गत पुस २१ गते अनलाइनमा प्रकाशित ३७ वर्षीय राष्ट्रसेवकको हृदयाघातबाट मृत्यु भएको भन्ने समाचारले मलाई अत्यन्तै भाव विह्वल बनायो। कुनै व्यक्ति आफ्नो जीवनको सक्रिय कालखण्डमा अचानक बित्दा कसलाई पो राम्रो लाग्छ र? उक्त समाचार असत्य होस् भन्ने पनि लाग्यो।
त्यस्तै पुसकै जाडो महिनामा केही दिनपछि फेरि अर्को समाचार आउँछ- ३६ वर्षीय ड्युटीमा रहेका प्रहरीको निधन।
यस्तो युवा उमेरको निधन भनेको परिवार, समाज, देशका लागि ठुलो क्षति हो। यस्ता घटनाले सम्बन्धित परिवारलाई जति चोट महसुस हुन्छ त्यति चोट अरूलाई नहुन पनि सक्छ। समाज एक परिवार हो र म पनि त्यसको सदस्य भएको नाताले पनि केही कुरा नलेखी बस्न सकिनँ।
कुनै व्यक्तिको अकालमा देहावसान भएपछि श्रद्धाञ्जली दिने र समवेदना प्रकट गर्नेमा मात्र सीमित हुनु हुँदैन। यस्ता अकाल मृत्युहरूलाई कम गर्ने बारेमा काम गर्नु नै दिवङ्गत आत्मा प्रतिको सच्चा श्रद्धाञ्जली हो।
एकातर्फ सरकारले नीति निर्माण गरेर सन् २०३० सम्ममा ‘रोकथाम र उपचारको माध्यमबाट नसर्ने रोगबाट हुने अकाल मृत्युदरलाई एक तिहाइले घटाउने र मानसिक स्वास्थ्य र कल्याणलाई प्रवर्द्धन गर्ने’ भनेर लक्ष्य तोकेको छ भने अर्कोतर्फ सरकारकै काखमा रहेका कर्मचारीको जीवनको स्वर्ण कालमै रोकथाम र नियन्त्रण गर्न सकिने समस्याबाट निधन भइरहेको छ।
सरकारी कर्मचारीकै स्वास्थ्य त उच्च जोखिम रहेको छ भने अरू सर्वसाधारणको स्वास्थ्यको अवस्था कस्तो होला सहजै आकलन गर्न सकिन्छ। यसबाट के पनि बुझ्न सकिन्छ भने नीति कार्यक्रम र कार्यान्वयनमा ठुलो खाडल रहेको छ। सरकारले नीति त बनाउने गर्छ तर नतिजामा हेर्ने हो भने देखाउनका लागि मात्र नीति कार्यक्रम बनाइएको हो जस्तो भान पर्छ। यस्तै हालतमा जनताको स्वास्थ्य सुधार गर्ने लक्ष्य हासिल हुन सक्ने अवस्था हुँदैन।
केले गराउन सक्छ अचानक अकाल मृत्यु?
विश्व स्वास्थ्य संगठनले उल्लेख गरेका तथ्याङ्कअनुसार आजको विश्वभर नै नसर्ने रोगहरू धेरै मात्रामा रहेको छ। समयमा उचित सावधानी वा उपाय लिन नसकेमा यिनको कारणले अचानक र अकालमा मृत्यु हुन पुग्छ। यस्ता नसर्ने रोगमा मुटु तथा रक्त नलीका रोग, दीर्घ श्वासप्रश्वास जन्य रोग (दम), मधुमेह (डायबिटिज), मिर्गौलाका रोग, अर्बुद (क्यान्सर) जस्ता स्वास्थ्य समस्याहरू पर्दछन्। यस्ता नसर्ने रोगसँगै जोडिने स्वास्थ्य समस्यामा मानसिक जन्य र दुर्घटना तथा चोटपटक जन्य स्वास्थ्य समस्या पनि पर्दछन्।
अन्यत्रको तुलनामा नेपाल लगायतका कम तथा मध्यम आय हुने मुलुकमा यस्ता घटना झन् धेरै हुने गर्दछन्। सचेतनामार्फत यस्ता समस्या कम गर्न सकिन्छ।
कसलाई हुनसक्छ नसर्ने रोगको सम्भावना?
