घरभित्र बत्तीहरू बल्दै थिए। साँझले संकेत गरिसकेपछि पूजाकोठा गएर सन्ध्या दीप बालेँ। यसो बाहिर चिसाएँ, घर अगाडिको झम्म परेका रुखहरूमा बचेराहरू चिरबिर गर्न थाले। माउ चराहरू बिस्तारै गुँडमा फर्किँदै थिए। त्यसै गरी सडकका फुटपाथहरूमा केही स्कुले केटाकेटी आमा-बाको हात समातेर घर फर्किँदै थिए।
म भने उनले बेस्सरी समाएको मेरो हात पनि उल्टै फुत्काएर हिँड्न बाध्य भएँ। मेरो सानो मनमा बेचैनका ठुला भगाला अटाई नअटाई खादिन थाले। मेरो हृदय शून्य भयो। त्यही सुनसान पलमा यी भावनाहरू एकपछि अर्को गर्दै आएर हृदयमा लाइन लाग्न थाले।
नेपालका अधिकांश नागरिक
आमा बाबाका प्राणभन्दा प्यारा सन्तान
आफ्नो प्राणभन्दा प्यारो देश छोडेर
नेपाली झन्डामा अंकित चन्द्र र सूर्य जस्तै
चम्किलो भविष्य चम्काउने चक्करमा
केही समयपछि फर्कने बाचासहित
नेपाल आमाको काखमा रमाउने इच्छालाई
केही वर्ष मनमै धितो राखेर बिदेसिन बाध्य छन्।
ती बाध्यकारीहरू मध्येकी एक म पनि हुँ जसले दूधे बच्चा छोडेर जाँदै छु।
हिँड्ने बेला सासूआमाले खादा दही सेटको थाली लिएर उभिनु भयो। त्यसपछि दिमागको सानो पोखरीमा ठुलो तरंग छचल्किन सुरु गर्यो। त्यो पोखरीका तटबन्ध आँखाका डिल थिए। छोरी त्यही साइडमा थिइन्। त्यसैले उनलाई देख्नसाथ मेरा आँखाका डिलहरू भत्किन थाले।
‘मेरो मामु रुने होइन हस्’ भन्दै खादा लगाइदिइन्। उनले खादा लगाउँदै गर्दा यति गाह्रो भयो कि जसोतसो मनलाई बाँधेर राखेँ। अनि ‘मेरो मामुलाई म दही खुवाउँछु’ भनिन्। खुवाउँदै गर्दा उनको हातबाट दहीको कचौरा नाच्दै भुइँमा खस्यो। हिँड्ने बेला झन् यो के भयो भनेर चसक्क छातीमा बिझायो।
त्यसपछि म रुम गएँ। शून्य कोठामा मनबाट आएको वेदनाको भुमरी मडारिन थाल्यो। एक छिनपछि पछाडिबाट छोरीले बिस्तारै कानमै आएर भनिन्, ‘मामु, म अब पार्टीमा जान रेडी भइसकेँ, हजुरसँग एउटा टिकटक बनाउँछु ल।’
मेरी ५ वर्षे छोरी यति बुज्रुक छिन् कि म शब्दमा उतार्न सक्दिनँ। एक दिन जिद्दी गरेर रोएको पल भएन।। ‘छोरु यो यस्तो हो नि, त्यो गर्नु हुँदैन नि, छोरु यो कुरा हामी भोलि गरौँला, छोरु आज मसँग पैसा छैन भोलि किन्दिन्छु, तिमीलाई त्यहाँ भोलि लैजान्छु’ भनेर छोरीलाई भन्दा उनीबाट एउटै जवाफ आउँथ्यो- ‘हस् मामु।’
मेरी छोरीको मुखारविन्दबाट ‘नाइँ’ शब्द कहिले आएन। त्यसैले कहिले उनीसामु त कहिले उनी सुतेको बेला ‘थ्यांक गड मलाई यति प्यारी छोरी दिनु भएकोमा’ भनेर भगवान् सम्झन्थेँ। त्यो मैले गरेको देखेर त्यसै गरी उनले पनि थ्यांक गड यति प्यारी मम्मी दिएकोमा’ भन्थिन्।
यस्तै रङ्गिन पलहरूमा डुबुल्की मार्दै थिएँ। ट्याक्सी आइहाल्यो। गाडीमा चढ्नु अगावै छोरीले ‘मामु हग गर न’ भनिन्। अनि छोरीलाई आफ्नो छातीमा टाँसेर निधार र गालामा म्वाइँ खाएँ।
