बिहानै दर्शन गर्नु थियो महागढीमाईको। देवी शक्तिको उपासनाको किस्सा सुनेको वर्षौं भएको थियो। उनै देवीको थान, नजिकबाट नियाल्नु थियो। मलाई पनि केही माग्नु थियो र विचार गर्नु थियो उनको शक्ति। भनिन्छ उनीसँग मागेर गएपछि भाकल पूरा हुनेहरू फेरि अर्को पटक बली दिने गरी पुग्छन् रे बारा। अविश्वास हो कि आस्था हो मलाई थाहा छैन। तर यत्ति थाहा छ कालो हुन्छ भने सेतो पनि हुन्छ। सकारात्मकता हुन्छ भने नकारात्मकता पनि।
मन्दिर पुगेर दर्शनार्थीको उत्साह देख्दा आफू पनि उतै बाँधिएँ धेरैबेर। मन्दिरकै आँगनमा बनेको थियो चिटिक्कको विवाह मण्डप। मिथिलाको जानकी मन्दिरको झल्को दिने। एक पटक जनकपुर पुगिहाल्यो मन। ऐतिहासिक पञ्चवर्षीय मेलाको छेको पारेर भर्खर उद्घाटन भएको मण्डप छुँदा पनि दाग लाग्ला जसै गरी चहकिलो थियो। त्यसैलाई बनाइएको थियो गढीमाई पञ्चवर्षीय मेला मूल समितिको कार्यालय। गढीमाई नगरपालिका प्रमुख उपेन्द्र प्रसाद यादवले विवाह मण्डपसम्बन्धी योजनाहरूको बेलिबिस्तार लगाइसकेपछि आफ्नो दशौँ वैवाहिक वर्षगाँठको उत्सव मनाउन उतै जाम है बुढो भनेर अनिलजीलाई हतार हतार फोन गरेकै हो।
मेरो उत्साहमा उत्तिकै रमाउँदै थिइन् सुनिता। अझ रमाइलो हुने वाला थियो हाम्रो सिम्रौनगढ यात्रा। एउटा यस्तो सहर, जहाँ राजा र महाराजाले शासन गरेका थिए। त्यहाँको ऐतिहासिक महत्त्व र त्यहाँका भव्य संरचनाहरूले मेरो मानसपटलमा अर्कै छाप बनाएको थियो। सिम्रौनगढ टेक्न आतुर मलाई बाटोमा अल्झाइरहेका थिए टाढा टाढासम्म देखिने फाँटहरूले। धान काटेपछि आउने त्यो अनौठो सुगन्धले, जसले मनमा ताजगी र शान्ति ल्याइरहेको थियो धान भित्र्याउने किसानहरूको चटारोले। तर त्यो सब देख्दा, हामी जतिसुकै आधुनिक भए पनि, किसानको अथाह मेहनत बिना बाँच्न सकिँदैन भन्ने सत्य पक्का भयो। हरेक कुइनेटोको पोखरीमा पनि माछा पालक कृषकको श्रम नै जोडिएको।
बाटोमा उखु बोकेर मिलतिर गुड्दै गरेका ट्रकहरू भेटिए। त्यो ट्रक रोकिएको मौका छोपेर उखुको लाँक्रो तान्न पुग्थे केटाकेटी। केटाकेटी मात्र नभई पाका उमेर भएकाहरू पनि उसैगरी रमाएको देखियो। त्यो दृश्यमा मैले जीवनको सादगी अनुभव गरेँ। हामी दुईले पनि उनीहरूसँगै उखुका टुक्रा मागेर खायौँ। लाग्यो जीवनको रमाइलो खोज्न अन्त जानै नपर्ने रहेछ।
तर, त्यहीबिच थियो अर्को दृश्य – चिरा परेका कुर्कुच्चा लिएर हिँडिरहेका खाली गोडा। अनि टाउकोमा घाँसको टोकरी। जीवनको कठोर यथार्थ र दूरदराजका गाउँको दैनिकीको ऐना थियो त्यो। जीवन उखुको रस जस्तो गुलियो मिठो मात्र हुन्न, अनगिन्ती भोगाइका भारीहरूले पनि थिचिएको हुन्छ। काठमाडौंको व्यस्त जीवन र ती गाउँका जीवनका बीचको अन्तरलाई केलाउँदै अघि बढ्यो यात्रा। आँखै अगाडि आयो सपनाको सिम्रौनगढ। आफूलाई त्यहीँको रानी जस्तो महसुस गरेर पाइला टेकें कंकाली मन्दिरको प्राङ्गणमा । अद्भुत शान्ति। निःशब्द म।