उमेर बढ्दै जाँदा सबैमा यस्ता नसर्ने रोगहरू लाग्ने सम्भावना पनि बढ्छ। तर यस्तो समस्या हुने सम्भावना अझै बढी हुनेहरूमा– तौल बढी हुने वा मोटोपना भएका, आफ्ना पूर्वजमा यस्ता समस्या भएका, हानिकारक पदार्थ (चुरोट, सुर्ती, जाँड, रक्सी, आदि) सेवन गर्ने, हिँडडुल वा व्यायाम कम गर्ने, प्राकृतिक रेसा (सागपात तथा फलफूल) कम खाने, तनावयुक्त वातावरणमा काम गर्ने र समय समयमा स्वास्थ्य जाँच तथा परामर्श नलिने व्यक्तिहरू पर्दछन्।
रोकथाम किन महत्त्वपूर्ण हुन्छ?
रोकथाम भनेको समस्या आउनु अगावै सजग रहने काम हो। यो सरल र सस्तो पनि हुन्छ। यसले रोग लाग्ने र अकालमा मृत्यु हुने सम्भावना कम गरेर सक्रिय जीवनयुक्त आयु लम्बाउन मद्दत गर्छ। सचेत हुनु रोकथामको पहिलो आधार हो। क
यस्ता रोग लाग्नबाट बच्ने के गर्ने?
नसर्ने रोगले हुने अकाल मृत्युलाई धेरै हदसम्म सजिलै रोक्न सकिन्छ। यसका लागि स्वस्थ जीवनशैली महत्त्वपूर्ण हुन्छ। तौल सन्तुलित राख्ने। खानपानमा सजगता अपनाउँदै जाने (प्रशोधित खानेकुरा कम गर्ने र सन्तुलित आहार सेवन गर्ने) र सक्ने भएमा शरीरलाई चलाउने वा व्यायाम गर्ने (हिँड्ने, योग गर्ने, साइकल चलाउने, खेल खेल्ने, आदि) गर्न सकिन्छ।
सुर्ती वा रक्सीजन्य हानिकारक पदार्थको प्रयोग नगरेर
यस्ता हानिकारक पदार्थ स्वतः त्याग गर्न सकिन्छ वा स्वास्थ्यकर्मीको सहायताबाट बिस्तारै कम गर्दै लगेर पनि त्याग्न सकिन्छ। व्यक्ति विशेषलाई के उचित हुन्छ भन्ने जान्न स्वास्थ्य परामर्श लिनु पर्दछ।
सवारी साधन चलाउँदा मादक पदार्थ प्रयोग नगर्ने, सिट बेल्ट वा हेलमेट प्रयोग गर्ने, गति सीमित गर्ने र अन्य जोखिममुक्त काम गर्नेले सावधानीपूर्वक कार्य गर्नाले पनि सवारीजन्य दुर्घटना र चोटपटकबाट बच्न बचाउन सकिन्छ।
त्यस्तै तनावजन्य अनुभवलाई व्यवस्थापन गर्ने बारेमा उचित परामर्श र सहायता लिने गर्नाले पनि परिस्थितिलाई सरल ढंगले सम्हाल्न सकिन्छ।
स्वास्थ्य परीक्षण कहाँ गर्ने?