फेरि छोरीले आग्रह गरिन्, ‘मामु, एयरपोर्टमा नरोऊ हस्।’
त्यसपछि म बोल्दाबोल्दै कण्ठ अवरुद्ध भई आयो। धेरै बल गरेर सहज स्वरमा केही बोल्ने चेष्टा गरे तर मुटुको फेदमा भयंकर गाँठो परेर आयो। तैपनि मधुर स्वरमा ‘हस् छोरी’ भन्दै गाडी चढेँ। छोरीतिर फर्केर हेर्ने मन पनि थिएन। फेरि ‘मामु बाई’ भनिन्। बाई छोरु भनेर अन्ततः बाटो लागेँ।
त्यो साँझको झिलमिल बत्ती गल्ली-गल्ली चोक-चोकमा बलिरहेका थिए। तैपनि मेरा नयनले अँध्यारो मात्र देखिरह्यो। बाहिर रमाइरहेका दृश्यहरू थिए। तैपनि मेरो भागमा निराशा र अँध्यारोका छायाहरू मात्र परे। बाटोभरि मन मस्तिष्क जताततै मात्र छोरी थिइन्। त्यो बिछोडको त्यो पनि आफ्नो प्राण प्यारो बच्चालाई काखबाट झिकेर एक्लै छोडेर परदेश लाग्नुको पीडा त कसरी पूराका पूरा वर्णन गरूँ?
म अहिले क्षितिज पारिबाट कोर्दै छु शब्दहरूमा मेरा यी भावनाहरू। जुन मातृ हृदयमा मन्थन भएर मखन सरि उत्पन्न भएका छन्। यी नितान्त मेरा यथार्थ पीडा हुन्। तर आज मजस्ता थुप्रै आमा बाबा हुनुहुन्छ। जसले प्राण प्यारा सन्तान छोडेर परदेश लाग्नु भएको छ। त्यसैले यो परदेशिएका आमाहरूको दर्दनाक पीडा बोकेको अरूलाई मेल खाने कथा पनि बन्न सक्छ।
लाग्छ सायद ती कैयौँ आमालाई यस्तै एउटै विपतले, एउटै वेदना तथा एउटै सन्तापले छोएको होला? पहिलो चोटि आउँदा, आजभन्दा एक वर्ष पहिले नेपालबाट यही ठाउँमा सँगै लिएर आएकी थिएँ। सधैँ बाबाको अनुपस्थितिमा भर्चुअल माध्यमबाट रमाउनुभन्दा अब सँगै बस्ने सोचले लिएर आएँ। हामी विदेशमा परिवारसँगै सबै बस्न पाउँदा खुसी थियौँ। ऊ आफ्नो बाबासँग सँगै रहँदा उसमा विकास भएको त्यो आत्मबल देखेर म त्यसै प्रफुल्ल थिएँ।
दिनहरू बित्दै थिए। समय समग्र राम्रै थियो। तर बिचमा मुख्य समस्या आयो शिक्षा। अन्य देश जस्तो यहाँ अङ्ग्रेजी स्कुलहरू मिलेन हामी बस्नेतिर। उही देशकै फरक भाषामा मात्र पढाइ हुँदो रहेछ। न त यहाँको संस्कृति हाम्रो लागि सौहार्दपूर्ण रह्यो न नेपालको जस्तो साथीहरू। हुर्कँदै बढ्दै गरेको उमेरको बच्चालाई सिक्ने बेला यहीँ हो। त्यसैले अब छोरी नेपाल आमासँग बसेर पढ्ने र म १/२ वर्ष यतै काम गरेर फर्कने भन्ने मनस्थितिमा हामी बाबा आमा पुग्यौँ।
आफ्नो प्राणप्रिय सन्तानसँग एक्कासि अब छुटिने कुरा हुँदा हामी आमा-बाबाको हृदयमा ठुलो धक्का महसुस भयो। मनमा अशान्तिको हुरी चल्यो। विच्छेदको तातो हावाले घाटी सुक्यो। सधैँ जसो म बिहानै उठेर काममा जाने गर्थेँ। श्रीमान् छोरीलाई उठाएर स्कुल लैजानु हुन्थ्यो। जब जब छोरी मस्त निद्रामा हुन्थिन्, तब बाबाका आँखाबाट बेप्रवाह आँसु बग्थे। छोरी उठ्नासाथ देख्थिन् र समझाउँथिन्- ‘पापा हजुर किन रुनु भएको?’