***
यात्रा केवल आँखाले देखिने दृश्य र खुसीको अवलोकन मात्र होइन, यात्रा हृदयको फैलावट पनि हो। यात्रा अन्तर सुखको त्यो दराज हो, जहाँ हरेक पलका सुकुमार अनुभूति, दृश्यहरूका अनुपम छटा र अपत्यारिला पत्यारहरूको चाङ सजिन्छ। अनुभूतिको रत्न र यादहरू उस्तै उस्तै लाग्छ। शान्तिको अनुभूति–यात्राको प्राप्ति।
यसपाला, बाराको यात्रा। हरेक पाँच वर्षमा लाग्ने महागढीमाई मेला हेर्न जान साथी सुनिताले हैरान पारेपछि हामीले झोला बोक्यौ|। अनि बल्खुबाट सुमो चढेर बतासियौं वीरगन्ज। एउटा अनौठो ऊर्जा र उत्साहले तानिरहथ्यो बाटाभरि।
हरेक घुम्ती घुम्तीमा बतासले बेलिबिस्तार लाउँदै थियो, रूखहरू साक्षी थिए। सडक किनारका कथा, सिस्नेरीको कथा सारसौँदो आँखै अगाडि थियो। दसैं अगाडिको बाढीले बगाएको बस्ती, कयौं विस्थापित भएको कहालीलाग्दो समयको कथा, कथा मात्र थिएन। फुटबलर हुने ६ जनाको सपना बगाएको त्यो अँध्यारो दिन सम्झेर मन पनि अँध्यारो भो।
त्यो खोला किनारको सडक फक्लक्क आधा चिरिएको देख्दा मुटु पनि उसैगरी चरक्क भो। उजाडिएको बस्तीमा बढ्दै गरेको चिसोले अत्त्याएको दयालाग्दो स्थानीय दैनिकी देखेर मनमा पहिरोभन्दा पनि गहिरो पहिरो गयो।
गुड्दै गरेको गाडीले दृश्यहरू छिचोले पनि मनमा उठेको गहिरो प्रश्नको ज्वारभाटाले निकास पाइरहेको थिएन।
भिमफेदी ब्यारेक हुँदै हेटौंडा बजार झर्दै गर्दा, सल्लाघारीको सिरेटोले पोलेको मनलाई शीतल बनाउन खोज्दै थियो। त्यो चिसो हावाको स्पर्शले शरीरलाई हल्का बनाउने प्रयत्न गरिरहे पनि, मनभित्रको अज्ञात बोझले मलाई निरन्तर थिचिरहेको महसुस भएथ्यो।
वीरगन्ज पुगेपछि भने भोजपुरी भाषाले भुलायो। पहिला हामीलाई नेपालको शङ्कराचार्य प्रवेशद्वार हेर्नु थियो। जुन अहिले पर्यटकहरूका लागि सेल्फीपोइन्ट बनेको छ। डुब्दै गरेको घाम प्रवेश द्वारको शिरमा अडिएजस्तो थियो। हामीले पनि त्यही मौकामा आइ लभ वीरगञ्ज भनेर फोटो खिचायौं।
थकाइ मार्यौं त्यो दिन, केही मनको थकाइ केही तनको थकाइ। सिस्नेरीले दिएको मनको थकाइ अनि सुमोमा कोचिएर तनको थकाइ।
***
सन् १२२६ तिर सुरक्षित र सम्पन्न सिम्रौनगढ। सिम्रौनगढका पुराना अवशेषहरू आज पनि यत्रतत्र पाइन्छ। सिम्रौनगढको बीच भागमा शिखर शैलीमा स्थापना गरिएको कङ्काली मन्दिर। मन्दिरको दलिनमा कुँदिएका विभिन्न चित्र। बयान गरिसाध्य नभएको मन्दिर र छेवैको इसारा पोखरी। मन्दिरको छाया पोखरीमा पर्दा काठमाडौंको रानीपोखरीको झल्को आइरहेको थियो। केहीबेर त्यही पोखरी छेउ बसेर त्यहाँ पौडिरहेको पानी सर्प नियालेँ। मन्दिर अगाडि थियो मान्साबाबाको मन्दिर। जहाँ बाबाले ज्युँदै समाधि लिएको भन्ने किंवदन्ती रहेछ।
