म गोरखामा जन्मिएँ। मैले बुझ्न थालेदेखि सुन्दै आएको छु ऐतिहासिक गोरखा। अनि मैले अक्षर पढ्न जानेदेखि नै पढ्दै आएको छु गोरखा, तत्कालीन राजा पृथ्वीनारायण शाह र उनले गरेको राज्य विस्तारको अभियानबारे।
इतिहासमा आधुनिक नेपालको उद्गमथलो गोरखामा जन्मिएको र गोरखाकै बासिन्दा भन्न पाउँदा मलाई गर्व लाग्छ। सायद त्यही इतिहासको महत्वकै कारण अहिले गोरखा आइपुग्ने जो कोहीको लागि अवलोकनको पहिलो रोजाइ गोरखा दरबार हुने गरेको छ।
गोरखाको माझकोटमा रहेको गोरखा दरबारमा वि.सं.१७७९ पुस २७ गते जन्मेका पृथ्वीनारायण शाह राजा भएपछि उनले राज्य विस्तारको अभियान थाले। तत्कालीन बाइसे चौबिसे राज्यहरूलाई एउटा देश बनाउने उनको यो अभियान नेपालको एकीकरण भनेर इतिहासमा पढिन्छ।
पृथ्वीनारायण शाहले नै सेनाको स्थापना समेत गरे। राज्य विस्तार अभियानको नेतृत्व पृथ्वीनारायण शाहले गरे। तर उनको यो अभियानलाई साथ दिएका थिए गोरखाकै कालु पांडे, विसे नगर्ची, वंशु गुरूङ, मणिराम गाइने अनि इतिहासमा नाम उल्लेख हुन नसकेको गोरखा राज्यका कैयौं प्रजाहरूले। काठमाडौं उपत्यकामा विजय प्राप्त गरेपछि राजधानी नै सारे। गोरखामै जन्मिएर राजा भएका पृथ्वीनारायण शाह नै गोरखाका अन्तिम राजा भए। पृथ्वीनारायण शाह, उनका परिवार र केही भारदार शासन सरे सँगै ठाउँ सरेर काठमाडौं तर अधिकांश उनका सहयोगी तथा प्रजा भने गोरखामै रहे।
गोरखा राज्यकै राजाले सुरू गरेको राज्य विस्तारको अभियानले एकीकृत देश बनाउने गौरव त हासिल गर्यो। राज्य विस्तारको क्रममा विभिन्न राज्य माथिको विजयको उत्सवसँगै त्यतिबेलै गोरखा राज्य र गोरखाली राजाको पहिचान पनि गुमाउँदै गयो। गोरखाबाट काठमाडौं सरेपछि शाहवंशीय शासन काठमाडौंबाट नै चल्यो। गोरखा र काठमाडौं बीचको साइनो त अब केबल गोरखा दरबारबाट हनुमानढोका दरबार लगेर दसैंमा फूलपाती लगेर भित्र्याउने मात्र त सीमित छ। जुन चलन आजभोलि पनि छ। यस बाहेक केही वर्ष यता नेपाली सेनाले पृथ्वीनारायण शाह हिँडेको पदमार्गमा एकीकरण पदयात्रा समेत आयोजना गर्ने गरेको छ।
पृथ्वीनारायण शाहदेखि अहिलेसम्म आइपुग्दा मुलुकमा धेरै राजनीतिक व्यवस्था फेरिसकेको छ। हुन त पञ्चायतदेखि अहिले लोकतान्त्रिक गणतन्त्रसम्म गोरखाले प्रधानमन्त्री र धेरै मन्त्रीसम्म पायो। राजधानी काठमाडौंदेखि गोरखा त्यति टाढा पनि छैन। यातायातमा केही घण्टामा गोरखा सदरमुकाम पुगिन्छ। तर इतिहासको दृष्टिकोणले महत्वपूर्ण मानिएको गोरखा जिल्लामा खासै आहा भन्ने गरी विकास भएको भने देखिन्न। न त गोरखाको इतिहासको संरक्षण र प्रर्वद्धनमा खासै चासो देखिन्छ।
बाइसे चौबिसे विभाजित ससाना राज्यलाई एउटा सिंगो देश नेपाल निर्माणको विजयको इतिहास बोकेको गोरखा। त्यही इतिहास सम्झाउने गोरखा दरबारबाहेक त्यसको प्रतिफल अरू खासै देखिन्न। गोरखासँग जितको गर्विलो इतिहास त छ। तर वर्तमानमा भने गोरखाको अवस्था सरदर अरू जिल्लाको भन्दा भिन्न भने छैन। जुन कुनै शासन व्यवस्था भए पनि कतै गोरखा शासकका निम्ति खोलो तर्यो, लौरी बिर्सियो त भएको होइन? भन्ने भान हुन्छ।