हालै कुनै सरकारी निकायमा बढुवा हुनुभएकी भाउजूलाई सामाजिक सञ्जालबाटै बधाई दिएँ।
दाजुलाई फोन गरेरै बधाई दिएँ।
दाजुको त्याग र समर्थनले आज भाउजूले यो सफलता प्राप्त गर्नु भएको हो, 'भाउजूले मेहनत गर्नुभयो आफ्नो ठाउँमा छ तर त्यो परिश्रम गर्ने वातावरण मिलाउने श्रेय तपाईंलाई नै जान्छ।' मेरो बधाई दाजुले सहजै ग्रहण गर्नुभयो र धन्यवाद फर्काउनु भयो।
दाजु कुनै प्राइभेट संस्थामा जागिरे हुनुहुन्छ, एकाद पुरूषमध्येमा दाजुको योगदान सायदै दर्ज हुन्छ होला। छिमेकीहरूले कुरा काट्दा पनि, आफन्तले नानाथरी भन्दा पनि, सुनेको नसुन्यै गरी दाजुले सधैं भाउजूलाई पढ्न उत्प्रेरित गरेको सायद उहाँका नजिकमा रहने मजस्त धेरै पात्रहरूलाई राम्रोसँग थाहा छ।
यी दाजुजस्तै पुरूषहरू हरेक परिवारमा हुने हो भने सायद कुनै पनि महिला पछाडि पर्दैन थिए होला भन्ने जमात पनि थियो कुनै समय।
तर समय विस्तारै बदलिँदै जाने रहेछ। केही दिनअघि उनै दाजुलाई अकस्मात बाटोमा भेटेँ। एकैछिन कुराकानी भयो। 'अस्ति नै फोनबाट मात्रै बधाई दिएँ दाजु ल आज भेटेरै बधाई दिएँ है। भाउजूको सफलतामा हजुरको योगदान अमूल्य छ दाजु। सायद ऊ बेलामा अरूले भनेको कुरा सुन्नु भएको भए, आईमाई पढाएर के गर्छस्? भोलि तँभन्दा माथिल्ला पदमा जागिर खाई भने बुहारीले हेप्छे भने आफन्त, घरपरिवारका कुरा सुनेको भए, पत्याएको भए आज यो दिन कहाँ देख्न पाइन्थ्यो र? यस्तो राम्रो प्रतिभा अवसर नपाएको भएँ कहाँ ओइलाउथ्यो होला?'
मेरो कुरा सुनिरहनु भयो दाजु केही बोल्नु भएन।
'यस्तै हो बहिनी तिमीहरू जसले मेरो बारेमा राम्रोसँग जानकारी राखेका छौं त्यसै भन्छौं, जसले मलाई बुझ्न सकेन उसले कहिल्यै बुझ्दैन। अँ साँच्चि ज्वाइँको पनि प्राइभेट जागिर होइन त बहिनी?,' अनायसमै दाजुले प्रसंग बदल्नुभयो।
'दाजुलाई थाहा छ त, पहिलेदेखि नै,' मैले जबाफ फर्काएँ।
'अब तिम्रो पनि विस्तारै प्रमोसन हुँदै जाला, तिम्रो आम्दानी पनि बढ्दै जाला तर सम्बन्धमा चाहिँ प्रमोसन र घटुवाको प्रावधान नराखे बहिनी।'
दाजु पहिलेदेखि नै साहित्यमा रूचि राख्ने स्वभावको हुनुहन्थ्यो, सायद साहित्यको पारामा दाजुले केही भन्न खोज्नु भएको होला भन्ने लाग्यो।
'तिम्रो एकछिन फुर्सद छ भने एकैछिन चिया खाएर बसौं, मेरो भाइ पनि आउँदै छ, भेटघाट पनि हुन्छ।'
शुक्रबारको दिन थियो, अफिसबाट चाँडै निस्किएकोले 'हुन्छ दाजु' भनेँ।
चिया पसलमा बसेर गफ गर्दा दाजुको अवस्था फरक पाएँ। धेरैबेर जान्ने कोसिस गरेँ केही सीप लागेन। अन्त्यमा बाचा गराएर मात्रै पीडा भन्न बाध्य हुनुभयो।
'तिमीले कमसेकम यस्ता विषयमा पनि कलम चलाउने गर बहिनी? तिमी समानता र अधिकारका विषयमा त कलम चलाउँछौ तर त्यही अधिकारले रेटिएका पात्रहरूको बारेमा पनि केही लेख्ने गर। नाम, थर, पेसा, स्थान केही नखुलाऊ किनकि मलाई अलिअलि जान्नेहरूले पनि यो फलानाकै पीडा हो भन्ने भेउ पाउने भइसकेका छन् यो विषय नै त्यस्तै भइसक्यो तर लेख्न चाहिँ लेख। कमसेकम भोलि मजस्तै अरू पीडाको भारी बोकेर हिँड्ने हुर्मत नगरून्।'
दाजुको यो कुराले पो मन ऐंठन बनायो।
'दाजु के भयो? सबैलाई उपदेश दिने, अरूको भलाइको लागि रातदिन लागिपर्ने तपाईं, घरपरिवार र आफन्तको लागि मात्रै खटिरहने तपाईंलाई के भयो दाजु त्यस्तो? मैले गर्न त के नै सक्छु र? तर पीडा अरूलाई सुनायो भने पनि आधा हल्का हुन्छ रे दाजु। म अवश्य लेख्छु, जति विषयमा जसरी भन्नुहुन्छ त्यसैगरी तर पीडा चाहिँ के हो भन्नुहोस् न?'
