‘अनि नेपालमै बसेर पुगिरहेको छ है?’ हिजो एक जना अस्ट्रेलियामा रहेको साथीले मलाई जिस्काएको लवजमा प्रश्न गर्यो।
मैले पनि सहजै उत्तर दिएँ, ‘उम्, पुगेको त कसलाई छ र? पुगे पनि नपुगे पनि म त देशमै छु। कमसेकम छिमेकीलाई अप्ठ्यारो पर्दा केटाकेटी बिरामी हुँदा सिरानीमा अडेस लगाएर ढाडस त दिन सकेको छु। यो पनि त सम्पत्ति हो नि केटा।’
उसले अप्ठ्यारो मानेन बरु फेरि प्रश्न गर्यो– ‘अनि तँ साँच्चिकै विदेश नआउने? के छ हो देशमा? भएको त सबै लुटी त सके यी नेताहरूले।’
‘आजसम्म त्यस्तो विचार आएको छैन क्यारे। त्यसका लागि भोलि नै कुर्नुपर्ला,’ मैले भनेँ।
यस्तै यस्तै प्रश्नोत्तरमा झन्डै हामीले एक घण्टा बितायौँ होला।
ऊ विदेश भएकोमा निकै गर्व महसुस गरेको कुरा गर्यो। नेपालमा सम्भावना नै नरहेको वकालत गर्यो। स्कुलमा सँगै पढ्दा जहिल्यै पढाइमा प्रतिस्पर्धा गर्ने हामी उसले भने अनुसार अझै पनि ऊ प्रथम नै छ। उसको भाषामा देशमा बस्नु अर्थात् नेपालमा बस्नु द्वितीय हुनु हो।
के साँच्ची नेपालमा बस्नु चाहिँ द्वितीय हुनु हो? पछाडि पर्नु हो? यो सवाल तपाईंहरूलाई।
नेपालमा बस्नेहरू केही गर्नै नसक्ने भएर, केही बन्नै नसकेर, कतै जानै नसकेर, बेवारिसे भएर बसेको जस्तो पो मान्छन् त! सपनाहरूलाई बासी भात मानेर पनि त हामी नेपालमै बसेका छौँ नि। के हामीले देशमा बस्नु अपराध हो? वयस्क भएपछि, जिम्मेवारी थपिएपछि विदेश नै जानुपर्ने हो र?
होला केही थान सम्पत्तिका खुसीहरू विदेश गएर पूरा होलान्। तर एयरपोर्टमा चप्पल लगाएर छोराको बिदाइमा पुगेका बुढा बा अस्ताउँदा घाटसम्म जाने मलामी छैनन्। न छन् कुनामा बस्ने उनका छोराहरू।
विदेशले हाम्रो खुसी धानेको मात्रै छैन। जति धानेको छ त्यति लुटेको पनि त छ। मलाई लाग्दैन कि विदेशले हामीलाई सब थोक दिएको छ। परदेशिनु हाम्रो रहर पक्कै पनि हैन। हो, हाम्रा लागि रोजगारीका अवसर छैनन्। देशमा बसेर माटोको मूल्य पर्दैन। न त माटोले उब्जाएका उपजहरूले मूल्य पाउँछन्। तर पनि असीमित आवश्यकताहरूलाई पछ्याउँदै हामी हाम्रै लागि त परदेशिएका हौँ।
खुसी हुन के चाहिन्छ?
अब युवाहरूको उत्तर आउँछ- अमेरिकाको भिसा लागोस्, अस्ट्रेलियाको भिसा लागोस्। यस्तै यस्तै। खुसी हाम्रा लागि परदेश बनेको छ। भर्खरै १० कक्षामा पढ्दै गरेको बच्चाको पनि उद्देश्य विदेश जानु नै छ।
हाम्रो मस्तिष्कमा विदेश शब्द यसरी जकडिएको छ कि थाहा छैन हामी यसबाट कहिले निस्कन्छौँ। एक दिन त यस्तो आओस् न परदेशिएका सबै हाम्रा दाजुभाइ, दिदी बहिनीहरू आएर यही देशमा श्रम गर्ने, यही देशमा पसिना बगाउने, आफ्नो परिवारसँग अगेनाको डिलमा बसेर सुख दुखका कुरा गर्ने।
यो हुनलाई धेरै गाह्रो छ तर असम्भव त नहोला। मेरो एउटा मात्रै आशय के हो भने, विदेशमा काम गर्न सजिलो छैन। भलै त्यहाँको आम्दानी र नेपालको आम्दानीको गणित नमिल्ला। तर पनि नेपालमै केही गर्छु भनेकाहरू, नेपालमै रोजगारी गर्नेहरू, नेपालमै पसिना बगाउनेहरू, नेपालमै कर्म गर्नेहरूलाई पनि विदेशको सरह सम्मान होस्। विदेशमा गएकाहरूलाई जस्तै व्यवहार होस्।
आधा मानिस त समाजको, परिवारको यही मानसिकताका कारण परदेशिएका छन्। नेपालमा बस्नेहरूको भ्यालु त छैन तर कमसेकम छिमेकमा मर्दा पर्दा काम त लागेका छन्।