त्रिभुवन विश्वविद्यालय... शब्द उच्चारण गर्दा मात्र पनि मेरो हृदयको हिमाल नतमस्तक हुन्छ। शिरनत हुन्छु सरस्वतीको शक्ति, सामर्थ्य र समृद्धि बोधमा। निमन्त्रणा छ डाक्टर रजनी ढकालको, त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागमा डाक्टर अर्चना थापाको कठपुतला कथा सङ्ग्रहमाथि अन्तर्क्रिया हुँदैछ।
विश्वविद्यालय जाने निमन्त्रणा पाएपछि स्मरणमा आउँछ, वर्षौंअघि विश्वविद्यालय जान हौसिएर पनि परिस्थितिले थचारिएको आफ्नै मन। आँखाभरि छाउँछ अतीतमा खुम्चिएका आफ्नै जीवन कथा। म देख्छु सम्भावनाका अनेकौं फूल रोप्ने बेलामा आफैले काटेका नवीन पालुवाहरू।
किन किन अमूल्य अतीत आज अझ प्रिय लाग्दैछ। अतीत किन यति तृप्तिकर लाग्दैछ मलाई? अतीत किन मन पर्छ बारम्बार? अतीत किन अँध्यारो लाग्दैन? फेरि गम्छु थाहा छैन अतीतका ती स्वर्णिम पलहरूमा मैले मलाई नै छोडेकी छु। त्यसैले म मलाई नै भेट्छु आज पनि अतीतका गोरेटामा। हुन त म आज पनि त छु तर भएर पनि शायद पूर्ण छैन। लाग्छ, अतीतमा म पूर्ण थिएँ अनि पो आज पनि खोज्छु आफ्नै पूर्ण अंश। म घरीघरी देख्छु स्मृति पर्दामा आफ्नै बाल्यकाल, युवाकाल।
बाल्यकको सीमा उक्लिएपछि हो मैले हार्न थालेको। जब जब मेरो मन अशान्त हुन्छ तबतब लाग्छ म हार्छु। मन हाँसेको बेलामा लाग्छ म संसार जित्ने छु। त्यसैले विचारलाई उच्च स्थानमा राखेर म हार्न चाहन्नँ। अनि हाँस्छु साना साना कुराहरूमा पनि। मनको शान्त अवस्थामा म आफ्नो जित भेट्छु। मनको अवसादमा म निरन्तर हार देख्छु।
म देख्छु ऊर्जावान जीवनका उज्याला गोरेटोमा हराएका अनेकौं चम्किला डोबहरू। चलचित्र बनेर उत्रिन्छ अनियोजित जीवनका ती मार्गहरू। आँखैको बाटो भएर निमेष भरमा कुद्दछन् जिम्मेवारी र कर्तव्यबोधको अन्त्यहीन यात्रा। देख्छु पूरा हुन नसकेका रहर, सपना र कल्पनाहरूको मलामी। सपनाहरूको जल्दो चिता देखेर मन अँध्यारिन्छ। मनलाई पुनः समात्छु। बानी जो परेकी छु नि! छरिएका मनलाई लुगा पट्याए जसरी मिलाइ मिलाइ पट्याउन अभ्यस्त छु अचेल।
साँच्चै अब त अब्बल भएकी छु च्यातिएको मन सिउन। तर पनि मन त आखिर मनै त हो। सिलाएकै ठाउँबाट चिहाउँछ घरी घरी मलाई नै। मनलाई खुसी पार्न थपक्क हातमा लिएर उसलाई नै सम्झाउँछु, ‘जीवन सोचेको जस्तो सरल रेखामा मात्र कहाँ बग्दो रहेछ र बाबै! जीवनले त कैयौँ विशृङ्खलित धारमा पनि त बग्नुपर्दोरहेछ। हिजो र आजलाई हेरेर भविष्य आँक्न पनि त नसकिँदो रहेछ!’ मेरो कुरा सुनेर मन हातबाट पोखिन खोज्छ।
