शनिबारको दिन राति ८ बजे खाना खाएर फोनमा फेसबुकको न्यूजफिड हेरेर बसिरहेको थिएँ। त्रिभूवन विश्वविद्यालयको एउटा फेसबुक पेजमा स्नातक चौथो वर्षको नतिजा प्रकाशन भएको पोस्ट देखेँ। हतार हतार गर्दै आफ्नो प्रवेश पत्र खोजेर नतिजा हेरेँ पास भएको रहेछु।
सँगै पढेका साथीहरू धेरैजसो सरकारी सेवामा आबद्ध भइसकेका थिए। म भने स्वदेशमै बसेर केही गर्ने कि विदेशमा जाने भन्ने कुरामा अन्योलमा थिएँ। घरमा आमा-बुवालाई स्नातक चौथो वर्ष पास गरेँ भनेर सुनाएँ। आमा-बुवाले अब बसेर लोक सेवा आयोगको तयारी गर्नुपर्छ भनेर सुझाव दिनुभयो।
बुवाका तीन जना भाइ हुनुहुन्थ्यो। बुवा जेठो, सबै जना छुट्टिएर बस्नु भएको थियो। माइलो काका खरिदार, साइलो काका व्यापारी, अनि कान्छो काका विदेशी हुनुहुन्थ्यो। मैले सबै काकाहरूसँग गएर कुन पेसामा लाग्दा ठीक हुन्छ भनेर सल्लाह लिने निधो गरेँ।
सर्वप्रथम माइलो काकाको घरमा जाने सोच बनाएँ र काकाको घर गएँ।
माइलो काकाको जेठो छोरा पनि बैंकमा कार्यरत हुनुहुन्थ्यो। गेटको घण्टी बजाएँ। काकाको छोरा गेट खोल्न आउनुभयो। दाइले देख्ने बित्तिकै 'बुनु पो आएकी रहेछ' भन्नुभयो।
घरमा पस्ने बित्तिकै काकाले, 'ओ हो, कहिले नआउने मान्छे पो आकी रहिछे आज,' हाँस्दै भन्नुभयो।
बेलुकाको खाना खाने बेला भएको थियो। भान्सा कोठाबाट काकीले खाना खान बोलाउनुभयो। खाना खाएर सबै जाना बैठक कोठामा बसेर टिभी हेर्न थाल्यौं।
मैले काकालाई भनेँ, 'काका, मेरो स्नातक सकियो, लोक सेवाको तयारी गरूँ कि विदेशको प्रक्रिया चालूँ, अन्योलमा छु, के गर्न ठीक हुन्छ सल्लाह दिनुहोस्।'
काकाले भन्नुभयो, 'सरकारी जागिरले मर्न पनि दिँदैन, तर ऊँभो लाग्न पनि दिँदैन। सोझो इमानदारिता बिना स्वार्थ र राष्ट्रको सेवा गर्छु भन्ने मान्छे टिक्न एकदमै गाह्रो छ। तलब महिना बितेको एक हप्तामा कहाँ पुग्छ थाहा नै हुँदैन। म त भन्छु, छोरी, बेलैमा विदेशको प्रक्रिया चाल्नू।'
काका नजिक बस्नुभएको काकाको छोरा दाइलाई सोधेँ, 'दाइ बैंकतिरको जागिर कस्तो हुन्छ।'
दाइले भन्नुभयो, 'बैंक भनेको जतिसुकै ठूलो पदको किन नहोस्, अधिकृत, सुब्बा, खरिदार, उपसचिव लगायत सबै जनाले वित्तीय कारोबार गर्ने एक स्थान हो। मान, सम्मान, इज्जत हुन्छ, तर कामको दबाब यति हुन्छ कि राति सपनामा पनि कहिलेकाहीँ पैसा गन्नेको सपना देखिन्छ, हस्ताक्षर गर्नुहोस् भन्दै सपनामा कराइन्छ, तलब त सबै ठाउँको उस्तै हो, काम धेरै, तलब थोरै। म त भन्छु, विदेश नै जाऊ।'
काकाहरू छुट्टिएर बसे पनि घर नजिक नजिकै बनाउनु भएको थियो।
गएको एक रात माइलो काकाको घरमा बसेर, भोलिपल्ट बिहान काकासँग बिदा लिएर साइलो काकाको घर गएँ।
गेट खुला थियो, सिधा घरभित्र पसेँ। सबै जना खाना खानु हुँदैथियो।
काकाले 'छोरी, पो आइछे' भन्नुभयो, अनि काकीलाई खान पस्किनु छोरीलाई पनि' भनेर खाना पस्कन लगाउनु भयो। घर नजिकै काकाको लुगा पसल थियो। खाना खाएपछि काकाले भन्नुभयो, 'छोरी, म पसल जान्छु, तिमी पनि खाना खाएर पसल आऊ, उतै बसेर कुरा गरौँला।'
खाना खाएर म पनि काकाको पसलतिर गएँ। पसलमा देखेपछि काकाले 'आऊ छोरी, बस' भनेर कुर्सी दिनुभयो। अनि भन्नुभयो, 'छोरी, पढाइ कस्तो भइरहेको छ?'
मैले भनें, 'स्नातक सकियो, काका, व्यापार कस्तो भइरहेको छ?'
