एउटा नभए अर्को हुन्छ, प्रेम भइराख्ने कुरा हो भनेर हामीले साथीहरूबाट सुनिरहेकै हुन्छौं। यही कुरा मेरो हकमा भने फरक भयो।
प्रेम पटक पटक हुन्छ भन्ने साथीहरूका अगाडि म हारेँ। मैले त उनीबाहेक अरू कसैसँग प्रेम गर्ने हिम्मत जुटाउनै सकिनँ। छोटो समयको प्रेमले मलाई मृत्युको नजिक पुर्यायो। त्यहाँ पुगेपछि मात्र बाँच्न कति मुस्किल रहेछ भन्ने कुरा बुझेँ। अनि उनलाई भेटेपछि मात्र प्रेम कसरी र कुन हदसम्म गर्न सकिन्छ भनेर बुझेँ।
आफैले आफैलाई चिन्ने मौका दिइन्, उनले।
उनी अर्थात् मेरी बेबी। अझ मेरो मुटुको टुक्राभन्दा खासै फरक पर्दैन, बेबी भनेर सम्बोधन मात्र होइन, केयर अनि माया र संरक्षण कुनै बच्चालाई भन्दा कम गरेको थिइनँ।
तीन वर्षअघिसम्म उनी मेरा लागि अन्जान थिइन्।
जागिर जीवन सम्हाल्दै व्यस्त रहेको मलाई सामाजिक सञ्जाल, सायरी र कसैका तिता मिठा शब्दहरूले कहिल्यै छोएन। पैसा कमाउने, आफ्ना साथीहरूसँग रमाउँदैमा दिन बित्थ्यो।
साथीहरू रातभर प्रेमिकासँग बोल्दा, घुम्न जाँदा आफूलाई कहिले रहर जागेन। उनीहरूले प्रेमिकालाई गर्ने व्यवहार र फेरिरहने बानीले भने नराम्रो लाग्थ्यो। कहिलेकाहीँ साथीहरूलाई गाली पनि गर्थें।
तर उनीहरूको स्वभाव कहिल्यै फेरिँदैन्थ्यो, छोटो समयमा प्रेमिका परिवर्तन गरिरहन्थे। कहिले आफूले छोडेको, कहिले प्रेमिकाले छोडेको भन्दै रक्सी खुवाउने काम साथीहरूमा भइरहन्थ्यो। तर दुई वर्षअगाडि भने मेरो जिन्दगीमा कहिल्यै नभएको घटना भयो।
तीन दशक पार गरिसक्दा कसैको अगाडि नरोकिएको मेरा नजर सामाजिक सञ्जालमा देखिएको एक तस्बिरले तरङ्ग ल्यायो। ङिच्च दाँत देखाएको तस्बिरले प्रोफाइलसम्म पुर्यायो। भौतिक सुन्दरताको कुरा गर्दा खासै राम्री थिइनन्। तर उनको हाँसो भने लोभलाग्दो थियो, हाँसो र तस्बिर दुवै अर्गानिक देखिथ्यो। अझ भनूम् बिना फिल्टरको थियो। मेकअपको कुनै लिपपोत थिएन। त्यसैले उनको तस्बिरले तान्यो।
प्रोफाइल खुलेर हेर्न बाध्य बनायो। पहिला पनि कोही केटी राम्री लाग्दा प्रोफाइल खुलेर हेरिन्थ्यो। राम्री रहेछ भनेर छोडिन्थ्यो। केटाहरूको लागि यो सामान्य हो।
जतिसुकै सोझो भनिएका केटाले पनि आफ्ना वालमा आउने केटीको तस्बिरहरू जुम गरेर हेर्न छुटाउँदैनन्। अझ कुनै राम्री लाग्यो भने तीन पुस्ते विवरण खोज्ने काम भइहाल्छ। त्यसबाट म पनि पछि परिनँ। उनले राखेका हरेक तस्बिर शब्दहरूको अर्थ खोज्न समेत भ्याएँ।