कस्तो विडम्बना जिम्मेवारीले नगिजोलेको निर्मल समयमा आफ्नै अज्ञानले विवेक ढाक्दो रहेछ। जब जीवन अप्ठ्यारो मोडमा पुग्छ बल्ल चेतनाको ज्योति फैँलिदो रहेछ। मेरो कुरा सुनेर हत्केलामा झोक्राएको मन लाचार हाँसो हाँस्छ। म अझ सम्झाउँछु मनलाई ‘भर्खरै स्कुल सकेर कलेज आउँदा पनि उम्रिएका थिएनन् बुद्धि बङ्गारा। कठै! जीवन जगतलाई बुझ्ने सामर्थ्य कहाँ पाउनु। जीवनको नाइल कहाँसम्म पुग्दो छ के देख्नु। जीवनप्रति कुनै पिर र चिन्ता नभएपछि योजनाबद्ध जीवनको अभ्यास कसले गरोस्। जसरी हिजो सरल गणितमा बग्दै आएको थियो जीवन, उसैगरी सधैं बहन्छ होला लाग्थ्यो। जीवन सिनेमाझैं लाग्ने उमेर कति आनन्दको ...। मेरो कुरा सुनेर मेरै मन मलाई इसारा गर्छ ‘अझ भित्र भित्रको उकुसमुकुस पनि निकाल...।’ भनेर। परिपक्कताको हाँसो छर्दै मनलाई सम्झाउँछु।
‘चिन्ताको चिता नसल्किएको मस्तिष्क कति चिन्मय। वर्तमानलाई सर्वोच्च ठान्ने सोचाइ कति विशुद्ध। वर्तमानमा बाँचेको जीवनले जस्केलाभन्दा पर सोच्नै सकेन। अनि कसरी देखोस् जीवन उक्लिने भीमकाय पर्वतहरू। छिचोल्नु पर्ने समस्याहरूका अनन्त सागरहरू। सुखको शान्त पलमा कसले सुन्यो र संघर्षको उच्चाट।
जीवनलाई देउरालीमा थपक्क बिसाएर आज बुझ्दैछु ‘जीवनलाई संवेदनाका अनेकौँ मदानीले पो घुमाउँदो रहेछ। जीवन त संवेदनाहरूको भूमरीमा पो घुम्दो रहेछ। प्रहेलिकाको अनौठो खेल रहेछ जीवन। बुझेर बुझ्न नसक्ने। अनुमान लाउन कठिन पर्ने। जीवन बुझ्नलाई भोग्नै पर्ने रहेछ जीवन।
मैले पनि जीवनको लामो योजना निर्माण गर्न सकिनँ। पूर्वयोजना बनाउन सकिनँ गुणात्मक जीवन निर्माणको। कति सजिलै अध्ययन, अनुसन्धान र आत्मनिर्भरको पाटोलाई भुलेर जीवनलाई अर्कै दिशातिर मोडेँ। कस्तो नसामा थिएँ म ? कस्तो अव्यवस्थित थिएँ। कति काँचो रहेछु। कति अञ्जान रहेछु जीवन बुझ्न।
जीवनमा सबभन्दा महत्त्वपूर्ण र गम्भीर विषयमा निर्णय लिन मलाई कति सजिलो लाग्यो। केही सोच आएन। भविष्य कस्तो होलासम्म सोच्न सकिनँ। मेरो संसार रमाइलो थियो त्यसैले एक पाइला पर हेर्न सकिनँ। अँध्यारो देख्दै देखिनँ। सोचेँ अब झन् रमाइलो दिन हुन्छ। स्वच्छन्द जीवनमा बोध भएन बन्धनको। जब बन्धन परिभाषित भयो तब अझ उज्यालो भएर उठ्यो निर्बन्धता।
जब जीवनको डोरी मेरो मात्र हातमा थियो। कठै ! केही नसोची सुम्पिएँ आफूलाई। न सर्त, न योजना। साँच्चै, अरूसँग जोडिएपछि म मात्र हुन सकिनँ। म त बाँडिएँ खण्ड खण्डमा। विज्ञान भन्छ खण्ड खण्डमा अपार शक्ति छ। हो कि जस्तो पनि लाग्छ विज्ञानका कुरा तर वर्तमान त नदेख्नेले कसरी देखोस् सूक्ष्म कुरा! विश्वविद्यालय गएर पढ्नु पर्ने लक्ष्य र उद्देश्य केही थिएन। हावाको वेगसँगै म बहकिँदै थिएँ ...।
