एक साता अघि म विशेष कामको सिलसिलामा पोखरा गएको थिएँ। सधैँ हिमालको सुन्दरताको आकर्षणमा लोभिने म, यसपालि माछापुच्छ्रे हिमाललाई हिउँ बिना देख्दा अचम्मित र खल्लो महसुस भयो।
माछापुच्छ्रे हिमाल यसअघि मैले देख्दा सेतो हिउँको घुम्टो ओढेको चाँदी जस्तो चम्किलो थियो। आज एकदमै बदलिएको नौलो देखिएको थियो। यस पटक हिमाल आफ्नो परिचित रूपबाट हटेको नाङ्गो र उदास देखिएको थियो।
त्यस सुन्दर हिमालको यो रूप देख्दा मेरो मनमा अनगिन्ती प्रश्नहरू उठ्न थाले। हिमालको यस्तो दृश्य केवल आजको लागि मात्र थियो कि भविष्यमा सम्पूर्ण हिमालहरूको स्वरूप यस्तै रहने हो? के यो हिमालले पहिलाको जस्तै सेतो हिउँको घुम्टो अब कहिल्यै ओढ्न पाउँदैन त? यस्तै यस्तै अनुत्तरित अनगिन्ती प्रश्नहरू मनमा खेलाउँदा खेलाउँदै मैले यस हिमाललाई अझ नजिकबाट नियाल्नको लागि घान्द्रुक जाने निधो गरेँ।
भोलिपल्ट ट्रेकिङका लागि आवश्यक सम्पूर्ण सरसामान बोकेर म घान्द्रुकतिर लागेँ। बाटोमा अन्नपूर्ण बेसक्याम्प जाने थुप्रै यात्रुहरू पनि भेटिए। उनीहरूको अनुहारमा निकै उत्साह र अन्नपूर्ण हिमाललाई नजिकबाट नियाल्न पाउने आसमा खुसीको कुनै सीमा थिएन। तर मेरो मनमा भने एक किसिमको बेचैनी थियो। घान्द्रुकबाट हिमाललाई नजिकबाट नियाल्न पाउने खुसी त थियो तर भविष्यमा उक्त दृश्य देख्न पाइने हो कि होइन भन्ने एक किसिमको शंका र डर थियो।
हिमालको यस्तो बदलिँदो स्वरूपले मलाई एउटा गहिरो सोच र आक्रोशको भावना प्रदान गर्यो। मानिसहरूले यस विषयलाई ध्यान नदिए पनि मलाई यो कुराले गम्भीर बनायो। जलवायु परिवर्तनको असरले नै यस्ता दृश्यलाई जन्म दिएको हो र यस जलवायु परिवर्तन हुनुमा कतै न कतै मानव जातिको नै दोष देखिन्छ। यो हाम्रो भविष्यको लागि खतराको संकेत हो।
माछापुच्छ्रे तिमीलाई यसरी देख्नु मेरो लागि नयाँ अनुभव थियो। तिमीलाई आज त्यस्तो कुरूप र थाकेको अवस्थामा देख्दा मन दुखेको छ। मलाई लागिरहेको छ कि मैले तिमीलाई भविष्यमा पहिलेजस्तै सुन्दर रूपमा देख्न पाउँछु कि पाउँदिनँ!
यही रफ्तारमा जलवायु परिवर्तन भइरहने हो भने तिम्रो सुन्दर मनमोहक रूप भविष्यमा देख्न पाइनेछ भन्ने कुरामा शंका लाग्न थालेको छ। मेरो चिन्ता अझ बढ्न थाल्यो, के जलवायु परिवर्तनले हामीलाई यस्ता थप प्राकृतिक स्वरूपको परिवर्तन र त्यसबाट हुने असरहरूको सामना गर्न बाध्य बनाउने हो?
यति बेला जलवायु परिवर्तनको विषय संसारभर चर्चामा छ। यो केवल पर्यावरणीय संकट मात्र नभई समग्र मानव जातिको भविष्यको संकट हो। विशेष गरी नेपालजस्ता हिमाली मुलुकहरूले यसबाट गम्भीर असर भोगिरहेका छन्।
जलवायु परिवर्तनका कारण बाढी, पहिरो र हिमताल विस्फोटजस्ता प्रकोपहरूले नेपालका हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई बिस्तारै विस्थापित बनाउँदै छ। तीन महिना अघि आएको बाढी र पहिरोले २५० भन्दा बढी मानिसको ज्यान गएको घटनासँगै हिमतालहरूको खतराबाट पनि ठुलो जोखिम उत्पन्न भएको छ।
सोलुखुम्बुको थामेमा आएको हिमपहिरो जस्ता घटनाले हामीलाई यो सम्झाउन चाहन्छ कि हिमाल र यसको आन्तरिक संरचना अहिले असुरक्षित बनिरहेको छ। नेपालमा लगभग ३९ हिमतालहरू उच्च विस्फोटको जोखिममा छन् जसले जलविद्युत्, सिँचाइ र अन्य आधारभूत संरचनामा ठुलो क्षति पुर्याउन सक्छ।
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका समस्याहरूलाई उजागर गर्दै जलवायु न्यायको माग गर्न थालेको छ। नेपाललाई अनुदान र क्षतिपूर्तिको आवश्यकतालाई मध्यनजर गर्दै हामी सबैले यो मुद्दालाई विश्वसामु दह्रोसँग उठाउनु पर्ने बेला आएको छ।
हिमाल र यसको बदलिँदो स्वरूपलाई बचाउन हामी सबैले हातेमालो गर्दै मिलेर काम गर्नुपर्नेछ ताकि यी प्राकृतिक सम्पदाको संरक्षण र भविष्यका पिँढीलाई सुरक्षित राख्न सकौँ।