उनी संचार क्षेत्रमा काम गर्ने रहेछिन्। बायोमा लेखिएको उनको शब्दले अझै उनको बारेमा बुझ्ने खुलदुली जाग्यो।
उनले प्रेम गर्नेहरूका लागि बायोमै प्रवेश निषेध गरेकी थिइन्। प्रेमप्रतिको घृणा हो कि? कसैको प्रेममा आफूलाई पूर्ण बनाएकी छन् भन्ने खुल्दुली चल्यो। कतै विवाहित त होइनन्? आजकाल केटीहरूले पनि सिन्दुर पोते नलगाउने र श्रीमानको फोटो नराख्ने गर्छन्।
सयौं फोटो हेर्दा पनि कतै उनले 'माई हबी' भनेर लेखेको भेटिनँ। त्यसैले फेसबुकमा साथी बन्ने निधो गरेँ। म पनि संचार क्षेत्रमा काम गर्ने भएकाले साथी बन्छिन् कि भन्ने आश लाग्यो।
उनको साथीको लिस्ट निक्कै कम थियो। त्योसँगै उनले लेखेका समाचार र स्टाटसले उनी एकान्तप्रेमी भएको प्रष्ट झल्किन्थ्यो, साथै चर्चित सञ्चार माध्यममा काम गर्ने भएकाले साथी बन्दिनन् कि भन्ने सम्भावना पनि उस्तै थियो।
फोटोमा जति राम्री लाग्दै गएकी थिइन्, उनले तस्बिरमा जोडेर लेखिएका शब्दले त्यति नै घमण्डी देखिन्थिई। यत्तिको ह्यान्डसम केटालाई स्वीकार गर्छिन् कि भन्ने आसले फ्रेन्ड रिक्वेस्ट पठाएँ।
दुई दिनसम्म स्वीकार नै गरिनन्, रिक्वेस्ट क्यान्सिल गर्ने सोच्दै थिएँ। चौथो दिन साथी बनाइन्। मनमा एक किसिमको खुसी छायो। तत्काल म्यासेज गर्न मन थियो, उनले के सोच्लिन् भनेर गरिनँ।
तर उनका स्टोरीमा हालेको फोटोमा पानको पात पठाउन भ्याएँ।
दुई/तीन सातासम्म यही शिलशिला चल्यो।
एकदिन उतैबाट टुप्लुक्क म्यासेज आयो- हाई।
उनको म्यासेजले अँध्यारो कुनामा किरण परेझैं भयो। हत्तपत्त म्यासेज रिप्लाई गर्दा के सोच्लिन् भनेर दुई/चार मिनेट म्यासेज नखोली ब्यस्त भएको जस्तो गरेँ। केटीहरूलाई धेरै भाउ दिनुहुँदैन भन्ने केटाको सोच हुन्छ। त्यही गरेँ।
तर उनले म्यासेज नहेरेको भनेर हटाइदिन्छिन् कि भन्ने डर पनि उस्तै थियो। त्यसैले ५ मिनेटभन्दा बढी म्यासेज नगरी बस्न सकिनँ।
‘हेल्लो’ भनेर म्यासेज फर्काएँ।
उनी पनि के कम मेरो म्यासेज हेरेर रिप्लाई दिइनन्। दिउँसो हेरेको म्यासेजको साँझसम्म कुनै रिप्लाई दिइनन्। साँझ एकैपल्ट ‘हजुर’ भन्दै म्यासेज आयो।
उनको त्यो शब्दले आफ्नैवाली फिल भो। कुराकानीको सुरूआतमा उनको काम, तस्बिरको प्रशंसा गरेँ। केटीहरूलाई प्रशंसा मनपर्छ भन्ने थाहा थियो। तर उनले गाली गरिन्।
