दिउँसोको एक बजे विद्यालयको मध्यान्तर हुने समय हो। मध्यान्तरको घण्टी बजेपछि सबै स्टाफहरूको भेट हुने थलो भनेको चमेना गृह नै हो।
गिर्भान दाइ चमेना गृहका सञ्चालक हुनुहुन्छ। उहाँको पाककला वास्तवमा गज्जबको छ। चियाका पारखीहरूलाई गिर्भान दाइको हातको चिया नखाएसम्म धितै नमर्ने। उहाँले बनाउने पकौडी र समोसामा त स्वादको जादु नै हुन्छ।
आज रिजन सरको अनुहार अलिक मलिन छ। सधैँ हँसिलो हुने अनुहार आज मलिन देख्दा सबै साथीहरूलाई कौतुहलता हुने नै भयो। रबिन सरले ठट्टा गर्दै भन्नुभयो- ‘आज घरतिरको मौसम ठिक छैन कि के हो रिजन सर? किन अनुहार अलिक मलिन छ नि?’
रिजन सरले फ्याट्ट भन्नु भयो, ‘बेकारको जागिर खाइएछ यार! नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छा बाउको अनुहार।’
‘ओहो रिजन सर, जागिर नपाएर मान्छे कहाँ कहाँ पुग्नु परेको छ, आफ्नै देशमा सरकारी स्थायी जागिर अझ केको बेकार हो? दुनियाँमा संघर्ष बिनाको जिन्दगी कहाँ सम्भव होला र? डार्विनको विकासवादी सिद्धान्तको बारेमा त हजुर जस्तो विज्ञान शिक्षकलाई के भनूँ र?,’ मैले प्रश्न तेर्स्याइहाले।
‘जागिर गरेर के गर्ने सर, आत्मसन्तुष्टि त हुनुपर्यो। पढायो पढायो पाठ सोह्र दुना आठ भने जस्तै भएपछि जागिर खानुको के अर्थ? आजकलका बच्चाहरूको पढाइमा लगावै छैन। जतिसुकै मेहनत गरेर पढाए पनि कुनै परिवर्तन छैन। दुई/चार जना बाहेक विद्यार्थीले पढ्दै पढ्दैनन्। भोलि नतिजा राम्रो नआउँदा सबैको औला शिक्षक तिरै तेर्सिन्छ। हाम्रो पालामा दिनरात घोटिएर पढिन्थ्यो र पो हुन्थ्यो।’
रिजन सरको यो अभिव्यक्तिले एक पटक घोत्लिएर सोच्नु पर्ने ठाउँमा पुर्याइदियो। दुनियाँको कुन विद्यालयमा सबै विद्यार्थी एउटै क्षमताका छन् होला? इतिहासको कुन कालखण्डमा सबै विद्यार्थीहरू एउटै क्षमता र बौद्धिकताका थिए होलान्?
विद्यालयको पाठ्यक्रम अन्तरगतका केही सीमित पुस्तकहरूको अध्ययन अध्यापनको आधारमा गरिने सफलता र असफलताको वर्गीकरण जिन्दगीको सफलता र असफलतासँग मेल खान्छ कि खान्न होला? हाम्रो शिक्षा प्रणाली र विद्यालय असफल कि विद्यार्थी?
एकाएक मेरो दिमागमा थोमस अल्वाएडिसनको चित्राकृति फनफनी घुम्न थाल्यो। विद्यालयले असफल घोषणा गरेर निकालिएको बालक कालान्तरमा कसरी दुनियाँको नामुद वैज्ञानिक भएर मानव जातिका लागि महत्त्वपूर्ण योगदान गरेर गए। पप गीतका बादशाह भनेर चिनिने माइकल ज्याक्सनको औपचारिक शिक्षाको कुनै डिग्री थिएन तर दुनियाँमा कहिल्यै नमेटिने छाप छोडेर गए। विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सफल बिल गेट्स कलेज ड्रप आउट गरेका थिए।
मेरो मनसाय माथि उल्लेखित उदाहरण देखाएर पठन संस्कृतिमा आएको गिरावटलाई बढवा दिनु हुँदै होइन। मेरो मनसाय औपचारिक शिक्षा नलिएर जीवनमा सफल भइन्छ भन्ने पनि हैन तर हाम्रो शिक्षा प्रणालीले सबै खाले प्रतिभाको प्रस्फुटन गरेन कि भन्ने हो। हाम्रो विद्यालय शिक्षा एकाङ्की तरिकाको भयो कि भन्ने हो। हाम्रो शिक्षा प्रणालीले हात्ती, चरा र माछालाई एउटै परिवेशमा प्रतिस्पर्धा गराएर सफल र असफलको ट्याग लगायो कि भन्ने हो।
आज विश्व भूमण्डलीकरण भएको छ। सूचना प्रविधिको विकास उच्चतम तहमा पुगेको छ। मानिसका आवश्यकता र आकाङ्क्षाहरूमा बढोत्तरी भएको छ।
अपवाद बाहेक हाम्रा कक्षाकोठाहरू आजका बालबालिकाका आकाङ्क्षाहरूलाई सम्बोधन गर्न सक्ने स्तरका छन् त?
के हाम्रा विद्यालयहरू बालबालिकाको सर्वाङ्गीण विकास गर्न सक्षम छन् त?
पक्कै पनि छैनन्। राज्यले विद्यालय शिक्षाको अवस्था सुधार गर्न गम्भीर रूपमा पहलकदमी लिन आवश्यक छ। नत्र भने रिजन सरले भनेजस्तै नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छा बाउको अनुहार हुनेछ।