सिद्ध पुरूषहरूको जीवनको अन्त्य एउटा कुनै घटनामा निर्भर गर्दछ। मृगको कान सम्झेर व्याधाले हानेको एउटा वाण लागेर भगवान् कृष्णको निधन। बुद्धको जीवन अन्त्य हुने बेला कसैले दिएको कुनै खानपानको किंवदन्ती। स्वामी रामकृष्ण परमहंसले कुनै लौकिक सत्यमा प्राण अड्याएको कथा वा ऋषि महर्षिको इच्छा मरण। यी संयोग हुन् कि सत्य म यसै भन्न सक्दिनँ तर समाज र समाजसँग जोडिएका सांस्कृतिक मिथकहरू मिथ्या हुन् जस्तो मलाई लाग्दैन। हिजोहरूलाई अस्वीकार गरेर आज सम्पूर्ण हिजो सच्याउन सकिन्न। हिजोका गल्ती वा प्राप्ति आजका जग हुन्। म जगहरूको जगमा उभिएर जीवनको जग खोजिरहेछु।
मान्साबाबा आफैमा को हुन्? यसको उत्तर खोज्ने मेलो त्यहीँ छोडेर म मिहिन मैदान टेकेर मन पनि मैदान जस्तै फराक पारेर हिँडिरहेछु। अनगिन्ती छन् प्रश्नहरू तर एकै पटक एकमुष्ट उत्तर छैन मसँग। त्यो समाधिस्थलभित्र भग्नावशेषमा के फेला पर्ला भनेर सोचेँ। सिम्रौनगढका इतिहास सम्झेँ। लिच्छवी राजाहरूसँगको सम्बन्ध पृथ्वीनारायणसँगको प्रसंग र यहीँको राज पाठ इतिहास अध्ययनको ठूलो अध्याय हो।
यतिखेर म इतिहास र अध्ययनको महायात्राबाट अवलोकनको सानो गोरेटोमा आइपुगेकी छु। म त आँखाभरी दृश्यको अमृत राखेर अनुभूतिको आनन्दमा रमाइरहेकी छु। पहाडको ढुंगे आँगनमा जन्मिएर उपत्यकाका उर्वर माटोमा हुर्किएकी म तराई झरेर यो झिझियाको सहरमा सामाचकेवा खोज्न आइपुगेकी छु। मलाई ठेगुवा खानु छ। मिले त आफ्नै हातले उदाउँदो अस्ताउँदो सूर्यलाई अर्घ दिनु छ तर समयले यी सबै एकैपल्ट मेरो पोल्टामा हालिदिँदैन। हालिदिँदैन र त रहरको झोली बोकेर म यात्रामा छु। मिठा यादहरू कैद गरेँ मेरो क्यामेरा अनि मेरो स्मृतिमा अनि छोडेँ सिम्रौनगढ।
फर्किंदै गर्दा, स्कुल सकेर घर फिर्दै गरेर नानीबाबुहरू भेटिए–सबै साइकलमा सवार। हामी मोटरसाइकलमा। उनीहरू मैले बाइक चलाएको अनौठो मानेर हेरिरहेका थिए। धेरै सम्झनाहरूको पोको लिएर वीरगन्ज फर्कंदै गरेको मजस्तै, सायद उनीहरूको सम्झनामा पनि मैले बाइक चलाएको दृश्यले ठाउँ पक्कै पायो होला। सुनिता पछाडि बसेर बाइकवाला दिदी भनेर जिस्काउँदै थिइन्। हाम्रो उल्लासमय समयलाई गोधूलीको सूर्यास्तले मिठो रङ्ग भरेर अझ यादगार बनाइरहेको थियो।
