घडीमा ठीक १२ बजेको छ। सतुंगल आइपुगेकी छु। ठूलो साझा बस पूर्णत: खाली छ। म हराएकी छु जीवजन्तुको नौलो संसार 'क्याथ्रिन आपलगेट' को विश्व चर्चित पुस्तकमा।
न्यूयोर्क टाइम बेस्टसेलर भएको चर्चित किताब अचला पोख्रेलले नेपालीमा अनुवाद गर्नुभएको रहेछ। यस घडी म सोही किताब पढ्दै छु 'एउटै मात्र इभान'।
जनावरको मन, मस्तिष्क पढेर उनीहरूको विचार, भावना, भाषा र संवेदनालाई कति मज्जाले यहाँ व्यक्त गरिएको छ।
किताबले मलाई निकै चिन्तनशील बनाइरहेको छ। कुराहरू झुत्ति खेल्दैछन् मनमा। बुढानिलकण्ठतिर जाने साझा बसमा छु। वरिष्ठ कथाकार भागीरथी श्रेष्ठ दिदीको घर मेरो गन्तव्य हो। गुञ्जन नारी साहित्य संस्थाको कोठे बैठकमा मलाई पनि वक्ता बनाएर बोलाइएको छ। यो संस्था स्थापना भएको २६ वर्ष पूरा भएर २७ वर्ष लागेछ। नारीहरू एक भए असम्भव कार्य पनि पक्कै सम्भव हुन्छ भन्ने उदाहरण हो गुञ्जनको स्थापना।
सफलताको शिखरमा यो संस्था अझ अगाडि पक्कै बढ्ने छ भन्ने विश्वास छ। मेरो आजको जिम्मेवारी छ भागीरथी श्रेष्ठको कथा संग्रह 'क्रमशः' मा आफ्ना विचारहरू राख्नुपर्ने। एक साता अगाडि नै दिदीले मलाई भन्नुभएको थियो, ‘अनिता बहिनी २४ गते बिहीबार मेरो किताबमा तपाईंको पाठकीय प्रतिक्रिया प्रस्तुत गर्नुपर्छ है।’ दिदीका कुरा मैले नमान्ने कुरै थिएन। मैले सहर्ष आउँछु भनेँ तर एउटा समस्या थियो, दिदीको घर देखेकी थिइनँ।
अनि मैले भनेँ, ‘दिदी म कसरी आउनु हजुरको घर मैले देखेको छैन।’
दिदीले नै सुझाउनुभयो, ‘ईल्या भट्टराईसँग आउनू न, तपाईंलाई सजिलो हुन्छ।’
म ढुक्क भएँ।
गुर्जुधाराबाट ईल्या दिदीको घर जान्छु अनि दिदीसँग उता जाउँला भन्ने योजना बनाएकी थिएँ। दिदीको घर कता हो भनेर पनि सोधिनँ। अनि जाने दिन बिहानै ईल्या दिदीलाई फोन गरेँ। मेरो योजनाको बाटोमा रुघाखोकीको पर्खाल लागिसकेछ। ईल्या दिदी रुघाले ग्रस्त हुनुभएछ। दिदी नजाने हुनुभयो। बिहानसम्म ढुक्क थिएँ दिदीको साथमा जान्छु भनेर तर पुनः नवीन योजना बनाउनु पर्यो। अनि भागीरथी दिदीलाई फोन गरेँ , ‘दिदी अब म कसरी आऊँ ईल्या दिदीलाई त बिसन्चो भएछ ?’उताबाट भागीरथी दिदीले सल्लाह दिनुभयो, ‘मेरो घर आउन सजिलो छ बहिनी तपाईँ गोल्फुटार कटेपछि डाइमण्ड स्कुलमा ओर्लनुस् बाटैको चार तले घरको ठीक पछाडिको अर्को घर नै हो मेरो घर, अलमल भयो भने फोन गर्नुस् म लिन आउँछु।’
दिदीका कुराले अझ ढुक्क भएँ। गुर्जुधाराबाट सोझै बूढानीलकण्ठ जान्छ साझा बस। त्यसैमा जान्छु झन् सजिलो हुने भयो भनेर चढेकी छु अहिले साझा बस।
गाडी कतै जाम नखाइकन हुइँकिएको छ। नारायण गोपाल चोक पुगेपछि मेरा आँखा किताबबाट हटे। धेरै दिन भएछ यो बाटो नहिँडेको। म हेर्दैछु सडक किनाराका घर, पसल र बाटोहरू। गाडी गोल्फुटार कटेपछि म अझ चनाखो भएँ।
