बच्चा जन्मिनु मात्र पर्छ कति छिटो ठुलो हुन्छन् पत्तो हुँदैन। हेर्दा हेर्दै मेरो छोरा मंसिर १५ बाट सात वर्ष पुगेको छ। ऊ कक्षा एकमा पढ्छ। अहिलेका बच्चा हामीभन्दा निकै अगाडि छन्। उसले कति कुरा मैले नजानेको नसुनेको गर्छ, सायद मोबाइलको प्रयोगले होला।
ऊ करिब दुई वर्षको हुँदा कोभिड आयो। करिब एक वर्षपछि स्कुल पठाउने समय भएकोले मैले घर नजिकैका १/२ वटा स्कुल बारे बुझिराखेको थिएँ। फेसबुकको जमानामा फेसबुक पेजलाई लाइक गरेकाले स्कुलका हरेक गतिविधि हेरेर बसेको थिएँ।
बहिनी स्कुलको शिक्षिका भएकाले उसले ‘कक्षा एकमा मन्टेसरीबाट आएका बच्चालाई पढाउन धेरै नै गाह्रो हुन्छ दिदी। त्यसैले बाबुलाई दश कक्षासम्म भएको स्कुलमा हाल्नु सजिलो हुन्छ पछि। अहिले त स्कुलले पनि मन्टेसरीमा पढाउँछ’ भनी।
उसले भनेअनुसार नै मैले घर नजिकैको कक्षा दशसम्मको स्कुलमा राख्ने विचार गरेँ। कोभिडले गर्दा नर्सरीमा पाँच महिना मात्र पढ्यो। सानो बच्चा स्कुल नजाने भनेर रुनु स्वाभाविक लाग्यो। उसलाई स्कुल जान भनेपछि साह्रै दिक्क लाग्थ्यो। केजी एकमा पढ्दा सानै छ यस्तै हो भनेर कहिले गाली गरेँ र कहिले फकाउँदै पठाइयो।
केजी दुईमा गएपछि चाहिँ उसको मनको कुरा मलाई भन्थ्यो, ‘मामु मलाई स्कुलमा आज गेम नखेलाउनु भन्नु न है।’ मैले किन सानु के हुन्छ र गेम खेल्दा नि भनेको उसले ‘मलाई लाइनमा बसेर गेम खेल्न नै मन लाग्दैन, बोर लाग्छ’ भन्यो।
यो कुरा त्यहाँको इन्चार्ज म्यामसँग गर्दा बच्चालाई हामीले अनुशासनमा राख्न यसो गरेको भन्नुभयो। मैले पछि पछि कक्षा शिक्षकलाई भनेर ‘खेल्न दबाब नदिनू, उसलाई खेल्न मन लाग्दैन’ भनेँ। के गर्नु, मन नलागेको चिज जबरजस्ती नि गराउनु त भएन नि।
घर नजिक हुनाले घरबाटै खाना खुवाएर पठाउन मन नभएको होइन तर स्कुलको नियमनै अनिवार्य स्कुलमा खानु पर्ने थियो। जसले गर्दा खानामा सोखिन मेरो बच्चाको स्वभावले उसले हरेक दिन जबरजस्ती खाना खाइरहेको थियो। खाजामा नि जबरजस्ती मन नपर्ने खाजा धेरै दिन बन्थ्यो या भनौँ उसलाई मैले बाहिरको खानेकुरा सकभर खुवाएको थिइनँ। उसलाई पाउरोटी, कर्नफ्लेक्स, चोकोज त्यति मन पर्दैन थियो तर स्कुलले धेरै दिन यही खाजा दिने रहेछ। त्यो पनि जबरजस्ती खुवाउने रहेछन्।
उसले मलाई गुनासो गरेकाले यो कुरा पनि स्कुलमा राख्दा ‘हामीले बच्चालाई यो खान्न त्यो खान्न भन्ने बच्चालाई सब चिज खाने बनाउँछौँ’ भन्नु भयो। त्यो पनि ठिकै हो लाग्यो र म चुप बसेँ। ऊ हरेक दिन आज स्कुल जान नपरे नि हुने गर्दै गर्दै स्कुल जान्थ्यो। म भने सानो छ यस्तै हो भनेर कहिले गाली गरेर त कहिले सम्झाएर पठाउँथेँ।
मलाई भने त्यो स्कुलप्रति यति धेरै सम्मान र इज्जत थियो नि हरेक कुरालाई सकारात्मक रूपमा लिने, गुरुहरूलाई त्यतिकै सम्मान गर्ने। साढे २ वर्षमा कहिले नराम्रो विचार आएन। कहिले अभिभावकको भेलामा केही बोल्न नै पर्दैनथ्यो। किनकि उहाँहरूको भनाइले म यति मोहित थिएँ नि म लेखेर बताउन सक्दिनँ।
