गएको असोज ११ र १२ गतेको भीषण बाढी पहिरोले नेपालको विभिन्न ठाउँमा निकै जनधनको क्षति गरेको थियो। आफ्नै गाउँमा एक जना भाउजू बित्नु भयो पहिरो कारण।
यसै बाढी पहिरोको कारण हाम्रो महत गाउँमा रहेको महत गाउँ सल्लाघारी सामुदायिक वन समिति पुनः सञ्चालन गर्ने ध्यानाकर्षण भयो। यस सामुदायिक वनको स्थापना २०५१ सालमा भएको थियो भने यसको क्षेत्रफल ५८ हेक्टर रहेको छ। उक्त समिति करिब डेढ दशकदेखि सक्रिय र प्रभावकारी हुन सकेको थिएन।
यस महत गाउँ सल्लाघारी सामुदायिक वन उपभोक्ता समिति कुनै समय नेपालकै उत्कट समुदायको वन थियो भन्ने कुरा मैले गाउँका अग्रजहरूबाट सुनेकी थिएँ। मेरो बुबाले भन्नुहुन्थ्यो कि उहाँको विवाहको सोफा लगेर वन मन्त्रीलाई स्वागत गरिएको थियो रे। सुन्दा अहिले ओहो! एकादेशको कथा जस्तो लाग्छ।
यसअघि हाम्रो गाउँमा पनि धेरै पटक वन समितिलाई सक्रिय बनाउने प्रयास भएको थियो। तर प्रयासहरू असफल भएका थिए। यसै विषयमा छलफल हुँदै गर्दा मैले एक दिन समितिलाई सक्रिय बनाउने सर्तमा अध्यक्षको प्रस्ताव राखेँ र मेरो प्रस्ताव स्वीकार भयो। म नव निर्वाचित अध्यक्ष भएँ।
सामाजिक कामको सुरुवातसँगै समाजको मानचित्र पढ्ने सुनौलो अवसर थियो मेरो लागि यो। तर सोचेजस्तो भने सजिलो थिएन।
मेरो आलोचना गर्ने र मलाई हौसला दिने दुवै उतिकै थिए। मान्छेहरूको विचार धारणा मप्रति विभिन्न खालका थिए। केही मानिसहरू भन्नुहुन्थ्यो- सानै छे, यो कामको लागि अलि बेला भएको छैन।
कोही भन्नुहुन्थ्यो- सामाजिक काम जस नपाइने काम हो नगर्।
अनि कोही भन्नुहुन्थ्यो- हामीलाई तिमीहरू जस्तो युवाको खाँचो छ, अघि बढ्नु हामी साथ दिन्छौँ।
सबैको विचार सुनेँ तर अन्तिममा आफ्नो सुनेँ। म आफ्नो विचारमा प्रस्ट र अडिग थिएँ। मैले गर्नु पर्छ र सिस्टम बसाल्नु पर्छ जसले गर्दा भोलिका दिनमा फेरि त्यही कहानी नदोहोरियोस् भनेर।
समिति राम्रोसँग चल्न नसकेको कारण यसका कानुनी कागजातदेखि प्रक्रियाहरू सबै भद्रगोल भएका थिए। यसलाई पूर्ण सञ्चालनमा ल्याउनुलाई यो सबै प्रक्रिया पुर्याएर काम सुरु गरियो र कुराहरू प्रक्रियामै छन्।
यसै क्रममा सब डिभिजन वन कार्यालयद्वारा गत पुस २६ गते आयोजित डिभिजन स्तरीय स्थानीय तह तथा सामुदायिक वन समूहसँगको समन्वय बैठक सम्पन्न भएको थियो। मेरो यो आफ्नो पहिलो अध्यक्षताको औपचारिक बैठक थियो। निकै उत्साहित थिएँ।
मभन्दा अग्रजहरू हुनुहुन्थ्यो र सहभागीमा सबैभन्दा सानो र महिला सहभागीको कुराले मलाई फेरि हाम्रो पितृसत्तात्मक समाजको स्मरण गरायो। मेरो त्यो सहभागिताले बैठकमा वन अधिकृत सन्तकुमार श्रेष्ठ ज्यूले प्रश्न गर्नुभयो, के कारणले प्रोत्साहित गर्यो भनेर। मेरो एकै जवाफ थियो- मेरो इच्छाशक्तिको कारण भनेर जवाफ फर्काएँ। मलाई मुस्कुराउँदै बधाई दिनु भयो र आगामी दिनमा सहकार्य गर्ने कुरा भयो।
विगत दशकदेखि लथालिङ्ग भएको वन समितिको भवनको मर्मत कार्य सुरुवात भइसकेको थियो। कामहरूले सुरुवाती पाइलाहरू सार्दैछन्। म निर्वाचित भएको करिब ३ महिना भइसकेको छ तर पूर्ण रूपमा औपचारिकताको क्रममा जाँदा यही माघ ५ गते शनिवारको दिन मेरो पूर्ण रूपमा औपचारिकता पाएर बैठक सफलतापूर्वक सम्पन्न गरियो। मनमा अलिकति डर र उत्साह छ।
म अहिले ब्याचलर चौथो वर्षमा अध्ययनरत पाटन क्याम्पसको विद्यार्थी हुँ र आफ्नो थेसिस यसै महत गाउँ सल्लाघारी सामुदायिक वनको गर्ने निर्णय गरेको छु। यहाँसम्म आइपुग्दा मद्दत र हौसला दिने सम्पूर्ण शुभचिन्तकलाई धन्यवाद।