‘डाइमण्ड स्कुल झर्ने झर्नुस् है’ सहचालक भाइले भन्दा म सतर्क भएँ। मेरा आँखा सडकका किनारतिर अझ बरालिएका थिए। झरेँ डाइमण्ड स्कुलको ठीक अर्को किनारमा। चार तले घर पनि देखेँ तर स्कुलतिरै लागेँ। स्कुल अगाडि गएर दिदीलाई फोन गरेँ। दिदीले, ‘ल म आउँछु।’ भन्दै फोन काट्नुभयो। आखिर म ओर्लिएकै किनारमा रहेछ दिदीको घर, चारतले घरकै ठीक पछाडि। दिदी र मेरो भेट भयो। सोही घडी एउटा गाडी हाम्रो नजिकै आयो। डाक्टर रजनी ढकाल र शान्ति सापकोटा हुनुहुँदो रहेछ गाडीमा। भर्खरै नयाँ सम्बन्धमा बाँधिनुभएका सम्धिनीहरू निकै प्रफुल्ल मुद्रामा हाँस्दै आउनुभयो। हामी भागीरथी दिदीको घरभित्र प्रवेश गर्यौं।
भुइँ तल्लामा रहेछ भागीरथी दिदीको अध्ययन कोठा भित्ताभरि छन् सम्मानका तस्वीरहरू। ‘दकस’ कथा आँखामा नाच्न थाल्यो। मन हुँडलियो। हृदय चोक्टियो। नारीहरू कुन उमेरसम्म बन्धित जीवन बाँच्न विवश हुनेरहेछन्। कति फुकाउलान् बन्धनका साङ्ला। सम्मान र मायाको चिनोको चाङ कथामा भनेको जस्तै थुपारिएको देख्छु। सानो भान्सा नजिकै छ। किताबको दराज एउटा कुनामा छ। पलङको सिरानीमा किताब, डायरी, कापीहरूले कथाकारको व्यक्तित्व बोलिरहेको छ। स्टडी ल्याम्प स्थिर छ। सानो पलङ्गमा गुलाबी तन्ता तनक्क तन्काएर कसेको देख्छु। दकसबाट बाहिर आउँछु। पलङ्गमा देख्छु गुलाबी सारीमै सजिएकी देवी समान सौन्दर्य लिएर बसेकी अग्रज नारी स्रष्टा। परिचय छैन उहाँसँग तर पनि मेरा आँखाले नमन गर्दैछ बारम्बार। उहाँको मुहारमा छुट्टै किसिमको ऊर्जा फैलिएको छ। मसँगै छेउमा बस्नुभएकी डाक्टर रजनी म्यामलाई खुसुक्क सोध्छु उहाँको परिचय। रजनी म्यामले नै परिचित गराउनुभयो गङ्गा कर्माचार्य पौडेलसँग।
अविश्वसनीय जीवन कथा सुनेर स्तम्भित भएँ। रजनी म्यामले नै सुनाउँदै हुनुहुन्छ उहाँको जीवन संघर्षका कथा। अपत्यारिलो आदर्श प्रेम प्रसङ्गको बडो रोमाञ्चक इतिहास। साँच्चै प्रेम पवित्र हुन्छ। प्रेममा स्वार्थ छैन, प्रेम धोका होइन, प्रेममा सौदा हुँदैन भन्ने यथार्थ र आदर्श अझ जीवित छ भन्ने लाग्दै गयो। शारीरिक रूपमा भिन्न अस्तित्व लिएर जन्मिएकी एक बौद्धिक कन्यामाथि एउटा चित्रकारको दृष्टि कति निश्छल, कति पवित्र, कति आदर्श। अस्पतालको बिरामी भूगोलमा प्रेमको बिरूवा उम्रिन्छ। बडो कष्टका साथ प्रेम पत्र सुरक्षित गर्दै अगाडि बढेको प्रेम आखिर सफल भएछ।
आजभन्दा पचास वर्ष अगाडिको कट्टर नेपाली समाजमा काठमाडौंका खाँटी बाहुन परिवारमा हुर्किएका केटा र स्याङ्जाकी नेवार परिवारमा हुर्किएकी केटी, त्यो पनि शारीरिक रूपमा केही फरक किसिमकी, कसरी स्वीकार गरे होलान् यो सम्बन्धलाई भन्ने सोच्न म बाध्य भएँ। गंगा दिदीलाई नै अनुरोध गरेँ, ‘दिदी अब आत्मकथा छिट्टै लेख्नुस्, यो किसिमको प्रेम अब त चलचित्रमा पनि भेट्टाउन मुस्किल पर्छ।’
