'सुसेली हालेर गाउँमा हाँस्दै गाउँदै हिँडेको।
सम्झना ताजै छ मनमा गाउँमा हाँसेर डुलेको।।'
गायक जीवन शर्माले गाएको यो गीत हामी विदेशमा बस्नेहरूका लागि मनमा गुञ्जिरहने गीत हो।
ठुलो इच्छा र अभिलाशा बोकेर गाउँबाट काठमाडौं आइयो। ऊ बेला योजनै योजना र संघर्षले जिन्दगीको रहर के हो भन्ने पनि थाहा पाइएन। कतैकतै फाराम भर्दा वा व्यक्तिगत विवरण (सिभी) बनाउँदा हबी लेखेको हुन्थ्यो त्यसमा रिडिङ बुक र लिस्निङ म्युजिक लेखिन्थ्यो। प्राय: मेरा साथी सबैले यही नै लेख्थे क्यार। वास्तवमा मेरो त्यो रहर थिएन जस्तो अहिले लाग्छ। सायद दैनिक जीविकाको संघर्षले जिन्दगीमा रहर के थियो भन्ने थाहै नपाइ जवानी बितेछ।
काठमाडौं आएर पढाइ सकिएपछि आफै केही गर्नुपर्छ भनेर संस्था खोलियो। कहिले कुन संस्थाको सचिव भइयो, कहिले कुन कार्यक्रममा गएर कविता वाचन गरियो। कहिलेकाहीँ पत्रपित्रकामा लेख लेखियो। कहिले कुन संस्थाको अध्यक्ष भइयो। परिचय दिँदा म फलाना संस्थाको अध्यक्ष भनेर गर्वले भनिन्थ्यो। चिनजानका मान्छेहरू कति सक्रिय, कति बौद्धिक र प्रतिभाशाली भन्ने गर्थे। आफूलाई पनि केही भएछु जस्तो लाग्थ्यो। बेलाबेला कार्यक्रममा सहभागिताका लागि निमन्त्रण पनि आउन थाल्यो। कार्यक्रममा फलाना संस्थाको अध्यक्षज्यू भनेर मञ्चमा बोलाउँथे, मञ्चमा गएर अगाडि सहभागीहरूलाई अभिवादन गर्दै बस्दा केही भइएछ कि क्या हो जस्तो लाथ्यो। निकै उचाइमा पुगे जस्तो लाग्थ्यो।
जब कार्यक्रमबाट घर फर्किंदा बाइकमा तेल हाल्ने पैसा आवश्यक हुन्थ्यो, कोठामा जाँदा केही तरकारी लिएर जाउँ भन्दा खल्तीको पर्स हेर्दा निकै ठुलावडाका भिजिटिङ कार्ड मात्र भेटिन्थे पैसा भेटिँदैनथ्यो। त्यतिबेला मेरो उचाइ घट्यो कि बढ्यो भनेर दिमाग रन्थनिथ्यो। घरबाट बुबाआमाले पठाइदिएको पैसाले कति दिन टिक्ने र १ कार्यक्रममा प्राप्त गरेको ताली र धन्यवादले चुलो बल्ने कुरै भएन। अनि मलाई लाग्न थाल्यो हैन मेरो हबी चाहिँ साथीभाइ भेट्ने, भाषण गर्ने रहेछ, रहर देखाएर मात्र जीवन नचल्ने रहेछ। रहर पूरा गर्न पेसा गर्नुपर्ने रहेछ, त्यो पेसाबाट आएको पैसाले आवश्यकता र रहर पूरा गर्नुपर्ने रहेछ भन्ने चेत झण्डै तीस वर्ष छुनै लाग्दा मात्र खुल्यो। तब लागियो पेसाको खोजीमा। भनसुन नगरी मेहनत मात्र गरे पुग्ने जागिर लोक सेवाकै हो भन्ने साथीहरूसँगको संगतले सिकायो। त्यसपछि लागियो लोक सेवा परीक्षा तयारीमा।
लोक सेवा आयोगको विज्ञापन खोजी गर्ने र खुलेका सबै विज्ञापनमा फाराम भर्ने, किताब किन्ने, नोट बनाउने र पढ्ने दैनिक कर्म बन्दै गयो। कागजका टुक्रामा जि.के र आइक्यूका सूत्र र नोटहरू लेखेर कोठाका भित्तामा टाँसेर जतिबेलै पढ्ने गरियो। लोक सेवा तयारी गरिरहेका साथीहरू बनाउने, ट्युसन पढ्ने र साथीभाइसँग भेला भएर ग्रुप छलफल गर्ने गरिन्थ्यो। लाग्थ्यो त्यो बेला सबै मान्छेले म जस्तै लोक सेवा नै सोचेर हिँडेका छन्। कसैले अरू पढेको देख्दा लाग्थ्यो यसले लोक सेवा नपढेर किन अरू पढेको होला! आफैले पनि यतिका वर्ष लोक सेवा तयारी नगरेर किन रल्लिएर हिँडेको होला!