म कस्तो छु थाहा छ, तिमी यस्तो हावा गफ नगर भनेर सिधै थर्काइन्। त्यसपछि के भन्ने अलमलमा परेँ। कस्तो केटी रहेछ भन्ने भान भयो। उनले त्यति चासो देखेर कुरा गर्न पनि मानिन।
कहाँ बस्ने, पढाइ र कामको बारेमै सीमित भयो।
दोस्रो दिन शुभबिहानीदेखि बेलाबेला के गर्दैछौ भन्ने म्यासेजबाट कुराकानी अगाडि बढ्यो। दुई/चार सातामा एकोहोरो थियो।
दुई/तीन सातापछि कुराकानी दोहोरो भयो। उत्तर मात्र दिइनन्, प्रश्न पनि गर्न थालिन्। अब केटी पट्टिई भन्ने लाग्यो। ५/६ वर्षदेखि कुनै पनि केटी साथी थिएनन्। त्यसअघि भने एक प्रेमिका थिइन्। एक वर्ष नपुग्दै ब्रेकअप भएको थियो।
पूर्वप्रेमिकासँग त्यस्तो गहिरो सम्बन्ध थिएन, कहिले बनेन। त्यसपछि कुनै पनि केटीसँग नजिकिएको थिइनँ। उनीसँगको कुराकानी भने निक्कै रोचक बन्दै गयो। दिनहुँ कुरा भएपछि भेटघाट गर्ने कुराकानी भयो। उनले आफू माछापोखरी आउँदा सम्झिने बताइन् र भेट्नकै लागि भने आउँदिनँ भनिन्।
म माछापोखरी नजिकै बस्थेँ। उनको यता काम कहिले पर्छ भनेर पर्खिनेबाहेक मेरो अरू कुनै विकल्प थिएन।
तीन/चार महिनापछि उनले साँझतिर म्यासेज गरिन्- सर म हजुरको आसपास आएको थिएँ।
उनको म्यासेज मिनेट नपुग्दै फर्काएँ।
‘भेट्छौं त हामी?’
उनले ‘हुन्छ’ भनेपछि माछापोखरी नजिकै एक क्याफेमा पुगें। उनलाई पर्खिन नपरोस् भनेर चप्पल र हाप पेन्टमै भेट्न पुगेँ। देख्नसाथ मुसुक्क हाँसिन्, हामी दुवैलाई चिन्न त्यति गाह्रो परेन। दुवैले एकअर्काको फोटोलाई राम्रोसँग नियालेको थियौं।
एकैछिन मात्र भेट्छु भनेकी थिइन्, गफ गर्दैगर्दा डेढ घन्टा बित्यो। त्यसपछि भने ढिला भएको भन्दै निस्किन हत्तार गरिन्। मैले धेरै समय लिएँ भनेर माफी मागेँ।
उनले त्यसलाई मुसुक्क हाँसेर स्वीकार गरिन्। भेटघाटपछि फोनमा कुराकानी बाक्लिँदै गयो। भेटपछि उनले पनि बोल्ने चाहना बढाइन्। आँखाको खुलेरै तारिफ पनि गरिन्।
उनलाई आँखाको नानी निलो भएको खुबै मनपर्छ भनिन्। मधुरो दृष्टि भएर चस्मा लगाएको आँखा आफूलाई पनि मनपर्न थाल्यो।
चिया भेट र कुराकानीमा कामका कुराकानी खुलेरै गर्थिन्। व्यक्तिगत कुरा भने अहिले सेयर नगर्ने भनेर टारिदिन्थिन्। उनले आफ्नो बारेमा भन्न नचाहेकै भएर पनि होला अझै बुझ्ने रहर जाग्यो।
६ महिनाजति भएको हुँदो हो।
उनले सोधिन्- म तपाईंलाई विश्वास गर्न सक्छु?