विश्वविद्यालयलाई स्मृतिभरि उतारेर कल्पिन्छु म पनि सही समयमा विश्वविद्यालय पुग्न पाएकी भए! अनि कल्पनाको सुन्दर संसारमा हराउँछु। म देख्छु मलाई ‘जिम्मेवारीको बोझ नबोक्दै निसङ्ग मात्र विद्यार्थी भएको। परिचय पत्रमा विद्यार्थी मात्र लेखेको। विश्वविद्यालयका कोठामा पढ्दै गर्दा घरपरिवार र दायित्वका अनेकौँ घण्टी नबजेको। कक्षामा समय सूचकको घण्टी मात्र बजेको...।
अतीतमा समेट्न नसकेका आफ्नै सपनाहरू आँखाभरि पुन: फुल्न थाल्छ। अतीतमा सङ्गालेका मीठा मीठा सपनाहरू वाचाल भएर मलाई पुनः डोर्याउन खोज्छन्। उतिनै खेर गोडामा आएर बल्झिन्छ समयको बलियो ढुङ्गो। ठेस लागेका आफ्नै गोडा सुम्सुम्याउँदै पुगेकी छु कहिले नपुगेको नजिकैको पवित्रस्थल त्रिभुवन विश्वविद्यालय।
विश्वविद्यालयको प्रेममा यति गहिरोसँग परेकी मान्छेलाई आज (२०८१-८-२४) गते बल्ल साइत जुर्यो विश्वविद्यालय जान। कलिला रहरलाई बोन्साई गरेर ठिङ्गुर्याएका ती मेरा होचा र बूढा रहर जस्तै बूढो भइसकेको होला विश्वविद्यालय पनि। यतिका वर्ष रिङरोडबाट हेर्थें विश्वविद्यालय परिसर। तर आजसम्म पाइला टेकेकी थिइनँ।
मनभरि उत्साह, उमङ्ग र श्रद्धा बोकेर गएकी छु सरस्वतीको मन्दिर।
कवि शोभा शरभ, नम्रता भण्डारी र म सँगै जाने योजना छ। बल्खुमा ठीक बाह्र बजे भेट्ने भनेका छौं। अब मलाई ढिलो गर्न मन छैन त्यसैले समयमै पुगेकी छु बल्खु।
केहीबेरको प्रतीक्षापछि आउनु हुन्छ साथी नम्रता। सडकमा भिड छ। उभिएको देखेर कानैमा कराउन आउँछन् सुमोका कर्मचारीहरू। शोभा भक्तपुरबाट आउनुपर्ने अझ आउनुभएन। हामीलाई सडकछेउ उभिन सकस भयो अनि अलि तल गएर बस्ने सल्लाहमा हामी कुमारी क्लबतिर लाग्यौं। आरामदायी बेन्चमा बस्दै गर्दा शोभा पनि आइपुग्नुभयो।
तीन देवी हिँड्दैछौँ विश्वविद्यालय परिसरमा। छक्क परेकी छु अघिको होहल्ला र अहिलेको यो चकमन्नता। स्थान कति महत्त्वपूर्ण हुनेरहेछ। रूखहरू पनि बौद्धिक भएर उभिएका लाग्छन्। फराकिलो बाटोमा फाट्टफुट्ट छ मानव पदचाप। कतै कतै सभा सम्मलेलन भएको आवाज गुञ्जिन्छ। अगाडि बढ्दै जाँदा लोभिन्छ मन त्यो सुन्दर परिवेशमा। बाङ्गा रूखहरू देखेर युवती मन ममाथि हावी हुन्छ। मलाई भन्छ बिर्सी उमेरको गणित हिँड् रमाइलो गर्न। रूखमा चढौं। फोटो खिचौं। मनमा आएकी कलेज पढ्दै गरेकी अनितालाई न्याय गर्छु। अनि ‘हस्’ को स्मित हाँसो छर्दै उसको रहर मेटिदिन्छु।