तयारी गर्दागर्दै परीक्षा पनि आयो। परीक्षा राम्रै दिएजस्तो लाग्थ्यो तर नाम निस्किएन। मभन्दा कमजोर देखिने साथीको नाम निस्कियो तर मेरो निस्किएन। अनि फेरि लाग्यो यो त अनुभव भयो। त्यो म भन्दा नजान्ने साथी त पास भयो अब फेरि जोडले तयारी गर्छु अनि त कसो ननिस्किएला नाम। फेरि लागियो परीक्षा तयारीमा। परीक्षा दिएर रिजल्ट आयो तर अहँ मेरो नाम निस्किएन। त्यसपछि लाग्न थाल्यो लौ अब यसमा धेरै समय खेर फाल्नु हुँदैन। अब जिन्दगीमा टर्निङ लिनुपर्छ। सपना देख्नु अनि सपनाको विकल्प पनि देख्नु भन्छन् त्यसैले सरकारी जागिरको विकल्प विदेश यात्राको खोजीमा लागियो। धेरै साथीहरू अघि नै अस्ट्रेलिया गइसकेकोले आफू पनि उतै टाप कस्ने योजना बनाइयो। सिधै कामको भिसा नपाइने। विद्यार्थी बनेर जानका लागि आइइएलटिएसको अंक पुगेपछि प्रक्रिया अगाडि बढाइयो। नभन्दै पहिलो प्रयसामा नै भिसा लाग्यो। मनमनै सोचेँ विदेशमा बस्न जुरेको रहेछ अनि के निस्किन्छ लोक सेवामा नाम!
हिउँदको महिना थियो जहाजमा काठमाडौंबाट सिंगापुर ट्रान्जिट भएर अस्ट्रेलिया सिड्नीको आकाशमा पुगियो। जहाजले उचाइ कम गर्दैगर्दा हरियाली ठाउँमा बीचबीचमा निलो पानीका तलाउ जस्ता देखिने सामुन्द्रिक धार र त्यसकै आसपासमा सहर देखिन थाल्यो। अब त्यही ठाउँ थियो लोक सेवा पास गर्न नसकेर विदेशिएको एक युवकको कर्मभूमि।
सुरूका दिनमा काम खोज्दा र काम नपाउँदा तथा पाएको काम पनि गर्न नजान्दा पश्चाताप पनि लाग्यो। आफूले पढेको ज्ञान काममा पटक्कै तालमेल मिल्दैन। जुन काम नेपालमा गरियो त्यो काम अस्ट्रेलियामा पाउने कुरै भएन, जुन काम पाइयो त्यो काम नेपालमा गरेकै हैन। अर्को के पनि स्थिति भयो भने नेपालमा बसेर एउटा स्तर बनाइसकेको व्यक्तिलाई अनुकूलन हुन झनै कठिन हुने रहेछ।
नेपालको कुनै संस्थाको सचिव र अध्यक्ष भएको मान्छे यता आएर क्लिनिङ, रुम ब्वइ, टि ब्वइ, वेटर आदि केके काम गर्दा र त्यो काम पनि नजानेर गाली खानुपर्दा नेपालमा बरू भारी नै बोकेर खाएको भए हुने भन्ने पटक पटक महसुस भएकै हो।
भाषाको बाधा पनि त्यस्तै। एकजना बुढो मान्छेलाई आफूले 'आर यु ओके' भन्दा 'आर यु अ गे' सुनेर गाली गर्यो। विदेशमा काम गर्नेलाई काम नसोध्नु, स्वदेशमा काम गर्नेलाई तलब नसोध्नु किन भनेको होला भन्ने बल्न थाहा पाइयो। शारीरिक काम गर्दा थाकेको शरीर, अस्ट्रेलिया आउँदाको ऋणले परेको पिर र कलेजको असाइनमेन्टले थपिएको धपेडी र चिन्ताले परिस्थिति निकै उथलपुथल बनायो तर परिस्थितिलाई नियन्त्रण गर्नुको विकल्प थिएन।
