२०४० सालमा काठमाडौँ छिरे पनि त्यति बेला मलाई मास्कको आवश्यकता परेको थिएन। अझ भनूँ भने काठमाडौँ छिरेपछि सहरको चहलपहलतिर मात्रै मेरो धेरै ध्यान गयो। काठमाडौँमा वायु प्रदूषणका बारेमा मलाई जानकारी नै थिएन। गाडीहरूका ताँती त देखिन्थे तर गाडीको टायरले बाटोमा धर्षण गराएर पैदा भएको धुलो र चल्ती गाडीले फ्याँक्ने विषालु धुवाँका सम्बन्धमा त्यति वास्ता थिएन।
काठमाडौँमा त्यति बेलाको जनसङ्ख्या अहिलेको तुलनामा ज्यादै कम थियो। त्यस बखत मैले काठमाडौँमा आफ्नो जिल्ला रोल्पाका मान्छेहरूको खोजी गर्दा मुस्किलले छ जना भेटाएको थिएँ, त्यसमा पनि ठेकेदारको संख्या बढी थियो। आर्थिक हिसाबले ठेकेदारहरू सम्पन्न हुने भएकाले उनीहरू रोल्पा-काठमाडौँ आउजाउ गर्नु स्वाभाविकै थियो।
लगनखेलस्थित नमुना मच्छिन्द्र क्याम्पसमा आइकम पढ्दा एक जना पनि रोल्पाली सहपाठी भेटाइनँ भने रामशाहपथस्थित शंकरदेव क्याम्पसमा बिकम पढ्दा पनि मैले रोल्पाली सहपाठी कोही पनि फेला पार्न सकिनँ। यसो हुँदा मैले आफूलाई एक्लो भएको पाउँथेँ।
२०४६ सालसम्म डिल्लीबजार लाइनका दायाँबायाँ धेरै घडेरीहरू खाली थिए, सटरवाला घरहरू लहरै देखिँदैनथे। केही पुराना घरहरू पनि देखिन्थे भने बागबजारको अवस्था पनि त्यही थियो। चारखाल लाइन अर्थात् डिल्लीबजारदेखि कमलपोखरी चोकसम्म केही साना घरहरू मात्र देखिन्थे, त्यहाँ पनि बाटो छेउछाउमा धेरै घडेरीहरू खाली थिए।
चक्रपथ बाहिर गाउँ जस्तै थियो, धेरै कच्ची घरहरू देखिन्थे र कता कतै मात्र पक्की घरहरू भेटिन्थे। रत्नपार्कबाट चल्ने थोत्रा बसहरू कुनै दक्षिणकाली, कुनै भक्तपुर, कुनै दक्षिणकाली, कुनै थानकोट र जोरपाटी लगायत काठमाडौँ उपत्यकाका कुनासम्म कुद्ने गर्थे। अनामनगर पुरै खेत र बगर मात्र थियो। हनुमान थान नजिकै भने एक तले एउटा सानो घर थियो। टेक्वान्डोको अफिस वा खेल खेल्ने ठाउँ थियो। त्यो बाटोबाट हिँड्नेहरूको संख्या ज्यादै कम थियो।
अनामनगर कायम हुनुअघि घट्टेकुलोबाट बबरमहल निस्कन सिंहदरबारको पूर्वी पर्खाल छेउबाट आउजाउ गर्ने गोरेटो बाटो थियो। सिंहदरबारको अहिलेको पूर्वी गेटनिर जरुवा पानी देखिन्थ्यो। हालको अनामनगरको क्षेत्रमा त्यति बेला पूरै खेतको फाँट र धोबिखोलाको बगर थियो। धोबिखोलामा कसै कसैले लुगा धोएको पनि देखिन्थ्यो।
यातायातको सुविधाले गर्दा राजधानी काठमाडौँसँग बाहिरी जिल्लाहरूमध्ये धेरै जिल्लाहरू जोडिँदै गए। २०४१/४२ सालतिर विरगंजसम्मको भाडा ६५ र घोराहीसम्मको भाडा १०० थियो। जब काठमाडौँसँग बाहिरी जिल्लासँग यातायात सुविधा बढ्दै गयो तब काठमाडौँको जनसङ्ख्या पनि बढ्दै जान थाल्यो।
