‘बर्मा गए कर्मसँगै, नेपाल गए कपालसँगै’ भने जस्तै मानिस जिउनका लागि कहाँ मात्र पुग्दैन! र पनि भने जस्तो सोचे जस्तो पाउँदैन र पनि नयाँ विषयमा मानिस पक्कै लोभिन्छ नै। सन २००० ताकाको कहानी हो, जो सबैले जान्दा, थाहा पाउँदा ठिक होला किनकि समय फेरिए पनि तरिका उस्तै छ।
नेपालमा नेपालीहरू विदेश जाने लहर थियो नै। म पनि जोशिएँ, लोभिएँ र हौसिएँ। भर्खर एमबिए परीक्षा दिएको थिएँ। दैनिक पत्रिकामा प्रकाशित फ्री-भिसाको समाचारले मलाई पनि छोयो। म लागेँ म्यानपावरतिर। खिचापोखरीमा म्यानपावरको अफिस थियो त्यो बेला।
अन्तर्वार्ता पनि भयो। म नेपालमा पनि क्यासियरकै काम गरिरहेकाले मलाई अन्तर्वार्ता सजिलै भयो र छानिएँ। ९०० दिराम तलब खान र बस्न निःशुल्कको प्रस्ताव थियो। म दंग भएँ। विदेश भनेपछि हौसिएको थिएँ; कस्तो होला? के होला? कहाँ होला? भन्ने मलाई कौतूहल लाग्थ्यो।
नेपालमा त्यो बेलाको जम्मा ६००० रुपैयाँको १४ घन्टे जागिर थियो क्यासियरको र पनि मलाई विदेशको रहरले घरमा थाहा नदिई साथीसँग ब्याजमा ऋण खोजी लागेँ वैदेशिक रोजगारी प्रक्रियामा। विदेश जाने बेला भयो। अब घरमा खबर गर्न गएँ, परिवार भेटेर काठमाडौँ फर्किएँ। परिवार भन्नासाथ श्रीमती छोराछोरीको अर्थ लाग्छ, त्यो बेला मेरो बिहे भएको थिएन। त्यसैले निर्णय गर्न पनि सहज थियो, मनखुसी गर्न।
मेरो जाने खबर पाएपछि मेरो दिदी गल्फ एयरको अफिसमा नै गएर मलाई अरब जानबाट रोक्न अन्तिम बेलासम्म पनि टिकट फिर्ता गर्न गएकोमा एयरलाइन्सको म्यानेजरले ‘लेट हिम एक्सप्लोर’ भन्यो। दिदी निराश भएर त्यतिकैमा फर्कनु पर्यो।
विदेश जान भड्काएको भनेर दिदीले मेरो साथीलाई गाली समेत गर्नुभयो। ऊ बिचरा डरले बोल्न सकेन। दिदी ज्यादै कडा। मलाई डर लाग्थ्यो र पनि मैले रहरमा कहर गरेँ। २ वर्षको भिसा थियो। मलाई ९०० दिराम पैसा के-के नै जस्तो भयो। हुन त नेपाली बिस रुपैयाँ हुन्थ्यो एक दिरामको त्यो बेला।
जिन्दगीमा कहिल्यै जहाजको रूप नदेखेको मलाई पहिलो पटक जहाज चढ्न पाउँदा हर्ष थियो, उता दिदीको गालीको वर्षा थियो। अरब भनेपछि अहिले त मानिस तर्सिन्छन्, त्यो बेला के?
नेपालमा गरिरहेको जागिरमा पनि विदेशी नागरिक नै मालिक थियो। उसले मलाई अरबमा गाह्रो छ काम, नेपालको भन्दा शोषण छ भन्दथ्यो। नयाँ ठाउँ नजाऊ विदेश भन्दै थियो तर पनि मैले मानिनँ। मन त हो, लागेपछि लागि नै हाल्छ रोकिन्न। मति बिग्रेपछि कसैको केही लाग्दैन।
विदेशको ख्वाब थियो ममा पनि। त्यही ख्वाबले गर्दा छोटो समय भए पनि धेरै पीडा भोगेँ। नेपालको र विदेशको जागिरमा धेरै सिकेँ, जाने, थाहा पाएँ। अहिले त्यही अनुभव बाँड्न पाइएको छ। तर केही मज्जा, केही पीडा हो। सबै नराम्रो भन्न त मिल्दैन।
रेमिट्यान्सको विषय सबैले चासो लिएको देख्दा रमाइलो लाग्छ तर पीडा असंख्य छ वैदेशिक रोजगारमा, सरकारले सोच्नपर्छ।
जहाज चढ्न अगाडी मेडिकल गरेर गएपछि जहाजमा बसेको ४ घण्टामै राजधानी अबुधावी सहरमा उत्रियो। कम्पनीको एउटा मानिस आयो। एयरपोर्टमा पासपोर्ट माग्यो अनि हामीहरूलाई गाडीमा राखेर लग्यो। हामी ५ जना मध्येमा एक जना क्यास, एक जना क्लिनर, २ जना वेटर र एक हेल्पर थियौँ जसमा हामी सबैको पहिलो पटकको विदेश यात्रा थियो।
राति ११ बजे उता जहाजबाट झरेपछि होटेल लगेर खानपिन गरेर भोलिपल्ट जाँच गराउन अस्पताल लग्यो, इन्जेक्सन दियो, मेडिकल गर्यो। हामी मध्ये एक जनालाई पेटमा किरा देखियो भनेर फर्कायो। त्यो साथी पीडा बोकेर फर्कियो। लाग्थ्यो अब दिन सहज छैन।