काकाले भन्नुभयो, 'खान पुग्छ, तर जमाउन सकिँदैन।'
एकछिन साइलो काकाको पसलमा बसेपछि काकासँग बिदा लिएर म कान्छो काकाको घरतिर लागेँ।
कान्छो काका जापानबाट आउनु भएको थियो। काकाको घरको गेट पनि खुला थियो। घरभित्र पसेँ। सबै जना बैठक कोठामा टिभी हेरेर बस्नु भएको रहेछ। हजुरबुवा र हजुरआमा पनि कान्छो काकासँगै बस्नु हुन्थ्यो।
हजुरबुवाले भन्नुभयो, 'नातिनी पो आइछे।'
कान्छो काकाले भन्नुभयो, 'कान्छी, आज बाटो बिर्सेउ कि के हो, कहिले नआउने मान्छे पो आयौ त तिम्रो पढाइ के हुँदैछ?'
मैले भनेँ, 'स्नातक सकियो, म पनि जापानतिरको प्रक्रिया चालूँ कि भनेर सोचिरहेको छु। जापानको बसाइँ कस्तो हुन्छ काका?'
काकाले भन्नुभयो, 'विदेश मानसम्मान नपाउने, नोकर जस्तै अरूको देशमा काम गर्नुपर्छ। म गएको ७ वर्षपछि नेपाल फर्किंएँ। आफ्नो परिवारसँग भेट्न पाइँदैन। दशैँ, तिहार पनि खल्लो। यतिसम्म कि केही कतै मरियो भने पनि परिवारले भनेको बेला लास समेत देख्न पाउँदैनन्। म त अब जापान जान्नँ, यहीँ केही व्यापार गर्छु। तिमीलाई पनि विदेश जाऊ चाहिँ म भन्दिनँ।'
कान्छो काकाको घरमा एकछिन बसेपछि त्यहाँबाट पनि बिदा लिएर म आफ्नो घरतिर लागेँ।
घर जाने बाटोमा घरदेखि पल्लो घरको एक जना दाइको चटपटे पसल थियो। चटपटे खाने भनेर म त्यहाँ पसेँ। दाइलाई एक प्लेट चटपटे बनाउन लगाएँ। दाइलाई सोधेँ, 'दाइ, कमाइ कति हुन्छ तपाईंको?'
दाइले भन्नुभयो, 'कोही कोही बेला दिनको ५००० सम्म, नत्र ३/४ हजार त हुन्छ।'
'अनि, दाइ, तपाईंलाई विदेश जान मन लागेन?'
दाइले भन्नुभयो, 'मैले स्नातक सकेको हो। ३/४ पटक निजी क्षेत्रमा जागिर खान कोसिस गरेँ, तर जता पनि अनुभव खोज्ने, कि त सोर्स फोर्स लगाउन सक्नुपर्ने रहेछ, कि त, अनुभव नै। ४/५ पटक खरिदार, सुब्बाको परीक्षा दिएँ नाम निकाल्न सकिनँ। असफलताले हरेश खाएको थिएँ तर देश छोडेर जान मन थिएन। घरमा परिवारको आर्थिक अवस्था पनि कमजोर थियो। चटपटे पानीपुरी पसल खोलेँ। सुरू सुरूमा छिमेकीहरूले धेरै गिल्ला खिसी गर्थे तर सबै कुरा पैसा रहेछ। गिल्ला खिसी गर्नेहरू आज सापटी पैसा दिनुहोस् न भनेर माग्न आउँछन्।
कुनैबेला म पनि हरेश खाएको थिएँ। एकदिन एक जना साथीलाई साथी म त हरेश खाएँ,जता नि असफल मात्र हुन्छु। लोक सेवा आयोगमा नाम पनि निकाल्न सकिनँ भनेर गुनासो पोखेँ, उसले भन्यो-सबै सरकारी कर्मचारी मात्र भए अरू क्षेत्रमा काम कसले गर्ने, देश चल्छ? सफलता प्राप्त गर्नु भनेको जुनसुकै पेसामा रहेर आफू सक्षम हुनु हो, जिन्दगी जिउने एउटा विकल्प सकिए थुप्रै अरू विकल्प आउने गर्छन्', उसले दिएको सुझावले मलाई उत्प्रेरित गरेको थियो।
चटपटे खाएर म घरतिर लागेँ। घर जाँदा बाटोमा आफैभित्र एकोहोरिएर कल्पिँदै सोचें भविष्यमा आफू कसरी सक्षम हुने भनेर काकाहरूसित सल्लाह लिन गएको म झनै अन्योलमा परेर आएँ।
सरकारी जागिरे भन्छन्,'जागिरको कमाइले पुग्दैन, विदेश जाऊ।' विदेश जाने भन्छन्, 'विदेशमा धेरै दु:ख हुन्छ केही व्यापार गर, अनि व्यापारी भन्छन्, 'खान मात्र पुग्छ, जमाउन सकिँदैन।' आखिर खुसी त कोही रहेनछ।
जे छ त्यहीमा रमाउन सकिएन भने, जे गर्दा पनि मान्छेलाई नपुग्ने रहेछ। सन्तुष्टि जीवन नै खुसी हुने आधार रहेछ।
फेरि सोचेँ, 'दुनियाँले के भन्छ भनेर नसोची, आफूलाई जे गर्दा खुसी मिल्छ, त्यही गर्दा मात्र सुखी हुने रहेछ।'
मेरा सोचका गहन अध्ययनले स्नातकोत्तर भर्ना गर्ने र अध्ययन सकेर एउटा शैक्षिक संस्था खोल्ने निधो गरेँ।