मेरो कुरा सुनेर दिदीले पनि लेख्ने योजना गरेको जानकारी दिनुभयो। दिदीको कुराले म निकै हर्षित भएँ। कार्यक्रममा अग्रज दिदीहरू आउने क्रम जारी छ। देख्दैछु वरिष्ठ कथाकार माया ठकुरी दिदीलाई। कोठा उज्यालो भयो दिदीको उपस्थितिले। माया दिदीको व्यक्तित्व, आहा! निधारमा रातो ठूलो टीका। सेतो कुर्ता सुरूवालमा गुलाबी बुट्टा। ऊर्जावान् मुहार। हँसिलो ओठ। शालीन दिदी निकै उज्याली देखिनुभएको छ। कथाकार जलेश्वरी श्रेष्ठ, हिरण्य कुमारी पाठकलगायत अग्रज दिदीहरू आउनुभयो। नारीहरूको प्रयासमा गठन भएको गुञ्जनले निकैवटा साउनको हरियाली भोगेको रहेछ। यो संस्थाले सहअस्तित्वको वकालत पनि गर्ने रहेछ। यहाँ विभिन्न विधाका साहित्यकारहरू जम्मा हुनुभएको छ। नारीहरूको कार्यक्रममा आदरणीय पुरूष साहित्यकारहरूलाई पनि आमन्त्रित गरिएको रहेछ। गुञ्जनको विशेषता नै हो यस्तो किसिमको उपस्थिति। म देख्दैछु श्री ओमरोदन श्रेष्ठज्यूलाई, त्रिभुवनचन्द्र वाग्लेज्यू, राधेश्याम लेकाली ज्यूलाई। सबै जना उपस्थित भएपछि कार्यक्रम औपचारिक रूपमा आरम्भ भयो।
नारायण तिवारी सरको भागमा कथाकार भागीरथी श्रेष्ठका समग्र कथा र कथाकारिताका बारेमा बोल्नु पर्नेछ। उहाँले श्रेष्ठका ६ वटा कथा संग्रहका ११७ थान कथा पढ्नुभएको रहेछ। निकै उम्दा तरिकाले उहाँले आफ्नो जिम्मेवारी निभाउनुभयो। अब पालो आयो ज्ञाननिष्ठ ज्ञवाली सरको उहाँको भागमा रातो गुलाफ कथाको अन्तर्य खोल्नुभयो साथै तिजका भाकामा केहीबेर गुञ्जनको कोठालाई गुञ्जित पार्नुभयो। अनि मेरो पालो आयो मैले पनि क्रमशः कथाको बारेमा आज र हिजोलाई तुलना गरेर जे जानेकी थिएँ सोही कुरा व्यक्त गरेँ।
कार्यक्रमले अर्को मोड लियो। अबको पालो थियो। कविता वाचनको। सबैले आ-आफ्ना कविता सुनाउने क्रममा शान्ति सापकोटाको ‘छोरी बिदा गरेपछि’ शीर्षकको कविता छन्दमा वाचन गर्दा प्रायःको आँखामा साउन ओर्लियो। यस्तो गजबको माहोल सिर्जना भयो कि आडैमा छोराकी आमा डाक्टर रजनी ढकालको आँखाबाट पनि छोरीकी आमाको पीडा पोखिन थाल्यो। म पनि दुई वटी छोरीकी आमा झलझल देख्न थालेँ छोरी अन्माएपछिको मेरो मनको उजाड बस्ती, छोरी बिदा भएपछि घरको त्यो शून्य प्रहर। छोरी बिदा गरेपछिको त्यो विकलता। छोरी बिदा भएपछि उत्पन्न भएको छोरीका ती मधुर आवाज, स्नेही पाइला, चञ्चल हाँसो, घरै उज्यालो पार्ने मुहार नहुँदा उत्पन्न भएको भ्रान्तिपूर्ण अवस्था। शान्ति सापकोटाले बडो मुस्किलले कविता वाचन गरिसक्नुभयो। वाचन गर्दागर्दै हृदयको मूल फुटेर तीन चार चोटि आँखाबाट संवेदनाको बाढी आइरह्यो। शान्ति सापकोटा शान्त भएपछि पालो आयो छोराकी आमा रजनी ढकालको, अहो! कविता अपूरो भए पनि छोरीकी आमालाई सन्तोषको सार फेर्ने किसिमको कविता थियो ‘तिम्री छोरी मेरी घरकी उज्यालो छर्ने छोरी भएकी छन्’ भन्ने भावको थियो।
