मैले नारायण गोपाललाई कहिलेदेखि सुनेँ अनि चिनेँ, त्यो म ठ्याक्कै भन्न सक्दिनँ।
'यति चोखो यति मिठो दिऊँला तिमीलाई माया' भन्ने गीत रेडियोबाट सुन्न थालेपछि र त्यो गीत मलाई कण्ठस्थ भइसकेपछि म पनि जोडजोडले गाउन थालेँ।
सम्भवतः त्यसैपछि थाहा पाएँ — त्यो गीत गाउने नारायण गोपाल रहेछन्।
यो २०३० सालपछि नै हुनुपर्छ। तीसको दशकमा मैले राम्रैसँग नारायण गोपाल, दीप श्रेष्ठ, अरूणा लामा, तारा देवी, प्रेमध्वज प्रधान लगायतलाई सुनिरहेँ। 'म त लालीगुराँस भएछु' भन्ने गीत र त्यसको संगीतबाट अझ बढी नारायण गोपालप्रति म आकर्षित हुँदै गएँ।
अहिले पनि मैले नसुनेका वा भनौं मैले सुन्न बाँकी नारायण गोपालका गीत युट्युबमा भेटिन्छन् कि भनेर खोजिरहन्छु। करिब सात वर्षअघि मैले पछिल्लो पटक भेटेको उनको गीत 'कसरी म भुलेँ, केमा म भुलेँ' हो। एक रात धुलिखेलमा भएका बेला यो गीत भटेको हुँ। त्यसयता निरन्तर सुनिरहन्छु।
नारायण गोपाल शब्दहरू, अझ ती भित्रका भावहरूसँग समाहित भई माधुर्यताका साथ जसरी गीत गाउँछन्, त्यो उनको वैशिष्ट्यता हो। उनीप्रतिको मेरो आकर्षणको कारण पनि हो। मेरो मात्रै होइन, सम्भवतः उनलाई मनपराउने अधिकांशको हो।
त्यतिखेर झन्डैझन्डै उनको जीवनको उत्तरार्द्ध नै भइसकेको रहेछ। सञ्चार मन्त्रालयमा संगीत सल्लाहकारका रूपमा उनी कार्यरत रहँदा पहिलो पटक मैले नारायण गोपाललाई देखेको हुँ।
अन्तिम पटक उनको भौतिक शरीरमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा श्रद्धाञ्जली अर्पण गर्न जाँदा देखेँ। त्यो दिन त्यहाँ जनसागर उर्लिएको थियो।
मलाई त्यसै दिन मानिसको रूप, रङ, लवाइखवाइ, पहिरन, भाषा, धर्म, संस्कृति, चालढाल मात्रै हेरेर कुनै पनि मानिसलाई, मानिसभित्रको संवेदनालाई मूल्यांकन गर्न नहुने रहेछ, त्यो सतही हुने रहेछ भन्ने ज्ञान प्राप्त भयो। त्यहाँ हरेक किसिमका मानिसको उपस्थिति थियो र हरेकको आँखामा आँसु, विष्मात र नारायण गोपालप्रतिको प्रेम छचल्किरहेको थियो।
मेरो मात्रै होइन, उनले लाखौं मानिसको मन, मस्तिष्क र मुटुको धड्कन समातिसकेका रहेछन् भन्ने मलाई लाग्यो। साँझ मैतीदेवी डेरामा हामी फर्किसकेपछि हामीले उनको 'श्रद्धाको फूल चढाइदिनू आएर लाशमा' भन्ने गीत पटक पटक रेडियोबाट प्रसारण भइरहेको सुन्यौं। यसले हामी सबै निकै उद्वेलित भएका थियौं।
आज मैले यहाँ नारायण गोपाललाई सम्झिन खोजेको सन्दर्भ — उनले गाउने गीतका शब्द, तिनको मर्म र भावभित्र उनी गला र स्वर (ध्वनी) लाई कुन हदसम्म एकाकार गराउन समर्थ थिए भन्ने हो।