हामी जङ्गलतिर मोडिन्छौँ सफा सडक छोडेर।
बाङ्गिएका ती रूखमा चढेर केही फोटो खिचिदिन्छु। दङ्ग पर्छे अनिता बालापन भेटेर। उसलाई चौरमा बसेर सुन्तला र बदाम पनि खान मन लाग्छ। साथीहरूले अनिताको मन पढ्छन् र किन्छन् बदाम र सुन्तला। वरिपरिको परिवेशले लठ्याउँदै छ हामीलाई। समाजशास्त्र संकायको भवनभन्दा अझ माथि पुगिसकेका छौं।
अब हामी मोडिन्छौं घडी भवनतिर। कल्पनामै निर्माण गरेकी छु घडी भवन। शोभा परिचित हुनुहुन्छ विश्वविद्यालयको भूगोलसँग। हामीलाई लिएर जानुहुन्छ नजिकैको चौतारामा। देखिन्छ विश्वविद्यालयका भवनहरू। खुला चौर। चौरभरि पल्टिएका विद्यार्थीहरू। कोही घोप्टिएर पढ्दैछन्, कोही बदाम खाँदैछन्, कोही सुन्तला। कोही आनन्दले सूर्य स्नान गर्दैछन्। पहिलो भेटमै वर्षौंको प्यास मेट्न खोज्छन् मेरा आँखाहरू। विश्वविद्यालय नआएकी अनितालाई देख्छु सबैतिर। युवती मनसँग गफिन मन लाग्छ मलाई यस घडी। मनमा नौलो नौलो दृश्य बन्दै छ। हामीले चौतारामा बसेर बदाम र सुन्तला खाइसक्यौं। सुन्तला र बदाम खाएपछि बोक्रा त्यहीँ फाल्न मन लागेन। अनि फोहोर पोको पारेर बोक्छौं आफ्नै झोलामा। झलक्क स्मरण हुन्छ ज्ञानु अधिकारीको निबन्ध संवेदनाको समायोग।
पुलुक्क घडी हेर्छौं। अहो! घडी घरले त पर्खिरहेको छ तर आफ्नै हातको घडीले पर्खिएन। हामी हतारियौं। घडी भवनको आँगनमा पुगेपछि अलमल्ल पर्यौं। फोन लगायौं। हामीलाई घडी भवन आउनू भन्नु हुन्छ रजनी म्याम। तर दुई भवनमा घडी देखेर अडिएका छौं अब कता जानेको भावमा। पुनः रजनी म्यामलाई फोन गर्यौं।
कार्यक्रम आरम्भ हुनै थालेछ। म्यामकै निर्देशनमा पुग्यौँ हतारिँदै माथिल्लो घडी भवनमा। सभा हल भरिएको छ। देखिन्छ चिरपरिचित मुहार। आँखाले सबैलाई नमन गर्दै बस्छु, नेत्र सरले छोडिदिनुभएको कुर्सीमा। विषय विज्ञहरूको पुस्तक समीक्षा निकै उत्कृष्ट छ। सार्थक भएको छ आजको छलफल। रमाइलो वातावरणमा अचानक मन खल्लो खल्लो हुन थालेको आभास हुँदैछ।
एमफिलका विद्यार्थीहरू त्यहाँ आफ्नो मन्तव्य राख्दै हुनुहुन्छ। पर पुगेको समयलाई वर ल्याएर पढ्दै गरेको देख्दा अचानक मस्तिष्कले कल्पिन थाल्यो, अहो! म पनि पढ्न पाएँ। विश्वविद्यालय आएर स्नातकोत्तर पढ्ने सपना सायद कुनै समय मेरो मस्तिष्कमा रोपिएको रहेछ। रहरका ती चञ्चल आँखा। मनभित्रको मनले तर्क गर्न थाल्यो सभा हलमै ‘अब यो उमेरमा आएर पढ्छेस् तँ? छोरी अर्को वर्ष आउँछे केन्द्रीय विश्वविद्यालय ! एकपछि अर्को मनहरू तर्क गर्न थाले मेरै मस्तिष्कको चौतारीमा। बहस छेड्न थाले आ-आफ्ना तर्कका