पल्लो घरको उज्यालो आफ्नो घरमा भित्र्याउँदा छाएको रमाइलो वातावरणको बयान उत्कृष्ट लाग्यो। आशा छ डाक्टर रजनी ढकालको त्यो सुन्दर कविता चाँडै पढ्ने अवसर प्राप्त हुने नै छ। अबको पालो माया ठकुरी दिदीको थियो दिदीले बडो सुन्दर तरिकाले हजुरआमा र आमाको पालाको तिज भाका गाएरै सुनाउनुभयो। त्यो बेलाको समाज र सम्बन्ध कस्तो थियो भनेर व्याख्या पनि गर्नुभयो। नारीहरू कस्ता विषयमा केन्द्रित थिए भन्दै गहनाको महत्त्वलाई लिएर गाइएका तिजका भाकाहरू गाएर सुनाउनुभयो। अभाव र पीडा मिश्रित भावना काव्यमार्फत् पोख्न नारीहरू निकै सिपालु थिए त्यो बेला। त्यो बेला पनि आफ्नो अस्तित्व रक्षाका लागि प्रतिकार गर्थे नारीहरू। क्रान्ति गर्न पछि हट्दैनन् थिए भन्दै एउटा तिज गीतमार्फत् कथा भन्नुभयो, ‘पश्चिमको कुनै गाउँका चेलीहरूलाई तिजमा दाजुभाइ लिन नआएपछि तीन चारजना चेलीहरू एकबद्ध भएर माइती देशतिर लागेछन्। बाटोमा ठूलो नदी तर्नुपर्ने रहेछ। नदीछेउमा केवटहरू रहेछन्। बडो विनयशील भएर ती नारीहरूले दाजुभाइको साइनो लगाएर नदी तारीदिन अपिल गरेछन् तर समाजमा राम्रा र नराम्रा मान्छेको उपस्थिति जहिले हुन्छ हिजो पनि ती मान्छे थिए आज पनि छन्। नारीले कसैको बिगार गर्नु पर्दैन। ती खराब मान्छेहरूको दुष्ट प्रवृत्ति नारीलाई देखेपछि नै जागृत हुनेरहेछ। खोला तार्न बसेका नाविकहरू अरूको श्रीमतीहरूलाई भन्छन्, ‘नदी त तारिदिउँला तर एउटा सर्त छ तिमीले हाम्रो सिन्दुर लगाउनुपर्छ।’
सबै संवाद गीतको भाकामा सुनाउँदै हुनुहुन्छ माया दिदी बडो रोमाञ्चक छ माहोल। ती स्वाभिमानी नारीहरू भन्छन्, ‘तिम्रो सिन्दुर लगाएर खोला तर्नुभन्दा हेलिन्छौं नदीमा आफ्नै हातले पानी खियाउँदै जान्छौं माइती देशमा।’ गीतिकथाले कार्यक्रमको सौन्दर्य अझ चम्काउँदै छ। हिरण्यकुमारी पाठक दिदीले कथा वाचन गरेर सुनाउनुभयो। डाक्टर सुलोचना मानन्धरले छोटो कविता वाचन गर्नुभयो जुन निकै सशक्त थियो, ‘रात गर्भवती छ, प्रतीक्षा गर्नुहोस् महोदय भोलि सूर्य जन्मने छ।’ भागीरथी दिदीले नारायण गोपालको गीतमाथि निकै न्याय गर्नुभयो। कार्यक्रमको समापन जलेश्वरी दिदीले गर्नुभयो।
अन्तिममा सुस्वादु भोजन ग्रहण गरेर रजनी म्यामको गाडीमै म पनि आएँ नारायण गोपाल चौकसम्म। गाडीमा पनि निकै रमाइला प्रसङ्गहरू सुन्न पाइयो। शान्ति म्याम र रजनी म्यामको पहिलो भेटघाट। छोराछोरीको बिहेको लमी दुई वटी आमाहरू नै भएको बडो रोचक प्रसङ्ग। त्यो पनि आकाशमा गरिएको बिहेको छिनोफानो। दुवैका सन्तान कति शालीन। आमाहरूप्रति कत्रो विश्वास आजको जमानामा। आजका परिपक्क सन्तानहरूले आफ्ना आमाहरूप्रति गरेको विश्वास कति नमनीय। छोराछोरीको बिहेपछि सम्धिनीहरू बीचको प्रेम लोभलाग्दो छ। जहाजमा माया दिदी हराएको बडो रमाइलो किस्सा माया दिदीले सुनाउनुभयो। वातावरण रमाइलो भएर होला समय त फुत्तै बितेछ। म दिदीहरूसँग बिदा भएर पुनः साझा बसबाट मनभरि रमाइलो पल बोकेर गुर्जुधारातिर आएँ।
अनि ल्यापटपमा औंलाहरू चलाउँदै भागीरथी दिदीको घर जाँदाको अनुभवलाई सुरक्षित पार्न थालेँ।