चारैतिरबाट अग्ला भवनहरूले घरिएको कमलपोखरीको किनारमा बसेर म जब खप्तड बाबाको 'विचार विज्ञान' पुस्तक चौथो पटक पढ्दै थिएँ कसैले 'एक्सक्युज मी प्लिज अंकल' भन्दै कानछेउ आएर बोलाएको सुनेँ।
'हजुर बहिनी! भन्नोस् त' मैले बिना मुस्कान मलाई अंकल सम्बोधन गर्नेतिर आफ्नो नजर लगाएँ।
उनी मुसुक्क हाँसिन् र भनिन्- 'दाइ हुनुहुँदो रहेछ। अंकल भनेँ सरी ल!'
म पनि हासेँ !
मनमनै सोचेँ- 'कस्तो मनोविज्ञान बुझ्ने मान्छे रहिछिन्!'
र अघि बिना मुस्कान बोलेको म अब भने अनुहारमा मुस्कान भर्दै भनेँ- 'केही छैन। कहिलेकाहीँ यस्तै हुन्छ।'
त्यसपछि हामी दुईले एकसाथ अनुहारमा मुस्कान भर्यौं र सँगै मुस्कुरायौं।
***
अघि पढ्दै गरेको किताब बन्द गरेँ र झोलामा हालेँ। वरिपरिका अग्ला घरहरूका भित्ताहरूमा नजर ठोक्काउँदै आकासतिर हेरेँ। बीच बीचको आकाश निलो थियो। निलो आकाशको पश्चिम पुच्छारमा तेर्सा बादलुका धर्सा कोरिएका थिए। तिनै धर्साहरूमा गएर एकछिन मन अडियो।
'दाइ एउटा फोटो लिनु थियो!' - उनले भनिन्।
'कसको नि?' - मैले थाहा पाएर पनि थाहा नपाएझैं गरी सोधेँ।
'मेरो नि दाइ'- उनले सहज रूपमा उत्तर दिइन्।
'हुन्छ'- मैले झन् सहज रूपमा स्वीकृति जनाएँ।
मैले उनको मोबाइल समातेँ र उनको तस्बिर लिन तम्सिएँ।
त्यसै बेला उनी पछाडि फर्किइन् र कसैलाई हातको इसाराले बोलाइन्।
एकछिनमा त्यहाँ चार जना अरू केटीहरू पनि आइपुगे।
तिनको समूह पाँच जनाको रहेछ मैले सहज रूपमा अनुमान लगाएँ।
र अर्को पनि अनुमान लगाएँ कि पाँचै जना आफ्नो फोटो खिच्न छैटौं मान्छेको खोजीमा रहेछन्।
त्यसका लागि म तुरून्तै उपलब्ध भइहालेँ।
***
फोटो खिच्ने भनेर जब मैले -'रेडी, वान, टु .....' गन्दै गएँ
'दाइ फोटो होइन' भनेर मोटरसाइकलको डिस ब्रेक हानेझैं उनले मलाई फोटो लिनबाट झ्याप्प रोकिन्।
म पनि मोटरसाइकलझैं टक्क रोकिएँ र सोधेँ- 'अनि के त बहिनी?'
'टिकटक'- उनले भनिन्।
'ओके छ त!' मैले आफ्नै शैलीमा सहमति जनाएँ।
उनले मलाई सम्झाउँदै भन्दै गइन्- 'दाइ यो टिकटक हो। त्यस्तै पन्ध्र/बिस सेकेण्डको छ। मैले इसारा गरेँ भने क्लिक गर्नु। सकियो भने आफै रोकिन्छ।'
'हुन्छ'- मैले भनेँ।
मैले उनले भने अनुसार क्लिक गरेको के थिएँ। बजिहाल्यो - -' म त ढलेँ! ढलेँ!! ढलेँ!!!।'
गीत सिद्दियो तर तिनको धोको सिद्दिएन। अझै सोचेजस्तै नभएको ठानी होला अर्कीले भनी- 'हिजोको यही सङमा बनाएको भिडियोमा त एक हजार भ्युज पनि कटेन। आज त राम्रै भिडिओ बनाउनुपर्छ भाइरल हुने खालको।'
धेरैबेर सबैले आ-आफ्नो स्थान परिवर्तन गरे। अनुहार र शरीरका चालढालमा विशेष ख्याल गरे तर सोचेजस्तो भएन क्यार! अनुहारमा एक मुठ्ठी उदासीपन छ्याप्दै अर्की बहिनीले भनिन्- 'अब दाइलाई हामीसित नचाऔँ। त्यसपछि त कसो भाइरल नहोला!'
