पि-जेटिएको प्रवेश परीक्षा दिन बागलुङ हिँडेँ। प्रायजसो यात्रामा म एक्लै पर्छु। एक्लो यात्रा गर्न बहुत मज्जा लाग्छ मलाई, सायद भाग्य लेखिदिनेले सधैँभरि एक्लो लेखिदिएर पो हो कि?
निराश हुँदै केही उकाली, ओराली गर्दै बागलुङ पुगेँ। एसएलसी सकाएको पनि दुई वर्ष पुग्नै आटेको थियो। मसँग आसभन्दा निराश बढी थिए। सँगै पढेका साथीहरू प्लस-टु पढ्ने भइसकेका थिए। तिनीहरूसँग छुटिँदा गन्तव्य बिर्सिएको बादल जस्तै रन्थनिएको थिएँ।
प्रवेश परीक्षा सकिएपछि तुरुन्तै घर फर्किएँ। असिनपसिन भएको थिएँ। जता हिँडे पनि निराशका काँडाहरूले घोचिरहन्थे। अनुहारमा सफलताको ज्योति नउदाएको धेरै भएको थियो। समयका ती यादहरू दिन बिते जसरी बित्दै नजाने रहेछन्।
अझै पनि याद ताजै छन्, हजुरबा अलि बिरामी हुनुहुन्थ्यो। घर पुग्दासाथ हजुरबुबाले आफ्नो कुरा सुनाउनु हुन्थ्यो। उहाँको जीवनका अनुभव र शिक्षा, मेरो मानसपटलमा अमिट छाप बनेर बसेका छन्।
उहाँले भन्नुहुन्थ्यो- ‘जिन्दगी कहिल्यै सोझो र सरल हुँदैन। यसलाई जस्तो आए पनि अँगाल्नुपर्छ। अब जे छ ठिक छ, प्रयास गर्दा पनि भएन भने केही छैन तेरो काम पढ्ने हो पढ्। आर्थिक कारोबारको जिम्मा बाले मिलाउँछ।’ हजुरबा एकनास बोल्नुभयो।
यतिन्जेलसम्म बा चुपचाप हुनुहुन्थ्यो। कुन्नि के भयो बा उज्याला थिएनन्। बा उज्यालो नहुनु भनेको घर अँध्यारो हुनु हो। आफू अँध्यारोमा बसेर पनि परिवारलाई उज्यालो छर्ने त बा'का पनि बा ‘हजुरबुबा’ हुनुहुँदो रहेछ। उहाँले हामीलाई छोडेर गएको पनि दुई वर्ष पुग्न लागिसकेछ। उज्यालो छाइरहने बत्ती निभेको पनि यतिका समय भएछ। मेरो परम पुण्य हजुरबाप्रति श्रद्धा सुमन। तपाईंको वैकुण्ठ बास होस्।
म केही ठुलो र बुझ्ने भएपछि देखेको हजुरबामा कहिल्यै परिवर्तन देखिनँ। न शारीरिक रूपमा न मानसिक रूपमा। कृषिपछि म काठमाडौँ पढ्न जाने भएँ। हजुरबाले साह्रै पिर गर्नु भयो। काठमाडौँमा रहँदा पनि म हर क्षण हजुरबालाई सम्झिरहेको हुन्थेँ।
म प्रत्येक पटक काठमाडौँबाट घर फर्कँदा उहाँलाई केही खानेकुरा लिएर आउँथेँ तर उहाँले मलाई नाति यो कुरा ल्याइदे भनेर कहिल्यै भन्नुभएन। कहिलेकाहीँ फोनमा ‘बा तिमीलाई के ल्याइदिऊँ?’ भन्दा जहिले पनि केही पनि पर्दैन, तँ आइजो न भइहाल्यो भनेर भन्नुहुन्थ्यो।
मेरो धेरै समय हजुरबुबासँग बित्यो। तुवाँलोले बिहान ढाकिए जसरी घाम झुल्कने बेलादेखि घाम डुब्ने बेलासम्म म उहाँकै वरिपरि ढाकिन्थेँ। हजुरबाको अनुहार सधैँ आत्मविश्वासले भरिएको देखिन्थ्यो। उहाँको आँखामा अनुभवका अनगिन्ती गहिराइ देखिन्थे। उहाँ गरिबी र अभावका बिचमा हुर्कनुभयो। हामीलाई सधैँ इमानदार, मेहनत र सहिष्णुताको पाठ सिकाउनु भयो।
