मस्त निन्द्रामा सुतेका बुढानीलकण्ठका पाउमा आफ्नो शिर ठोक्दै एउटी महिला रोइरहेकी छिन्- ‘मलाई एक पटक मौका दिनुहोस् प्रभु।’
म छक्क परेर हेरिरहेँ। उनले पटक पटक पुकार्दा पनि भगवान् उठ्नु नै भएन। ह्या! सुतिरहेका भगवानलाई के डिस्टर्ब गरिराख्या होला यो दिदी पनि भन्दै के थिएँ, नारायण भगवान् त ‘गुड मर्निङ’ भन्दै साँच्चिकै प्रकट पो हुनु भयो।
‘कस्तो मौका चाहियो तिमीलाई?’ भनी भगवानले प्रश्न गर्दा, ‘म आफ्नो मातृत्वलाई सुधार्न चाहन्छु प्रभु! कृपया मलाई मेरो २० वर्ष अगाडिको समय फिर्ता गराइदिनुस्!’ पो भन्छिन्।
भगवान् पनि कति सोझो होला, ‘तथास्तु’ भन्दै विलीन हुनुभयो।
‘तथास्तु’ को प्रतिध्वनि आइरहेको बेला अचानक ‘सातु सातु’ भनेको आवाज आयो। श्रीमानलाई सातु खान परेछ।
सातु घोलिरहँदा मलाई अघिको सपनाले बिपनामा पनि पच्छ्याउन छोडेन। आखिर ती महिलालाई किन मातृत्वमै पुनः परीक्षा दिनपर्ने अवस्था आइपरेछ? आफ्नै मातृत्वप्रति शंका लाग्ने के त्यस्तो काम बिगारिछिन् होला है?
दिमाग एकोहोरिन थाल्यो मेरो। सातु धेरै बेर घोलिसकेपछि पनि दिने कुरै नगरेपछि उताबाट, ‘सातुबाट नौनी निस्किन आँटिसक्यो, लौन! अब त देऊ’ भन्ने आवाज आयो। मेरो एकाग्रता भंग भयो।
अँ साँच्चै! ती महिलाको जस्तो वास्तवमै सुधार गर्न पाउने मौका मिल्थ्यो भने, मैले कहाँ-कहाँ टिपेक्स लगाउने थिएँ होला मेरा गल्तीहरूमा भन्दै आत्मसमीक्षा गर्न थालेँ।
हैट! मेरा उत्तरहरू त टिपेक्स हैन, सबै सेतो पालिस लगाए जस्तो हुन्थ्यो होला। ‘जस्ट पास’बाट फेरि ‘डिमोसन’ भएर फेल नै पो भइएला कि भन्ने डर लाग्यो। भो नदिने मौका परीक्षा म त।
तर फेरि ‘मौका आउँछ पर्खिँदैन बगेको खोला फर्किँदैन’ भनेर मनबाटै इको आएपछि मैले मेरो डरलाई काबुमा पारेँ। आ! जे पर्ला पर्ला, देखा जाएगा भन्दै लागियो भूल सुधार गर्न।
आमा बन्ने क्रममा कहाँनेर म चुकेछु त? मौका पाए आफूले गरेका गल्तीहरूलाई मैले कसरी सच्याउने थिएँ होला? के गर्न पाएको भए मैले मेरो सन्तानलाई अझ राम्रो बनाउन सक्थेँ होला? यस्तै यस्ता कुराहरूको स्मरण गर्दै मेरो मस्तिष्कले विगतका घटनाहरू खोज्न माइपोखरीमा डुबुल्की मार्यो।
आमा बन्ने गुमिसकेको मेरो सपना चार पटकको गर्भपतन पश्चात् साकार भएको थियो। त्यो क्षण मलाई संसारभरिकै खुसी पाएको अनुभूति भयो। आफ्नो जीवनले पूर्णता पाएको आभास भएको थियो।
सात नबजी नखुल्ने मेरा आँखा अब कैयौँ रात खुसी खुसी जागराम बस्न थाले। बच्चाले ‘च्या’ मात्र गर्नु पर्थ्यो, सास फेरि रहेको छ कि छैन, दिसा पिसाब पो गर्यो कि? भोक पो लाग्यो कि? पेट पो दुख्यो कि? ला! टोपी त झरेन? हजारौँ सवालहरू मनमा खेल्ने गर्थे।
बच्चाले टन्न खाएको दिन विश्व युद्ध नै जिते जस्तो महसुस हुन्थ्यो अनि आफू भोकै भए पनि बच्चाले राम्रोसँग खाएपछि आफै अघाएको जस्तो अनुभूति हुन्थ्यो। आफूले खाँदै गरेको गाँसलाई छोडेर उनको आका सफा गरिदिनु मेरो प्राथमिकता बन्न थाल्यो।
