गत वर्षको मध्य मङ्सिरको एक दिन कार्यकक्षमा बसेर काम गरिरहेको थिएँ। दिउँसोको एक बज्न केही मिनेट मात्रै बाँकी थियो। एउटा अपरिचित नम्बरबाट मेरो मोबाइलमा फोन आयो। फोन रिसिभ गरे, फोन गर्ने व्यक्ति डोल्पाबाट एक महिला थिइन्।
सामान्य शिष्टाचार पछि उनले भनिन्, ‘सर! मेरो छोरा आकाश (परिवर्तित नाम) ले कक्षा सातमा पढ्छ, एकछिन कुरा गराइदिनु न।’
‘कक्षा सातमा त दुई जना आकाश छन्, कुन चाहिँ आकाश म्याडम?’ मैले प्रश्न गरेँ।
‘आकाश पुन मगर सर,’ उनले आफ्नो छोराको पूरा नाम भनिन्।
‘हस् हुन्छ म्याडम, अब एकछिनमा मध्यान्तर हुँदैछ, म बाबुलाई बोलाइदिन्छु, एकछिनमा कल गर्नु न है,’ यति भन्दै फोन काटेर आकाशलाई बोलाउन मैले कार्यालय सहयोगीलाई अह्राएँ।
मध्यान्तरको घण्टी बज्नसाथ आकाश अफिस कोठामा आइपुगे। मेरै मोबाइलबाट अघिको नम्बरमा फोन डायल गर्दै आकाशलाई कुरा गर्न मोबाइल दिएँ।
फोन कल रिसिभ गर्दै उताबाट ती महिलाले के भनिन् खै, मैले राम्रोसँग सुन्न सकिनँ। यता आकाशले ‘तपाईं को बोलेको? मैले चिन्दिनँ’ भन्दै केही सेकेन्डमै फोन काटिदिए।
‘तिम्रो आमा बोल्नु भएको हैन र आकाश बाबु? मसँग त तिम्रो आमा हुँ भन्नुहुन्थ्यो त?’ मैले बुझ्न खोजेँ।
‘म चिन्दिन सरँ, खै को हुनुहुन्छ?’
आकाशको जवाफले म आश्चर्यमा परेँ। सात कक्षामा पढ्ने छोराले आफ्नो आमा किन चिन्दैन? के ती महिला आकाशको खासमा आमा हैनन् त?
मैले आकाशसँग धेरै सोधखोज गर्न उचित ठानिनँ र अफिसबाट बाहिरिन अनुमति दिएँ।
ती महिलाको फोन फेरि आउँछ कि भन्ने सोचमा म थिएँ तर आएन। यो घटनाको रहस्यले मेरो मनलाई उद्वेलित बनाइरह्यो तर कसैसँग सेयर गर्न सकिनँ।
एक डेढ महिनाको अन्तरालमा ती महिलाको फोन फेरि आयो तर यस पटक मोबाइल नम्बर फरक थियो। उनले फेरि पनि आकाशसँग कुरा गर्न खोजिन् तर आकाशले मानेन। आकाशको स्वतन्त्रतालाई धावा बोलेर कुरा गर्न बाध्य पार्न म असक्षम थिएँ। मैले माफी माग्दै आकाशसँग कुरा गराउन नसक्ने कुरा अनुरोध गरेँ।
उनको पहिलो फोनपछि आकाशको भर्ना रजिस्टर हेरेर आकाशको व्यक्तिगत विवरण आफ्नो डायरीमा लेखिराखेको थिएँ। आकाशको व्यक्तिगत विवरणको आधारमा उनलाई मैले केही प्रश्न सोधेँ। उनको जवाफ आकाशको विवरणसँग पूर्ण रूपमा मेल खान्थ्यो।
उनले बढो अनुनयका साथ आकाशको फोटो उक्त नम्बरमा ह्वाट्सएप गरी पठाइदिन अनुरोध गरिन्। म बिलखबन्दमा परे। उनलाई मैले प्रत्यक्ष रूपमा कहिल्यै देखेको पनि छैन। उनले आफ्नो छोरा दाबी गरेको आकाशले पनि उनलाई चिन्दैन। एउटा अपरिचित व्यक्तिलाई अर्काको फोटो पठाउन उचित ठानिनँ र मैले इन्कार गरिदिएँ।
उनी फोनमै रुन लागिन्। विनम्रताका साथ अनुरोध गर्न थालिन्। मैले आकाशको फोटो पठाउन नसक्ने तर विद्यालयको फेसबुक पेजमा कक्षा सातका विद्यार्थीहरूले ग्रुप फोटो अपलोड गरिएकोले विद्यालयको फेसबुक पेजमा गएर आकाशको फोटो हेर्न सुझाएँ।