गाउँमा कसैको बिहे, व्रतबन्ध, भोज, भतेर, पूजापाठ हुँदा मेरो लागि त्यो दिन दसैँ आए जस्तो हुन्थ्यो। उहाँको खल्ती घरबाट बाहिर निस्किएपछि कहिल्यै रित्तो आएन। हजुरबा घर आउने बेलामा उहाँको आस्कोटको भित्री खल्तीको पर्खाइमा हुन्थेँ। कुन खल्तीमा मिठाई, कुन खल्तीमा रोटी, मासु, पैसा छ म टाढैबाट हेरेर थाहा पाउँथेँ।
सानो छँदा स्कुलमा कम नम्बर ल्याउँदा घरका अरू सदस्यले गाली गर्दा कति डराउँथेँ। त्यो बेला अन्य सदस्यको गालीबाट जोगाउने मेरो हजुरबुबाले सावाँको भन्दा ब्याजको माया बढी भनेर माया गर्नुहुन्थ्यो।
अचेल मलाई यो लागिरहन्छ कि, परिवारको जेठो छोरो हुनु भनेको सजिलो रहेनछ। मेरो हजुरबा जेठो छोरो, मेरो बाबा जेठो छोरो अनि म पनि जेठो छोरो नै। हामी सबैका काँधलाई जिम्मेवारीको झोलाले दबाएको छ। यो झोला कहिलेकाहीँ भारी लाग्छ तर यसमा परिवारको आशा, माया, विश्वास लुकेको छ। फेरि जिम्मेवारीले थिच्दै जाँदा नदीले जस्तै बाटो खोज्दै बग्ने, गन्तव्य थाहा नहुने अनि यात्रा अर्थहीन हुने पो हो कि जस्तो लाग्छ।
२०८० सालको वैशाख ८ गते। स्नातक तह प्रथम वर्षको अन्तिम परीक्षा सुरु हुने दिन थियो। म घरमा आफ्नै धुनमा 'अ लेसन अफ लाइफ' नामक अङ्ग्रेजी कथा एकाग्र बनी पढिरहेको थिएँ। बाहिरबाट बुबाको आवाज आयो- ‘बाबु, हजुरबा बित्नुभयो अब के गरौँ? केही चिन्ता नमान...’ यत्तिकैमा आवाज रोकियो।
म ठुलो भिरबाट खसे जस्तै भएँ, आँखाबाट अश्रु धारा बग्न थाले। न केही बोल्न सकेँ न केही भन्नै। उसै त परीक्षाको चिन्ताले मलिन भएको अनुहार औँसीको रात जस्तै भयो। म कोठाबाट बाहिर निस्किन सकिनँ।
मैले उमेर पुगेका छोराछोरी भइसकेका पुरुष मान्छे डाँको छोडेर रोएको कहिल्यै देखेको थिइनँ। बुबा रोएको देखेर मेरा आँखाहरू ओभाना रहेनन्। बुबासँगै मेरा आँसु पनि झरे। म बुबासँग रोएको थुप्रै दिन छन्। बुबासँग हाँस्ने दिन कहिले पो आउलान्...
बिहान ६:१५ भएको थियो। हिन्दु परम्पराअनुसार मानिसको मृत्युपछि वैदिक मन्त्र र कर्मकाण्डहरूअनुसार मार्गनिर्देशन गर्न पण्डित आउनुभयो। गाउँका सबै दाजुभाइ जम्मा भएर कोही बास काट्ने, कोही लास सजाउने तयारी गरिरहेका थिए। मन गह्रुँगो बनाउँदै कोठाबाट बाहिर निस्किएँ। सबै जना हजुरबालाई अँगाल्दै रोइरहेका थिए। मैले सकेसम्म नरुने कोसिस गरेँ, परिवारका अन्य सदस्यलाई गाह्रो नहोस् भनेर।
सायद दिमागले केही काम गरेको थिएन। सबै जाने नै हो, ढिलो चाँडो हो। हेर्नुस् न कस्तो राम्रो मरण हो मात्र भन्न सकेँ। पर खेतमा गएर एक्लै रोएँ, चिच्याउन मन थियो सकिनँ। एकैछिनपछि घर आएँ। सेतो कोराले ढाकेको हजुरबाको खुट्टातिरको कपडा हटाउँदै ढोगेँ अनि भनेँ- वैकुण्ठ बासको कामना हजुरबा।
रातभरि परिवारका सदस्यले कुरेर बसेका थियौँ। कोही झिमिक्क सुतेका थिएनौँ। शोकलाई शक्तिमा बदल्दै म तीन दिनपछि परीक्षा दिन हिँडेँ। परिवारको दुःख र वातावरणको असहजताबिच पनि मैले आफ्नो भविष्यको लागि त्यो परीक्षा दिनै पर्यो। म हारेको थिइनँ अनि जित्नु पनि कसैलाई थिएन। बिहानै स्वर्गलोक हुनुभएका हजुरबालाई सम्झेर सोचेँ, यस्ता परीक्षा आइरहन्छन् गति दोब्बर बनाउनु पर्छ।