कुनै रोग लागेको जस्तो नलागे पनि युवा वा वयस्क सबैले कम्तीमा वर्षको एक पटक स्वास्थ्य परीक्षण गर्नु पर्दछ।। राष्ट्रसेवक, जनप्रतिनिधि वा सर्वसाधारण सबैले आफ्नो घर नजिक रहेको जुनसुकै स्वास्थ्य संस्थामा गएर आफ्नो तौल, रक्तचाप (ब्लड प्रेसर) र उपलब्ध छ भने रगत वा पिसाबको चिनी (सुगर) आदि जाँच्नु एउटा सरल काम हो। आवश्यकता अनुरूप स्वास्थ्यकर्मीको सल्लाहमा अन्य परीक्षण पनि गर्न सकिन्छ। धेरै जसो स्वास्थ्य संस्थामा यस्ता सेवा रहेका छन्।
अधिकांश सरकारी स्वास्थ्य संस्थामा यस्ता जाँच र आधारभूत उपचार नि:शुल्क उपलब्ध छन्। कतिपयलाई यस्तो नि:शुल्क पाइने सेवाले के काम गर्ला भन्ने पनि लाग्न सक्छ। तर त्यसो होइन। यो सेवा नि:शुल्क पनि छैन किनकि त्यसमा हामी सबैको पैसा परेको छ र त्यो उपयोगी र लाभदायक पनि छ। यस्ता सामान्य कामले हामीलाई बेलैमा सजग बनाउन र अकाल मृत्युबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छन्।
राष्ट्रसेवक र जनप्रतिनिधिले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सेवा लिने गरेमा तब त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीको पनि हौसला बढ्छ। यस्तो कार्यले स्वास्थ्य संस्थाको स्तर उन्नति गराउन सहयोग पुग्छ। स्थानीय स्वास्थ्य संस्थामा जाँच तथा उपचार गर्न नसकिने भएमा स्वास्थ्यकर्मीले थप सुविधायुक्त संस्थामा पठाउँदछन्। यो सामान्य र उचित काम पनि हो।
सामान्य स्तरका समस्यामा गरिने परीक्षण र उपचार सेवा भनेको विश्वको जुनसुकै ठाउँमा गए पनि उस्तै नै हो। यसका लागि विदेश नै धाउनु पनि जरुरी छैन।
अमेरिका र बेलायत लगायतका विकसित देशमा ब्युटिपार्लर र कपाल काट्ने (नाई/नाउ) स्थलमा रक्तचाप जाँचेर जनतालाई आफ्नो स्वास्थ्यको बारेमा बेलैमा सजग गराउने अभियान थाल्दा धेरैको अकाल मृत्यु कम गर्न सकिएको अनुभव रहेको छ। स्वास्थ्य संस्थामा जान हिचकिचाउने सर्वसाधारणलाई समेत स्वास्थ्य सेवासँग जोड्न यस्ता सामाजिक अभियानबाट नेपालले पनि सिक्न आवश्यक छ।
नेपालमा पनि काठमाडौँ लगायतका केही स्थानीय तहले टोल टोलमा रक्तचाप लगायतका स्वास्थ्य अवस्था परीक्षण अभियान गर्ने गरेका छन्। यसलाई निरन्तरता दिन सके राम्रो हुन्छ। क्रमशः सबै स्थानमा यस्तो अभियान सुरुवात गर्न जरुरी छ। यस्तो अभियानलाई टोलबाट घर तथा कार्यालयहरूमा लानु पनि उचित हुन्छ किनकि कतिपय मान्छे हिँडेर घर बाहिर जान नसक्ने वा नभ्याउने पनि हुन सक्छन्।
स्वास्थ्य सेवाको पवित्र कार्यलाई सबलीकरण गराउनमा राष्ट्रसेवक कर्मचारीले आफ्नो भूमिका खेल्नु जरुरी छ। आफ्नै स्वास्थ्यलाई मात्र नभएर सबैको स्वास्थ्यलाई यसले लाभ दिन्छ। यसै सिलसिलामा रोकथामका काममा सहभागी हुने, स्वास्थ्य जाँच गर्ने र आवश्यक परेमा उचित औषधी सेवन गर्न समेत आवश्यक छ। आफ्ना स्वास्थ्य अनुभवका बारे खुला रूपले कुरा गर्न हिचकिचाउनु हुँदैन।