उनले गाएका एघार दर्जन बढी गीतमा र ती गीतका प्रत्येक शब्दमा उनको हृदयदेखिको अन्तर्ध्वनी सुनिन्छ। हिन्दी सिनेमाका गीतका शब्दमा मोहम्मद रफीले दिएको जीवन्तताकै श्रेणीमा नारायण गोपालले नेपाली गीतमा प्रयुक्त शब्दको अर्थलाई त्यसको भावसँग सम्मिलीन गराएर अभिव्यक्त गरेका छन्। यसले श्रोतामा गीतप्रतिको संवेग, आत्मानुभूतिलाई थप उचाइमा पुर्याउन र निरन्तर सुनिरहन लालायीत बनाएको छ।
उदाहरणका रूपमा उनका केही गीतको चर्चा गर्छु।
'मैले पुण्य मन पराएँ या पाप मन पराएँ' भन्ने राममान तृषितको गीतमा नारायण गोपालले 'पुण्य' लाई मानिसले प्राप्त गर्ने एउटा लामो समय अवधिको कर्मको फलका रूपमा जोड दिएका छन्।
कवि भूपी शेरचनको 'सानै हुरीमा बैंसको सपना' मा उनले सिमलको फूल उडेर आकाशमा कतै टाढा टाढा गएझैं गरी 'तिमी के गयौ, खुसीले पनि मलाई आँखा तरी गयो' भन्ने भाव छाडेका छन्।
त्यसैगरी 'अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा' गीतमा उनले 'त्यही आँसु टीका पठाइदिऊँ कि?' भनिरहँदा आँसुसहितको त्यो 'टीका' प्रवासबाट उनले पठाइरहेकाले 'टीका' झन्डै घरसम्म नै पुग्न लाग्नेजति समय त्यस शब्दलाई दिएका छन्।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'ईश्वर तैंले रचेर फेरि कसरी बिगारिस्' गीतमा उनले मुनाको वियोगमा मदनको ईश्वरप्रतिको आक्रोश र निराशालाई कठोर मनले अभिव्यक्त गरेका छन्।
'खरानी तिनको मलाई देऊ न' भन्दै उनी आफै भष्मिभूत हुन खोजेका छन्। त्यसैगरी, ईश्वर वल्लभको 'मलाई जिन्दगी यो लाग्दछ' मा नारायण गोपालले बहकिन्छु म 'सन्तापले' भन्दै आफै आगोझैं रापिएको भाव दिएका छन्।। कहीँ 'घाउ' भएर बल्झिएँ भन्दै छातीभित्रको घाउ नै चर्किएजस्तो आभास हुन्छ।
वल्लभकै अर्को गीत 'सारा दिन अरूलाई बाँडेँ केवल यी रात मेरा' मा 'काँडाहरूलाई नाघी' फूललाई म्वाइँ खान उनले एउटा निकै ठूलो फड्को मार्नुपरेको अनुभूति हुन्छ।
उनका अनन्य मित्र नगेन्द्र थापाको 'मेरो गीत म उभेको भूलोले सुनोस्' मा उनले 'गीत' अर्थात् अभिव्यक्तिलाई नै महत्वका साथ उठाएका छन्। 'गीत' मार्फत् प्रत्येकको आवाजको महत्त्व हुने दर्शाएका छन्। भिज्दैन 'धरा' पसिनाले भने 'फाटेका चिरा, धरतीले सुनोस्' भनी उनले सबैले सुन्ने गरी नै भनेका छन्।
गीतकार थापाकै 'जन्मिनुपर्छ हरेक मानिस लिएर' मा लिएर नौलो 'आश' र 'आकाश' दुवैको अनन्त व्यापकता दर्शाएको अनुभूति श्रोताले गर्छन्। त्यस्तै, कालीप्रसाद रिजालको 'झर्यो जिन्दगी, टुट्यो जिन्दगी' मा नारायण गोपालले साँच्चै नै जिन्दगी कतै टुटेर, कतै फुटेर चकनाचुर भइसकेको हो कि झैं लाग्छ भने कतै काँडामा पनि जिन्दगी हाँसिरहेको झैं लाग्छ।