उनको यो प्रश्न जति सरल सुनिन्थ्यो त्यति नै गहन पनि लाग्यो।
उनले पक्कै मबाट परिपक्वता र विश्वास खोजेकी होला भनेर ढुक्क भएर कुरा गर्न आग्रह गरेँ। उनले आफू एक्लो भएको र कसैले आफूलाई भरपुर प्रेम गरिदिए हुन्थ्यो भन्ने लागेको बताइन्। अनि आफ्ना केही अधुरा र दर्दनाक प्रेम सम्बन्धको कहानी सुनाइन्।
जुन कुनै फिल्मभन्दा कम थिएन। उनले गरेको प्रेमलाई लत्याउँदै अर्की केटीसँग जोडिएपछि सम्बन्धलाई टुंङ्याएकी रहेछिन्।
उनका कामदेखि प्रेम सम्बन्धका बारेमा खुलेरै गफिन थालिन्। भेट र फोनमा घन्टौं कुरा हुन थाल्यो। हामी नजिकियौं।
भेटमा पनि हामी बीचको स्पेस कम हुँदै गयो। हात समाउनेदेखि छुटिँदा अंकमाल गर्नेसम्म पुग्यौं। मेरा हरेक क्रियाकलापलाई उनले सामान्य लिइन्।
एकअर्को स्पर्शलाई महसुस गर्यौं।
उनको स्पर्शले शरीरमा कम्पन ल्याउँथ्यो। उनीसँग हात समाएर हिँड्दा वा छुटिनेबेला अंगालो हाल्दा लाग्यो- स्वर्ग उनकै अंगालो हो।
उनलाई बेस्सरी आफ्नो अंगालोमा बाँध्न थालेँ। उनले पनि प्रत्येक भेटमा त्यसरी नै अंगालो हाल्न थालिन्।
हामीबीच भेट हुँदा एकअर्को हात नसमाई बस्नै सकेनौं। हाम्रो सम्बन्ध शारीरिक छुवाइमा पुग्यो। उनीप्रतिको प्रेम बढ्दै गयो। उनलाई छुन, बोल्न र भेट्नु मेरो खुसी हुन्थ्यो।
उनलाई भेट्दा अंगालो नहालेसम्म चित्त बुझ्दैनथ्यो।
तीन दशक पार गरिसकेपछि अझ भनूम् बुढेसकालमा प्रेम भयो। पहिलो प्रेम पनि त्यति चासो लागेको थिएन होला जति उनीसँग नजिकिएको थियो।
हप्तामा तीन/चार पटक भेट हुन थाल्यो, घन्टौं कुराकानी हुन्थ्यो। उनीसँग प्रेमले मलाई एकोहोरो बनाइसकेको थियो। मैले दिनहुँ भेट्ने साथीहरू छुटिन थालेका थिए। मेरो लागि काम र उनी पहिलो प्राथामिकतामा बनिन्।
जुन साथीहरूसँग म १५ वर्षदेखि बस्दै आएको थिएँ। उनीहरूसँगभन्दा बेबीसँगको भेटघाट मलाई प्यारो लाग्थ्यो। उनीसँग भेट, गफगाफ र उनको अंगालो नै संसार बन्यो।
उनीसँग कुरा गर्न थालेपछि दिनरात बितेको पत्तै पाइनँ। दुई वर्षसम्म हामी एकअर्कोमा सर्मिपित थियौं। उनीसँगको आदात यति बसेको थियो कि- 'हामी एक अर्कोसँग नबोली निदाउन नसक्ने भएका थियौं।
उनी अफिसको काम वा कतै आफन्तकोमा गएर बसिन् भने हामी दुवैको निद्रा अपुरो हुन्थ्यो। त्यसैले होला हामी दुवै प्राय आफ्नो घर छोडेर कतै जान रूचाउँदैनथ्यौं।
