हिन्दी सिरियल हेर्न मरिहत्ते गर्ने बहिनीको बानी मलाई मन परिरहेको थिएन।
एक दिन रिसाएँ, 'ह्या के हेरेको यो बेकारको कुरा?'
त्यस्ता सिरियल हेर्नुभन्दा बरू राम्रा सिनेमा, संगीत, खेलकुद हेर्दा हुन्छ नि भन्ने मेरो मान्यता थियो।
मेरो कुरा खण्डन गर्दै बहिनीले सिरियल नहेरे साथीहरूसँग दावँली नमिल्ने दुखेसो गरी।
सबैले सिरियल हेरेका हुन्छन् र तिनले त्यसैको कुरा गर्दा आफू भने अक्क न बक्क परिने उसको कुरा ठिकै हो कि जस्तो पनि लाग्यो।
सानो राम्रो भन्ने आहानले सबै कुरालाई लघु आकारमा ल्याइदिएको हामी सबैले देखेकै हौं। अहिले उबेलाको जस्तो ढ्याब्रे टिभीको चलन छैन। टिभी पनि मोबाइल फोनमा अट्ने भइसक्यो। अनि हातैमा हुने मोबाइलमा टिभी मात्र होइन, संसारको सञ्जाल नै छ।
जसरी बहिनीलाई सिरियल नहेरे साथीभाइमाझ 'हाँसको झुन्डमा बकुल्ला' भइएला भन्ने डर थियो, त्यसैगरी अहिले मानिसलाई सामाजिक सञ्जालका विभिन्न कित्तामा आफू नहुँदा सामाजिक वृत्तबाट बाहिरिएँ कि भन्ने डर देखिन्छ। त्यसैले पनि मान्छेहरूले विभिन्न एपमा आफ्ना खाता बनाएका हुँदा हुन्।
दार्शनिक भन्छन् – मान्छे एकान्तसँग डराउँछ। त्यसैले मान्छेले सधैं साथ खोज्ने होला! अनि अनेकथरी मान्छेले अनेकथरी सञ्जालमा आफ्नो खाता खोलेका होलान्!
हाम्रै परिवारको कुरा गर्ने हो भने म एक्स (ट्वीटर) कम र फेसबुक बढी चलाउँछु। छोरी इन्स्टाग्राम, स्न्यापच्याट, टिकटक, मेसेन्जर चलाउँछिन्; फेसबुकलाई खासै वास्ता गर्दिनन्।
श्रीमतीजी फेसबुक र टिकटक चलाउनुहुन्छ। उहाँ आफ्नो कलाकारितालाई टिकटकमार्फत सार्वजनिक पनि गरिरहनुहुन्छ।
छोराको उपर्युक्त उल्लिखित एपमा आफ्नै कुनै खाता नभए पनि यसको वा उसको मोबाइलमा यो वा त्यो हेरेर समय काट्छ। रोबल्क्स, माइनक्राफ्टजस्ता भिडिओ गेम खेल्न उसको आफ्नै खाता भने छँदैछ। त्यहाँ ऊ आफ्ना साथीहरुसँग च्याट पनि गरिरहेकै हुन्छ।
यसरी सामाजिक सञ्जालमा विभिन्न प्रयोजनका लागि विभिन्न कित्तामा विभिन्न खाता हुनु अनौठो वा आश्चर्य होइन।
नेपाली समाजमा अधिकांशमाझ लोकप्रिय सामाजिक सञ्जाल हो, फेसबुक। युवाहरूको त कुरै रहेन, वृद्धा-वृद्धाका नाति-नातिनाले पनि आफ्ना हजुरबा, आमाको खाता खोलिदिएकै पाउँछु।
हालसालै मलाई केले आश्चर्य बनायो भने तीस वर्षअघि वैकुण्ठधाम प्रस्थान गरेका मेरा हजुरबाको नाममा उनको बहुप्रचलित र प्रसिद्ध फोटोसहितको फेसबुक खाता स्वीकार्ने प्रस्ताव आयो। म रनभुल्लमा परेँ। हजुरबाले वैकुण्ठबाटै खाता खोलेर पठाए त! त्यसो त हुनै सक्दैन। पञ्चमहाभूतले बनेको शरीर हजुरबाले यहीँ बिसाएर गएकै हुन्। बाका कुनै नाति-नातिनाले उनको नाममा फेसबुक खाता बनाएका होलान्! कसले बनायो, किन बनायो भन्ने कुरा कुनै पारिवारिक भेलामा स्पष्ट होला नै!
