लगभग पाँच वर्ष पहिले यातायात व्यवस्था विभागले एउटा निर्णय गर्यो- सार्वजनिक सवारीसाधनमा लेखिएका सायरीहरू मेटाउनुपर्ने र नयाँमा लेख्न नपाइने।
विभागलाई लाग्यो होला सवारी दुर्घटनाको एक प्रमुख कारण तिनै सायरी हुन। असल नियतले गरिएको त्यो निर्णयलाई अन्यथा भन्न मिल्दैन। तर के ती सायरी नै हुन त दुर्घटनाका कारण? यो प्रश्नको चित्तबुझ्दो जवाफ दिने गरी भने सायद कसैले तयारी गरेको होला।
मलाई यात्राको क्रममा सबैभन्दा मन पर्ने पक्ष भनेको गुरुजी साहित्य हो। बस, ट्रक र ट्यांकर अनि अचेल त साना गाडीका पछाडि पनि लेखिएका त्यस्ता दुई लाइन वा चार लाइनका सायरी पढ्न कम्ती मज्जा आउँदैन। लाग्छ ती सायरीले गाडी चालकको जिन्दगी बोल्छन्, गाडी धनीको बाध्यता बोल्छन्, समाज बोल्छन्, देश बोल्छन्।
थोरै शब्दमा घरको चुल्हो, बारी, प्रेम, बैँस, रहर, बाध्यता, समाज, देश र राजनीति बोल्ने त्यस्ता सायरीहरूको लामो लाइन हुन्छ र त राजमार्ग अलि रमाइलो लाग्छ तपाईं हामीलाई।
लामो यात्रामा निस्कँदा अगाडिका गाडीमा लेखिएका त्यस्ता सायरीहरू पढेर कहिले आन्द्रा छिन्ला जस्तो हुन्जेल हाँसेका त कहिले आँखामा साउन खस्ला जस्तो गरी धुम्म परेका समय मसँग मात्र होइन, तपाईंसँग पनि प्रशस्तै छन्।
कुनै बेला थियो मैले देखेका पढेका हरेक सवारी साहित्य पढ्थेँ र मिलेसम्म मोबाइल क्यामेरामा खिचिहाल्थेँ। मोबाइल ग्यालरीमा गुरुजी साहित्यका तस्बिर धेरै भएपछि मैले ती साहित्यलाई मेरो ल्यापटपको एउटा फोल्डरमा जतन गरी राख्न सुरु गरेँ।
तपाईं हामीले भन्ने गरेको, बुझ्ने गरेको गुरुजी साहित्यको सुरुवात ट्रक साहित्यबाट सुरु भएको हो। भलै ट्रक मात्र होइन– बस, ट्यांकर र साना सवारीको पछाडिको भाग पनि यस्तै साहित्यले भरिएको देखिन्छ। सार्वजनिक सवारीमा यसरी एक लाइनका चोटिला वाक्य वा दुई–चार लाइनका सायरी लेख्न सुरु गरेको समय भने पाकिस्तानले उब्जाएको हो।
सन् १९७० को दशकको सुरुवातमा पाकिस्तानबाट अफगानिस्तान र यसको सिमानासम्म चल्ने ट्रकहरूमा कुनैमा व्यंग भरिएका कार्टुनजस्तो चित्र कोरिएका हुन्थे त कुनैमा उर्दु सायरी। सुरुमा पाकिस्तानको इन्दुस भ्यालीबाट गुड्ने त्यस्ता ट्रकहरूमा सायरीको सट्टा कलात्मक चित्र कोरिएका हुन्थे जसलाई अफगानिस्तान युद्धको समयमा खटिएको अमेरिकी सेनाहरूले जिंगल ट्रकको कोडिङ भाषाको रूपमा बुझ्न र व्यवहार गर्न सुरुवात गरे।
पछि यही ट्रकको कलात्मक चित्र पोत्ने चलन सायरीको रूपमा विकास भयो र भारत हुँदै नेपाल अनि बङ्गलादेशमा फिँजियो। अहिले पनि ट्रक वा यस्तै सवारीसाधनमा यस्ता सायरी लेख्ने चलनमा दक्षिण एसियाली देशहरू संसारमै चर्चित छन्।
दक्षिण एसियाली देशहरूबाट प्रचार भएको ट्रक साहित्य अहिले अफ्रिकी र दक्षिणी अमेरिकी राष्ट्रहरूमा निकै रुचाइएको छ।
एक दिन प्रजातन्त्रको अवस्थाका बारेमा कुराकानी गरिरहँदा केन्यामा रहेको एक साथीले आफ्नो ग्यालरीबाट फुत्त एउटा तस्बिर पठायो।
प्रजातन्त्रमा कसरी सार्वजनिक सम्पत्तिको लुट मच्चाइन्छ र देशका युवाहरू त्यसैलाई लिएर कसरी उत्सव मनाउँछन् भन्ने कुरालाई त्यो सायरीले चिच्याएर बोलेको थियो।
यो सायरी र मेरो देशको वर्तमान सोचेर एक रात निद्रा कतै भागेर गयो। यो लेख लेख्न बसेको बेला ल्यापटपले पनि निद्रा लाग्यो भनेर मौन आन्दोलन गर्यो, मन र मस्तिष्कले पनि भो आजलाई विश्राम है भनेर सुतिहाले।
यस्तै कथा, कहानी र प्रसंग मेरो देशमा पनि छ। मात्रै फरक रूपमा बोलिएको छ गुरुजी साहित्यमा।
अब केही उदाहरणका कुरा गरौँ गुरुजी साहित्यले कसरी देश बोलेको छ, समाज बोलेको छ, जिन्दगी बोलेको छ भनेर।
