केटा: बेबी! हाम्रो बिहेको तयारी कसरी गर्ने प्लान बनाऊँ न ल?
केटी: हेर बेबी अरू कुरा मलाई केही मतलब छैन, हाम्रो बिहे चाहिँ बबाल भव्य हुनुपर्छ है। मेहेन्दी, हल्दी, संगीत, स्वयंवर, वेडिङ, रिसेप्सनको लागि डिजाइनर सारी अनि लेहेङ्गा चाहिन्छ मलाई। अनि त्यसलाई म्याचिङ गहना पनि।
अँ साँच्चै! ब्याच्लर्स पार्टीमा तिमीले आफ्नो साथीहरूलाई बोलायौ कि नाइँ? मैले त सबैलाई बोलाइसकेँ, भेन्यू पनि फिक्स भइसक्यो।
केटा: साँची हामी हनिमुनमा कहाँ जाने बेबी?
केटी: मल्दिभ्स कि बाली?
केटा: बाली
माथिका बेबीहरूको विवाहको तयारी कस्तो लाग्यो त हजुरहरूलाई?
राम्रो?
धेरै राम्रो?
या अपरिपक्व?
केही बेरको लागि उत्तर मनभित्रै राख्नुस् ल!
हिन्दी फिल्म धमाल हेर्नुभएको छ? यो फिल्मको एउटा सिनमा विमान टेक अफ भइसकेपछि पाइलट बेहोस हुन्छ। ज्यान जोगाउनको लागि प्लेनमा सवार बाबुछोराले एयर ट्राफिक कन्ट्रोलमा फोन गर्छन्। कन्ट्रोल रुमका स्टाफले समस्यालाई एकदम हल्का रूपमा लिन्छन्। एयर ट्राफिकले छेउमा भएको रातो बटन नदबाउनु भनेर निर्देशन दिई नसक्दै उनीहरूले हतार गरेर रातो बटन दबाइ दिन्छन्। त्यसपछि... फिल्ममा नै हेर्नुहोला।
विवाह पनि त विमान उडाउनु जस्तै एउटा कला हो। पाइलट र को-पाइलटको तालमेल मिलेन भने उड्दै गरेको विमान खोल्सातिर गएर खस्न के बेर।
यदि पाइलटहरूलाई जहाज उडाउनु अघि प्रशिक्षण चाहिन्छ भने हुनेवाला दुलाहा दुलहीलाई वैवाहिक जीवनको उतारचढावको सामना गर्न पनि त तालिम चाहिएला नि है?
अब अभिभावक भएर छोरा/छोरीको विवाहका लागि हालसम्म हामीले गर्दै आएका तयारीलाई एक पटक रिवाइन्ड गर्ने कि?
कुरा पक्का हुनु अगाडिका सोधपुछ-
केटा/केटीको जात के हो?
घर कहाँ हो?
काम के गर्ने?
कति पढेको?
खानदान कस्तो?
पैतृक सम्पत्ति कति?
अनि विदेशमा बस्ने हो भने माथिको सबै छुट।
कुरा पक्का भइसके पछिको तयारी- भेन्यु, मेन्यु, निम्तो, टपरी गाँस्ने, मेहेन्दी, हल्दी, संगीत, रिसेप्सनको तयारी, जन्तीको सङ्ख्या, बेहुला बेहुलीको सुटकेस भर्न सपिङ, सम्धिनीलाई छड्केले मुख हर्ने कि माइलीले? छोरीलाई कोसेली के पठाउने? टिकटकमा कुन गीतमा नाच्ने? यस्तै यस्तै।
हामीले हाम्रा छोराछोरीलाई विवाहको विमानमा चढाइ त दियौँ, टेक अफ पनि राम्रैसँग भएको देख्यौँ। अनि खुसी भएर टाटा गर्दै आफ्नो जिम्मेवारी सकियो भनेर ढुक्कले निदायौँ।
तर उनीहरूको वैवाहिक विमानले सुरक्षित अवतरण गर्ला त? गरे त असाध्यै राम्रो भयो, तर गरेन भनेँ?
तपाईंको निन्द्रा नपुग्दै छोरी रुँदै ‘म त बस्दिन त्यो घरमा’ भन्दै आइन भनेँ?
विवाहमा लिएको ऋण तिरी नसक्दै छोरा बुहारीको छोडपत्र भयो भने?