मित गोपाल योञ्जनका अनेक गीतमा नारायण गोपाल उसै गरी शब्दका भावहरूभित्र डुबेको भेटिन्छन्। उनको 'लौ सुन म भन्छु मेरो राम कहानी' मा अघि बढ्न खोज्दा मलाई 'खाल्डो' खन्छ भन्दै उनी कतै साँच्चिनै खाडलमा नै खसेका त होइनन् भन्ने आभास हुन्छ। योञ्जनकै 'जीवनदेखि धेरै धेरै नै थाकेर' मा 'म मुर्दा भएको' तिमी आज हेर भन्दै आफ्नो जीवनको अवसान भइसकेको मृत अवस्थाको भाव व्यक्त गरेका छन्।
योञ्जनकै 'मलाई माफ गरिदेऊ मेरा लोभी नजर' मा उनले 'ऊ आउँछे सधैं म निदाएको बेला, अनि बस्छे मेरो छातीमा' निद्रा नबिथोलिने गरी एकदमै शान्त तवरले गाएका छन्।
त्यसैगरी किरण खरेलको 'मन्दिरमा छ कि मूर्तिमा माया' मा उनले 'आमाको माया र ममता' लाई आमाकै काखमा रहेझैं अभिव्यक्त गरेका छन् भने 'साउन र भदौ बनेर' आमाको आँखाबाट माया उर्लेको अभिव्यक्ति दिएका छन्।
भीम विरागको 'तिमीले पनि मजस्तै माया दिएर हेर' गीतमा उनले पूजाको फूलजस्तै 'दिन दिन मरेर हेर' भन्दै त्यसरी मरेर बाँच्नु पर्दाको पीडा पोखेका छन्।
फेरि उनी कतै सागरको 'लहर' जस्तै लहरिएका पनि छन्।
विरागकै 'कसरी म भुलेँ, केमा म भुलेँ' गीतमा उनी केही चिजमा आफू निस्किनै नसक्ने गरी रूमल्लिएर अल्मल्लिइरहेको झैं गरी 'केमा म भुलेँ' भनिरहेका छन्।
उनका प्रिय कवि हरिभक्त कटुवालको 'मलाई नसोध कहाँ दुख्छ घाउ' मा मुटुभित्रकै घाउ दुखेको अनुभूति हुने गरी उनको गायनको संवेगता अगाडि बढेको पाइन्छ।
त्यस्तै, 'यो मेरो गीतमा जुन मुर्च्छना छ, त्यो तिमी होइन को भन्न सक्छ' मा 'मुर्च्छना' लाई मुर्च्छनाकै रूपमा प्रस्तुत गरेका छन्।
अम्बर गुरूङ 'मेरो आँखालाई राख्ने फूलबारी छैन' गीतमा उनले 'झ्यालखाना' लाई आफ्नो प्रेमलाई लामो समयसम्म ढुक्कसँग कैद गर्न सकिने रमाइलो स्थानका रूपमा लिएका छन्। पहाड, मधेसका फाँटहरूमा आफू विस्तारित भएर घुमेको, रमाएको पनि आभास दिएका छन्।
नारायण गोपालले रत्न शमशेर थापाको 'बिछोडको पीडा नसकी खप्न' गीतमा 'दसैंको बेलामा' भन्दै निकै टाढा, एकदमै दूरबाट दसैं मान्न घर फर्किरहेको तन्नेरीको यात्रासहितको स्मृतिलाई झंकृत गरेका छन्।
उनकै 'ए कान्छा, ठट्टैमा यो बैंस जान लाग्यो' गीतमा तारादेवीका साथ 'अमूल्य हिरालाई फूलैफूलको डोली' मा हिराको बहुमूल्यतालाई विस्तार गरेका छन्।
उनी नीर शाहको 'कहिलेकाहीँ म हाँस्छु, धेरैबेर हाँस्छु' मा निकैबेर नै हाँस्न खोजेको प्रतीत हुन्छ।
'पर्खी बसेँ आउला भनी, मेरो उठ्ने पालो' मा गीतको आरम्भमा नै उनले लामो पर्खाइको संकेत दिएका छन्।