‘नरुनुस् न पापा म हजुरलाई नेपालबाट फोन गर्छु नि भाइबरमा’ भनेर सम्झाउँथिन्। उनको कलिलो मस्तिष्कमा हामीलाई सम्झाउने विचार पैदा हुँदा उनका हर शब्दले हामीलाई झनै विक्षिप्त बनाउँथ्यो।
नेपाल जाने निधो गरे पश्चात् श्रीमान्ले फुपाजुलाई कल गर्नुभयो। फुपाजुले उति बेलै टिकट ओके गरिदिनु भयो। त्यसपछि हामीले छोरीलाई थाहा दियौँ। ‘छोरी तिम्रो पढाइको लागि तिमी नेपाल जान पर्ने भयो। तिमी नेपाल गएर धेरै पढ’ भन्दै सम्झायौँ।
यति भनिसक्दा नि उनको मुखारविन्दबाट कुनै इन्कार आएर नाइँ जाँदिनँ भन्ने रुने केही भएन। मात्र मलिनो मुहारमा ‘हस् मामु पापा’ भनिन्।
‘हस् म जान्छु तर हजुरहरू मेरो गुन्यु चोलीमा आउनु है’ छोरीले यति भन्दा फेरि हामी भावविह्वल भयौँ। उनको त्यो मासुम बोलीले कलेजोमा तिखो काँडा रोपेजस्तो भयो। ब्रह्माण्ड फुटेर आयो अनि फेरि छोरीलाई अँगालो हालेर खुब रोयौँ।
अन्ततः भोलिपल्ट नेपाल जाने तयारी भयो। बिहानै हामी बसेको ठाउँमा फुपाजु आउनु भयो। मलाई छोरीले फोटो खिच्न आग्रह गरिन् ‘मामु, म यो मिनुचा डल समाउँछु हजुरले एउटा फोटो खिच्दिनु होस् न।’
मैले फोटो खिच्दिएँ। तर त्यो फोटो यति मलिन आयो, उनको अनुहारमा निराशाको बादल आएर ढपक्कै ढाक्यो।
एक छिनपछि फुपाजुले हामीलाई आफ्नो निजी सवारीमा चढाएर एयरपोर्ट पुर्याउनु भयो। त्यो बेला सहानुभूति प्रकट गर्दै सहयोग गर्ने किसान फुपाजु हाम्रो लागि भगवान् बनेर अहोरात्र खटिनुभयो। उहाँलाई हार्दिकताका जतिसुकै शब्द अर्पण गरे तापनि अपूर्ण हुन्छ।
यसरी म नेपाल फर्किएँ छोरीसँगै। पुनः स्कुल भर्ना गरिदिएँ। अर्को दिनदेखि छोरी स्कुल जान थालिन्। उही पुराना साथी, उही पुरानो स्कुल। त्यसैले खुसी भइन्।