विवाहको विमान उडाउन माथि भनिएको तयारी मात्रले पर्याप्त होला? रिसर्चले भन्छ, तालिम लिएका जोडीहरूको डिभोर्स रेट घट्ने मात्र होइन उनीहरूको वैवाहिक जीवन तालिम नलिएका जोडीको भन्दा तुलनात्मक रूपमा सन्तोषजनक पनि हन सक्छ।
कस्तो तालिम लिने/लिन लगाउने त विवाह अगाडि?
द्वन्द्व व्यवस्थापन
मानिलिनुस् तपाईंको श्रीमती र आमा बिच भनाभन भयो। त्यस्तो अवस्थामा कसरी परिवारमा सन्तुलन कायम गर्ने? आमाको पनि चित्त नदुखोस्, श्रीमतीको पनि चित्त बुझोस्। आफूलाई संसार देखाउने आमा र गोत्र नै परिवर्तन गरेर आफ्नो संसार छोडेर आएकी श्रीमती बिचको असमझदारीलाई कसरी न्याय दिने जस्तो कला द्वन्द्व व्यवस्थापनको तालिमले सिकाउँछ।
इमोसनल इन्टेलिजेन्स
जसले अरूको र आफ्नो भावना बुझ्छ, व्यवस्थित गर्छ, नियन्त्रण गर्छ र प्रभावकारी रूपमा सम्बन्धहरूलाई व्यवस्थापन गर्ने क्षमता राख्छ त्यो इमोसनल इन्टेलिजेन्स हो। उदाहरणको लागि- ‘तिमीलाई कस्तो छ बेबी?’ भन्ने प्रश्नको उत्तरमा जब उनले ‘मलाई एकदम ठिक छ’ भन्छिन् भने तपाईंले बुझ्नु पर्यो कि सबै बेठीक छ। किन बेठीक छ त?
बेठीकलाई ठिक पार्न कस्तो विधि अपनाउने इमोसनल इन्टेलिजेन्सले सिकाउँछ।
जस्तै- आलोचना गर्दा पनि सकारात्मक तरिकाले कसरी गर्ने?
मानिलिऊँ, कारणवश आज तरकारीमा नुन नै हाल्न बिर्सिन् उनले, कसरी आलोचना गर्ने?
'छ्या! कत्ति खल्लो?'– गलत
'बजारमा नुनको सर्टेजको हल्ला सुनेको थिएँ, लुकाइसकेछन् है?'
सकारात्मक व्यङ्ग्यले झगडाको बीउलाई नाश गरिदिन्छ।
कठिन परिस्थितिमा पनि धैर्य कसरी रहने?
मानिलिनुस्, हिजो उनको जन्मदिन थियो, कामको व्यस्तताले तपाईंले बिर्सिनुभयो।
पत्नी: (रिसको झोँकमा) तिमीलाई थाहा छ हिजो के थियो?
पति: हत्तेरिका! बिलेटेड बर्थडे सर्प्राइज दिन लागेको थिएँ। प्लान नै चौपट पारिदियौ यार!
यसो गर्दा हुनै लागेको झगडामा हँसिलो मोड आउँछ।
हत्तपत्त रियाक्ट गरिहाल्नु भन्दा धैर्य धारण गरेर मौन व्रत बसी परिस्थितिलाई इगनोर गर्नु नै बेस हुन्छ। केही समयको लागि एक अर्कालाई स्पेस दिँदा पनि परिस्थिति पुनः सामान्य अवस्थामा फर्किन सक्छ।
यस्तै यस्तै।
आर्थिक व्यवस्थापन
वित्तीय ज्ञान जस्तै आम्दानी, भविष्यको योजना, लगानी, खर्च, खर्च नियन्त्रण (आवश्यकता र चाहनालाई सही ढङ्गले सन्तुलनमा राख्ने, बचत, ऋण व्यवस्थापन जस्ता वित्तीय लक्ष्य बनाउँदा भविष्यमा आउन सक्ने आर्थिक तनावलाई केही हदसम्म कम गर्न सकिन्छ।)
सञ्चार सीप
आफ्नो हाउभाउ र बोलीले आफ्नो सन्देशलाई कसरी प्रभाव पार्छ भनेर बुझ्न प्रयास कसरी गर्ने सञ्चार सीपले सिकाउँछ।
जस्तै-
पत्नी: ‘मेरो भाइब्स नै मिल्दैन तिमीसँग, म तिमीसँग बस्न सक्दिनँ।’
पति: बस्न सक्दिनौ भने उभिन त सक्छौ? उभिएरै कुरा गरौँ न। म रिमोटले चल्ने टिभी जस्तो छु, तिमी चाहिँ नेटवर्क नटिप्ने वाइफाई जस्तो छौ। भाइब्स कसरी मिलोस् त प्यारी?