देशमा द्वन्द्व सुरु भएपछि जिल्ला जिल्लाबाट मुखिया, जिम्वाल लगायत धनीमानीहरू काठमाडौँमा पलायन भए। उनीहरू गाउँबाट त लखेटिए तर उनीहरूले बोकेर काठमाडौँमा ल्याएको धन दुई गुणा र चौगुना हुँदै बढ्दै गयो। उनीहरूमध्ये कतिपय लखपतिबाट करोडपति हुँदै अहिले अरबपतिमा रूपान्तर भइसकेका छन्। किनकि आर्थिक फाइदा उनैलाई भयो जसलाई गाउँबाट लखेटिएको थियो।
काठमाडौँको जनसङ्ख्या तीव्र तर रूपमा बढ्दै गयो। पानीको असुविधा झनै बढ्दै गयो। जनसङ्ख्या बढेर बस्ती पनि बढ्दै गएपछि र पूर्वाधारबिनाका भवनहरू ठडिन थालेपछि काठमाडौँका ढुंगेधाराहरू सुक्दै जान थाले। मेलम्चीको पर्खाइमा रहेका उपत्यकावासीहरूले तीन दशकभन्दा बढीको प्रतीक्षापछि मात्र मेलम्चीको पानी देख्न पाएका छन्, त्यो पनि उपत्यकाका सीमित ठाउँका बासिन्दाहरूले। कतिपय स्थानहरूमा मेलम्चीको पाइप बिछ्याइएको छैन। उदाहरणको लागि बुढानीलकण्ठको गोल्फुटारदेखि उत्तरतिर मेलम्चीको पाइप बिछ्याइएको छैन।
बुढानीलकण्ठ नगरपालिकाको जनसङ्ख्या दश वर्षको अवधिमा दोब्बरभन्दा बढी भएको छ। २०७१ सालमा ८० हजार जनसङ्ख्या समेटेर बनेको बुढानीलकण्ठ नगरपालिकामा अहिले १ लाख ८० हजार पुगेको कुरा गत केही हप्ता अघि बुढानीलकण्ठ नगरपालिकाको ११ औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा उपमेयर अनिता तामाङले बताउनुभएको थियो।
संघीय राजधानी काठमाडौँका अस्पतालहरूमा जाने बिरामीहरूमध्ये सबैभन्दा बढी बिरामी प्रदूषणका कारण स्वास्थ्यमा उत्पन्न खराबी भएका रोगीहरू जाने गरेको तथ्याङ्कले देखाइसकेको छ।
मेरो अनुभवमा गाउँ छोडेर सहर पस्नु एक प्रकारले राम्रो होइन जस्तो लाग्छ। किनकि गाउँमा सक्कली चिजवस्तु पाइन्छ, आफ्नै खेतबारीमा उब्जिन्छन् र निर्धक्कसँग सेवन गर्न पाइन्छ। तर सहर बजारमा पाइने चिज वस्तुहरूमाथि शंका हुन्छ। हानिकारक रङ र रसायन मिसाइएका अनि कृत्रिम तवरबाट उत्पादित वस्तुहरू सेवन गर्नुपर्ने अवस्था छ। तरकारी र फलफूलमा प्रयोग गरिने विषादीले गर्दा जनस्वास्थ्य जोखिममा छ भन्नुमा अत्युक्ति हुनेछैन।
स्वास्थ्यप्रति सचेत हुनुपर्ने मेरो मान्यताअनुसार मैले मास्क प्रयोग गर्न थालेको पहिलेदेखि हो। मैले मास्क प्रयोग गर्न थालेको ३० वर्ष नाघिसकेको छ। मास्कसँग मेरो नाता निरन्तर रूपमा चलिरहेको छ भन्दा पनि फरक पर्दैन।
२०५१ सालमा वीर अस्पताल अगाडिको एउटा टेलरमा मास्क बनाउँदै गरेको देखेर मैले यसो विचार गरेँ। ‘काठमाडौँमा प्रदूषण छ, धुलो धुवाँ छ, अबदेखि म मास्क प्रयोग गर्छु’ भन्ने अठोटका साथ मैले मास्क पहिरिन थालेँ। २०५१ सालदेखि मास्क लगाउने कामलाई मैले अहिलेसम्म निरन्तरता दिँदै आएको छु।
