ने काम भयो। महोत्सवका लागि आउने पाइलटको ट्राभलदेखि खाना र बस्न सबै खर्च हामीले नै बेहोर्नुपर्ने थियो। सबै हिसाब गर्दा सात करोड रुपैयाँ खर्च हुने देखियो। यो खर्च सरकार र निजी क्षेत्रका प्रायोजकबाट आधा रकम र बाँकी टिकट बिक्रीबाट उठाउँछौं भन्ने अपेक्षा थियो। सरकारले पनि नेपालको पर्यटन प्रवर्द्धन हुने भएकाले सहयोग गर्छ भन्ने थियो।
महोत्सव आयोजनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट सुरूआतदेखि नै राम्रो सहयोग प्राप्त भयो। क्यानबाट महोत्सव आयोजनाभर पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा सूर्योदयदेखि बिहानको नौ बजेसम्म र दिउँसो तीन बजेदेखि सात बजेसम्मका लागि नोटाम जारी हुने जानकारी प्राप्त भयो। मन्त्रालय पनि राम्रो सहयोग पायौं। पोखरा महानगरपालिकाले पनि सक्दो सहयोग गर्यो।
नयाँ वर्षको अवसरमा पोखरामा स्ट्रिट फेस्टिबल पनि आयोजना हुने भएकाले त्यसका लागि केही समस्या भने भयो। हामीले सुरूमा डिसेम्बर २८ तारिखमा महोत्सव सुरू गर्ने योजना बनाएका थियौं। उक्त दिन महोत्सव उद्घाटन गर्दै पोखराको स्ट्रिट फेस्टिभलमा समस्या हुन्छ कि भन्ने भएपछि डिसेम्बर २४ मै उद्घाटन गर्ने निर्णयमा पुग्यौं। नयाँ वर्षमा हट एयर बेलुन महोत्सव आयोजना भयो भने यसले अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाउँछ भन्ने हाम्रो अपेक्षा थियो, त्यसैले डिसेम्बर २४ मा उद्घाटन गर्छौं भन्यौं र त्यही सर्तमा महोत्सवको अनुमति पनि पायौं। यसरी हाम्रो कार्यक्रम जनवरी १ तारिखसम्म जम्मा ९ दिनका लागि तय भयो। सुरूमा हामीले महोत्सवमा सांगीतिक कार्यक्रम र खानाको स्टल नराख्ने भनिएको भए पनि महोत्सव सुरू भएपछि यसमार्फत् विश्वमाझ भइरहेको पोखराको पर्यटन प्रवर्द्धन र महत्व बढ्दै गएपछि समस्या भएन।
अनुमतिका लागि भएको प्रक्रियागत ढिलाइका कारण प्रायोजकसँग राम्रोसँग कुरा गर्न पाउने समय भएन। त्यसैले सीमित प्रायोजकलाई मात्रै लिन सक्यौं। यसले प्रायोजकबाट खर्च उठाउन सकिएन। अन्तत: तीन करोड रुपैयाँ घाटा भए पनि महोत्सवको उद्देश्य भने पूरा भयो।
पोखराको पामेमा कार्निभल, म्युजिकल कार्यक्रम र फूडकोर्टका लागि स्थान उपलब्ध गराउनका स्थानीयबाट राम्रो सहयोग प्राप्त भयो। पामेको स्थानीय क्लबले करिब एक सय रोपनी जग्गा लिनका लागि ठूलो सहयोग गर्यो त्यसैले पार्किङ तथा खानाका लागि स्थानीय पामे क्लबले नै समन्वय गरेकाले सहज भयो। सुरूआती दिनमा महोत्सवलाई लिएर नकारात्मक हुनेहरू पनि पछि खुसी हुनुभयो। पोखराको आकाश बेलुनले भरिँदाको दृश्यले धेरैलाई लोभ्यायो पनि।
पर्यटन प्रवर्द्धनमा सहयोगी
हट एयर बेलुन महोत्सवले पोखराको पर्यटनमा नयाँ आयाम थपेको छ। त्यति मात्रै होइन, पोखराको साहसिक पर्यटनको बकेट लिस्ट अझ लामो भएको छ। पोखराको अभ्यासलाई हेर्दा हामीले अन्य क्षेत्रमा पनि बेलुन महोत्सव आयोजना गरी पर्यटन प्रवर्द्धन गर्न सक्छौ भन्ने देखिएको छ। जस्तै: कर्णालीको रारा तालको पर्यटन प्रवर्द्धनका लागि त्यहाँ पनि बेलुन महोत्सव आयोजना गर्न सक्छौं। चितवनको सौराहा लगायतका पर्यटकीय गन्तव्यको नयाँ ढंगले प्रवर्द्धन गर्न सक्छौं।
