कुनै बेला ‘तँ ठुलो भएपछि के बन्छस्?’ भनेर सोध्दा ‘सरकारी जागिर खान्छु’ भन्ने म, अहिले अब के गर्ने प्लान छ भनेर कसैले सोध्दा ‘इन्डिया नै भए नि जान्छु तर नेपाल बस्दिनँ’ भन्न मन लाग्छ। यो हैन कि देशमा केही छैन। छ भनेर भनिहालेँ भने पनि के छ त्यो चाहिँ थाहा छैन। तर छ भनेर भन्नुपर्यो भने सपना पूरा गर्नु छ भन्न मन लाग्छ। अनि छैन भनेर भनौँ भने भविष्य नै छैन भन्न मन लाग्छ।
‘त्यो पनि विदेश गएछ नि, थाहा पाइस्? त्यसको भिसा लागेछ, अर्को हप्ता उड्ने हो रे!’ कुनै बेला देश विकासका कुरा गर्ने चिया पसलहरूमा आजकल यस्तै देश छाड्नेका कुरा हुन्छन्। अब चिया पसलमा चिया मात्र पाइन्छ, देश विकासका शब्दहरू साँच्चै हराएछन्। सयबाट दश, दशबाट पाँच, साथीहरूको समूह। साथीहरू त बिदेसिए, कोही आफ्नो सपना पूरा गर्न त कोही परिवारको जिम्मेवारी निभाउन।
आजकल सरकारी जागिरमा नाम निकालेछ भनेर चकलेट या लड्डु खान खासै पाइँदैन। तर भिसा लागेछ नि भन्दै फेसबुकमा पोस्ट त कति हो कति। पिर लड्डु या चकलेटको होइन, पिर त ती सपनाको हो जुन सानोमा कक्षामा सरले ठुलो भएपछि के बन्छस् भनेर सोध्दा भन्ने गरिन्थ्यो- व्यापारी, बिजनेसम्यान अनि सरकारी जागिरे!
समयसँगै हामीले देशलाई हेर्ने नजरिया पनि बदलिँदो रहेछ। जब म सानो थिएँ, सरकारी जागिर भनेको सम्मानको कुरा लाग्थ्यो, जिन्दगीको एउटा सुरक्षित आधार जस्तै लाग्थ्यो। साथीभाइ र परिवारको अघि शानले भन्न सकिन्थ्यो- ‘म ठुलो भएपछि सरकारी जागिरे बन्छु।’
त्यो बेला सरकारी जागिर भनेको भविष्यको ग्यारेन्टी थियो, बुढ्यौलीमा सहारा थियो। तर आज त्यो सपना टाढिँदै गएको छ। सरकारी जागिर पाउनुमा न पहिलेको जस्तो जोस छ, न गर्व। आजको समयमा कसैले भिसा लागेछ, विदेश उड्न लागेछ भन्दा खुसी लाग्छ, कता-कता आफ्नै सपना पूरा भएजस्तो लाग्छ। देशमै बसेर केही ठुलो गर्न खोज्नेलाई भने जीवनको सुरुआतमै गाह्रो हुन्छ।
यहाँको परिस्थिति यति निराशाजनक भएको छ कि जसले जीवनमा केही नयाँ गर्न खोज्छ, उसलाई विदेश नै जानु पर्छ भन्ने भान हुन्छ। देश विकासको कुरा गर्दै हुर्किएका हामी अहिले विदेशको बाटो नै सही देख्छौँ। हाम्रो बाल्यकालका ती चिया पसलहरू जहाँ राजनीति, देशको विकास, भविष्यका योजना र ठुला सपना देखिन्थे, अहिले त्यहाँ देश छाडेर विदेश जानेको अनुभव र सफलताको कुरा हुने गर्छ।
कुनै बेला आफूले चिया पसलमा बसेर सुनेका परदेशी जीवनका चुनौतीहरू अब हामी आफैले रोज्ने बाटो बनेको छ। आजभोलि हरेक व्यक्तिले कसै न कसैको भिसा लागेको खबर सुनेको हुन्छ, कसैको विदेशमा जागिर पक्का भएको कुरा सुन्छ अनि आफूलाई पनि त्यही बाटो सही लाग्न थाल्छ।
समस्या सरकारी जागिर या यहाँको अवसरको मात्र हो भन्ने होइन, समस्या देशमा रहेका ती असंख्य अवरोध र थिचोमिचोको पनि हो। यहाँ केही बन्नका लागि अवसरहरू देखिँदैनन्। व्यापार गर्ने हो भने पनि हजारौँ समस्या, जागिर खाने हो भने पनि पाउने भर छैन। यही कारणले हाम्रा बाल्यकालका ती सपना साकार गर्न विदेशी भूमिको सहारा लिनुपर्ने देखिन्छ।