यो पङ्क्तिकारले राजमार्गमा यात्रा गर्दा र गुगलमा खोज्दा देखेका, पढेका सयौँ गुरुजी साहित्यमध्ये यी सायरी यहाँ समावेश नगरी यो लेख पूरा हुनै सक्दैन।
स्वास्थ्य मन्त्रालयले एचआइभी एड्सको रोकथामका लागि गरेको लाखौँको प्रचारभन्दा सायद यो सायरी बढी प्रभावकारी देखिन्छ।
लेखिएको छ–
यो देश आजको ठिक कि पुरानो ठिक भन्ने प्रश्नको जवाफ राजनैतिक र आर्थिक दर्शनमा विद्धानहरूले सायद सात दिन सात रात बहस गर्लान्। तर सामान्य नागरिकको बुझाइमा कस्तो ठिक रहेछ भन्ने कुरा सायद यो ट्याक्टरले बोल्छ। र भन्छ–
र, यो तलको तस्बिरले कुनै समय सामाजिक सञ्जाल भरिएको थियो। मलेसियामा कामदारका रूपमा गएका युवाको शव बोकेर गाउँतिर आउँदै गरेको यो गाडीमा लेखेको साहित्य र गाडीले बोकेको शवले सायद गहिरो अर्थ बोक्छन्, सम्बन्ध राख्छन्।
यी त केही प्रतिनिधि गुरुजी साहित्य हुन, जसले तपाईं हाम्रो समाजको चित्र चिच्याएर बोल्छन्।
विचार र अभिव्यक्ति स्वतन्त्रता अहिलेको समयको पर्यायजस्तै बनेको छ। र यो स्वतन्त्रता निश्चित विषय बाहेकमा उपभोगका लागि बन्देज लगाउन नैतिक र कानुनी रूपमै समेत नपाइने विश्वव्यापी अभ्यास व्यवहारमै लागू भएको छ। व्यक्तिका भावना र विचारलाई अंकुश लगाउनु भनेको उसको मानवीय सम्मानलाई प्रश्नवाचक चिह्नले इंगित गर्नु पनि हो। सामाजिक सद्भावको पर्खाललाई नभत्काई आत्मिक भाव अभिव्यक्त गर्न पाउनु व्यक्तिको नैसर्गिक अधिकार हो।
सामाजिक सञ्जालको पछिल्लो विश्वमा व्यक्तिका मनलाई फुकाएर, फुलाएर फिँजाउन पाउने खुला चउरको रूपमा प्रस्तुत भएको छ इन्टरनेट। इन्टरनेटको दुनियाँबाटै व्यक्तिले कुनै कुराप्रति सहमति, असहमति वा अन्य जुनसुकै भाव अरूसम्म सरल र सहज ढंगले पुर्याउन सकेका छन्। भलै, नैतिक सिमाना छन् त्यसमा समेत। इन्टरनेटमा व्यक्त गर्न पाइने, सकिने तिनै भावनाहरू गुरुजीहरू आफ्नो प्यारो सवारीसाधनमा लिखित रूपमै टाँसिदिन्छन् र सबैसम्म पुर्याउन खोज्छन्। यो सामान्य मानवीय रहर हो।
यो पङ्क्तिकारलाई यसरी लेखिने साहित्य र होर्डिङ बोर्डमा लेखिने विज्ञापनका भाषा, भित्ते लेखनमा लेखिएका विज्ञापनका भाषा उस्तै हुन भन्ने लाग्छ। ती सबैको उद्देश्य आफ्नो कुरा अरूसम्म सञ्चार गर्ने न हो। त्यस्ता गुरुजी साहित्यले चालकको बाध्यता बोलेका हुन्छन्, रहर फुलाएका हुन्छन्, समाज देखाएका हुन्छन्।
ट्रक, बस, ट्यांकर र अरू गाडीका ती पाता ती गुरुजीहरूलाई इन्टरनेटको दुनियाँजस्तै हुन्– सायरी लेखेर अरूलाई पढाउन सकिने प्लेटफर्म हुन। फरक यत्ति हो, इन्टरनेटको दुनियाँमा छिनछिनमै मनका भाव पोखिरहन पाइन्छ तर सवारीसाधनमा त्यसरी छिनछिनको सुविधा हुँदैन।
गुरुजी साहित्यलाई नकारात्मकता चिन्ने र बुझ्ने एउटा मात्र तर्कलाई औचित्यपूर्ण मान्न सकिएला। प्रायः त्यस्ता साहित्यमा केटी, युवती वा महिलालाई सम्बोधन गरेर सायरी कोरिएको हुन्छ। र त्यस्ता सायरी वा लाइनमध्ये कुनै कुनैमा महिलाप्रतिको सम्मानलाई अलि ख्याल नगरिएको देखिन्छ।
पारिवारिक रूपमा यात्रा गरिरहँदा दाजु–बैनी वा बाबु–छोरीले एकसाथ त्यस्ता साहित्यका हाँगा देख्दा, पढ्दा अप्ठेरो मान्नुपर्ने अवस्था सिर्जना भइदिन्छ। महिलाहरूले आफूले मात्रै पढ्दा पनि नरमाइलो मान्नुपर्ने अवस्था उत्पन्न भइदिन्छ।
यो पङ्क्तिकारलाई याद छ, केही वर्ष पहिले कुनै यात्रामा सहयात्री महिला साथीले यस्तै सायरी पढेर भन्नुभएको थियो– यस्ता सायरी पढ्दा त किन म छोरी मान्छे भएर जन्मिएँ हुँला भनेर रुन मन लाग्छ। हो, त्यसरी रुन मन लाग्ने गरी लेखिएका सायरी वा एक–दुई लाइनका विचार पनि बग्रेल्ती भेटिन्छन् राजमार्गभरि। राम्रो हुन्थ्यो, गुरुजी साहित्यमा त्यो लेभलको प्रयोग नभइदिए!