पत्नी: म वाइफाई हो भने, मेरो सिग्नल बिना तिम्रो टिभी को केही काम छैन बुझ्यौ?
झगडाले ठुलो रूप लिनु अगाडि यसरी रमाइलो ढङ्गले व्यक्त गर्दै संवादलाई हल्का बनाउन सकिन्छ। सम्बन्धलाई ढुङ्गा जस्तै बलियो बनाउनु छ भने कहिलेकाहीँ झगडा गर्नु पनि आवश्यक छ। निभ्न आँटेको दाउरालाई झोसेपछि मात्र राम्रोसँग बल्छ।
एकअर्कालाई स्पेस दिएपछि सम्बन्धको डोरी मजबुत हुन्छ।
पकाउने र सरसफाइ गर्ने सीप (कुकिङ र क्लिनिङ स्किल)
खाना पकाउने र सरसफाइ गर्ने काम महिलाको मात्र होइन। यदि हो भन्नुहुन्छ भने पुरुषहरूको भुँडी नै नहुनुपर्ने हैन? खानै नपरेपछि भुँडीको थैलोको पनि के काम र?
पकाउने र सरसफाइ गर्ने सीप दुवैका लागि उत्तिकै महत्त्वपूर्ण छ।
हामीले हाम्रा आमा, हजुरआमाहरूले पकाएर राखिदिएको खाना पस्किन नजानेर भोकै बसेका बुवा, हजुरबुवाहरूको दुःख नदेखेको कहाँ हो र?
पकाउने र सरसफाइ गर्ने सीपहरूले आत्मनिर्भर बनाउन मद्दत गर्दछ, इज्जत घट्दैन। जब व्यक्ति यी सीपहरूमा दक्ष हुन्छ, उनीहरू कुनै पनि परिस्थितिमा आफूलाई सम्हाल्न सक्दछन्। उनीहरूको जीवन व्यवस्थित हुन्छ। दुवै जना मिलेर काम गर्दा कामको बोझ घट्ने मात्र नभएर यसले दुई जना बिचको सम्बन्धलाई प्रगाढ बनाउँछ र समझदारी बढाउँछ।
आपसी सम्मानको कला
विवाहपछि सासू ससुरा, नन्द, आमाजू, देवर, देवरानी, जेठानी आदिलाई तपाईंको श्रीमतीले मात्र हैन तपाईंले पनि उनको आमा बाबा, दाजुभाइ, दिदीबहिनीलाई उस्तै सम्मान दिनुपर्छ। आपसी सम्मानले परिवारका सबै सदस्यबिच प्रेम र आपसी सहयोगको भावना सिर्जना हुन्छ।
विवाह भनेको दुई आत्माको मात्र होइन, दुई परिवार र संस्कृतिको मेल पनि हो। विविधतामा एकताको यो सौन्दर्यलाई आत्मसात् गर्दा मात्र सुखी परिवार निर्माण हुन्छ।
मानौँ तपाईंको अन्तरजातीय विवाह भएको छ। सानो र ठुलो जात भनेर तपाईंको परिवारले बुहारी/ज्वाइँलाई अपमान गरेको बेला तपाईं उसको ढाल बनेर उभिन सक्नुपर्छ।
विवाहपछि एक अर्काको धर्म, संस्कृति, परिवारप्रतिको सम्मानले, दुवै पार्टनर बिच आत्मविश्वास बढ्ने, एकअर्कासँग सुरक्षित महसुस गर्ने, आपसी समझदारीको भावना बढ्ने, सम्बन्ध अझै बलियो हुँदै जाने जस्ता धेरै फाइदा हुन्छन्। यसमा भुलेर पनि चुक्नु हुँदैन।
हैट! यत्तिका वर्ष तालिम बिना नै पो जिन्दगीको गाडी चलाइएछ बाबै! धन्न पो गाडी पल्टिएनछ। गियर चेन्ज कति बेला गर्ने? कस्तो अवस्थामा ब्रेक लगाउने? उकालो अनि ओरालोमा आत्तिने कि जुक्ति लगाएर अगाडि बढ्ने? हिलोको दलदलमा भासिएको गाडीलाई त्यही छोडेर भाग्ने कि उद्धारको उपाय खोज्ने?