मन बहादुर मुखियाको 'मेरो कथा खाली खाली पिँजडामा खोज' गीतमा नारायण गोपालको आफ्नै 'कथा' त्यति धेरै लामो रहेछ जस्तो भान हुने गरी व्यक्त गरेका छन् भने कतै 'तार टुटेको सितारे' झैं विरक्तिएका छन्।
गीतकार नर्देन रूम्बाको 'मेरा सबै रात अब' मा 'आफैलाई राख्ने कुनै ठाउँ' नभएर उनी 'बेहोसी' भएका छन्। 'सधैं यो सडकमा म' भन्दै उनले सडकको अनन्तता जस्तै आफ्नो निरूद्देश्य हिँडाइको अनन्तताको उद्घोष गरेका छन्।
राजेन्द्र रिजालको 'प्रेमको माला पहिर्याइ दिएँ' मा उनले प्रेमको मालालाई प्रेमपूर्वक सधैंका लागि सम्हालिने गरी नै 'सम्हाली राख्न' भनेका छन्।
नारायण गोपालले दिव्य खालिङको 'सधैं नै म हाँसेँ, तिमीलाई रूवाई' को 'रूवाई' मा साँच्चै नै रोएरै आफ्नो गायन प्रस्तुत गरेका छन्। 'प्रेयसीका यादहरू कोरिएको मुटु' मा उनी कतै एक्लै एकान्तमा बसेर आफ्नो मुटु आफै 'फुकाएर' हेरिरहेझैं गरी पोखिएका छन्।
कविवर माधव घिमिरेको 'मालती मंगले' भित्रका अनेक शब्द र हरफहरूमा नारायण गोपालले आफ्नो अन्तस्करणदेखि नै शब्दमा अन्तर्भाव पोखेका छन्।
'गाउँले भाइ हो, शरणमा छोडेँ, एक्ली मालती' मा उनी आफू एक अत्यन्त कठिन र विवश परिस्थितिमा रहेको दर्शाउँदै गाउँलेहरूसँग अनुनय विनय गरिरहेका छन्।
'सधैं त तिमी उजेली मुहार बलूँझैं धपधपी, आजैको दिन रोई रइछ्यौ किन शीत झैं तपतपी' मा दिनभरि नरमाइलो मानेर रोइरहेझैं गरी उनी मालतीलाई प्रश्न गरिरहेका छन्। मालतीलाई मंगलेले बोलाउने गरेको मुरली खोसिएको सन्दर्भमा 'म केले बोलाऊँ मालतीलाई' भन्दै विरक्तिएका छन्। मौरीले मालती फूल चिलेझैं मान्छेले आफ्नो 'दिल' चिलेको गहिरो पीडा व्यक्त गरेका छन्। 'ढोका खोल मालती, ढोका खोल हो' मा ढोका खोल्नुभन्दा अगाडि नै 'बोल्न' भनी मालतीलाई आग्रह गरेका छन्।
दिनेश अधिकारीको 'यो सम्झिने मन छ, म बिर्सूँ कसोरी' मा 'जाने निठुरी' लाई गइसकेको र उनीबाट निकै टाढा नै पुगिसकेको जसरी 'ए...ई जाने निठुरी' भनेका छन्। 'जहाँ नै म हिँडे पनि' भन्दै विशाल 'धरती' को परिकल्पना गर्दै उही धरती, उही आकाश छ भन्ने सन्देश दिँदै 'जूनको उज्यालो' को व्यापकता प्रकट गरेका छन्।
त्यसै गरी दिपक जंगमको 'तिमीलाई म के भनूँ' मा उनले प्रेयसीलाई 'कहिले नछुट्ने नशा भनूँ कि' भनी प्रश्न गरेका छन्।
उनकै 'साउनको झरी बनी तिमी आउन' गीतमा नारायण गोपालले 'झरी' लाई साउन-भदौको अविरल वर्षाझैं गरी निरन्तर आइरहन प्रेयसीलाई हृदयदेखि नै आग्रह गरेका छन् र फूलहरूले पनि रोई रोईकन आउन भनेका छन् भन्ने अभिव्यक्ति दिएका छन्।