घरबाहिर निस्किँदा ‘थ्री एम’ छोड्दिनँ। ‘थ्री एम’ को पूरा रूप ‘मास्क-मनी-मोबाइल’ हो। मैले अरूलाई पनि यो सूत्र प्रयोग गर्न सल्लाह दिने गरेको छु। औषधि पसलमा पाइने दुई मुखे अर्थात् दुइटा फिल्टर भएको मास्क अलि सुरक्षित ठानेर त्यो पनि प्रयोग गरेँ। तर यो मास्क अलि महँगो भएकोमा किन्नुपर्छ। एकमुखे अर्थात् एउटा मात्र फिल्टर भएको मास्क पनि प्रयोग गरेको थिएँ। जालीदार मास्कपछि मैले कोरोनापछि सर्जिकल मास्क पनि धेरै नै प्रयोग गरियो अहिले पेपर मास्क बढी पाइने गरेको पाइन्छ। जुन सस्तो र सुरक्षित पनि छ।
बढी मास्क प्रयोग गर्नेहरूको ‘सर्ट लिस्ट’ मा मेरो नाम पनि पर्छ जस्तो लाग्छ। कहिलेकाहीँ मास्क बिर्सिएर पसल गयो भने पसलेले चिन्दैनन्। किनकि म सधैँ मास्क लगाउनेमा गनिन्छु।
प्रदूषणको चपेटामा सिंहदरबार पनि बन्ने गरेको पाइन्छ। सिंहदरबारभित्रको दृश्य हेर्यो भने त्यहाँ सरकारी प्लेटका गाडीहरूभन्दा निजी नम्बर प्लेटका गाडीहरू धेरै देखिन्छन्। यस हिसाबले हेर्ने हो भने सिंहदरबारभित्र सुरक्षा व्यवस्था कमजोर छ। यस सम्बन्ध यो लेखकको एक लेख सञ्चार माध्यमबाट प्रकाशन भएपछि भोलिपल्ट सिंहदरबारभित्र सुरक्षा सम्बन्धी व्यापक सुधार भएको पाएपछि लेखक दङ्ग परेर सिंहदरबारभित्रै केही समय बिताएको थियो।
काठमाडौँ उपत्यकाको एक छेउका विद्यार्थी अर्को छेउमा रहेको विद्यालयमा पढ्न जाने गरेको पाइन्छ। घर पायक विद्यालयमा विद्यार्थी भर्ना गर्ने व्यवस्था कडाइका साथ लागू गरियो भने काठमाडौँको प्रदूषण केही हदसम्म कम हुने निश्चित छ। त्यसो गरेमा सडकमा ट्राफिक जामको सम्भावना पनि कम हुन्छ। बिहान ८ देखि ९:३० बजेको समयमा सडकमा विद्यालयका सवारी साधनहरूले नै जाम गराएको पाइन्छ। भने बेलुकी ४/५ बजेको समयमा पनि विद्यालयकै गाडीहरूले सडकमा जाम र प्रदूषण बढाएको देखिन्छ।
रोल्पास्थित घरसम्म पुग्दा मैले मास्क छोड्दिनँ, बस यात्रामा १८ घण्टाको दूरीमा मैले कम्तीमा दुई वटा मास्क फेरेको हुन्छु भने जगेडाको रूपमा दर्जनको संख्यामा मास्क झोलामा राखेकै हुन्छु। काठमाडौँमा लगाएको मास्क आधाआधी बाटोमा एक पटक फेरे पनि घर पुगेर फेरिएको मास्क हेर्यो भने धुलोले रङाइदिएको देखिन्छ। मास्क लगाएको देखेपछि गाउँका बासिन्दा अचम्म पर्ने गरेको पाउँछु।
रोल्पास्थित मेरो घर हाइवेमै पर्ने हुँदा गाडीले फ्याँक्ने धुलो र धुवाँ घरभित्र पस्ने गर्छ। सुत्ने कोठामा झुन्ड्याइएका लुगाहरू टकटक्यायो भने ब्वाङब्वाङती धुलो उड्छ। घर अगाडि रहेको पेट्रोल पम्पमा चौबिसे घण्टा गाडी आउने जाने र हर्न बजाइरहने हुँदा वायु प्रदूषणका साथै ध्वनि प्रदूषणले दिक्क हुनुपरेको छ। रोल्पाको अवस्था त यस्तो छ भने काठमाडौँ लगायत देशका अन्य सहर बजारको वायु प्रदूषण र ध्वनि प्रदूषणको अवस्था कस्तो होला?