तर सधैँ सोचेको कहाँ हुन्छ र! जब स्कुलको १ कक्षामा जाँदा तिर्ने बिल मेरो हातमा आयो म त के गर्ने कसो गर्ने दोधारमा परेँ। नेपाल सरकारको अधिकृत आमा जसले महिनाको दश हजार पाँच सयमा छोरालाई खुसीसाथ पढाउन सकेको थिएँ। जब एक कक्षाको बिलमा सत्र हजार महिनाको बिल देखेँ, यही रफ्तारमा दश कक्षामा ३० हजारभन्दा बढी पुग्ने अनुमान लगाएँ।
छोराले पढ्ने मात्र होइन नि। उसलाई खुवाउनु पर्यो, लगाउनु पर्यो। अनि नेपाल सरकारले कर्मचारीको तलब हरेक वर्ष सात हजारको दरले बढाउँदा नि त बढाउँदैन नि। कहाँ म सरकारी स्कुलमा पढेर राम्रो प्रतिशतमा एसएलसी उत्तीर्ण भएकाले कलेज समेत पूर्ण छात्रवृत्तिमा पढेको, छोराको बढ्दो स्कुलको बिलले म आत्तिएँ।
श्रीमानसँग सल्लाह गर्दा बाबु सँगै थियो। उसले सब सुनेको थियो। उसले त्यसपछि आफ्नो मनको कुरा भन्यो, ‘म त्यो स्कुलमा नपढ्ने, अर्को स्कुलमा पढ्छु।’
हामीले नि स्कुल परिवर्तन गर्ने निर्णय गर्यौँ र स्कुल परिवर्तन भयो।
नेपाली मन न हो, महँगो चिज जति नै कमसल भए नि राम्रो होला लाग्ने। सस्तोमा सामान किन्दा त्यसमा गुणस्तर कम होला लाग्नु त्यस्तै भयो मलाई नि। कतै ठुलो गल्ती त गरेको छैन! बाबुलाई सोध्यो- ‘म धेरै नै खुसी छु अब यो स्कुल छोडेर कतै नजाने हो’ भन्दा पनि पिर लागि नै रह्यो। हामी आमाबाबालाई आफ्नो बच्चालाई राम्रो स्कुल अझ भनौँ महँगो स्कुलमा पढाउँदा मात्र बच्चाले राम्रो गर्दछ कि लाग्ने।
एक दिन आफ्नो मन बुझाउन उसलाई तुलना गर्न लगाएँ, तिमीलाई पहिलाको स्कुलभन्दा के राम्रो लाग्छ भनेर। उसले त गिन्ती पो गर्न लाग्यो। तुलना त गराउन नहुने हो, उसले अक्षर सिकेको जानेको ज्ञानको मन्दिर पो त हो पहिलाको स्कुल। तर मन त हो, मन भित्र-भित्र आफूले गलत गरेँ कि लागेको लागै थियो त मन बुझाउन भने नि सोधेँ।
उसले गरेको गिन्ती जस्ताको त्यस्तै राख्न चाहेँ-
१ पहिलाको स्कुलभन्दा यो स्कुलमा गेम खेल्न मन लाग्छ। रमाइलो लाग्छ। अहिलेको स्कुलमा एडु-प्ले गेम हुन्छ।
मेरो बाबु गेमको दिन भनेर बिहानैदेखि खुसी हुन्छ।
२ पहिलेको स्कुलभन्दा यो स्कुलमा खान मन लाग्छ किनकि अहिलेको स्कुलमा खाजा र नास्ता खाने हो।
बिहानको खाना घरबाटै खाएर जान्छ।
३ पहिले एउटै म्यामले पढाउनु हुन्थ्यो बोर लाग्थ्यो। अहिले १ दिनमा ७ वटा म्याम आउनु हुन्छ। अलि अलि बोर लाग्न थालेको हुन्छ अर्को म्याम आउनु हुन्छ अनि रमाइलो लाग्छ।
४ यहाँ म्युजिक म्याम पनि राम्रो लाग्छ। पहिलाको म्युजिक मन पर्दैन थियो, अहिले राम्रो लाग्छ।
५ डान्स म्याम पनि मन पर्छ।
६ पानी खान, ट्वाइलेट जान क्लास रुमबाट पर जानु पर्छ रमाइलो लाग्छ।
यस्तै उस्तै उसका मनको कुरा पोख्यो। मेरो मन जति जति उसको कुरा सुन्दै गयो त्यति त्यति खुसी हुँदै गयो। मेरो बच्चा खुसी हुनु नै म खुसी हुनु हो नि। पछि सम्मको विचार गरेर परिवर्तन गरेको स्कुल पो त हो नि भन्ने मनमा आयो र जे गरे एकदम राम्रो गरेँ भन्ने भयो।
यी त भए बच्चाको मनको कुरा। यहाँ त पढाइमा पनि निकै फरक पाएँ। सुरुको तीन महिना पढाउन मलाई साँच्चै महाभारत भयो। पढाइको लेभल नै मिलेन। गएर इन्चार्ज म्यामसँग नि कुरा गरेँ पढाइ धेरै भयो भनेर। तर मेरो बच्चा खुसी भएर हो कि किन हो उसले पहिलाभन्दा बढी पढ्नमा रुचि देखाउनाले उसले मन लगाएर पढ्दियो र मलाई सजिलो भयो। नत्र त कहाँ सक्थेँ र!