अनेकन ठक्कर र कठिन परिस्थितिका बाबजुद पनि मान्छे अस्ट्रेलिया आएपछि देश फर्केर जाँदैन, जान चाहँदैन। अस्ट्रेलिया पुगेको पहिलो पुस्ता देशको चासो, गाउँघरको सम्झना, रहनसहन, चाडवाड, स्वदेशकै खानपान सम्झिँदै जीवन काट्छ। तर यहाँ जन्मेको दोस्रो पुस्ताले भने यतैको वातावरण अनुसार रमाइलो गर्छ। त्यही भएर भावी पुस्ताको लागि यता आएको मान्छेले कठोर संघर्ष गरेर भए पनि यतै बस्छ। आफूलाई जति नै जोखिम भए पनि सन्तानको भविष्य यतै देख्छ। भविष्य प्रतिको आशा ठूलो कुरा रहेछ। भविष्यप्रति आशावादी भयो भने मान्छेले वर्तमानमा जस्तोसुकै कठिन परिस्थितिसँग जुध्दो रहेछ। अस्ट्रेलियाले केही वर्ष पहिले विदेशी शरणार्थी र असाइलम सिकरहरूलाई स्वागत गर्थ्यो। त्यो बेला पपुवा न्युगिनी र अरू सामुन्द्रिक देशबाट मान्छेहरू डुङ्गामा चढेर महिनौं लगाएर हड्डी र छाला मात्र बाँकी रहेर अस्ट्रेलियाको समुन्द्री किनारमा आइपुग्थे।
भाषा, सीप, शिक्षा केहीबिना शरीर मात्र लिएर अस्ट्रेलिया आएर बसोबास गर्नु सजिलो थिएन तर भावी सन्ततीको लागि राम्रो होला भनेर कोही सन्तान लिएर आउथे कोही यतै सन्तान उत्पादन गर्न शरीरमा केवल बिउ मात्र लिएर आउँथे। अस्ट्रेलिया आउने क्रममा डुंगा पल्टिएर सयौं मान्छेको मृत्यु भएपछि अहिले अस्ट्रेलियाले यसरी मान्छेहरू आउन दिन छाडेको छ। भविष्यको भरोसा भएमा मान्छेले वर्तमानमा कतिसम्म दु:ख झेल्न तयार हुन्छ भन्ने यो एउटा उदाहरण मात्र हो।
राजनीतिक नेतृत्वले पनि भविष्यप्रति भरोसा देखाउन सक्ने हो भने नागरिकले वर्तमानमा देशमै मेहनत गर्छन् क्यार। म पनि देशमा भविष्यप्रति आशावादी हुनसकेको भए वा लोक सेवा पास हुन सकेको भए अस्ट्रेलिया आउन थिइनँ। हुन त सँगै पढेर सरकारी अधिकृत भइसकेका साथीहरू 'तिमीले ठिक गर्यौं यार हामी त बिग्रियौं, सरकारी जागिरले खान पुग्दैन हाकिम भए के गर्नु' भन्छन्।
मलाई चाहिँ किन किन आफ्नै देशमा प्रतिष्ठित भएर फारू गरेरै चलाउनुपर्ने पारिश्रमिक नै ठिक लाग्छ। यता काम गरेबापत घण्टा-घण्टामा पैसा आउँछ तर सन्तुष्टि कदापि आउँदैन। यहाँ केही साथीहरू त्यही घण्टा-घण्टाको पैसा बटुल्न नसुति, नखाइ खट्छन्।
बिहान पाँच बजे काममा गएको मान्छे रातको बाह्र बजे फर्किन्छ। त्यसरी कमाएको पैसाले यता घर किन्छ, अनि फेरि अर्को घर किन्छ, किचनका पुराना सामानहरू फ्रि सपमा दिएर छ-छ महिनामा नयाँ किन्छ, घर टल्काउँछ, सुनका गरगहना, लेहङ्गा एकै वर्षमा बिसौं लाखाका किन्छ, नेपालमा दुई चार ठाउँमा घर घडेरी जोड्छ।
अनि कुनै दिन पार्टी आयोजना गरेर आफ्नै नेपाली साथीलाई घर, गरगहना र पहिरनको धाक लगाउँछ। मान्छे आशक्ति बन्ने हो भने कतिले पनि पुग्दैन। तर किफायती तवरले चल्ने हो भने इमानदार बनेर पनि सरकारी जागिरले नेपालमा जीवन चल्छ, चलेकै छ जस्तो लाग्छ।
कमजोर सामाजिक मर्यादा र प्रतिष्ठा तथा भौतिक रूपले सम्पन्न विदेशी बसाइभन्दा आफ्नै देशको प्रतिष्ठित जीवन नै उत्तम हो।
मान्छेका सोचाइ र चाहना फरक फरक हुन्छन् नै तर म चाहिँ सरकारी अधिकृत भएको भए अस्ट्रेलिया आउने थिइनँ।
नेपालबाट गएर उतै स्थायी बसोबास गरिसकेका एक जना भाइले केही वर्ष पहिले अस्ट्रेलियाको फ्लिन्डर्स युनिभर्सिटीमा अध्ययन गर्ने क्रममा भेट हुँदा अस्ट्रेलिया बसाइको भोगाइ र अनुभव यसरी सुनाए।