नेपालजस्तो विकासोन्मुख देशका मध्यम वर्गीय परिवारका युवाहरूको मुख्य सपना हुन्छ सरकारी सेवामा प्रवेश। त्यो चाहना मात्र होइन, दृढ संकल्प पनि हो; देश र समाज र परिवारप्रतिको दायित्व पूरा गर्ने।
म पनि तिनै सपना देख्नेहरू मध्येबाट एक पर्छु। एक वर्षको कडा मेहनतपछि लिखित र अन्तर्वार्ताका चरण पार गर्दै मोबाइलमा ‘निजामती सेवा प्रवेश गर्नु भएकोमा बधाई’ भन्ने म्यासेज आउँदा संसार जितेजस्तो लागेकै हो।
म यदि गर्ने ठाउँमा भइदिए बल्ल कसरी काम गर्नुपर्छ देखाइदिन्थेँ भन्ने हुटहुटी आजबाट लाग्न थालेको होइन। सायद एसएलसी पास गरेपछि जब अलिअलि राजनीतिक, सामाजिक चेत पस्न थाल्यो, जब सरकारी निकायमा ठक्कर र हन्डर खाइयो त्यति बेलाकबाटै लागेको हुनुपर्छ। त्यही हुटहुटीले र देशको लागि केही गर्नुपर्छ भन्ने जोसले नै होला मेहनत सुरु गरेको एक वर्षमै नेपाल सरकारको रा.प तृतीय अधिकृत स्तरको कर्मचारीका रूपमा एक विशिष्ट निकायमै कार्यरत छु।
म कहिलेकाहीँ सोच्छु, मेरो यो तीन महिनाको कार्यकालमा के म आफैँलाई आफ्नो काम सन्तोषजनक लाग्छ?
पक्कै पनि लाग्दैन।
के पहिलेको त्यो केही गर्नुपर्छ भन्ने हुटहुटी सरकारी सेवा प्रवेश गर्ने बित्तिकै हराएको हो त?
त्यो पनि होइन।
तर मैले यो तीन महिनामा सिकेको कुरा बाहिर बसेर बोलेजस्तो सहज रहेनछ नेपालको कर्मचारी प्रशासन। हुन त मेरो परीक्षणकालको जम्मा तीन महिना मात्र भयो। धेरै कुरा सिक्दैमा गयो र अझै धेरै सिक्न बाँकी पनि छ। तर कहिलेकाहीँ आफैँले गर्ने काम साह्रै झन्झटिलो लाग्छ मलाई। बल्ल २४/२५ वर्षको युवा जोस र अलिअलि पश्चिमी प्रणालीको प्रभावले पनि होला एउटा सेवाग्राहीले सहजै पाउनुपर्ने सेवाका लागि गर्नुपरेको दौडधुप आफैँलाई चित बुझ्दैन।
कहिलेकाहीँ मनमनै गाली गर्छन् सेवाग्राही, झ्याप्प मुख फोर्न सक्दैनन्। म आफूलाई उनीहरूको ठाउँमा राखेर हेर्छु, गाली जायज पनि छ। निजामती सेवा प्रवेशपछि साथी सर्कल पनि त्यही किसिमको हुने गर्छ। नयाँ मान्छे भनेपछि चाख दिएर सुनाउँछन् साथीहरू निजामतीका नयाँ नयाँ किस्सा।
निजामती प्रशासनभित्र आफ्नो कामप्रति यति धेरै वितृष्णा छ जुन आफ्नो नजिकको मान्छेसँग एक भेटमै अनुमान गर्न सक्नुहुनेछ हजुरहरू पनि। हामीले यो कस्तो सिस्टम बसाल्यौँ जसमा एउटा सानो कागज छुट्दैमा सेवाग्राहीले अति जरुरी सेवा नै पाउँदैनन्! लाइन बसेर कर तिर्नुपर्छ। कोही चिने जानेको मान्छे छैन भने अलि भिडभाड हुने अड्डाबाट सेवा लिन महिनौँसम्म कुर्नुपर्छ। त्यसैमाथि कर्मचारीका ती जवाफ! मैले पनि भोगेको छु यो, यातायात कार्यालयमा यस्तै व्यवहार देखेपछि दोस्रो पटक छिरेको छैन म पनि।
यही क्षेत्रमा प्रवेश गरेपछि मेरो आफूलाई आवश्यक परेको अड्डामा चिनजान होला, साथीत्वको हिसाबले मेरो काम चाँडो गर्देलान्। तर मेरो काम भयो भन्दैमा यस्तै हो नेपालमा यही चल्छ भन्ने छुट मलाई छैन।