पहिलाको स्कुलमा मन्टेसरी बेसको पढाइ भयो। थोरै पढ्ने धेरै सिक्ने गरेर पढाउनु भयो। सानो बच्चालाई पढाइको प्रेसर नदिएको मन पर्दथ्यो तर त्यही पढाइ एक कक्षामा पुगेपछि आफ्नो बच्चालाई केही नआउँदा साह्रै पीडा हुँदो रहेछ।
बाबुले जिद्दी गरेको भए म बाध्य नै हुने थिएँ त्यही पढाउन जति नै महँगो नै किन नहोस्। तर पहिलाको स्कुलभन्दा अहिलेको स्कुल निकै राम्रो छ। कक्षा एकमा करिब १३० जना बच्चा ५ वटा सेक्सनमा पढ्दछन्। हरेक बच्चालाई हरेक क्रियाकलाप गर्न स्कुलले प्रोत्साहन गर्दछ। सबैबाट सेलेक्सन भएर बच्चाहरूले डान्स, गीत, कविता, चित्रकलामा आ आफ्नो क्षमता प्रस्तुत गर्ने गर्दछन्।
उक्त क्षमता प्रदर्शनीमा शिक्षकको कुनै हात हुँदैन। उहाँहरूले निष्पक्ष रूपमा विद्यार्थीको छनोट गर्नुहुन्छ। एउटै कक्षामा धेरै विद्यार्थी भइदिनाले स्कुलले कक्षागत प्रतियोगिता राख्दछ। मेरो बच्चा पढ्नमा अलि रुचि नराखे पनि गाउन र नाच्नमा च्याम्पियन छ र त कविता वाचनमा दोस्रो भएको छ भने गाउनेमा टप १० भित्र परेको छ। प्रतियोगिता हुन बाँकी छ। एक से एक बच्चा हुनाले होला हरेक कुरा गर्न अघि सर्दछ।
जे भयो सब राम्रोको लागि भयो भन्ने सोच्नु भन्ने गीताको वाणी सधैँ याद आउँछ। पहिलाको स्कुलले दश हजारबाट बाह्र हजार बनाएको भए म अन्त मन नै डुलाउँदिन थिएँ। तर सात हजारको त्यो फरकले मेरो मन परिवर्तन भयो र त मेरो बच्चा खुसी भयो। नत्र त म बच्चा हो पढ्न मन नगरेको होला भनेर सोच्दा मेरो उसलाई हरेक दिन मन नलागी नलागी पढ्न जानु परेको रहेछ।
अहिले आठ महिना भइसक्यो बाबु नयाँ स्कुल गएको तर कुनै दिन स्कुल नजाने भनेको सुन्नमा आएको छैन। पढेको छ, लेखेको छ। कहिलेकाहीँ आफैलाई उसको पढाइ धेरै भयो लाग्छ। तर पनि ठिक छ, अब पढ्नु पनि त पर्छ।
प्रत्येक आमाबुबाले बच्चा सानो भएकाले स्कुल नजाने भनेको होला भनेर नसोचौँ। नाम चलेका, महँगा स्कुलले नि बच्चाको मानसिक अवस्थासँग कसरी खेलिरहेका हुँदा रहेछन् भन्ने सबै अभिभावकले बुझ्नु जरुरी हुन्छ। आफ्नो बच्चा स्कुल जान मन गरेको छैन भने बुझौँ किन मन गर्दैन भनेर कतै स्कुलको त गल्ती छैन?
अनुशासनमा राख्ने निहुँमा आफ्नो बच्चाको स्वतन्त्रता त खोसिरहेका छैनन्?
बच्चा हो खेल्न खान पाउनु उसको नैसर्गिक अधिकार हो तर आफ्नो बच्चा अनुशासित बनाउने चक्करमा उसको खेल्ने रमाउने अधिकार नै त खोसेको छैनौँ?
सरस्वती पूजा नजिकिँदै छ। आफ्ना फूल सरि हुर्काएका सन्तानलाई अब कसैको विश्वासमा छोडेर आउनु पर्दछ। राम्रो देखभालको नाउमा महँगो छ भन्दैमा हत्त न पत्त स्कुल हाल्नलाई नहतारिऊँ। विचार गरेर एक दुई महिना राखेर हेरेर मात्र नयाँ भर्ना गराउन अनुरोध गर्दछु।
बच्चा रुन्छ भने पक्कै केही न केही खराबी छ। पसल सरि स्कुलहरू छन्। एउटामा नभए अर्कोमा राख्ने तर देखासिकीमा आफ्नो बच्चाको मानसिक अवस्थासँग खेलबाड नगराऊ र गर्न पनि नदिऊ।