चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रूपैयाँको बजेट ल्याएकोमा शिक्षा मन्त्रालयका लागि दुई खर्ब तीन अर्ब ६६ करोड रूपैयाँ छुट्ट्याएको छ। बजेटले मानव संसाधन विकासमा जोड दिएको छ।
मानव संसाधन विकासमा शिक्षाको भूमिका पहिलो हुन्छ। यो लेख खासगरी मोफसलका सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि सुधारका विषयमा केन्द्रित छ।
बालबालिकाको सोच्ने, समय बिताउने, साथीसँग भेटघाट गर्ने, मनोरञ्जन गर्ने, पढ्ने लगायत तरिका फेरिँदै गएको छ। दुई दशकअघिको तुलनामा आजका बालबालिकामा यी तरिकाहरू अनपेक्षित रूपमा फेरिएका छन्।
बदलिँदो परिस्थिति अनुसार स्कुलमा उपयुक्त शैक्षणिक रणनीति अपनाउनुपर्ने भएको छ।
विद्यालयमा एउटै कक्षाकोठामा विभिन्न जातजाति, वेशभूषा, रहनसहन र परम्पराका विद्यार्थीहरू हुन्छन्। तिनको पारिवारिक पृष्ठभूमि र बौद्धिक क्षमतामा पनि विविधता हुन्छ।
यी सबै विद्यार्थीहरूलाई निर्धारित पाठ्यक्रम र उपलब्ध शैक्षिक सामग्री अनुसार एउटै कक्षाकोठामा पढाउनुपर्ने हुन्छ। सिकाइ उपलब्धिमा शिक्षकको शिक्षण कौशल र वातावरणको प्रभाव सबैभन्दा बढी हुन्छ।
एउटै कक्षाकोठाका सबै विद्यार्थीको सिकाइ क्षमता, इच्छा, रूचि र मानसिक तत्परता एकै हुँदैन। उनीहरूको बौद्धिक क्षमता पनि बराबर हुँदैन।
एउटा शिक्षकले कक्षाकोठाका सबै विद्यार्थीले उच्चस्तरको सिकाइ उपलब्धि हासिल गर्ने गरी पढाउनु गाह्रो काम हो तर एउटा निश्चित उपलब्धि हासिल गर्ने स्तरमा पुर्याउनै पर्छ। यसो गर्नु शिक्षकको दायित्व हो।
सबै विद्यार्थीको सिकाइ क्षमता र अन्य पक्ष एकै नभए पनि सबैले केही न केही सिकेकै हुन्छन्। कक्षाकोठामा सबै विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न विद्यालय प्रशासन, शिक्षक र अभिभावकले आआफ्ना तर्फबाट योगदान गर्नुपर्छ।
विद्यालय प्रशासन
स्कुलको शैक्षिक, भौतिक, आर्थिक, प्राविधिक तथा प्रशासनिक पक्षहरू सुधार गर्दै उपयुक्त शैक्षिक वातावरण निर्माणमा विद्यालय प्रशासनको भूमिका महत्त्वपूर्ण हुन्छ। विद्यालय प्रशासन भन्नु मुख्य रूपमा प्रधानाध्यापक हो।
स्कुल तहमा सामान्यतया चार वर्षदेखि १६-१७ वर्षसम्म उमेरका विद्यार्थी हुन्छन्। यी सबै विद्यार्थीको उच्चतम सिकाइ उपलब्धि हासिल गर्न प्रशासनले विद्यालयमा सकारात्मक वातावरण तयार गर्नुपर्छ।
विद्यार्थीहरूलाई थोरै समयमा पनि विद्यालयको वातावरणले धेरै प्रभाव पारेको हुन्छ। विद्यालयको वातावरण स्वच्छ, शान्त, भयरहित र बालसंगत हुनुपर्छ। विद्यार्थीहरूले आफ्नो विचार व्यक्त गर्न सक्ने, शिक्षकसँग मनको कुरा भन्न सक्ने आत्मीय वातावरण हुनुपर्छ।
विद्यार्थीहरूको पनि आपसमा सहज वातावरण हुनुपर्छ। कुनै पनि विद्यार्थीले आफू साथी र शिक्षकबाट अपमानित भएको, हेपिएको अनुभव नगरोस्।
कदाचित कुनै विद्यार्थीलाई केही अप्ठ्यारो परेमा तुरून्त सहयोग प्राप्तहुने वातावरण हुनुपर्छ। विद्यार्थीहरूबीच आफूभन्दा सानालाई माया गर्ने र ठूलालाई आदर गर्ने परम्परा विकास गर्नुपर्छ।