'त्यति उज्यालो, सधैं हाँसेर हिँड्ने, बोल्ने, सधैं रमाइलो गर्ने जुन दाजु तिमीले देखेकी थियौ नि बहिनी त्यो खुसी मेरो गाथबाट हराएको तीन साल भयो सायद। म अहिले जिउँदो त छु तर कृत्रिम श्वासका कारण मात्रै। सायद मेरा घरपरिवार, मेरो छिमेकी आफन्त नै सही थिए कि? त्यो बेला सबैलाई हेरौंला ..... मेरी श्रीमतीले उच्च शिक्षा आर्जन गर्छे, यो गाउँकी पहिली बुहारी हुन्छे जागिर खाने भन्दै धाक् दिएको कुराले गिज्याएको हो कि?
तिमीले मलाई फोन गरेर भाउजुको बढुवा भएकोमा बधाई दियौ नि बहिनी तर .. के गर्नु? यो पदले, यो घमण्डको पहाडले मलाई यसरी थिचेको छ कि सायद यही थिचाइबाटै कुन बेला लामो यात्रामा थिचिइरहन पुग्छु थाहा छैन।'
'भाउजू त्यस्तो मान्छे त होइन, दाजु कसका कारण के भयो?'
'भाउजूलाई पनि राम्रोसँग चिन्छौ त!'
'म मात्रै होइन हामी धेरै जना भाउजूलाई नजिकबाट, राम्रोसँग चिन्छौं। त्यस्तो व्यवहार कहिल्यै थिएन। एक्कासि कसरी यस्तो भयो दाजु? दुई छोरा छन्, छोराहरूको भविष्यको लागि भए पनि मिल्नेसम्म मिलाउन सक्नुपर्छ दाजु, तपाईं जतिको मान्छेले हरेस खाने हो भने हिजो तपाईंले हिम्मतका कुरा सुनाएका भाइबहिनीहरूले के सोच्लान्? कति जनालाई उत्प्रेरणाको पाठ सिकाउनु भएको छ दाजु सम्झनुहोस् त? तपाईंका कारण कति जनाको बिग्रेको सम्बन्ध सप्रिएको छ? आफ्नै भाइबुहारीको टुटिसकेको सम्बन्ध तपाईंले सपार्नु भएको होइन? ज्वाइँले राम्रो व्यवहार गरेनन्, घर जान्न भनेर माइतीमा आएकी काकाकी छोरीको घरबार तपाईंका कारण जोगिएको होइन दाजु? सबैको भलाइ गर्ने, सबैको सकारात्मक मात्रै सोच्ने तपाईंको जिन्दगीमा भयो चाहिँ के? कसरी भयो? कल्पना पनि गर्न सकिँदैन दाजु।'
'नजिकको भनेर जसलाई पीडा सुनाऊँ भन्छु उनीहरूको जबाफ ठ्याक्कै तिम्रो जस्तै हुन्छ बहिनी। म एउटै घरमा बस्छु, एउटै भान्सामा पनि खान्छु तर मैले खाना खाएको छु कि बालुवा केही मेसो पाउँदिनँ। कुनैदिन त घर त्यागेर एकान्तमा जाऊँ, कम्तीमा जंगली जनावरले मिठो आहारा मानेर सन्तुष्टि त लिओस् भन्ने लाग्छ तर छोराको मायाले यो गर्न पनि सक्दिनँ। मेरो बाले आमालाई गरेको जस्तो व्यवहार मैले तिम्रो भाउजूलाई गरेको भए सबै ठिकठाक हुन्थ्यो होला तर यति हुनलाई रहेछ त्यो कर्म गर्ने हिम्मत ममा आएन, गर्न सकिनँ। कम्तीमा आमाले, हजुरआमाले जस्तो पीडा आफ्नो श्रीमतीले भोग्न नपरोस् भन्ने ठानेँ, आफ्ना भाइबहिनीहरूले पीडा नभोगून् भन्ने सोचिरहेँ तर अपशोच म आफै त्यही भूमरीमा रूमलिएको छु।