अर्को दिन वीरगन्ज सहर। घडि अर्वा पोखरी र घण्टाघर। पोखरी परिसर, फूल बगैंचा। पूजाप्रसाद। मधुरो स्वरमा भोजपुरी भजन। पछिल्ला दिनमा सफा हुँदै आएको सडक। छेउछाउका बोटबिरूवाहरू। पशुपतिनाथको आराध्य मन्दिर। त्यहीँ तीनटी नानीहरूको फर्याक फुरूक्क। उनीहरूको उमङ्ग देखेर म आफू पनि त्यही उमेरमा फर्किएँ जहाँ हरेक शनिबार नैकापको विष्णुदेवी मन्दिर जानु खुसीको कारक हुने गर्दथ्यो। त्यसपछि, मैले ती नानीहरूको फोटो खिचेर ह्वाट्सएपमा पठाइदिएँ। उनीहरूको मुस्कानले यात्रा केवल यात्रा मात्र नभई सँगै बाँड्ने जीवन अनुभव हो भन्ने सिकाइरहेको थियो।
म पनि त यात्रामा सिक्दै सिक्दै हिँडिरहेकी थिएँ। खास ज्ञान त विश्वविद्यालयको कक्षाकोठा भन्दा बाहिर रहेछ। १३ औं शताब्दीतिरका विद्यापति। उनले जुरूक्कै उठाएको मैथिली र मिथिलान्चल जनकपुर वीरगन्जभन्दा अलि टाढा छ। यो भोजपुरी भाषाको सहर हो तर मैथिलीको महल पनि यहाँ कमजोर पाइनँ। साहित्य संगीत संस्कृति र पछिल्लो समय खण्डमा मान्छेले बाँचेको जीवन। यो त यतैका स्रष्टाहरूको जिम्मामा छोडेर मैले यात्रा मोड्नुको विकल्प थिएन।
पालो थियो पर्सा राष्ट्रिय निकुञ्जको। निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले सहजीकरण गरिदिनुभयो। युगौंयुगौंदेखि उभिएको रूखसँगै छहारी लिएर बढ्दै गरेका पालुवाहरू। नयाँ बुट्यानहरू। साँघुरो बाटो माथिको पुल ठिक्क गाडीको पाङ्ग्रा मात्र अटाउने। धित् मरेको त थिएन तर समयले धैर्य गर्न दिएन। जिम्मेवारी भन्नु पनि जीवनको प्रमुख हिस्सा रहेछ। हामी गृहस्थ स्वीकारेका शालीन फकिर जस्ता थियौं। समयले बाटोको ताल्चा खोल्यो।
सिमरा एयरपोर्टमा भिजिबिलिटी कम भएकाले प्लेन उडेन। यसअघि अमेरिका जाँदा कतार एयरवेजको फ्लाइट रद्द भएको सम्झेँ। त्यति ठूला एयरपोर्टको समय व्यवस्थापनमा त मौसम कारक बन्छ भने हाम्रो जस्तो छिनछिनमा बदलिने हावापानीको राजधानीमा समय यसो तलमाथि पर्नुलाई अन्यथा सम्झिनँ तर जहाज उड्ने समय पर्खने समय हामीसँग थिएन। हामीलाई हिँड्नु थियो, हिँडी हाल्नु थियो।
उही सुमो चढेरै काठमाडौं फर्कियौं। फर्पिङ पुगेपछि, हाम्रो गाडी पन्चर भयो। पन्चर हुनु पनि फर्पिङको रात्रिकालीन १० मिनेट जतिको स्याँठ खुवाउने मेलो रहेछ कि? दक्षिणकाली जाँदा खुवा खाए जति मिठो स्याँठ थिएन। आँखाले जाँदैका दृश्यहरू खोजिरह्यो तर रातको पछ्यौरी ओढेको त्यो घुर्मैलो बस्ती आफैमा एउटा रहस्यको दहमा चुर्लुम्म डुबे जस्तो लाग्थ्यो।
सोचेँ यात्रा केवल दृश्य र स्थानहरूको अवलोकन मात्र होइन रहेछ। यात्रा जीवनका अनगिन्ती मोडहरूको मोडमा मुस्कुराउने सदावहार महक पनि रहेछ। सायद जीवनसँग अनुभव नहुँदो हो र यात्राले दिने आनन्द नहुँदो हो त जीवन स्वयं यन्त्र बन्ने थियो। यन्त्रले समवेदनाको संयन्त्र चलाउन सक्दैन र त मान्छे यात्रा गर्छ र समवेदनाको सम्पत्ति सञ्चय गर्छ।