विद्यार्थीहरूको रूचि र क्षमता एकअर्कामा फरक हुन्छ। स्कुल प्रशासनले यस्ता विद्यार्थीहरूमाझ साझा दृष्टिकोण प्रस्तुत गर्न सक्नुपर्छ। यसो भएपछि विद्यार्थीहरूको पनि साझा दृष्टिकोण बन्छ।
पढाइ र नतिजा प्राप्तिमा विद्यार्थीहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउनुपर्छ। यसो हुँदा उत्कृष्ट नतिजा प्राप्तिमा मद्दत पुग्छ। विद्यार्थीहरूलाई विद्यालय परिसरमा समूह बनाएर व्यावहारिक काममा पनि लगाउनुपर्छ। स्कुल परिसरमा सफाइ गर्ने, बगैंचा र करेसाबारी बनाउने, कक्षा कोठाका भित्ता शैक्षिक सामग्रीले सजाउने जस्ता काममा लगाउनुपर्छ।
यसो गर्दा विद्यार्थीहरूमा सामूहिकता र सहयोगको भावना सिर्जना हुन्छ। नेतृत्व क्षमता अभिवृद्धि हुन्छ। परिश्रम गर्ने बानी विकास हुन्छ। 'म पनि गर्न सक्छु' भन्ने आत्मविश्वास बढ्छ।
विद्यालयमा अभिभावकको नियमित उपस्थिति हुनु निकै महत्त्वपूर्ण हुन्छ। सबै अभिभावक सधैं विद्यालयमा पुग्न सम्भव हुँदैन, आवश्यक पर्ने पनि होइन तर दिनभरिमा कोही न कोही अभिभावक विद्यालयमा हुनुले शैक्षिक गतिविधि सुधार्न मद्दत पुग्छ।
अभिभावकहरू विद्यालय आउने गर्दा उनीहरूलाई विद्यालयको वातावरण थाहा हुन्छ। प्रधानाध्यापक र शिक्षकसँग खुलस्त संवाद हुँदा आफ्ना विद्यार्थी छोराछोरीको शैक्षिक र अन्य गतिविधि थाहा हुन्छ। अन्य बालबालिकको गतिविधि पनि थाहा हुन्छ।
यसो भएपछि घरमा छोराछोरीको पढाइमा मद्दत गर्न पनि सजिलो हुन्छ। अभिभावकको उपस्थितिले शिक्षकलाई पनि आफ्नो जिम्मेवारीमा सजग रहन मद्दत पुग्छ।
विद्यालयको शैक्षिक गतिविधिमा अभिभावकको सहभागिता बढाउने जिम्मेवारी प्रधानाध्यापकको हो।
शिक्षक
विद्यार्थीको सिकाइ उपलब्धि सुधारमा सबैभन्दा महत्त्वपूर्ण भूमिका शिक्षकको हुन्छ। विषयगत नतिजा कमजोर हुनुमा शिक्षक मात्र दोषी हुँदैन, यसमा विभिन्न कारणहरू हुन सक्छन्।
विद्यार्थीको सिकाइ क्षमता, उसको रूचि, कक्षाकोठाको वातावरण, अभिभावकको सहयोग, विद्यार्थीको मेहनत, पाठ्यक्रम लगायतले शैक्षिक उपलब्धिमा प्रभाव पारेको हुन्छ। उल्लिखित पक्षहरू सकारात्मक छन् भने सिकाइ उपलब्धि राम्रो हुन्छ; नकारात्मक छन् भने नराम्रो हुन्छ।
विषयगत नतिजा विश्लेषण गर्ने, नतिजा कमजोर हुनुको कारण पत्ता लगाउने र सुधारको प्रयास गर्ने जिम्मेवारी शिक्षकको हो।
प्रधानाध्यापकको सहयोग आवश्यक भए त्यो प्राप्त गर्ने जिम्मेवारी पनि शिक्षककै हो। अभिभावकको सहयोग लिने जिम्मेवारी पनि शिक्षककै हो।
शिक्षकमा पनि निरन्तर अध्ययन गर्ने र सिक्ने बानी हुनुपर्छ। अपेक्षाअनुसार विद्यार्थीले सिक्न नसक्नुमा कतै मेरो शिक्षण शैलीको पनि दोष छ कि भन्नेमा शिक्षक सजग रहनुपर्छ। विद्यार्थीले सहज ढंगले पाठ्यवस्तु सिक्न सक्ने शिक्षणशैली विकास गर्न शिक्षकको हरदम सिर्जनशील रहनुपर्छ।