अँध्यारोमै ढुंगा हान्दै पो हिँडिएको रहेछ यतिन्जेल। धन्न टाउको फुटेनछ। टुटुल्को मात्रै उठेर त के फरक पर्छ र?
अहिले सोच्छु, त्यो बेला तालिम लिएको भए त कुहिरोमा बेपत्ता भएको काग त हुनु पर्दैनथ्यो होला।
अचेलका ‘बेबीहरू’ लाई विवाह हैन वेडिङ चाहिन्छ। अरूलाई रिझाउने यो होडबाजीमा आफूहरू दलदलमा फसेको मेसै छैन बिचरा ‘बेबी’ हरूलाई। विवाहपछि सँगै बस्न थालेपछि जब ८८० भोल्टको झट्का लाग्छ अनि कुन बटन दबाउने अनि कुन नदबाउने भन्नेमा रनभुल्ल पर्छन्।
विमान यात्रामा यात्रुहरूले विभिन्न जोखिमहरू सामना गर्न सक्ने सम्भावना भए जस्तै विवाह यात्रामा पनि बेबीहरूले धेरै उतारचढावहरू भोग्नुपर्ने हुनसक्छ।
एकछिनको लागि विमानलाई विवाह मानिलिऊँ न। खराब मौसम (हावा, आँधी, बिजुली) ले विमान उडानलाई प्रभावित गर्न सक्छ र त्यसको असर, तुरुन्तै स्वास्थ्यमा समस्या देखिनु, कम हावा चाप, हाइ एल्टिच्युड, अक्सिजनको कमी यात्रुहरूलाई असहज महसुस बनाउनु जस्ता जटिल समस्याहरू देखा पर्न सक्छन्। कहिलेकाहीँको आकस्मिक झट्काहरूले त झन् यात्रुहरूको सातो नै लिन्छ।
वैवाहिक जीवनमा पनि त ठ्याक्कै यस्तै हुन्छ नि हैन?
पौडी खेल्ने तालिम लिएको व्यक्तिलाई त्रिशूलीमा खसाले पनि उसले पौडी खेलेर ज्यान बचाउन सक्छ। सम्बन्धित विषयमा तालिम लिएको व्यक्तिले तुलनात्मक रूपमा छिटो जागिर पाउँछ अनि उसको कामको प्रभावकारिता पनि बढ्छ।
त्यसै गरी, विवाह अगाडि पनि तालिम लिने चलन भए भविष्यमा भइपरी आउने सम्भावित खतराबाट जोगिन मानसिक रूपमा तयार भइन्थ्यो नि है?
विवाह भइसकेपछि कस्ता कस्ता समस्याहरू आइपर्न सक्छन्? अनि त्यस्ता समस्याहरूलाई कसरी समाधान गर्ने? भविष्यमा आइपर्ने चुनौतीहरूको मिलेर सामना कसरी गर्ने जस्ता मुख्य कुराहरूलाई बेवास्ता गर्दा भविष्यमा ठुलो क्षति बेहोर्नु पर्ने हुनसक्छ। दुई जनाको लापरबाहीको घानमा बिचरा निर्दोष छोराछोरीहरूले घुन जस्तै पिसिनु परेका घटना समाजमा हामीले धेरै देखेका छौं।
वास्तवमा हामी विवाहको तयारीमा होइन, अरूलाई रिझाउने तयारीमा व्यस्त हुँदा रहेछौं। विवाहमा ६०० मान्छेहरूलाई खुसी बनाउन जीवनभरको कमाइलाई स्वाहा पारिदिन्छौं। हामी अप्ठ्यारोमा परेको बेला धमाल सिनेमाका एयर ट्राफिकका स्टाफले समस्यालाई हल्का रूपमा लिए जस्तै हाम्रा साथीहरूले पनि हाम्रा व्यथाहरूलाई हल्का रूपमा लिन सक्छन्। त्यति बेला न हाम्रो डिजाइनर लेहेंगा काम लाग्छ न त हाम्रो सितारा जडित सेरवानी नै।
हामी विवाहलाई गन्तव्य सम्झिने भूल गर्छौं जबकि विवाह यात्राको सुरुवात मात्र हो।
तपाईंलाई कस्तो लाग्छ, विवाह अघि तालिम लिनु ठिक हो या गलत?