तर मैले छोरीलाई उनको मुहारमा जिज्ञासु दृष्टिले पुलुक्क हेर्दै भनेँ एक हप्ता अघिदेखि। ‘छोरी अब म विदेश जान्छु, तिमी घरमै आमा अंकलसँग बस। म फेरि छिट्टै आउँछु’ भनी सम्झाएँ। तर छोरीको यस पटक 'हस् मामु' भन्ने जवाफ आएन। बरु उल्टै प्रश्न गरिन्, ‘किन मामु? हजुर यहीँ बस्नुहोस् न’ भन्ने आग्रह गरिन्।
‘मामु स्कुलको सबै साथीको बाबा-आमा नेपालमा सँगै बस्नु हुन्छ, मेरो बाबा-मामु मात्र किन विदेशमा? पहिला त हजुर यहीँ दादा-दिदीलाई पढाउनु हुन्थ्यो, अहिले पनि यहीँ पढाउनुस् न मामु’ भन्न थालिन्। तर म नाजवाफ भएँ।
उनका प्रत्येक निर्दोष शब्दहरूले सिकारीको वाण लागेर आघात भएजस्तो मनमनै असह्य व्यथा अनुभव गरिरह्यो। म एकछिन सन्तान र आमाको मायाको तलाउमा तैरिइरहेँ। कहालीलाग्दो रातको अस्पष्ट सपना जस्तो हृदय आकाशमा उडिरह्यो। म अन्तर्वेदनाले छटपटाउँदै उनलाई सम्झाउन थालेँ।
‘छोरी, तिम्रो उच्च शिक्षा उज्ज्वल भविष्यको खाका कोर्न म जाँदै छु परदेश। मात्र २/३ वर्षलाई। त्यसपछिका दिनमा तिमी फेरि सँगै बस्ने हस्’ भनेपछि बल्ल ‘हस् मामु’ भनिन्।
हेर्दाहेर्दै विदेश जाने दिन नजिक आयो। छोरी फनपार्क जाने भनिन्। त्यहाँ गएर दिनभरि खेलिन्, मसँगै रमाइन्। राति मस्त निद्रामा परिन्। तर बिहान उठ्दा हात-खुट्टाभरि रातो सानो फोकाहरू फुलेको देखेँ। त्यसपछि हतार हतार हस्पिटल लगेँ। ९ बजे हाम्रो समय थियो। डाक्टर आउनु भयो, चेकजाँच गर्नुभयो। ‘ह्यान्ड माउथ फुड डिजिज भाइरल हो, एक हप्तामै ठिक हुन्छ’ भनी सामान्य औषधि दिनुभयो।
मैले केही कुरा सोधेँ, उहाँले राम्रो सल्लाह दिनुभयो। मेरो हतारिएको मन एकछिनमा आधा ठिक भयो। भन्छन् नि त्यसैले, डाक्टर भनेको आधा औषधिले निको पार्ने आधा सान्त्वनाले। त्यसपछि हामी डाक्टर साबलाई हार्दिकता टकार्दै घरतिर लाग्यौँ।
दिनभरि यत्तिकै बित्यो। राति सुत्ने बेला छोरीले भनिन्- ‘मामु, हग गर्नु न मलाई।’ मैले प्रेमपूर्वक अँगालेँ।
उनले फेरि भनिन्, ‘ मामु, भोलिदेखि म यो डललाई हग गरेर सुत्छु है?’