कुनै कुनै समयमा काठमाडौँ विश्वको नम्बर एक प्रदूषित सहरको रूपमा चिनिन्छ, यो हामी नेपालीहरूकै लागि लज्जाजनक कुरा वा विषय हो। किनकि ज्ञान चेतनाको अभावमा नै मुलुक नै असफल हुनु हो। प्रदूषणबाट के के नकारात्मक असर पर्छन् भन्ने कुरा धेरे नेपालीहरूलाई हेक्का भएको पाइँदैन।
कलकत्तामा प्रायः गाडीहरू डिजेलबाट मात्र चल्छन्। तर त्यहाँ प्रदूषण खासै देखिँदैन। तर नेपालमा पेट्रोलबाट समेत सवारी साधनहरू चल्छन् तैपनि कलकत्ताको तुलनामा धेरे प्रदूषित छ काठमाडौँ। कलकत्ताको अर्को एक विशेषता पनि छ- जहाँतहीँ थुकेमा कारबाहीको भागिदार हुनु। त्यहाँ थुक्नका लागि ठाउँ ठाउँमा स्थान तोकिएको हुन्छ। काठमाडौँले कलकत्ताबाट सिक्नुपर्ने कुराहरू धेरे छन्।
अनलाइन पत्रिकामा गत असोजमा प्रकाशित एक समाचारअनुसार दसैँ नजिकिएसँगै विद्युतीय कार तथा अन्य सवारी साधनको आयात बढेको बताइएको थियो। विशेष गरी नेपालमा छिमेकी देश चीनबाट विद्युतीय सवारी साधनको आयात बढी हुने गरेको छ। साउन र भदौ महिनामा रसुवा भन्सार नाकाबाट १२ सय ३० वटा गाडी आयात भएको छ। चीनबाट आयात हुने अधिकांश गाडी रसुवा नाका हुँदै भित्र्याउने गरिएको छ। पछिल्लो दुई महिनामा भित्रिएका गाडीमध्ये २३ वटा मात्रै डिजेलबाट चल्ने गाडी आयात भएका छन्। १२ सय सात वटा गाडी विद्युतबाट चल्ने आयात भएको भन्सार कार्यालय रसुवाले जनाएको छ।
अन्त्यमा, नेपालका सहर बजारहरूमा हिँडडुल गर्नु छ भने मास्कको अनिवार्य प्रयोग गर्नुपर्दछ। अल्छी गरेर मास्क लगाइएन भने सवारी साधनहरूले फ्याँक्ने विषालु धुवाँले जो कसैको पनि श्वास नली र फोक्सोमा क्षति पुग्दछ र अस्पतालको शरणमा पुगेपछि आर्थिक क्षति समेत बेहोर्नु पर्दछ। त्यसैले मास्कलाई एक अभिन्न वस्तुको रूपमा खल्तीमा राख्नुपर्दछ।