बहिनीको कुराले म डराएँ र भने- 'बहिनी म त नाच्दिनँ। अहिलेसम्म नाचेको छैन।'
अर्कीले आफ्नै बहिनीले झैं जिद्दी गर्दै भनिन्- 'नाच्नु के दाइ! प्लिज!'
नाच्न खुब रहर हुँदाहुँदै पनि मनको आँगनमा मात्र छमछमी नाच्ने मैले भनेँ- 'हुन्न बहिनी म त नाच्दिनँ। नाच्न खुब लाज लाग्छ।'
'ठिक छ त्यसो भए दादा! लाज मानी रहनोस्! बधाई छ!'- अघि दाइ भन्नेले अहिले दादा सम्बोधन गरी र मेरो हातमा रहेको आफ्नो मोबाइल समातेर मूलगेटबाट बाहिर निस्किई। सँगैका अरू पनि उसकै पछि लागेर निस्किए।
मेरा आँखा फेरि अग्ला भवनका भित्ता छाम्दै माथि आकाशतिर सोझिए। अघिको नीलो आकाशमा गाढा रातो रङ्ग मिसिएछ। म हतारिँदै कोठातिर हिँडेँ।
कोठामा गएर 'ढलेँ! ढलेँ! ढलेँ!' भन्ने गीत टिकटकमा हेरेँ। खुबै भाइरल भइरहेको रहेछ। सबैले यसमै मात्र भिडिओ बनाएर पोस्ट गरिरहेका रहेछन्। भाइरल गीतले ममा उत्सुकता जगायो। टिकटकमा धेरैबेर सुनेँ तर बुझिनँ। टिकटकमा हेर्दा सानो भएर नबुझिएको पो हो कि! भनेर युट्युबमा सर्च गरेर हेरेँ। एकपल्ट हेर्दा केही पनि बुझिनँ। फेरि हेरेँ। फेरि पनि बुझिनँ। त्यसैले तेस्रो पल्ट हेरेँ। तेस्रो पल्ट हेर्दा भने गीतका शब्दमा संगीत नभरिँदै प्रारम्भिक चरणमै कुखुराको भाले पोथी कुखुरामाथि फुत्त चढ्यो। यो कुरालाई बुझेँ तर फेरि बुझिनँ कुखुराको यो हर्कत र गीतका शब्दका बीचमा के सम्बन्ध छ भनेर। लाग्यो गीत बुझ्नकै लागि भए पनि गीतको भ्युज बढाइदिएँ।
***
अर्को दिन बिहानै एउटा भाइले कीर्तिपुरबाट फोन गर्यो र भन्यो - 'दाइ आज क्रिकेट हेर्न आउनु हुन्छ नि!'