मैले ‘किन छोरु?’ भनेँ। उनले भनिन्, ‘हजुर भोलिदेखि मसँग हुनुहुन्न नि त। त्यसैले मामु।’
म बोल्न सकिनँ। हजारौँ वेदनाका स्रोत धारा बनेर बगिरहे। मलाई मनमनै प्रश्न गर्न मन लाग्यो फेरि- संसारमा लाखौँ खुसीका पलहरू होलान् तर ती पलहरू हाम्रा लागि किन भएनन्? मेरो अश्रुवर्षा देखेर फेरि उनी पुनः मलाई सम्झाउन थालिन्- ‘मामु नरुनुस् न, म फोन गर्छु के।’
अनि म उनलाई कुटी ऋषिमुनिको कथा सुनाउँदै सम्झाउन थालेँ।
‘पहिला पहिला पनि छोरु, शिक्षा हासिल गर्न बाउआमाले सन्तानलाई गुरुको आश्रम पठाउँथे। पछि पढेर छोराछोरी बा-आमा भएको ठाउँमा आउँथे। त्यसैले तिमी पनि केही वर्ष यसै गरी पढ अनि सँगै बस्ने हस्’ भनेको हस् मामु भनिन्।
यसरी मेरी छोरीको बोलीमा हर शब्दमा हस् आउँथ्यो। अशान्तिको बादलले निद्रा पर्न दिएन। रातभरि छोरीका छितरबितर भएका ती फुलेका फोकाहरू हेर्दाहेर्दै रात कटाएँ। घाउ झन्-झन् बढ्दै थियो। बिहानै छोरी उठिन्, गुड मर्निङ मामु भन्दै मेरो अँगालोमा बाँधिन आइन्। त्यसपछि मैले न्यानो वात्सल्य दिएँ।
एकछिनपछि ‘छोरु अब तिमी स्कुल हिँड मसँगै। स्कुलबाट आएर राम्रोसँग बस्नू, तिमी घर आइपुग्दा मामु गइसकेको हुन्छु नरुनु है’ भनी सम्झाएँ। पूरै मुहार मलिनो बनाइन्। साउनको बादलले आकाश ढाके जस्तै हाम्रो खुसीको पलमा निराशा छाए। म उनलाई स्कुलको गेटसम्म पुर्याएर भारी मन बनाएर घर फर्किएँ।
त्यो दिन निकै कष्टपूर्वक बित्यो। भर्खर उदाएका घाम पनि मेरा लागि अस्ताए जस्तै भए। प्लेनभरि छोरी नै छोरी देखेँ। पहिला यात्रा गर्दा छेउमा छोरी थिइन् तर अहिले एक्लै। यात्रुहरूको भिडमा पनि मात्र रित्तो रित्तो देखेँ। सकुशल अवतरण भइसकेपछि कोठामा आएँ।
कोठा सुनसान थियो। किचनमा गएँ, जताततै छोरीका खेलौना मात्र। श्रीमान्को सामु गएर बेस्सरी रोएँ। स्वच्छन्द निलो जीवनाकाशमा हठात् कालो मेघ थुप्रे जस्तै लाग्यो। छोरीलाई भिडिओ कल गरेँ, छोरी पनि रोइन्- ‘मामु हजुर आजै आउनु न, हजुर चाहियो मामु।’
त्यसपछि म विदेश आएको एक महिना नहुँदै फेरि नेपाल फर्किएँ। मातृत्वले चुली भएको ममतापूर्ण हृदयाकाश छोरीलाई भेटेपछि उनको मायाको बादलले डम्म ढाक्यो। केही बेरपछि अश्रुवर्षा बनी झर्यो। छोरी भेटेपछि रातिसम्म सम्झाएँ।
अर्को दिन छिमेकी दिदीले ‘बहिनी, तपाईं विदेश गएको भोलिपल्ट नानी माथि आएर कति रोयो नि मामु भन्दै’ भन्नुभयो। त्यो कुराले मलाई झनै भावुक बनायो।
एक हप्ता नेपाल बसेर छोरीलाई सम्झाई बुझाइ गरी फेरि विदेश फर्किएँ। आएपछि सबै सामान सकिएकाले मार्ट गएँ। त्यो मार्टमा जुन सामान हेर्छु छोरीको याद आउँछ। ‘मामु यो किन्ने त्यो किन्ने’ भन्थिन्। घर केही मिठो खाना बनाउँदा उही छोरीको याद आउँछ। यो याद पनि कति अजीवको हो, जहिले आउँछ रुवाएर जान्छ।
त्यसैले डुबेर डुब्न नसकिने रहेछ मातृत्वको यो महासागर।
जब जब उनको याद हृदयमा आएर एकटकले उभिन्छ मनमा एक किसिमको ज्वारभाटा उठ्न थाल्छ। सोच्छु, यदि म साथमा रहेँ भने त उनले आमाको स्पर्शले कल्पनाकै मनमा कति थरीका गुराँस ढकमक्क फुलाउँथिन् होला?