उनले एकछिनमा कलब्याक गर्ने वाचा गर्दै फोन काटिन्। करिब पन्ध्र मिनेटपछि उनको फोन फेरि आयो। उनी अलिक मलिन स्वरमा बोलिरहेकी थिइन्- ‘सर! मैले मेरो छोराको फोटो चिन्न सकिनँ। उसको फोटो उसले थाहा नपाउने गरी खिचेर पठाइदिनू न।’
म उनको कुराले छाँगाबाट खसेझैँ भएँ। एउटा आमाले आफ्नो छोरो चिन्दिनन्, एउटा छोराले आफ्नो आमा चिन्दैन। आखिर कसरी? कतै आकाश विरुद्ध केही षड्यन्त्र त भइरहेको छैन? म सशङ्कित भएँ।
आकाशको फोटो यत्तिकै अवस्थामा पठाउन नसक्ने मेरो अडानका कारण निराश हुँदै उनले फोन काटिन्।
आकाश सानै हुँदा उनले अर्कैसँग बिहे गरेर गएकीले कतै आकाश उनीसँग रिसाएर यसो भएको त हैन? मेरो मनमा यो तर्क नआएको पनि हैन। तर अर्को पटक फोन आएमा यो मामिलामा उनीसँगै सोधखोज गर्ने निधो गरेँ मैले।
झन्डै दुई महिनापछि फेरि उनको फोन आयो। यो उनको तेस्रो फोन कल थियो। फोनमा सामान्य सन्चो बिसन्चोको सोधपुछ पछि मैले केही प्रश्न सोध्न सुरु गरेँ- ‘दुख नमान्नुहोला म्याडम, आज म तपाईंसँग केही जिज्ञासा राख्न चाहन्छु।’
‘सोध्नुहोस् न सर,’ उनले सहमति जनाइन्।
‘हजुरलाई छोराले नचिन्ने, हजुरले छोरालाई नचिन्ने, खास के हो यसको रहस्य?’
‘म त एक कैदी हो सर। म डोल्पा जिल्ला कारागारमा छु। मेरो कैदी नम्बर १७ हो। म जेल पर्दा बाबु जम्मा तीन वर्षको थियो। म जेल परेको अहिले नौ वर्ष भयो। यो नौ वर्षको अवधिमा हामी आमाछोराको एक पटक पनि भेट भएको छैन, अनि कसरी चिन्नु सर?’
मेरो मनमा झन् उत्सुकता बढेर आयो। मनलाई एकछिन पनि नरोकी अर्को प्रश्न तेर्स्याइहालेँ, ‘के कति कारणले यति लामो समय जेल जीवन बिताउन बाध्य हुनुभयो म्याडम?’
‘हत्या केशमा सर! आकाशको बाबुको हत्या केशमा!’
उनको यो जवाफले म नाजवाफ भएँ। जीउ हिउँ जस्तै चिसो भयो। छालामा काँडाहरू फुलेर आए, रौँहरू ठाडा भए। एउटा कुखुरा पनि छिनाल्न नसक्ने मान्छेले व्यक्ति हत्याको कुरा सुन्दा नडराउने कुरै भएन। शरीरमा एक प्रकारको कम्पन पैदा भयो।
यो संसारमा गरिने सबैभन्दा क्रूर र अमानवीय कार्य हत्या हो। कुनै पनि प्राणीको बाँच्न पाउने अधिकार खोस्नु अमानवीयताको पराकाष्ठा हो।
‘हेलो सर! किन चुप लाग्नु भयो?’ उनले प्रश्न गरिन्?
‘हैन म्याडम सुनिरहेको छु।’
उनले घटनाको सागोपागो बेलिबिस्तार लगाइन्। मेरो मन कुँडिएर आयो, आखिर किन यस्तो परिस्थिति सृजना हुन्छ? म एक हत्या अभियुक्तसँग कुरा गरिरहेको थिएँ जसलाई सम्मानित अदालतले हत्यारा प्रमाणित गरेको थियो।
आकाश आफन्तको घरमा बसेर पढ्दै गरेको जानकारी मैले उनीबाटै पाएँ। पारिवारिक विग्रहको चपेटामा परेका बालबालिकाको जिन्दगी कसरी प्रभावित हुन्छ? यो प्रश्नको उत्तर कति पिडादायी हुन्छ भन्ने कुराको बोध मलाई आकाशको व्यवहारबाट भइरहेको छ।
बाबु आकाश, तिमी जस्तै पारिवारिक विग्रहबाट प्रभावित हजारौँ बालबालिकाको उज्ज्वल भविष्यको शुभकामना!