र पनि ती त्यस्ता विचार बिचरा ती गुरुजीका नितान्त व्यक्तिगत भावना हुन्। कतै चोटैचोटले घायल भएका गुरुजीहरूले कहाँ अभिव्यक्त गर्नु आफ्ना पिर व्यथाका कथा?
साहित्यमा लेखिने कथा, कविता र उपन्यासले पनि त परोक्ष प्रत्यक्ष तिनै भाव पोखेका हुन्छन्, जुन गुरुजी साहित्यका छोटा चोटिला सायरी/लाइनले व्यक्त गर्न खोजेका हुन्छन्। फरक यत्ति हो, साहित्यका त्यस्ता लेखनमा बान्की मिलाएर व्यक्त गर्छन् सर्जकले त सवारीसाधनमा सिधा लेख्न लगाउँछन् गुरुजीले। कविता वा कथा नै लेख्न मिल्ने ठाउँ हुँदो हो त ती गाडीहरूमा, घुमाइ घुमाइ लेख्दा हुन, लेख्न लगाउँदा हुन नि त।
ट्रक साहित्य वा गुरुजी साहित्यका बारेमा तपाईं हामीले धेरै गहिरो सोच सायद राख्न भ्याएका छैनौँ। यसका बारेमा न त चउरमा बदाम छोडाउँदै गफिएका छौँ न त यस बारेमा लेखिएका पुस्तकहरू सहरका पुस्तक पसलमा खोजेका छौँ। हामीले त्यसो नगरे पनि यस्तो ट्रक साहित्यका बारेमा लेखिएका कैयौँ लेखहरू अनलाइनमा भेटिन्छन्, पुस्तकहरू छापिएका छन्।
पाकिस्तानी ट्रक साहित्यका बारेमा अनुसन्धान गरेकी प्रोफेसर दुरैया काजीले आफ्नो एक निबन्धमा भन्छिन्– यस्ता साहित्यहरू अदृश्य पात्रले आफूजस्तै वा समाजको अरू कोहीसँग अमूर्त रूपमा गर्न खोजेका संवादका पाटाहरू हुन। साहित्यिक बिम्बका रूपमा सिँगारिने भारतीय ट्रकहरूको बारेमा अनुसन्धान गरेका अमेरिकी फोटोग्राफर डान एकेस्टाइनले प्रकाशन गरेको पुस्तक हर्न प्लिज माथि डकुमेन्ट्री नै बनेको छ।
उसो त नेपालभित्रै पनि ट्रक साहित्यका सम्बन्धमा कलम चलाएका सुविद गुरागाईंले त्यस्ता सिर्जनाहरूको सङ्कलन गरेर पुस्तक नै प्रकाशन गरेका छन्– ट्रक साहित्य: सङ्कलित सिर्जनाहरू (२०६८)।
यातायात व्यवस्था विभागको उक्त निर्णयका सम्बन्धमा एउटा पत्रिकासँगको अन्तर्वार्तामा उनले भनेका छन्– ‘ट्रक साहित्यमाथिको प्रतिबन्ध अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित एउटा भुइँ तहको माध्यममाथिको ठाडो हस्तक्षेप हो। यसको अर्थ गुरुजी साहित्य अभिव्यक्ति स्वतन्त्रताको भुइँ तहको सशक्त माध्यम हो।’
र अन्त्यमा, गुरुजी साहित्यको यो चित्रले जत्तिको कथा कहानी कुन उपन्यासले बोल्न सक्छ होला र सजिलै?
त्यसैले त मनको बात दुनियाँलाई पढाउन सक्छ– गुरुजी साहित्यले।