यसो विचार गरी ल्याउँदा जिउँदाहरूको फेसबुक खातालाई पनि त विचार्नुपर्ने स्थिति छ! कसरी भन्नुहोला भने हालै एउटा साथीले बजारमा आएको नयाँ पुस्तकको आवरण तस्बिर बिदाका दिन फेसबुकमा हाले। दुई-चार दिनपछि चिया गफका बेला मित्रलाई त्यो पुस्तकबारे सोधेँ।
'त्यो त फेसबुकमा पो हालेको त सर ... कहाँ पढेको हो र?' भन्दै सेता दाँत देखाए।
उनको हाँसो 'टम एन्ड जेरी' को टम बिरालोले मुख च्यातेर सबै दाँत देखाउँदै ङिच्च हाँसेजस्तै भद्दा थियो। केही भनिनँ। भन्नु पनि के? मनको कुरा मनमै रह्यो।
उनको हँसाइमा 'त्यति कुरा पनि नबुझ्ने के खालको मान्छे' भन्ने भाव पाएँ।
केही अघि अर्का एक मित्रसँग केही जानकारी बुझिमाग्न एक साँझ फोन गरेको थिएँ। उनले आफू साथीभाइसँग रमाइरहेको जानकारी दिँदै भने, 'सर कति बाहिर मात्र स्यानिटाइजर लगाउनु भनेर यसो भित्री स्यानिटाइज गर्दैछु।'
अन्यमनस्क हुँदै सोधेँ, 'हैन तपाईंले मद्यपान त्यागियो भनेर घोषणा गर्नुभएको हैन र?'
'सर पनि ... फेसबुकमा पो छोड्या त,' उनले हाँस्दै बोलेको सुनेँ।
'ए।' भनेँ।
उनीसँगको वार्ता तुरिएपछि लाग्यो यो फेसबुके दुनियाँमा वास्तविकता देखिएजस्तो हुने रहेनछ। फेसबुके खाताहरू झुक्याउने झ्याङसरह रहेछन्। यस युगका मनुवाहरू 'पेडाको खोल देखाएर पेडा खाएको धाक देखाउन' फेसबुकमा झुम्मिएका हुन् कि भन्ने शंका प्रगाढ भयो।
भूगोलका प्राध्यापक रामकुमार पाण्डेले आफ्नो अंग्रेजी पुस्तक 'हिमालयन हाइट' को निचोड खण्डमा पाँच प्रकारका मनुवाबारे लेखेका छन्। एक, जो गतिशील हुन्छन्; दुई, जसलाई गतिशील बनाउन सकिन्छ; तीन, जसलाई समाएरै हिँडाउनुपर्छ; चार, जसलाई घिर्सादा पनि हिँड्दैनन्; पाँच, जसले हिँडेकाहरूलाई पछिल्तिरबाट अंकुश लगाएर लडाउँछन्।
सामाजिक सञ्जालको आतंक आउनुअघि पाण्डेले गरेको उक्त वर्गीकरणमा फेसबुकमा खिसिटियुरी गर्ने कुन प्रजातिका मनुवा हुन् खुट्याउन सजिलो नहोला भन्ने लाग्छ। हुन त सुकरात बाजेले उबेलामै 'बलशाली दिमागले विचार विमर्श गर्छ, औसत दिमागले घटना विमर्श गर्छ, कमजोर दिमागले मानिसमाथि विमर्श गर्छ' भन्ने उक्ति दिएका थिए।
अब यो फेसबुक कुन दिमागी मनुवालाई बनेको होला भन्ने प्रश्न बरू यसका निर्माता जुकरबर्ग भाइलाई नै सोध्दा उपयुक्त होला कि!