जिन्दगी भनेको एउटा अनमोल यात्रा रहेछ, जहाँ प्रत्येक पाइलामा स्मृतिहरू, अनुभवहरू र पछ्याइएका आसहरू लुकेका हुने रहेछन्। जीवनले कहिलेकाहीँ कठोर परीक्षा लिने रहेछ तर यहीँबाट हाम्रो चरित्र निर्माण हुने रहेछ। मृत्युले हामीलाई बिछोड दिए जसरी कहिलेकहीँ जिन्दगीका परीक्षाहरू पनि कठिन मोडमा दिनुपर्ने रहेछ।
उहाँ गएपछि हाम्रो घरले आफ्नो आत्मा गुमाएझैँ लाग्यो। उहाँको हाँसोले भरिएको आँगन अहिले मौन छ। उहाँसँग बसेर सुनिएका ती कथाहरूको स्थान अब मौनताले लिएको छ। जीवनमा धेरै कुरा सिकेँ, तर उहाँको अनुपस्थितिमा पीडा सहने कला भने कहिल्यै सिक्न सकिनँ।
कहिल्यै कसैले भन्छ, समयले पीडा मेटाउँछ। तर मेरो लागि समयले केवल उहाँको अनुपस्थिति अझ गहिरो बनाएको छ। हरेक चोटि उहाँलाई सम्झँदा आँसु थाम्न सक्दिनँ। उहाँका आँखाहरूमा देखिने त्यो विश्वासले आज पनि मलाई हिम्मत दिन्छ तर उहाँ बिनाको यो यात्रा अनन्त बिछोडजस्तो लाग्छ।
उहाँसँग बितेका ती दिन, ती हाँसो र ती कथाहरू आज सबै चुपचाप छन्। उहाँ बिनाको हाम्रो घर एउटा खाली खोपाको जस्तै छ, जहाँ जीवन त चलिरहेछ तर माया र प्रेरणाको त्यो उज्यालो हराइसकेको छ। आँगनको त्यो पुरानो धारो, जहाँ उहाँ सधैँ बिहानको पानी खानुहुन्थ्यो, त्यो पनि अहिले मौन छ।
हजुरबुबा, हजुरको भौतिक शरीर हामीबाट टाढा भए पनि हजुर सधैँ हाम्रो परिवारको समीप रहेर हामीलाई कुनै न कुनै माध्यमबाट सही मार्गनिर्देशन दिइराख्नु है। तपाईंलाई हामीले गुमाए पनि तपाईं को छहारी अझै हाम्रो परिवारमा छ। आजसम्म जे भइरहेको छ त्यो तपाईंको आशीर्वादले हो। घरमा हजुरबा हुनु भनेको भाग्यको कुरा रहेछ। बिना स्वार्थको त्यस्तो साथ र आशीर्वाद भाग्यमानीले मात्र पाउँछन्।
हजुरबा, तपाईंको बिना यो संसार र हाम्रो जीवन कति अपूर्ण र अधुरो लाग्छ। तपाईंको सम्झनामा हाम्रो मन बलियो र दृढ बनेको छ तर तपाईंको अनुपस्थितिले यो जीवनको रंग अझै फिका बनाइदिएको छ।
आज हरेक पाइलामा तपाईंकै सम्झना र श्रद्धाले मन छटपटिन्छ। जब तपाईं हामीसँग हुनुहुन्न तपाईंको सम्झना यो मनभरि बस्छ। तपाईंको अनुपस्थितिमा तपाईंको विचार, सपना र तपाईंले हामीलाई देखाएको मार्गनिर्देशन सधैँ मनमा आउँछ। समयले तपाईंलाई हामीबाट टाढा लगे पनि तपाईंको शिक्षा तथा बिचारहरू हाम्रो जीवनमा सदैव जीवित रहनेछ। तपाईं तारा जस्तै टाढा भए पनि त्यहाँको उज्यालोले यहाँसम्म साथ दिएको महसुस हुनेछ।
आज यो लेख लेख्दै गर्दा हजुरबा बाँच्नु भएको भए म उहाँसँग उपहार होइन, उपदेश माग्थेँ। शब्द होइन, समय माग्थेँ।
फेरि पनि श्रद्धा सुमन मेरो ईश्वरलाई।