फेरि सोच्छु, आकाशमा पनि सधैँ पूर्णिमाको जून उदाए मनको आकाश पनि कति सफा हुन्थ्यो होला? यसरी मन र आकाशलाई जोख्दै छु मनैकै एउटा तराजुमा। माया र सन्तानलाई जोख्दै छु अर्को मातृत्वको तराजुमा।
आज म जतिसुकै विकसित देशको झिलिमिली सहर, गगनचुम्बी महल, सुविधा सम्पन्न राष्ट्रमा बाहिर रूपमा पूर्ण देखिए पनि भित्र भित्रै रित्तो छु। सबै खुसी नेपाल छुटेको आभास गरेकी छु। एउटी आमालाई आफ्नो प्राणभन्दा प्यारो सन्तानसँग छुटिएर परदेश बस्नुको पीडा दर्दनाक हुँदो रहेछ।
आजभोलि भर्चुअल माध्यमबाट म छोरीसँग कुरा गर्दा घण्टौँ कुरा हुन्छ। अनि छोरी बाई भन्दा नो बाई मामु भन्छिन्।
यसरी एउटा सन्तानको लागि आमाबाबा र बाउआमाको लागि सन्तान संसारकै प्रिय हुँदो रहेछ। हाम्रो देशको बेथिति, राजनीतिक अस्थिरता, नातावाद, कृपावादको परिणामले गर्दा देश चुर्लुम्मै गरिबीमा डुबेको छ। जसले गर्दा म जस्ता कैयौँ आमाहरू एउटा सन्तानसँग एकातिर बिछोडिएर परदेश लाग्नु परेको छ।
हाम्रो पनि मन हो। हामी पनि परिवारसँगै बस्न पाए हाम्रा हृदयाकाशमा धेरै रगहरू धारा बनेर इन्द्रेणी लाग्थ्यो होला। स्नेहका लाखौँ पराग त्यहाँबाट बर्सिन्थे होला। तर हामीमा त्यसो भएन।
म जस्तो एउटा शिक्षित आमा जो दुई-दुई वटा विषयमा मास्टर्स डिग्री पास गरेर कानुन पढिसक्दा नि नेपालमै राम्रो अवसर नपाउँदा यसरी बिदेसिनु बाध्य छु भने आम सर्वसाधारण जनता जसले स्कुलसम्म टेकेका छैनन् उनको अवस्था कस्तो होला?
आज मेरो छोरीले ‘मामु हजुर पनि यहीँ सँगै बस्नुस् न’ भन्दा देशमा बस्ने स्थिति छैन। एउटा जागिर खानै नातावाद, कृपावाद चाहिन्छ! यसरी हामी विदेशी भूमिमा परिवार विहीन भएर कहिलेसम्म बस्ने हो? यसै गरी देशका योग्य डाक्टर, इन्जिनियर सबका सब दिनका दिन बाहिरिएका छन्, आखिर अन्तिममा यसको नतिजा कस्तो आउने हो?
भयो, अब त अति भयो। हाम्रो पनि मन छ आफ्नै देशमा बस्ने। त्यसैले हामीलाई हाम्रै देशमा बसेर हाम्रा आवश्यकता पूर्ति हुने रोजगारीको व्यवस्था गरिदेऊ सरकार। ताकि कोही पनि आमा-बाबा सन्तानका सम्झनामा मरे तुल्य भई तड्पी तड्पी बिछोडिएर बस्न नपरोस्।