सबै ठिकै थियो, जिन्दगी राम्रोसँग चलेको थियो। मेरो सरकारी जागिर नभए पनि तिम्रो भाउजूको जागिर नहुन्जेलसम्म त घर, परिवार, बालबच्चाको सबै दायित्व मेरै कमाइबाट थेगेको थिएँ। सबै खुसी नै थिए। श्रीमतीलाई पढाएँ, सरकारी जागिर खुवाउन पहल गरेँ। मेरो ऊर्जाशील उमेर जिम्मेवारी र दायित्व बहनमै सकियो। रहर भएर पनि ३५ वर्ष कटेपछि फारम भर्न पनि योग्य भइन्। आफ्नो सरकारी जागिर खाने धोको श्रीमतीबाट पूरा गराउन चाहेँ। उसको लागि मैले के मात्रै गरेको छैन र बहिनी? तिमीहरूलाई त थाहा छ नि होइन?'
ओहो! अब पो पीडाबोध भयो मलाई। बेकारमा दाजुको घाउ कोट्याएकोजस्तै लाग्यो। फोनमा कुरा हुन्थ्यो, सन्चो बिसन्चो सोधिन्थ्यो, अरू लामो कुरा हुँदैनथ्यो।
'मलाई मात्रै होइन दाजु तपाईंलाई चिन्नेहरू अधिकांशलाई तपाईंको बारेमा थाहा छैन र? कति गर्नु भएको छ भन्ने कुरा हामी सबैलाई थाहा छ,' जबाफ फर्काएँ।
'दुई तीन पटकको प्रयासमा श्रीमतीले सुब्बामा नाम निकालिन्। सायद तिम्रो भाउजूभन्दा बढी खुसी म थिएँ होला। एक महिनामा आउने तलबभन्दा बढी पैसाको मिठाइ र लड्डु मात्रै बाँडेको थिएँ होला मैले। घर, गाउँ, आफन्त सबैलाई सुनाएको थिएँ, देख्यौ, हिजो मलाई बुढी पढाएर के पाउँछस् भन्थ्यौ नि! आज बुहारी सुब्बा भई। मेरो खुसीमा सायद सुन्नेहरूले विस्तारै भनेका रहेछन, तेरो चुरीफुरी कति दिनलाई हो भनेर। अहिले त्यस्तै भएको छ बहिनी। साना छोरालाई अर्को कोठामा मैले सुताउँथेँ, उनीहरूलाई पकाउने, खुवाउने सबै काम मैले गरेर तिम्रो भाउजूलाई पढाएँ। अहिले भाउजूको नामबाट म चिनिने भएँ गर्वको कुरा हो नि तर यो गर्व गर्न लायक विषय भएन बहिनी।
जब सुब्बा भएका अन्य साथीहरूको अधिकृत केटासँग बिहे हुन थाल्यो, अधिकृत भएकाहरूको त्योभन्दा माथिल्लो लेवलका सँग सम्बन्ध हुन थाल्यो, सायद त्यसको प्रभाव तिम्रो भाउजूमा पनि देखिन थाल्यो। उसले घरमा साना छोरा छन् भन्ने कुरा बिर्सन थाली। घरमा कुन बेला आउने भन्ने कुरा बिर्सन थाली। मेरो अफिस ढिलोसम्म हुन्छ, अधिकृतको ट्युसन पढ्नुपर्छ, भनेको बेलामा घर आउन पाइँदैन। सुरूसुरूमा त होला भन्दै बच्चाहरूलाई खुवाउने, आफूले खाने, भाउजूलाई हटकेसमा खाना राखिदिएँ पनि। विस्तारैविस्तारै घरमा बेलुकाको खाना बन्द हुन थाल्यो। म अफिसमै खाएर आउँछु , बेलुका अफिसपछि ट्युसन पढ्नुपर्छ, समय हुँदैन। सायद होला भन्ने पनि लाग्यो। कहिले तालिम भन्यो एक साता हिँड्यो, कहिले के सेमिनार भन्यो हिँड्यो, बच्चाहरू सानैदेखि मैसँग बढी झ्याम्मिने भएकोले पनि त्यति धेरै आमा खोज्दैनन्। समय बितिरहेको थियो। जब तिम्रो भाउजू बढुवा भइन् त्यसपछि मसँग हैसियतको कुरा आयो बहिनी।
