भत्किएका संरचना, बनाउन बाँकी जिन्दगीका महलहरू जस्तै छरपस्ट सपनालाई साकार पार्न हिँडेको एउटा केटो। प्लस-टु साइन्सबाट राम्रै अङ्क ल्याएर उत्तीर्ण भएपछि कल्पनाको संसार सजाउन प्रमुख तत्त्व पैसा हो भन्ने भान मस्तिष्कमा पर्यो।
के पढेर, कति समयमा, कति इज्जतको साथ कति पैसा कमाउन सकिन्छ भन्ने मभित्रको काँचो मानसिकताको नतिजाले त्यो बेला ‘सिए’ पढ्ने अठोट लिएर दिल्ली जाने निर्णय लिइयो।
बुवा व्यापारको सिलसिलामा महेन्द्रनगरमा हुनुहुन्थ्यो। मलाई मेरो माइलो दाइले बुटवलबाट साँझ ८ बजेको गाडी तिनाउ पुलबाट चढाउनु भयो। जिन्दगीमा त्यसरी कहिले पनि एक्लै, त्यो पनि रात्रि बसमा टाढाको यात्रा गरेकै थिइनँ।
यात्राको क्रममा राती कति बेला निदाएछु पत्तै पाइनँ तर कर्णाली पुल (चिसापानी) मा पुग्दा ठ्याक्कै मेरो आँखा खुले। ५ रुपैयाँ खाले गैँडा कपिमा कर्णाली पुलको तस्बिर देखेर हुर्किएको म, बसबाट बाहिर रियलमा त्यो पुल देख्दा खुसीको कुनै सिमै थिएन!
गाडीले बिहानको ठिक ६ बजे महेन्द्रनगर पुर्यायो। त्यहाँबाट बाबुछोरा गड्डाचौकी महाकाली नदी पार गरी दिल्ली हानियौँ। जिन्दगीमा पहिलो पल्ट मेट्रो रेल चढ्ने अवसर पाएँ, तब पुगियो चार्टर एकाउन्ट पढ्नेहरूको सहर लक्ष्मीनगर।
सुनेको थिएँ, सिए एकदम गाह्रो हुन्छ भनेर। त्यहाँ जाँदा ऊर्जा दिनेभन्दा सकिन्न, काम छैन, जिन्दगी डुबाउँछ भन्ने शब्दले मलाई धेरैले प्रहार गरिरहन्थे। अटेरी केटो म, केको टेर्नु! जिन्दगी भनेकै लड्नका लागि हो, पढ्नका लागि हो। कि पढ्दै पढ्दिनँ, पढेपछि खतरै विषय पढ्छु नि भन्ने कुरा चाहिँ दिमागमै थियो।
त्यसपछि सिए पढ्न म त्यही कोठा खोजेर बस्ने र बाबा घर फर्कने कुरा भयो। जिन्दगीमा कहिले घर नछोडेको, बा-आमाको साथमा बसेको मान्छे एक्कासि नयाँ ठाउँ, नयाँ परिवेश अब एक्लै बस्न पर्ने भयो भनेपछि त्यो रात निन्द्रा लाग्ने कुरै भएन।
घर सम्झिएँ। ममीलाई सम्झिएँ। ममी अलि बिरामी भइरहनु हुन्थ्यो। बाबालाई व्यापारको सिलसिलामा देशैभरि हिँडिरहन पर्ने। त्यसैमाथि ममीको जिम्मेवारीमा पसल पनि थियो। यसो सोचेँ, अब म नभएपछि ममी बिरामी हुँदा कसरी घर चल्छ होला?
यसो मोबाइलमा हेरेँ, रातको करिब २ बजेको थियो। यसो गुगलमा ‘मस्ट हार्डेस्ट कोर्स इन द वर्ल्ड’ भनेर हानेको त सिए त दुई नम्बरमा पो देखायो। जिन्दगीमा सबैभन्दा गाह्रो सोचेको विषय नै २ नम्बरमा देखेपछि मलाइ दोस्रो बन्न मन लागेन। नम्बरमा एकमा चाहिँ इन्जिनियरिङ देखेँ। त्यसपछि बाबालाई म इन्जिनियरिङ पढ्छु घरमै बसेर भन्ने सल्लाह गरेँ।
एउटा इन्जिनियरिङ कलेजमा भर्ना भएँ।
दिन समय यसै बित्दै गयो। ४ वर्षसम्म मैले घर-परिवार सँगसँगै रहेर घर व्यापारमा सकेको सहयोग गर्दै करिब १२/१३ लाख नेपाली रुपैयाँ सकाएर सिभिल इन्जिनियरिङ सकेँ। इन्जिनियरिङ सकेपछि आफ्नै देशमा केही गर्ने निधो गरेँ।
मसँगै सिभिल इन्जिनियरिङ सकेको एक जना साथी थियो। कलेज लाइफको ४ वर्षे जिन्दगीमा सबै कुरा मिलेको हाम्रो त्यसपछिको गन्तव्य मिलेन। एक दिन खाजा खाने बेलामा उसले सोधेको थियो- ‘साथी, अब नेपालमा बस्ने कि विदेशको प्रक्रिया चाल्ने?’