उदाहरणहरूबाट सिकाउनु सबभन्दा उपयुक्त शैली हो। यसैअनुसार विद्यार्थीलाई मेहनत गराउनुपर्छ। घोक्नमा भन्दा बढी दैनिक प्रयोगबाट सिकाउनमा ध्यान दिनुपर्छ।
आफूले बनाउन सक्ने शैक्षिक सामग्री बनाउनु र प्रयोग गर्नु, शैक्षिक सामग्री बनाउन विद्यार्थीलाई सहभागी गराउनु पनि शिक्षककै काम हो। निरन्तरको अभ्यासले विद्यार्थीको सिकाइ क्षमता बढ्दै जान्छ। अन्ततः सिकाइ उपलब्धि पनि राम्रो हुन्छ।
सिकाइमा विद्यार्थीसँग छलफलको विधि बढी उपयोगी हुन्छ। हाम्रो परम्परागत शिक्षणमा शिक्षक नै केन्द्रमा रहने हुन्छ। छलफलको विधिमा विद्यार्थी केन्द्रमा हुन्छ।
कक्षाकोठामा विषयवस्तुमाथि छलफलको वातावरण बनाउने काम पनि शिक्षककै हो। कक्षाकोठामा विद्यार्थीको सहभागिता जति बढी हुन्छ विद्यार्थीमा उति नै बढी सिर्जनात्मक क्षमता विकास हुन्छ।
सिर्जनात्मक क्षमताले विद्यार्थीमा समीक्षात्मक सिप विकास हुन्छ। मनमा जिज्ञासाहरू पलाउँछन्। विद्यार्थी प्रश्न गर्न उत्सुक हुन्छ।
शिक्षक र विद्यार्थीबीच जति बढी सुमधुर सम्बन्ध हुन्छ सिकाइ त्यति नै राम्रो हुन्छ। विद्यार्थीले निर्धक्क भएर प्रश्न गर्ने र आफ्नो समस्या भन्ने वातावरण बनाउने काम पनि शिक्षककै हो।
यसो हुन सके सिकाइ उपलब्धि सुधार हुँदै जान्छ।
अभिभावक
विद्यालय तहका विद्यार्थीले सामान्यतया एक दिनमा बढीमा एक चौथाइ समय मात्र विद्यालयमा बिताउँछ, त्यो पनि वर्षभरिमा बढीमा २२० दिन मात्र। बाँकी समय उनीहरू घरमै हुन्छन्।
यसरी तीन चौथाइभन्दा बढी समय घरमै बित्ने भएकाले विद्यार्थीको शैक्षिक नतिजामा अभिभावकको भूमिका निकै महत्त्वपूर्ण हुन्छ।
अभिभावकले आफ्ना विद्यार्थी छोराछोरीका लागि पढाइको राम्रो वातावरण बनाइदिनुपर्छ। घरमा पढाइको समय व्यवस्थापन गरिदिने, ठीकसँग पढाइ गरे-नगरेको निगरानी गर्ने र नतिजा सुधारका लागि मेहनत गर्न प्रोत्साहित गर्ने जिम्मेवारी अभिभावकै हो।
अभिभावक विद्यालयमा नियमित सम्पर्कमा रहनुपर्छ। आफ्ना छोराछोरीबारे चासो राख्नुपर्छ, शिक्षकसँग छलफल र परामर्श गर्नुपर्छ। त्यसैअनुसार घरमा उपयुक्त वातावरण बनाइदिनुपर्छ।
अभिभावकले यस्तो जिम्मेवारी पूरा गरेको अवस्थामा विद्यार्थीको सिकाइस्तर अभिवृद्धि हुन्छ।
निष्कर्ष
विद्यालयमा हुने शिक्षण र विद्यार्थीको सिकाइ उपलब्धि शिक्षक (प्रधानाध्यापक समेत), विद्यार्थी र अभिभावको त्रिपक्षीय प्रयासमा निर्भर रहन्छ। प्रधानाध्यापकले निरन्तर निगरानीका साथ विद्यालयमा उचित शैक्षिक वातावरण बनाउनुपर्छ।
यसो भए मात्र राष्ट्र र राष्ट्रियताप्रति निष्ठावान, स्वाभिमानी, मेहनती, उच्च नैतिकवान र सिर्जनशील जनशक्ति तयार हुन्छ। यस्तो जनशक्ति तयार गर्ने आधारभूमि विद्यालय नै हो।
यस तथ्यमा सबै सरोकारवालाको ध्यान जानु र आआफ्नो जिम्मेवारी पूरा गर्नु अत्यावश्यक छ। यस अवस्थामा मात्र शिक्षा क्षेत्रमा छुट्ट्याएको बजेट सदुपयोग हुनेछ।
(लेखक जनहित माध्यमिक विद्यालय, वालिङ, स्याङ्जाका शिक्षक हुन्।)