आज एउटा कुरा भन्यो रिसायो, भोलि अर्को कुराको निउँ खोज्यो। दिनमा एउटा एउटा निउँ निस्कन लाग्यो। फलानाहरूको कमाइसँग मेरो हैसियतको मापन हुन थाल्यो। फलानाहरूको पदसँग मेरो पदको तुलना हुन थाल्यो। यस्तोसम्म भयो कि हिजो हरेक तरहबाट राम्रो लाग्ने म भारी हुन थाले। केही गर्न नसक्ने भए अलग्गै बसे हुन्छ भन्ने सम्मको कुरा आयो। एउटै घरमा त छु बहिनी मेरा बाआमा गाउँबाट आएर म भएको ठाउँमा बस्न सक्दैनन्, मेरा दिदी बहिनीहरू आउन सक्दैनन्, तिम्रो भाउजूका आफन्तहरूलाई छुट छ मेरा आफन्त सबै पराइ भए बहिनी।
विदेश गएर अलि पैसा कमाउँछु भनौं भने पनि ऊर्जाशील उमेर गइसक्यो, यो उमेरमा विदेश गएर के गर्ने? यही जे गरेको छु दैनिकी चलेको छ, तिम्रो भाउजूको जस्तो हैसियत नभए पनि खानै नपुग्ने कमाइ पनि छैन। यही व्यवहार मैले गरेको भए सायद महिला हिंसा हुन्थ्यो, अधिकारका कुरा आउँथे होला तर म पुरूष परेँ। पुरूष जन्मजातै हिंसा गर्ने, शोषण गर्ने जातको ट्याग पाउने रहेछ बहिनी। न घरपरिवारमा बाआमालाई केही भन्न सकेको छु, तँ अलग्गै बसभन्दा पनि बच्चाको कारण सम्बन्ध तोड्न सकेको छैन। बच्चाहरूलाई राम्रोसँग थाहा छ, भोलि हामी कमाउँछौं बाबा, तपाईंलाई सुख दिन्छौँ अहिले दुखी नहुनुहोस् भन्छन्। पलपल मरेर बाँचेको के जिन्दगी बहिनी? बाहिर हेर्दा मेरोजस्तो चकाचक जिन्दगी कस्को छ र? मायाको सम्बन्धमा जब हैसियत मिसिन्छ नि बहिनी हुने यस्तै रहेछ।
मनले माया गर्ने हो भने जागिर, पद, हैसियत हुँदा र नहुँदा के फरक पर्छ र? तिम्रो भाउजू भित्राउँदा मेरो उच्च शिक्षा थियो, सहरमा जागिर थियो, घरपरिवार, आफन्त सबैको भरथेग मेरै काँधमा थियो, एउटा भाइ, दुई वटी बहिनीको बिहेवारी आफैले उम्काएको हुँ तर मैले मभन्दा कम पढेकी, जागिर नभएकी कहिल्यै भनिन्। उसमा लगानी गरेँ, योग्य बनाएँ, सबैले चिन्ने बनाएँ अहिले म घर न घाटको भएँ। यही हो अधिकार?'
कल्पना पनि नगरेको विषय सुन्दा यति पीडा भयो कि कल्पना पनि गर्न सक्दिनँ। त्यस्तो राम्रो परिवार पहिलेको जस्तै होस् भन्ने कामना गर्नु सिवाय कुनै विकल्प मसँग थिएन। बुझ्दै जाँदा यी दाजुको जस्तो पीडा धेरै जनाको देखेँ। उच्च पदमा हुनेहरू नै हैसियतकै कारण सम्बन्ध टुक्राएका समाचारहरू पनि पढेँ। हैसियत र सम्बन्धको दाँजोमा परिवार बिखण्डन गर्ने हुर्मत कसैले पनि नगरौं।