उनी बिसन्चो भएर रुँदा म पनि उनी सँगसँगै रुन थाल्थेँ। अनि उनको हरेक सफलतामा थाहै नपाई खुसीको आँसु बग्थ्यो। आफूले आफ्नो बाल्यकालमा नपाएको सुख सुविधा अनि संसारभरिकै खुसी सबै दिन पाए हुन्थ्यो जस्तो लाग्ने साँच्चै विचित्र हुँदो रहेछ, सृष्टिकै सुन्दर रचना आमाको माया।
मेरो पहिलो प्राथमिकता अब म आफू नभएर उनी बन्न थालिन् अनि त्यसमा नै म धेरै खुसी हुन थालेँ। थाहै नपाई आफ्नो भन्दा बढी त उनको पो माया लाग्न थाल्यो। यस्तो अनुभव मलाई आमा हुनुभन्दा पहिला कहिल्यै भएको थिएन। सायद असीमित माया भनेको पनि यही नै होला।
फ्रेस मदरहुडको फ्ल्यास ब्याकमा जाँदै गर्दा, आफ्ना डुज् र डन्ट्जहरू केलाउन थालेँ।
बच्चालाई स्तनपान गराउने आमाले मात्र असली आमाको ट्रफी पाइन्छ भन्ने सामाजिक मान्यताको सिकार मैले पनि बन्नु पर्यो। साह्रै मन दुख्थ्यो। कुनै पनि आमाले आफ्नो सन्तानलाई स्तनपान गराउन नपरोस् भन्दिनन् होला। कोही बाध्यताले बाँधिएका हुन्छन् त कसैले लाचार वश फर्मुला अनि पम्प प्रयोग गर्नु परेको हुन्छ। आहार दिने तरिकाले मात्र आमालाई परिभाषित गर्दैन। मुख्य कुरा यो हो कि बच्चाले पेटभरि खाना, टाउको लुकाउन सुरक्षित छाना, जीउ ढाक्न सफा नाना र न्यानो माया पाएको छ या छैन?
‘पर्फेक्ट’ आमा बन्न नसकिने पो हो कि भन्ने ‘मम गिल्ट’ सधैँ हुन्थ्यो। तर वास्तवमा एकैचोटिमा कोही पनि पर्फेक्ट नहुँदो रहेछ। गल्ती गर्दै अनि सिक्दै भोग्दै गर्दा आफैँ पोख्त भइने रहेछ। कसैले भनोस् या नभनोस्, आफूले आफैलाई ‘गुड जब, यु आर द बेस्ट’ भनेर पछाडिबाट धाप मार्नु पर्ने रहेछ।
आफ्नो बच्चालाई संसारको सबै खुसी दिन कसलाई पो मन हुँदैन र? तर व्यवहारिक तरिकाले सोच्ने हो भने आमाको काख, स्पर्श, माया, डाइपर, पोसिलो आहारले नै बच्चालाई सहज महसुस हुन्छ, न कि महँगा खेलौना र ग्याजेटले।
आफ्नो सँगसँगै जन्मिएर हुर्किएका केटाकेटीहरूसँग तुलना गर्नु मूर्खता रहेछ। सँगै जन्मेको फलानोको बच्चाले बोल्न थालिसक्यो, मेरो त लाटी पो हुन्छे कि? फलानाको बच्चाजस्तै अटिजम पो हुने हो कि? फलानाको छोरा त कस्तो खाइलाग्दो, मेरो त खानै नपाएको जस्तो। यस्ता कुराहरूले अनावश्यक तनाव मात्र पैदा हुन्छ। हरेक बच्चाको आफ्नै क्षमता र गति हुँदो रहेछ। माइलस्टोनहरू दौड प्रतियोगिता होइनन् भन्ने बुझ्नु जरुरी रहेछ।
फुर्सद नपाएर धेरै दिनपछि ऐना हेर्दा, मेरो हालत देखेर ऐनाले नै गिज्याउँथ्यो मलाई। आफ्नो कन्फिडेन्स हराउँदै गएको देख्दा लाग्थ्यो मेरो जिन्दगी यहीँ पूर्णविराम भयो। तर म गलत रहेछु। मैले त आफ्नो न्यू भर्जनलाई इन्जोय गर्न पर्ने थियो। एउटा झुसिल्किरा सुन्दर पुतलीमा रूपान्तरित भए जस्तै पहिला आफूले आफैँलाई स्वीकारेपछि अरूको प्रमाणीकरणले केही मान्यता नराख्दो रहेछ।