यसो सोचिल्याउँदा लाग्छ, फेसबुक पनि आखिर बिजुली चौतारी न हो। चौतारीमा कसको गफ घतलाग्दो हुन्छ भनेर सुन्न गएझैं फेसबुकमा व्यक्तिको ओज र गाम्भीर्य हेरर साथी बन्नुपर्ने रहेछ।
झन् अहिले त मान्छेहरूले फेसबुकलाई नै समाचार माध्यम ठान्दा रहेछन्। सेयरकास्ट नेपालले गरेको 'नेपाल मिडिया सर्भे २०२४' मा के देखिएछ भने १६ देखि २४ वर्षका युवा पुस्ता जो लेखापढा छन् र सहर बजारमा बस्छन्, तिनले सञ्चारमाध्यम भनेकै फेसबुक (१९.९ प्रतिशत) र युट्युब (१६.९ प्रतिशत) बुझ्दा रहेछन्।
छापा माध्यम ओरालो लाग्दै जाँदा मोबाइल हुँदी हेर्ने डिजिटल माध्यमको प्रयोग भने बढ्दो देखाएको उक्त सर्वेक्षणले ४६.८ प्रतिशतले इन्टरनेट प्रयोग गर्ने र तिनले मोबाइल वा कम्प्युटरमा समाचार हेर्ने गर्दा रहेछन्। सातै प्रदेशका ३ हजार नेपालीलाई सोधेर गरिएको उक्त सर्वेक्षणले १६ देखि २४ वर्ष उमेरका सहरी युवामा ६२ प्रतिशत फेसबुकमा र ४४ प्रतिशत युट्युबमा रत्तिएको देखाएछ। तीमध्ये ८२.६ प्रतिशतले समाचारका लागि फेसबुक र ५१.५ प्रतिशतले युट्युब हेर्दा रहेछन्।
फेसबुक आफैमा मिडिया होइन, यो त मिडियाको समाचार र सामग्री बोकिदिने हुलाकी मात्र हो। तैपनि धेरैले त्यसमै लेखिएका कुरालाई समाचार ठान्दा रहेछन्। सञ्चार संस्थाले आफ्ना समाचार फैल्याउन फेसबुकको उपयोग गर्दै जाँदा पनि मान्छेले 'समाचार कहाँ आउँछ?' भन्दा फेसबुकमा भन्ने बुझेका होलान्। हाम्रो पालाको रेडियो नेपालको सात बजेको समाचार त लोककथा भइगयो।
गाँठी कुरा के हो भने मिडियाले लाइक र भ्युजमार्फत 'राजस्व असुल्ने' हुँदा मिडियामा आएका सबै कुरा हामीलाई उपयोगी नहुन सक्छ भन्ने बुझ्न पनि मलाई विज्ञसँग सत्संग गर्नुपर्यो। त्यसैले फेसबुकमा आयो भन्दैमा त्यसैमा फस्न नहुने रहेछ। के आयो? कल्ले ल्यायो? भनेर कौवा दिमाग लगाउनुपर्दो रहेछ।
मिडियाहरूका सामग्रीमाथि नै प्रश्न गर्नुपर्ने बेला विभिन्न आग्रह, पूर्वाग्रह राख्ने व्यक्तिले फेसबुकमा लेखेको कुरालाई समाचार बुझियो भने के गति होला?
नत्र त मरेका हजुरबाको फेसबुक खाताबाट मलाई आएको अनुरोधले पारेको जस्तै रनभुल्ल हुन्छ।
***