उनी कहिलेकाहीँ बाध्य भएर गए पनि एकअर्काको तस्बिर हेरेर म्यासेजमा कुरा गर्ने बानी थियो। उनीसँगको सम्बन्धको चर्चा र उनको व्याख्या गरेर कहिले थाक्दिन थिएँ। तर समय एकनासले कहाँ चल्दो रहेछ र! जे सोचेका हुँदैनौं भइदिन्छ त्यही। त्यो दिन हाम्रो अति नराम्रोसँग झगडा पर्यो।
दिउँसो उनी काममा व्यस्त हुने भएकाले खासै कुरा हुँदैनन्थ्यो। उनी अफिसबाट निस्किएपछि नै हाम्रो कुराकानी हुन्थ्यो। म पनि आफ्नै काममा व्यस्त हुने भएकाले हामीलाई दिनभर नबोले पनि खासै फरक पर्दैन्थ्यो। तर साँझ ७/८ बजेपछि कुरा हुन्थ्यो।
त्यही हाम्रो सम्बन्धको बलियो कडी थियो।
विगत १ महिनादेखि मैले जागिर छोडेर बसेको थिएँ, उनीसँग बोल्नेबाहेक अरू केही काम थिएन। त्यसैले कतिखेर साँझ पर्छ र बोल्छिन् भन्ने हुन्थ्यो। मेरो दिनभर उनलाई सम्झिनेबाहेक अरू केही काम थिएन। त्यसैले होला साँझसम्म पर्खिन मलाई निक्कै गाह्रो हुन्थ्यो।
उनले अलि धेरै समय दिए हुन्थ्यो भन्ने मनमा लागिरहेको थियो। दिउँसो पनि एकछिन फुर्सद हुँदा म्यासेज गरिदिए हुन्थ्यो भन्ने मलाई लागिरहन्थ्यो। बेलाबेलामा म्यासेज गर्थें। ढिलाचाँडो उनले जबाफ दिन्थिन्।
मलाई साँझसम्म पर्खिन निक्कै गाह्रो भइरहेको थियो। उनले दिउँसो म्यासेज फोन गर्दा साँझ कुरा गर्छु भनेर राखिदिन्थिन्। मेरो लागि यो दिन खासै खास लाग्नै छोडेको थियो।
उनले अफिसबाट निस्किन लागेँ भनेर म्यासेज गरेकी थिइन्। मैले फोन गर भनेर भनेँ। त्यसको दुई/चार मिनेटमा उनले फोन गरिन्।
मोबाइल हातमै बोकेर बसेको थिएँ। तर उनको फोन आउँदा शौचालयमा भएकाले उठाउन उचित लागेन। तत्काल उठाइनँ।
उनले फोन गरेको दुई/तीन मिनेटमा गर्दा उनको फोन ब्यस्त आयो। एकछिनमा फोन गर्छिन् भनेर हातमै बोकेर बसेँ। ५/१० हुँदै एक घन्टासम्म उनको फोन व्यस्त कि व्यस्त आयो।
एक घन्टासम्म मैले निरन्तर प्रत्येक ४/ ५ मिनेटमा फोन गरिरहेँ। निरन्तर त्यही भनिरह्यो। उनी यसभन्दा अघि यति लामो समय कोहीसँग व्यस्त भएकी थिइनन्। कतै अफिसियल फोन आएमा उनले म्यासेज गर्थिन्। तर त्यतिबेला केही गरिनन्।
निस्किएँ भनेको डेढ घन्टासम्म पनि कुनै फोन म्यासेज आएन। दिनभर उनलाई पर्खिएर बस्दा पनि बोल्न नपाएको झोंकले उनलाई गाली गर्दै ह्वाटसएपमा म्यासेज लेखेँ। त्यहाँ पनि कुनै म्यासेज रिप्लाई आएन। मैले म्यासेज गर्दा उनी त्यतिबेला अनलाइन पनि थिइनन्।
डेढ/ दुई घन्टासम्म कुनै पनि जानकारी नआएपछि रिसले पारो तात्यो। रातको ९ बजिसकेको थियो। त्यसैले म सुतेँ भनेर म्यासेज गरेर मोबाइल छोडेर साथीहरूसँग हिँडे।
