मध्यम वर्गीय परिवारमा हुर्केकी, परिवारको आर्थिक अवस्थाको कारण करिब १७ वर्षको उमेरदेखि जागिर गर्दै आएको छु। त्यो उमेरदेखि घर छाडेर अर्काको ठाउँमा बसी काम गर्न थालेको पनि अब त लगभग १० वर्ष भैसकेछ।
आफूलाई एउटा खुसी लाग्ने कुरा के हो भने कामको सिलसिलामा मैले नेपालको करिब ५५ देखि ६० जिल्ला घुम्ने मौका पाएँ।
काम गरेर पैसा कमाएँ, परिवारलाई सहयोग गरेँ, बहिनीहरूलाई पढ्न मद्दत गरेँ र अभावले गर्दा बीचमै रोकिएको आफ्नो पढाइ पनि सुरू गरेँ। तर खै किन हो मलाई यत्तिका वर्षमा मैले पैसा कमाएँ भन्दा पनि म यति जिल्ला घुमेर काम गर्ने मौका पाएको छु र परिवारलाई मद्दत गर्न सकेको छु भन्ने कुरा अझै बढी गर्वका साथ सुनाउने गर्छु अरूलाई।
अबको केही दिनमा मेरो जन्मदिन आउँदै छ, र म अहिले पनि घरभन्दा टाढा नै छु। जन्मदिनमा केक काट्ने, मिठो मिठो परिकार परिवारसँगै बसेर खाने मौका मैले यी बितेका १० वर्षमा एकदम नै कम पाएँ।
अहिले म मेरो जन्मदिन भव्य साथ मनाउन सक्छु तर अब त्यो रहर नै बाँकी रहेन। अबको रहर त बस कहिले जागिरबाट बिदा लिएर घर जान पाउँछु र आफ्नो घरमा एक निन्द्रा आरामको निन्द्रा सुत्न पाउँछु भन्ने मात्र छ।
म अहिले बसिरहेको ठाउँमा साथीभाइ नभएका हैनन्, साथीहरू छन्, घरबेटी आण्टी हुनुहुन्छ जसले आफ्नो छोरीलाई जस्तै मलाई पनि माया गर्नुहुन्छ। घरमा मिठो खाना केही पाकेको दिन कहिल्यै नछुटाई खान बोलाउनु हुन्छ।
एकदम भिडभाड हुने ठाउँ हो यो, तर यो भिडमा पनि कहिलेकाहीँ म आफूलाई एक्लो पाइरहेको हुन्छु, सबै बिरानो लाग्छ, कसैको माया पनि न्यानो लाग्दैन अनि कसैको साथ पनि आफ्नो लाग्दैन। अचेल त निन्द्रा पनि राम्रो लाग्दैन, बिहान निन्द्रा पुग्दा नपुग्दै उठ्छु आफ्नो लागि पानी तताउँछु, पिउँछु र आफ्नो दैनिकी सुरू हुन्छ।
न आमाको 'घाम डाँडामा पुगिसक्यो कति सुतेको' भन्ने सुन्दै उठ्न पाउँछु, न बाबाको 'आज के खाने नास्ता?' भन्ने बोली सुन्दै उठ्न पाउँछु। न बहिनीहरूको हल्लाले रिसाउँदै बिहान बिहानै कति हल्ला गरेको भन्दै रिसाउँदै उठ्न पाउँछु, म सिर्फ एक्लोपन अनि सन्नाटामा उठ्छु।
यत्तिका भिडमा पनि कोही कसरी एक्लो हुन सक्छ होला, वरिपरि यत्तिका हल्लाखल्ला भैराख्दा पनि कोही कसरी यति शून्य महसुस गर्न सक्छ होला, कोही आफ्नो घर गएर एक निद्रा निदाउनको लागि कसरी यति तड्पिन सक्छ होला, घरमा हुँदा बाहिर जान नपाएर बाआमासँग झगडा गरिरहने मान्छे अहिले हरेक दिन बाहिरै बसेर बाहिरै खाने स्वतन्त्रता हुँदा पनि किन कतै घुम्न जान पनि मन नलाग्ने अनि बाहिर केही खान पनि मन नलाग्ने हुन्छ होला?
एक्लोपन र स्वतन्त्रतामा फरक के छ होला?
दिनभरी अफिसमा हुन्छु, साँझ कोठामा आउँछु र एकछिन फोन चलाउन थाल्छु। सामाजिक सञ्जालतिर घुम्दै गर्दा कसैको परिवार सँगै हाँसेको फोटो देख्छु, कसैको स-परिवार घुम्न गएको देख्छु त कसैको हाँसीखुसी दैनिकी देख्छु। यी सबै देख्दा फेरि मलाई आफू एक्लो भएको महसुस हुन्छ र निराश हुँदै हेर्न बन्द गर्दिन्छु र खान बनाउनतिर लाग्छु।
सायद मैले यही कुराले आफुलाई सम्हाल्न सकिनँ र त्यसैले होला, केही समयदेखि सामाजिक सञ्जाल पनि बन्द गरिदिएँ। साँझ फेरि निद्रा लाग्दैन र सोच्न थाल्छु कि के सामाजिक सञ्जालमा देखिएका ती सबै उत्तिकै खुसी छन् त जति फोटोमा देखिन्छन्?
के खुसीसँग गुनासो मेरो मात्र हो?
के म बाहेक सबै जना आफ्नो परिवारमै रमाउँदै छन् त?
के ममात्र एक्लो हो त?
के सबैले खोज्ने स्वतन्त्रता यही हो त?
यदि यो नै स्वतन्त्रता हो भने म अघाएँ अब यो स्वतन्त्रतासँग, म खुसी हुन सकिनँ स्वतन्त्रता पाएर पनि, अब यो स्वतन्त्रता नै एक्लोपनको रूप लिएर मेरो घाँटी अठ्याउन थालेको छ, मेरो आराम, मेरो निन्द्रा अनि मेरो भोक सबै खोस्न थालेको छ यो स्वतन्त्रताले। मलाई अब मेरो घर जानु छ, मेरो आफ्नो घर।
तर फेरि सम्झिन्छु, छोरा नभएको घरको जेठी छोरी म, के मलाई मेरो आफ्नो घर फर्केर आरामले बस्ने स्वतन्त्रता छ र?