अन्य मुलुकमा यसप्रकारको महोत्सव पर्यटन प्रवर्द्धनका लागि त्यहाँको सरकारी निकायले आयोजना गर्छ। आफ्नो क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि आयोजना गर्ने हुन्छ। तर नेपालमा अहिले कम्पनीले मात्रै आयोजना गरेको छ। आगामी दिनमा प्रदेश स्तरमा सौराहा, कर्णालीको मुगु लगायतका स्थानमा यस प्रकारका महोत्सव आयोजना गर्न सकिन्छ। तर यसका लागि सरकारले अग्रसरता लिनुपर्छ।
हट एयर बेलुनको सुरूआत
सन् २००७ मा डिकेड इन्टरनेसनल प्रालि स्थापनापछि एभिएसन कम्युनिकेशन सेफ्टी तथा विभिन्न प्राविधिक क्षेत्रमा काम गर्ने र विभिन्न देशको भ्रमण गर्ने अवसर मिल्यो। यसले एभिएसन क्षेत्रप्रतिको मोह बढ्यो।
सन् २०१४ मा लायन्स इन्टरनेशनलको भारतको अहमदाबादमा भएको आइएसएएमईको फोरममा सहभागी हुने मौका पाएँ। त्यहाँ टेथर्ड बेलुन राइडका क्रममा आकाशमा कौवा खाँदै गर्दा यो काम नेपालमा पनि गर्न सकिन्छ भन्ने पहिलो पटक मनमा लागेको थियो।
त्यसपछिका दिनमा यस विषयबारे बुझ्न म टर्की, स्पेन, थाइल्याण्ड, फ्रान्ससम्म पुगेर जानकारी दिए। फलस्वरूप सन् २०२० मा बीबी एयर प्रालि स्थापना भयो। तत्कालीन समयमा मैले पोखराको पामे र चितवनमा हट एयर बेलुन उडानका लागि अनुमति मागेको थिएँ।
सम्भाव्यता अध्ययन, स्थलगत अवलोकनपछि सन् २०२१ को अन्तिममा पर्यटन मन्त्रालयबाट हट एयर बेलुन उडानका लागि अनुमति प्राप्त भयो। त्यसपछि रेस्ट्रिक्टेड अपरेटर सर्टिफिकेट एरोनाटिकल (आरओएसी) लिनुपर्ने भएकाले क्यानको सेफ्टी विभागमा निवेदन दिएँ। निवेदन दिने क्रममा थाहा भयो कि, सन् २०१८ मै बेलुन नेपाल नामक कम्पनी स्थापना भइसकेको रहेछ। तर कोरोना महामारीपछि सञ्चालन हुन नसकेको रहेछ। क्यानबाटै उक्त जानकारी पाएपछि मलाई उक्त कम्पनीबारे जान्ने कौतुहलता जाग्यो। मैले क्यानकै अधिकारीहरूसँग बेलुन नेपालका प्रतिनिधि बिक्रम बाडेसँग सम्पर्क गराई आग्रह गरेँ र उहाँहरूले मलाई फोन नम्बर उपलब्ध गराइदिनुभयो। उहाँसँग कुराकानी हुँदा उहाँले कोरोना महामारीका कारण कम्पनी घाटामा गएपछि सञ्चालन नभएको बताउनुभयो। मैले भेटेर कुरा गरौँ, कुरा मिले सँगै काम गर्न सकिन्छ भन्ने प्रस्ताव राखेँ।
सन् २०१८ मा प्रक्रिया पूरा गरेर बाडेले पोखराको घुम्पुसमा बेलुन उडान सुरू गर्नुभएको रहेछ। तर त्यो बेलुनका लागि उपयुक्त स्थान थिएन। उहाँले सुरूमा चीनबाट ५० लाख रुपैयाँ खर्चेर बेलुन ल्याएको र आइकाओको मापदण्डमा नपरेपछि यत्तिकै थन्किएको र पछि स्पेनबाट एक करोड ५० लाख रुपैयाँमामा सेकेन्ड ह्याण्ड बेलुन ल्याएको र त्यसले पनि सञ्चालन खर्च नै धान्न नसकेपछि तत्कालीन समयसम्म तीन करोड रुपैयाँ घाटामा गएको सुनाउनुभयो। यस बीचमा बाडेले लगानीकर्ताका रूपमा गैरआवासीय नेपाली संघ (एनआरएन)बाट सञ्चालित हिमालयन इन्भेष्टमेन्ट प्रालिलाई ल्याउनुभएको रहेछ।
कम्पनीका तर्फबाट सविन महर्जन, बिक्रम बाडे र मबीच पटक–पटकको छलफलपछि कम्पनी फेरि सुरू गर्यौं। अब जे भए पनि काम गर्नुपर्छ भन्ने लागेपछि स्पेनबाट मर्मतका लागि सामान र बेलायतबाट इन्जिनियर बोलायौँ। पहिलेको धुम्पुस क्षेत्रबाट बीबी एयरले नै अध्ययन गरेको स्थानबाट बेलुन उडान स्थल सार्यौं र सन् २०२२ बाट व्यावसायिक उडान सुरू गर्यौं। आजका दिनमा एउटा बेलुनबाट सुरू भएको कम्पनीले नेपालमा पहिलो पटक हट एयर बेलुन महोत्सव सफलतापूर्वक सम्पन्न गर्न सक्ने अवस्था आएको छ।