मैले भनेको थिएँ, ‘म त जे गर्छु स्वदेशमै गर्छु, जाँदिनँ विदेश।’
उसले भन्यो, ‘म त विदेशको प्रक्रिया चाल्छु, नेपालमा अवसर नै छैन।’
साथीले विदेशको प्रक्रिया त छैटौँ सेमेस्टरबाट नै चालिरहेको रहेछ, इन्जिनियरी सक्ने बित्तिकै ऊ डिपेन्डेन्टमा अस्ट्रेलिया छिर्यो। आफू न त केटी पट्टाउन जानियो न विदेश जान नै।
जानी बेलामा साथीले भन्यो, ‘सके आफूले गर्नू, नसके अरूको भर पर्नू।’
यता ममा इन्जिनियर पढ्ने बित्तिकै राम्रो जागिर पाइन्छ भन्ने मनमा छाप बसेको थियो। तर जब पहिलो चोटि एउटा निजी कम्पनीमा जागिरको लागि कोसिस गर्न अन्तर्वार्ता दिन गएँ, मेरा सोचाइका बाँधहरू भत्किए। निजी क्षेत्रमा काम गर्न कि अनुभव कि त नातावाद कृपावाद नै चाहिने रहेछ!
३/४ ठाउँमा जागिरको कोसिस गरेँ। राम्रो ठाउँमा राम्रो तलब कहीँ पाइनँ। त्यो १२/१३ लाख ल्याएर इन्जिनियर सकेको कागजपत्र कहिलेकाहीँ त च्यातेर फाल्न मन लाग्थ्यो।
घरदेखि तलतिरको एक जना दाइ इन्जिनियर सकेर काठमाडौँमा एउटा निजी क्षेत्रमा काम गर्दै हुनुहुन्थ्यो। दाइलाई फोन गरेर मलाई पनि एउटा जागिर खोजिदिनुहोस् न भनेँ।
दाइले भन्नुभयो, ‘जिन्दगीमा मैले लाखौँ खर्च गरेर इन्जिनियर पढेर दुःख पाएँ! १२/१३ लाख खर्च गरेर इन्जिनियर पढेर २५ हजारको जागिर खाँदै छु। त्यो नि एकजना आफन्तले भनसुनका आधारमा लगाइदिनु भएको!
निजी क्षेत्रमा काम गर्ने इन्जिनियरको पीडा त कति कति। अस्ति मेरो मित दाइलाई केटी माग्न दाइको आफन्तको चिनजानबाट माग्न गएको, केटी सुब्बा रहिछे। दाइ इन्जिनियर तर एउटा निजी कम्पनीमा काम गर्ने!
केटीको बुवाले सुरुमै सोधे- तलब कति हुन्छ? केमा काम गर्नुहुन्छ नि?
त्यसपछि दाइले भन्नुभयो- ३२ हजार हुन्छ, म एउटा कम्पनीमा इन्जिनियर पेसामा आबद्ध छु!
केटीको बुवाले भने- निजामती कर्मचारी बाहेक अरूलाई छोरी दिन्नँ म त! छोरी तिम्रो बिचार के छ?
धन्न केटीले मन पराई र दुवैको विवाह भयो!
आजभोलि घर-परिवारले पनि सरकारी जागिर हेरेर मात्र छोरी दिन्छन्! बैलेमा लोक सेवा तयारी गर भाइ।’
दाइको कुरा सुनेर एकछिन बिरक्तिएर सोचेँ।
१२/१३ लाख खर्च गरेर इन्जिनियर सकेर पनि आखिर अन्तिममा लोक सेवा नै पढ्नु पर्ने रहेछ। त्योभन्दा त अलिक कम खर्च लाग्ने विषय पढेको भए त्यत्रो खर्च हुँदैन थियो!
अझ समाचारमा सुन्छु, ५ पटक पनि लोक सेवा पास नगर्नेलाई गाउँमा बाँझो बारी खन्न पठाउनु पर्छ भनेर लोक सेवाका अध्यक्षले भन्नु भएको कुरा। आफ्नो त इन्जिनियरिङको पढ्दा त्यो बाँझो बारी पनि सकियो।
अन्तिममा मेरो धैर्यता बाँधलाई सम्हालेर राखेर देशमै बसेर बुबाकै पेसालाई अगाडि बढाउने निर्णय गरेँ।