साथीहरूसँग चियागफ र पिय पदार्थमा झुम्म भएर ११ बजे फर्किएँ। त्यतिबेला उनको फोन म्यासेजले मेरो मोबाइलको स्क्रिन भरिएको थियो। तर मेरो रिस शान्त भएको थिएन। यतिधेरै फोन म्यासेज देखेपछि उनले ह्वाटसएपमा पनि तथानाम गाली गरेकी होलान् भनेर नेट नै खोलिनँ।
यसअघि पनि यस्ता स-सानामा कुरामा झगडा पर्दा रात बित्थ्यो। अझ मैले रिसको झोंकमा केही भनिहालेमा उनी रिसाउँछिन, बोल्दिनन् भन्ने डरले फोन नउठाउने निर्णय गरेँ। मलाई फोन गर्छु भनेर अरूसँग व्यस्त हुने भन्ने कुराले मात्र मन पोल्यो।
त्यही रिसले उनको फोन म्यासेजलाई बेवास्ता गरेँ। उनलाई घमण्ड देखाएँ। त्यो दिन मोबाइल पनि आफूबाट टाढै राखेँ। तर निदाउन भने सकिनँ।
रिसले उनीसँग बोल्न दिएको थिएन। तर म पनि रातभर जागराम बसेँ। भोलिपल्ट बिहान हेर्दा उनले गरेका म्यासेजले सातो गयो। उनले रातको साढे ९ बजेदेखि १/२ बजेसम्म म्यासेज फोन निरन्तर गरेकी रहेछिन्।
उनका म्यासेजहरू पुस्तकमा उतारिएको भए झन्डै १० पेज भन्दा कम थिएन। उनी पनि रातभर निदाइन भन्ने प्रशस्त प्रमाण देखेँ।
उनी मसँग कुरा नगरी निदाउन सक्दिनँ भन्ने थाहा थियो। तर मैले आफू सुतेको जानकारी गराएकाले रिसाएर भए पनि ढिला चाँडो सुत्छिन भन्ने आश थियो। तर उनी पनि त्यो रात सुतिनछ।
बिहान उनका म्यासेजले आँखा रसायो। बेकारमा रूवाए भनेर चित्त दुख्यो। आफैले आफैलाई गाली गरेँ। उनीसँग माफी माग्दै म्यासेज गरेँ। उनी पनि यति सजिलै कहाँ मान्थिन् र बेवास्ता गरिदिइन्।
उनको यति कठोर मन छ भन्ने मैले यसअघि कहिल्यै देखेको पनि थिइनँ। हुन त हाम्रो झगडा पनि परेको थिएन। उनले मलाई 'आज बोलेनौ भने अब कहिल्यै बोल्दिनँ' भनेर पटक पटक चेतावानी दिएकी रहेछिन्। तर ती म्यासेजमा भोलिपल्ट मात्र थाहा भयो।
उनको जिद्दको अगाडि म सधैं हार्थें। उनले आफू अफिसियल कामको फोन आएको र बोल्न बाध्य भएको भन्दै कल रेकर्ड, स्किनसटदेखि लिएर सम्पूर्ण जानकारी दिएकी रहेछिन्। त्यतिबेला मैले रिसमा ह्वाटसएप नै खोलिनँ।
त्यसको भार मलाइ महँगो पर्यो। उनले आफूले सोचेजस्तो गर्न कहिल्यै पछि पर्दिनन् त्यही डरले उनीसँग मैले पटक पटक माफी मागेँ। उनी साँच्चै नबोल्ने हो कि भन्ने डरले आत्तिएर उनीसँग रोएँ, माफी मागेँ।
उनी एकको दुई भइनन्। उनी नबोल्ने अडानमा रहिरहिन्। उनको जिद्दको अगाडि म हारेँ।