कहिलेकाहीँ मलाई एकदम वितृष्णा हुन्छ, लाग्छ म यो परिधिमा अटाउने मान्छे रहेनछु कि! लोक सेवा तयारी गर्दाको समयमा के गर्दै छस् भन्ने प्रश्नले आजित भएर विदेश जाँदै छु भन्ने बाहेक आजसम्म मैले बिदेसिनुको नाममा डिभी भरेको पनि छैन। यही देशको माटोमा केही गर्नुपर्छ भन्ने सदैव थियो तर लगानी र प्रतिफल आउने समय कुर्न नसक्दा लोक सेवाको बाटो अपनाइयो। यहाँ पनि राज्यको फोकटको तलब खाएर बस्नु छैन।
आजकल कति बेला आफ्नो निर्णयप्रति डर लाग्न थालेको अनुभव गर्दै छु। निजामती प्रशासनप्रति नकारात्मक सोच यति छ कि मैले घुस खान्न, राम्रो काम गर्छु भन्दा गलल हाँसेर उडाइदिन्छन् मान्छेहरू।
यति हुँदाहुँदै पनि हामीलाई हार मान्ने छुट भने कदापि छैन। नयाँ पुस्ताले पुरानो पुस्ताले जे गर्यो त्यही पच्छाइरहनुपर्छ भन्ने छैन। समस्याको यो चक्रव्यूहमा केही नयाँ गरेर देखाउने हामीसँग अवसर पनि छ। निजामती सेवामा सिक्ने परम्पराको निकै नै ठुलो अभाव छ। केही नयाँ काम आइलागे करारमा काम गर्न लगायो सबैलाई हाई सुखै भयो। यो हिसाबले निजामती प्रशासन चल्नु हुँदैन, कमसेकम सिक्ने भोक हुनुपर्छ।
राजनीतिको आडमा उपसचिव सरुवा गर्ने तम्सिने सुब्बा साबहरू पनि देखियो। माथिको आदेश भन्दै नियुक्ति लिने दिने नै मन्त्रालय फर्काइएका अफिसर साथीहरू पनि देखियो। सरकार परिवर्तनको हल्ला चल्नासाथ ढोग भेट फुकाउन केन्द्र हाँकिने र केही कतै पाइहालियो भने छक्का पन्जा गरिहाल्ने बाहेक धेरै कर्तव्यनिष्ठ कर्मचारीहरू मैले पनि भेटेको छु जसलाई इमानदारिताको पुरस्कार स्वरूप कुनै कामविहीन अड्डामा थन्काएर राखिएको छ।
तथानाम समस्या हुँदाहुँदै पनि न त हामी यसबाट भागेर जान सकियो न समस्या मात्र देखाएर बस्न सकियो। यसको समाधानको बाटो खोज्ने दायित्व पनि हाम्रै हो तर त्यो बाटो त्यति सहज भने हुने छैन पक्कै। इमानदारिताको प्रयास कोही न कोहीबाट पहिले पनि भएकै थियो र भविष्यमा पनि हुने नै छ।
निजामती छिरेका सबै मान्छे पैसा नै कमाउन, घुस नै खान, राजनीति नै गर्न यहाँ आएका थिएनन्। बहुसङ्ख्यक देशकै लागि केही गर्छु भनेर आउनेहरू यो व्यवस्थाको बन्धनमा चल्दा चल्दा कुहिराको काग बनेर कतै हराए।
कता न कता म आफ्नो भविष्य पनि त्यही देख्छु। हामी यस्तो मोडमा छौँ जहाँ न त नागरिकले हाम्रो इमानदारितामा विश्वास गर्छ न कसैको प्रभावमा परेर देशप्रति गद्दारी नै गर्ने सकिन्छ। तर जे भए पनि आफ्नो धर्म छोडिने छैन।
म अझैसम्म आशावादी छु कुनै दिन त्यस्तो आउनेछ जहिले निष्पक्ष स्वच्छ तवरले काम गर्न पाइनेछ। आफूले गरेको सेवाबाट आफैँलाई आनन्द आउनेछ। तबसम्मको लागि संघर्ष गरौँ। हाम्रा पाका पुस्ताले रगत र पसिना बगाएर दिएको बलिदानको गुन हामी कलमले तिर्ने स्थानमा छौँ। कहिलेकाहीँ दिक्क लाग्दा हाम्रो भावी पुस्ताका सपनाहरू हेर्दै आफैँसँग प्रश्न गरौँ; अहिले नगरे कहिले गर्ने? हामीले नगरे कसले गर्ने?