नेपालमा नै एग्रिमेन्ट दिएको र तलब समेत लेखेकोले सहज थियो नै। त्यो भए पनि हामीलाई गएको भोलिपल्ट नै एचआर म्यानेजरको अफिसमा लग्यो। भित्र कोठामा हामी पसेपछि म सोफा देखेर नसोधीकन बसेँ। म्यानेजरले ‘आई डिडन्ट टेल यु टु सिट’ भन्यो। म सरी भन्दै उठेँ।
पढेर मात्र केही जानिँदो रहेनछ, पर्न पर्ने रहेछ। सभ्यता र शिष्टता चाहिने रहेछ हामीलाई कहिल्यै सिकाइएन। बरु गाउँमा आमा-बाले भनेको याद थियो, बोल्न र बस्न पाएँ भन्दैमा थ्याच्च र प्याच्च नबोल्न र बस्न भनेको। तर चाहेको बेलामा दिमागमा अक्कल आउँदो रहेनछ।
१३० जना काम गर्ने होटेलमा ३४ देशका कर्मचारी थिए। मलाई स्टेवार्डको क्याप्टेनसँग कोठामा राख्यो। मलाई रातिमा घुर्ने बानी, ऊ रातिमा उठेर ध्यान गर्ने। दुवैलाई अप्ठ्यारो थियो र पनि सहनु पर्ने थियो।
काम गर्ने होटेलमा ५ तल्ला थियो। ग्राउन्डमा होटेल, अरू तल्लामा कर्मचारी र कामदारको क्वार्टर थियो। काम सजिलै तर मौसम गर्मी उकुसमुकुस। कसैले माथि आकाशबाट आएर थिचे जस्तो लाग्ने गर्मी कडा। बिहान र साँझ दुई सिफ्टमा काम, दिउँसोको समय फ्री नै थियो।
होटेलमा क्यासियर थिएँ, ट्यालीमा हिसाब राख्ने, बिल गर्ने। होटेलमा टेक अवे पनि थियो, खाना ओसार्ने गाडीहरू र कर्मचारी थिए। फोनमा अर्डर आउँथ्यो। नजानेर कति पटक आफ्नो पैसा राखेर हिसाब बुझाएको छु। अरबीले अङ्ग्रेजी बोलेको ठम्याउन गाह्रो। कुनै बेला खाना पठाउन ढिलो भएमा खल्लीवल्ली भनेर रिसाएर फोन राख्थे।
धेरै कामदार साउथ इन्डियाका नै थिए। मालिक पनि उतै साउथका थिए। उनीहरू हिन्दी नबोल्ने, साउथकै कन्नाड भाषा बोल्ने। उनीहरूको अलग्गै टोल थियो र पनि नेपाली भनेपछि माया गर्थे। छिमेकी देशको कारणले अर्के सद्भाव थियो। हुन त त्यहाँ धेरै देशका थिए। नेपालबाट आएका ५ जना मात्र हामी।
भाषा, सिप, वातावरण, सबै अनौठो लाग्ने यहाँ म्यानपावरले पैसा मात्र लियो काम सक्यो तर हामीलाई केही अर्थ्याएन र सिकाएन। यस कारण पनि समस्या भयो। त्यो बेला ओरिएन्टेसन गर्न अनिवार्य थिएन। बैंक खाता नभएको तलब हातमा आउने थियो। एक जना साथीले सुरु महिनाको तलब मलाई दिन भन्यो। मैले उसलाई सापटी दिएँ।
बिहान उठ्यो ब्रेकफास्ट अनि काम, ब्रेक दिउँसो फ्री, साँझ फेरि काम थियो। साँझ काम सकेर समुद्र बिचमा जाने राति उतै बस्ने, राति तिन बजे तिर अनि घर आउने थियो दैनिकी। निद्रा नलाग्ने गर्मीले, पङ्खा त थियो तर काम नगर्ने।
धेरै नेपालीहरूसँग भेट्दा ‘तपाईंको नोकरी राम्रो छ, काम सजिलो’ भन्थे। कोही नेपाली केटीहरू पनि ठुलो होटेलमा काम गरेका थिए त्यो बेला पनि। अरब भए पनि खुला थियो अमेरिका जस्तो आधुनिक समाज।
अरबी भाषा नजानेकाले पनि समस्या थियो र पनि धेरै अरबीहरू अङ्ग्रेजी बोल्थे। हामी नेपालीलाई पाइला पाइलामा समस्या थियो। हामीले सिक्नुपर्ने धेरै छ। वैदेशिक रोजगारमा पठाउन गलत हैन, तर तालिम बिना पठाउनु अपराध हो।
यस्तै दैनिकी चल्दै थियो। एक दिन घरबाट अचानक फोन आयो कि दिदीले म स्ट्याट अर्थात् तथ्यांक विषयमा फेल भएकोले पुनः परीक्षा दिन नेपाल डाक्नु भयो। अब महाभारत सुरु। मैले कम्पनीमा भनेँ तर उनीहरूले जान पाउन्नौ हामीले पैसा तिरेर ल्याएको हो तिमीलाई जेल हाल्छौ पनि भने।
मैले अनुनय विनय गरे पनि मानेनन्। धेरै दिनसम्म जिद्दी गरेपछि पठाउन राजी भए। मैले काम गरेको तलब उनीहरूले दिएनन् र त्यहाँका काम गर्ने साथीहरूले चन्दा उठाएर पिआइएमा चढाएर पठाए।
बेलाबेलामा किचनमा काम गर्ने एक जना भारतीय सेफले भन्ने गर्दथे कि- ‘माफी मुफता मुस्किल ज्यादा।’ साँच्चै मलाई समस्या त्यस्तै थियो।