अब देशमै बसेर सपना देख्न पनि आँट नहुने जस्तो लाग्छ किनकि देशमा भविष्य खोज्न झन्-झन् असम्भव जस्तै लाग्न थालिसक्यो। हिजो हामीले जुन देशको भविष्य बनाउने सपना देखेका थियौँ, आज त्यही देशले हाम्रो भविष्य नै अनिश्चित बनाएको छ।
यहाँ देशमा बसेर ठुलो मान्छे बन्ने सपना देख्न साह्रै गाह्रो छ। जब हरेक दिन त्यही समस्याहरू देख्नुपर्छ, समाधान खोज्न त परै जाओस्, देशमै बस्न सक्ने आधार पनि पातलिँदै गएको छ। धेरैले विदेश गएर केही सीप, केही अनुभव आर्जन गरिसकेपछि देश फर्केर केही गर्ने भनेर भन्छन् तर फर्कनेहरूको संख्या पातलिँदै छ।
चिया पसलमा देश विकासको कुरा गर्न पनि एउटा अनौठो विडम्बना लाग्छ। कोही अलिकति उमेर बढेपछि यहाँ बाँच्न गाह्रो छ भनेर बिदेसिन्छन् भने कोही सानै उमेरमा भविष्य खोज्दै बाहिरिन्छन्।
आजका हरेक युवा सपना देख्छन् तर ती सपना आफ्नो देशमा पूरा गर्न सक्ने स्थितिलाई नै प्रश्नचिह्न लागेको छ। सरकारी जागिरले ठुलो भइन्छ भन्ने सोच बिस्तारै सेलाउँदै गएको छ। अब सपना भनेको विदेश गएर अनुभव बटुल्नु, केही पैसा कमाउनु अनि जीवनमा केही बनिसकेको महसुस गर्नु भएको छ।
अब हामी सपना मात्रै देख्न पनि थाकिसकेका छौँ। हाम्रो पुस्ताले कहिलेकाहीँ सोच्थ्यौँ, देशमै केही गर्छु, यहाँ केही परिवर्तन ल्याउँछु। तर जसरी समय बित्दै गयो, त्यो जोस र जाँगर बिस्तारै हराउँदै गयो। सरकारी कार्यालयहरू, काममा अल्झिएका मान्छेहरू, कुर्सीमा बसेर निर्णय लिने तर वास्तविकता नबुझ्ने शासकहरू, यी सबै देख्दा हाम्रा सोच र योजनाहरू नै निरर्थक लाग्न थाले।
सरकारी जागिरलाई मात्र जिन्दगीको उद्देश्य बनाउँदा, जीवनमा केही नयाँ गर्न सक्दैनौँ भन्ने बुझ्न थाल्यौँ। देशमा केही गर्न खोज्दा हामीले पाउनेभन्दा गुमाउने डर बढ्यो, अवसरहरू सीमित देखिए अनि सपनाहरू साँघुरा लाग्न थाले।
युवा पुस्ताका लागि विदेश अब रोजाइ होइन, बाध्यता बनेको छ। यहाँ बसेर संघर्ष गर्नु भनेको कहिलेकाहीँ जीवनभरि निराशा मात्रै बोकेर हिँड्नुजस्तो पनि लाग्न थाल्यो। हरेक दिन बढ्दो महँगी, बेरोजगारी र अवसरहरूको अभावले गर्दा युवाहरूको सपना सिमानाबाट परदेशतर्फ मोडिन पुगेको छ।
घरपरिवारलाई केही गर्नुपर्छ, आफूलाई पनि जीवनमा केही साबित गर्नु छ भनेर धेरै जना बिदेसिने सोच बनाउँछन्। कसैले परिवारको आर्थिक बोझ कम गर्न चाहन्छन्, कसैले आफ्ना रहर र आकांक्षाको लागि स्वतन्त्रता खोज्छन्।
आज गाउँका ती फाँटहरू, सहरका ती गल्लीहरू जहाँ कहिले हामी दौडिन्थ्यौँ, ती ठाउँहरूलाई छाडेर परदेशमा आफ्नो भविष्य खोज्नुपर्दा मन भारी हुन्छ। तर यहाँ रहनुको कुनै आधार पनि बाँकी छैन जस्तो लाग्छ। देशमै केही गरूँ भनेर हिम्मत गर्नेहरू पनि एक्ला-एक्लै संघर्ष गरिरहेका छन्। यस्तो बेला हरेक दिनको वास्तविकता विदेशमै जानुपर्छ भन्ने सत्यसँग नजिक हुँदै गइरहेको छ।
यो देश हामी सबैको हो तर यो देशमै केही गरेर देखाउन सक्ने अवसर हामीले पाउँछौँ कि पाउँदैनौँ भन्ने कुरामा गम्भीर प्रश्नचिन्ह लागेको छ।