अधिक सुरक्षात्मक नभएको भए पनि हुने रहेछ, अहिले आएर थाहा भयो। मैले गरेको हेलिकप्टर पेरेन्टिङ स्टाइल गलत रहेछ। उसलाई गल्ती गर्न दिनुपर्ने रहेछ। गल्तीबाट छिटै सिक्ने रहेछन् केटाकेटीले। अघि बढ्नको लागि उनीहरूले चुनौतीहरूको अनुभव गर्न आवश्यक रहेछ।
आफ्नो स्याहार गर्नु भनेको स्वार्थी हुनु होइन रहेछ। मैले आफ्नो लागि पनि समय निकाल्नु पर्थ्यो कि? मैले आफूलाई माया नगरेकोले मेरो आफ्नो तनावको सिकार मेरा बच्चा र परिवारले हुनु पर्यो। पोस्टपार्टम इमोसन्स, मुड स्वीङ जस्ता कुरा पनि हुन्छन् भन्ने थाहै थिएन। टाउको दुखेको भन्दै सिटामोल खाँदै बसियो। अहिले भएको भए सायद सहयोग माग्ने थिएँ होला।
केटाकेटीका खेलौनाहरू र तिनले लथालिङ्ग पारेको घर सम्हाल्न हम्मे-हम्मे पर्थ्यो। कहिले हुर्किन्छन् अनि सफा घरमा बस्ने होला जस्तो लाग्थ्यो। त्यस बेला दुःख अनि दिक्क लाग्ने ती दिनहरू अहिले स्मरण गर्दा फेरि तिनै दिन फर्केर आए पनि त हुन्थ्यो जस्तो लाग्दो रहेछ। उनीहरूसँग उनीहरू जत्रै बनेर खेल्नु पर्ने रहेछ। सोधेका हरेक प्रश्नहरूको झर्को नमानी जवाफ दिएर उनीहरूको कौतुहलताको समाधान निकाल्नु पर्ने रहेछ। ‘क्वालिटी टाइम’ भन्दा रहेछन् त्यसलाई।
हैट! म त माइपोखरीमा डुबुल्की मार्न गएको एट्लान्टिक महासागर नै पुगेछु कि क्या हो?
आमा बन्ने क्रममा गल्तीहरू धेरै हुन्छन्। गल्तीहरू भए भन्दैमा त्यसमा आत्मग्लानि गर्नुपर्छ भन्ने पनि छैन किनकि मातृत्व आफैमा एउटा कठिन उतारचढावको परीक्षा हो। त्यसैले यो पर्फेक्ट हुन जरुरी छैन।
सृष्टिको सुरुआतदेखि नै हरेक आमाहरूमा पाइने मातृत्वको मूल मर्म एउटै रहँदै आएको छ- त्याग, समर्पण र निःस्वार्थ प्रेम। मेरी आमाले मलाई गरेको प्रेम, मैले मेरो सन्तानलाई गरिरहेको प्रेम र मेरो सन्तानले भविष्यमा उनको सन्तानलाई गर्ने प्रेमको एउटै निष्कर्ष हो निस्वार्थ प्रेम।
अनि अर्को कुरा, मातृत्व लेनदेन प्रक्रिया पनि होइन।’मैले तिमीलाई नौ महिना पेटमा बोकेँ, हुर्काएँ, बढाएँ तर खै त त्यसको गुन तिरेको?’ जस्ता कुराहरूले केटाकेटीलाई इमोसनल ब्ल्याकमेल गर्नु ठिक होइन। यसले मातृत्वको पवित्रतालाई नै धमिल्याउँछ। यो एउटा निःस्वार्थ यात्रा हो, व्यापार होइन। प्रत्यक्ष रूपमा केही पनि फिर्ता पाउने अपेक्षा रहन्न, स्वतःस्फूर्त रूपमा आउने निःस्वार्थ प्रेम हो मातृत्व।
तर सन्तानको नामबाट आफ्नो परिचय दिन पाउँदा गर्वले छाती फुल्ने, उनीहरूको प्रगति अनि खुसीमा नै आफ्नो खुसी खोज्ने जस्ता भावनात्मक पुरस्कारहरूको अपेक्षा भने पक्कै पनि हुने रहेछ यसमा।
सपनामा देखेकी महिलाले कस्तो करेक्सन गरिन् थाहा भएन, मैले चाहिँ यस्तै दिएँ है मौका परीक्षा। करेक्सन गरेको ठिक भयो कि भएन नम्बर दिनुहोस् ल!