'आउछुँ भाइ'- मैले भनेँ।
'छिट्टै आउनु। बरू खाना मेरोमा नै खाउँला,' - उसले भन्यो।
मैले -'हुन्छ' भनेँ।
बिहान ९:१५ बजे खेल सुरू हुने भए पनि म सातै बजे कीर्तिपुर हानिएँ र खाना खाएर दुबै जना ८:३० मा ग्राउण्ड प्रवेश गर्यौं।
ग्राउण्डमा दिपेन्द्र ऐरी क्रिजमा थिए। उनले चौका र छक्का हान्दा पूरै ग्राउण्डभरी मुटु हल्लिने गरी गीत बज्थ्यो र सबै गीतमा झुम्मिन थिए। फेरि त्यही गीत बज्थ्यो हिजो मैले तेस्रोपल्ट सुन्दा पनि नबुझेको -' म त ढलेँ! ढलेँ!! ढलेँ!!!।'
गीत बज्दै थियो। सबै नाचिरहेका थिए उठेर। मसितको मेरो साथी पनि उफ्रेर नाच्दै थियो। म भने अघि ग्राउण्ड छिर्दा गेट बाहिर कसैले मेरो हातमा जबरजस्ती थमाई दिएको चौका र छक्का लेखिएका कागज भुइँमा राखी त्यसैमाथि बसिरहेको थिएँ।
'अस्ति रूखको हाँगामा बसेर भाइरल भएको मान्छे त्यही रूखमा त हो नि है?,' मेरो पछाडि पिठ्युँमा घुँडा जोतेर बसिरहेको केटाले भन्यो।
' होइन त्यताको! पारी भिआइपी पछाडि रहेको रूखको हो'- मेरो दाहिने पट्टि बसेर मेरो काखीमा कुहिनो बिझाएर बसेकोले भन्यो।
यत्तिकैमा फेरि ग्राउण्डभरि ठूलो हल्ला फैलियो। लाग्यो दिपेन्द्रले फेरि छक्का हानेछन्। मैले ताली पिटेँ। अगाडि मेरो खुट्टालाई सिरानी बनाएर पल्टेकोले भन्यो- 'के हो तपाईंको पारा! तपाईं दिपेन्द्रको सपोर्टर होइन र! दिपेन्द्र आउट हुँदा नि ताली पिट्दै हुनुहुन्छ।'
म केही बोलिनँ। नसुनेकोझैं गरेँ। त्यसै त्यसै मनमा जर्ज बर्नाड शाले भनेको- 'क्रिकेट खेल्ने मुर्ख हुन र हेर्ने महामुर्ख हुन्' भन्ने भनाइ आयो र यो भनाइको यस खेलसित के अर्थ छ भन्ने मनलाई प्रश्न गर्न नपाउँदै फेरि नफर्किने गरी मनबाटै सुटुक्क भागिहाल्यो।
एक छिनपछि उही गीत बज्यो -'म त ढलेँ! ढलेँ!! ढलेँ!!! ।' अरू गीत बज्दा नजोसिएको मेरो बायाँ पट्टिको अधबैंसे केटो मान्छे पनि जुरूक्क उठ्यो र आफ्ना दुई हातहरूमाथि आकाशतिर दायाँ र बायाँ गर्दै ढलेकोझैं इसारा गर्दै नाच्न थाल्यो। अरू सबै दर्शकहरू उस्तै गरी नाच्न थाले। सोध्न मन थियो- किन र कसका लागि ढल्दैछौ? भनेर तर सोधिनँ कसैलाई पनि।
मनमा उब्जिएको प्रश्न हराउन नपाउँदै एउटा केटी मान्छे ढली हालिन् मेरो काखमा। मैले थाम्न सकिनँ उनको भार र म पनि भुइँमै ढलेँ। लाग्यो कोही यहाँ आफ्नै रहरले ढल्दैछन् भने कोही बाध्यताले।
एकछिनपछि 'सरी ल अंकल' भन्दै उनी उठिन् मेरो काखबाट। मैले - 'यस्तो हुन्छ कहिलेकाहीँ' भन्दै उनको अनुहारमा हेरेँ र चिनिहाले उनलाई। उनी अस्ति मात्रै कमलपोखरीमा भेटिएकी बहिनी थिइन्।
उनले पनि चिनिन् र मेरो अनुहारमा हेर्दै भनिन्- 'दादा अस्ति भाइरल नभएर के भो त! आज त पक्का भाइरल हुने भइयो। धन्यबाद दादा! '
मैले अनायासै भनेँ- 'भाइरलका लागि अग्रिम बधाई छ!'