उ: हेर त। तँ जस्तै रहर बोकेर आउनेहरूलाई। तँलाई पनि पढ्न कसले रोकेको छ र आएर पढ्न। के बितेको छ र? उमेरले छेक्दैन बाबै! पढ्न नै रहर भए। फेरि अर्को मन बोल्छ बुलन्दी भएर, ‘उ: हेर त उहाँले पनि त छोराछोरी हुर्काएर यो उमेरमा आउनुभएको छ त ... ।’
मनभित्रका मनहरू हुरूरू बाहिर आउन थाले विश्वविद्यालय परिसर हेर्न ...। मनको मन्थन सुनेर म अत्तालिएँ। प्राध्यापकहरू पनि पढ्न आउन सुझाउनु हुन्छ। हरेक विषयका विद्यार्थीहरूलाई ढिलै भए पनि नेपाली पढ्न ढोका खुलेको अवस्था छ। स्नातकोत्तर तहमा भर्ना खुलेको सूचना सबैतिर प्रसारित छ। झलक्क सम्झिन्छु स्नातक पढ्दा अदना उमेरमै तार्किक भएकी अनितालाई सम्झेर।
चैतन्य क्याम्पसमा पढ्न खोजेकी थिई नेपाली मुख्य विषय राखेर। त्यो ऊर्जावान समयमा कठोर नीतिले तगारो हालेको थियो। प्रमाणपत्र तहमा मुख्य विषय नेपाली भए मात्र स्नातकमा नेपाली पढ्न पाइन्छ नत्र पाइँदैन। राखेकी थिएँ सरहरूसँग आफ्नो धारणा ‘सर्वप्रथम त म नेपाली हुँ। मेरो मातृभाषा पनि नेपाली नै हो। कक्षा एकदेखि मैले नेपाली भाषामै पढेकी छु। मुख्य विषय स्कूलमा पनि नेपाली नै थियो। नेपाली भाषा लेख्न, पढ्न र बोल्न सक्छु भने मैले अहिले किन नेपाली पढ्न नपाउने ... ? हो मैले प्रमाणपत्रमा मुख्य विषय नेपाली राख्न सकिनँ। तर मलाई अहिले पछुतो छ। कम्तीमा मलाई अब चाहिँ पढ्न दिनू न ... ।
मेरो तर्क मूर्खतापूर्ण भयो। मैले नेपाली पढ्न पाइनँ। तिर्खाएको बेलामा खान नपाएको पानी तिर्खा मरेपछि त्यति स्वादिलो हुँदैन। मन मर्यो पछि पढ्ने। आज सबैजना भन्दै हुनुहुन्छ उमेर मात्र अंक हो। मलाई लाग्छ जति भन्न सजिलो छ, उति नै त्यो कुरालाई स्वीकार्न कठिन छ। उमेर मात्र अंक भए त केही थिएन। उमेर त अंक बोकेर हिँड्ने जीवनको अन्त्यतिरको यात्रा पनि त हो। हुन त केही गर्दैन उमेरले भने पनि धैरै थोक गर्छ उमेरले जस्तो लाग्छ मलाई। नत्र किन आयोगले उमेरको हदबन्दी लगाउँथ्यो होला र?
सोचेकी थिइनँ विश्वविद्यालय आइपुगेपछि मनले नयाँ नयाँ कल्पना बुन्न थाल्छ भनेर। मेरो मनले त हेर्दाहेर्दै समयको टाइम मसिन निर्माण गर्न पो थाल्यो।
मनभित्रको मनले मलाई शान्त भएर देखाउन थाल्यो आफ्नै अनेकौं रूपहरू, जिम्मेवारीहरू, प्राथमिकताहरू ... म देख्दै थिएँ, खण्ड खण्ड भएकी अनिताले अखण्ड अनितालाई। ऊ उल्लासित भएर नाच्दै थिई विश्वविद्यालयका कोठा कोठामा। खण्ड खण्ड अनिताले चिहाउन थाली ऊर्जावान् समयकी अनितालाई...। म विस्मित भएर हेर्दै गएँ, हेर्दै गएँ ...।