यी बाहेक कञ्चन पुडासैनी, तुलसी घिमिरे, चाँदनी शाह, कुसुम गजमेर, लक्ष्मण लोहनी, चेतन कार्की, धर्मराज थापा, दीर्घसिंह बम लगायतका गीतमा उनले शब्द र त्यसको भावलाई आत्मसात् गरेर गाएका छन्।
म नेपाल भाषाको मर्मज्ञ र जानकार नभए पनि पक्कै पनि नारायण गोपालले गीतकार गिरिजाप्रसाद जोशी, कवि दुर्गालाल श्रेष्ठको नेवारी भाषाका गीतहरूमा अझ बढी जीवन्तता प्रदान गरेको हुनुपर्छ।
नारायण गोपालले गीत गाउने क्रममा माथि इंगित गरिएका जस्ता अनेक शब्दहरू छन् जसको भावसँग उनी समाहित भएर गाएका छन्।
उनकै शब्दमा भन्दा, गीत मुख र मनबाट होइन, हृदयबाट गाउनुपर्छ।
हो, उनले प्रत्येक गीत हृदयदेखि नै गाएका छन्। गीत छान्न सक्ने उनको सामर्थ्य पनि बडो गजबको थियो।
एक प्रसंगमा संगीतकार शम्भुजीत बाँस्कोटाले भनेका छन्, 'मैले दीपक खरेलका लागि भनेर बनाएको विश्वम्भर प्याकुर्यालको 'तिमीले भनेका सारा देव छोएर' र उदित नारायण झाका लागि भनेर बनाएको नीर शाहको 'पर्खी बसेँ, आउला भनी मेरो उठ्ने पालो' भन्ने गीत नारायण गोपालले 'म गाउँछु' भनेर लिएर गाएका हुन्।'
नभन्दै यी दुवै गीत कालजयी बने। यसबाट पनि नारायण गोपाल आफ्नो स्वरलाई गीतको शब्द र भावसँग एकाकार गराउन खप्पिस र सक्षम थिए भन्ने स्पष्ट हुन्छ।
नारायण गोपालले आफूले गाउने गीतका सुरूदेखि अन्त्यसम्मका शब्दहरू चयन मात्र गरेनन्, ती शब्दभित्रको मर्म र भाव तथा सन्दर्भ समेत मर्मस्पर्शी ढंगले स्वरांकन गरे, गाए।
उनी बितेर गएको ३४ वर्ष बितिसकेको छ। नेपाली संगीत जगतलाई उनी जस्तै नभए पनि उनको हाराहारीको अर्को गायक पाउन मुस्किल छ। नारायण गोपालको स्वरको त्यो उचाइ र शब्द-भावको गहिराइ समात्न सक्ने दुलर्भ हुन्छन्।
हिन्दी सिनेमाका गीत-गजलमा किशोर कुमार, लता मंगेशकर, मुकेश, मन्नाडे, आशा, महेन्द्र कपुर, मेहदी हसन, गुलाम अली, जगजीत सिंह, अनूप जलोटा, पंकज उदास, उदित नारायण, कुमार सानु, सोनु निगम, अरिजित आदिको नाम अग्रपंक्तिमा रहे पनि त्यहाँका नव-गायकहरूमा मोहम्मद रफीको झैं वा उनको बराबरीमा गाउने अभिलाषा (त्योभन्दा माथि जाने अभिलाषा होइन) राखे जस्तै नेपाली नव-गायकहरूले पनि नारायण गोपालको झैं (नारायण गोपालले झैं होइन) छनक दिन सके पनि आफूलाई भाग्यमानी सम्झिन्छन्।
संख्यात्मक रूपमा नारायण गोपालले थोरै गीत गाए भए पनि आउँदा कैयन दशकसम्मलाई उनको पदचिह्न नेपाली संगीत जगतलाई मार्गदर्शक नै बन्ने छ। त्यो पदचिह्न भावी पुस्ताका लागि अत्यन्त उपयोगी हुनेछ। यसले नेपाली संगीतप्रेमीहरूका लागि नारायण गोपालको नियास्रो कम गर्न मद्दत गर्नुका साथै स्वयं नारायण गोपालप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्नेछ।