नेपालको पहिलो सरकारी सञ्चार माध्यमको रूपमा गोरखापत्रलाई चिनिन्छ। त्यस्तै दोस्रोमा रेडियो नेपालको नाम आउँछ भने तेस्रोमा नेपाल टेलिभिजनको नाम आउँछ। यीमध्ये मैले चिनेको पहिलो चाहिँ रेडियो नेपाल नै हो।
म सात वर्षको हुँदा अर्थात् २०२८ सालमा राजा महेन्द्रको निधन भएको र युवराज दीपेन्द्रको जन्म भएको दुवै खबर मैले रेडियो नेपालबाट सुनेको अहिले पनि याद छ। त्यस अघिका रेडियोका कुराहरू पनि सम्झना छ। प्रेमध्वज प्रधानले गाएको गीत ‘यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो’ मैले त्यसै ताका हाम्रो मामाघर रोल्पाको सिर्पमा सुनेको थिएँ। सिर्प जान मेरो घर रोल्पाकै खुंग्रीबाट पैदल छ घण्टा उत्तर-पूर्वतर्फ हिँड्नुपर्थ्यो।
मामाघर कसलाई पो प्यारो नलाग्ला र? मावली हजुरआमा अर्थात् हाम्री आमाकी आमाले मलाई ‘कुराउनी खाने कि खिर खाने?’ भनेर सोध्नुहुन्थ्यो। मामाघरको दुई तलामा बार्दली थियो। माथिल्लो बार्दलीमा बार थिएन त्यहाँ कुभिन्डा र फर्सी अनि छिप्पिएका काँक्रा राखिन्थ्यो भने तल्लो बार्दलीमा बुट्टादार बार थियो। त्यहीँ गएर हामी खेल्ने र भित्र-बाहिर गर्ने गर्दथ्यौँ।
हाम्रो गाउँमा दुई/चार घरमा मात्र रेडियो बजेको हुन्थ्यो। रेडियो दर्ता गर्ने तथा नवीकरण गर्ने नियम पनि थियो। म चार/पाँच कक्षा पढ्दादेखि नै रेडियोको नजिक थिएँ। कृषि कार्यक्रमकी बुढीआमैले ‘हरि शरणम्’ भनेको मानसपटलमा बसिराखे झैँ लाग्छ। रेडियो नेपालबाट कार्यक्रमहरू बिहान शंख ध्वनिबाट सुरु हुन्थ्यो, त्यसपछि धार्मिक कार्यक्रम प्रसारण हुन्थ्यो। धार्मिक कार्यक्रम कहिले चण्डी र कहिले पुरुषोत्तम सापकोटाले सञ्चालन गरेको मलाई स्मरण छ।
सात बजे नेपालीमा समाचार र त्यसपछि सामयिक चर्चा आउँथ्यो। साढे सातमा कहिले साहित्यिक कार्यक्रम वा अरू कुनै। विज्ञान प्रविधि कार्यक्रमका लागि एउटा बार मात्र तोकिएको थियो। विज्ञान-प्रविधि कार्यक्रम मैले रुचिपूर्वक सुन्ने गर्दथेँ। आठ बजे अङ्ग्रेजीमा समाचार आउँथ्यो। बिहान ११ बजे बिहानी सत्र सकिएपछि केही समय रेडियो बन्द हुन्थ्यो र दिउँसो एक बजे फेरि शंख ध्वनिबाट दिवा सत्र सञ्चालन हुन्थ्यो। दिउँसो नाटक पनि प्रसारण हुन्थ्यो। गीति नाटकको समय भने याद भएन।
रोजेर अनुरोध गरेको गीत बजाउनका लागि ‘फर्माइसी गीतका कार्यक्रम’ दिउँसो नै प्रसारण हुन्थ्यो। दिउँसोको समाचार कृष्णा ताम्राकारले वाचन गर्दथिन्। दिउँसोको सत्र सकिएपछि बेलुकी पाँच बजे फेरि शंखध्वनिका साथमा रेडियोले आफ्ना प्रसारण कार्यक्रमहरू सञ्चालन गर्थ्यो। पाँच बजे बाल कार्यक्रम वासुदेव मुनालले सञ्चालन गर्थे। सुरुमै उनले भन्थे ‘आओ भाइबहिनीहरू हो, रेडियो नजिक आओ।’
बाल कार्यक्रम सकिएपछि कुनै बार ग्रामीण कार्यक्रम र कुनै बार विदेशमा बस्ने नेपालीहरूका लागि कार्यक्रम प्रसारण हुन्थ्यो। साढे सात बजे नेपालीमा समाचार र त्यसपछि सामयिक चर्चा अनि आठ बजे अङ्ग्रेजीमा समाचार प्रसारण हुन्थ्यो। अङ्ग्रेजी समाचारमा ‘दिस इज रेडियो नेपाल द न्युज रिड बाई हरिस चन्द’ भनेको त्यो ओजिलो आवाज मलाई अहिले पनि सम्झना छ। त्यसपछि कुनै बार चौतारी पनि आउँथ्यो।
म रेडियो बोकेर मेलापात पनि जाने गर्थेँ। रेडियो अरूलाई पनि सुनाउँथेँ र आफू पनि सुन्थेँ। रेडियो सुनेपछि काम पनि तीव्र रूपमा हुने गर्थ्यो। ‘कलिलो तामालाई, सोध रामलाई’ भन्ने गीत त्यति बेलादेखि नै चर्चामा आएको हो। हाम्रो घरमा ‘सान्यो’ ब्रान्डको रेडियो थियो निकै बलियो, खासै नबिग्रने। कसैले ‘सोनी’ रेडियो पनि किने। खस्राङ, अलइन्डिया, पेकिङ, सिलोन, बिबिसी रेडियोहरू छानिछानी सुन्थ्यौँ। पछि नेशनल रेडियो नेपालमै एसेम्बल भएपछि त्यसले बजार राम्रै लिएको थियो।
मैले खासाबाट आएको सानो खालको रेडियो पनि किनेँ साह्रै सस्तोमा। म २०४० सालमा काठमाडौँ आएपछि सिंहदरबारस्थित रेडियो नेपालमा घुम्न जाँदा आफूले ठुलै उपलब्धि हासिल गरे झैँ लागेको थियो। रत्न रेकर्डिङ संस्थान पनि सिंहदरबारभित्रै अर्थात् रेडियो नेपालको पश्चिम-उत्तरतर्फ रहेको थियो। प्रसिद्ध गायक नारायण गोपाल कुनै बखत रत्न रेकर्डिङ संस्थानको महाप्रबन्धक भए भने कुनै बखत सांस्कृतिक संस्थानको महाप्रबन्धक पनि भएका थिए।
२०४० सालमा काठमाडौँ छिरेको केही दिनपछि पहिलो चोटि सिनेमा हेर्न साथीहरूसँग नयाँ सडकको फसिकेबस्थित रञ्जना सिनेमा हलमा गएँ। त्यहाँ मेरा लागि पहिलो हिन्दी सिनेमाको रूपमा ‘खुदा कसम’ हेरेको थिएँ भने मेरा लागि पहिलो नेपाली सिनेमा ‘जुनी’ थियो। जुनीमा भुवन केसी र मिनाक्षी आनन्दले अभिनय गरेका थिए।
२०४२ सालमा नेपाल टेलिभिजनको स्थापना भएपछि सिंहदरबारको माथिल्लो कुनै एउटा तलाबाट कार्यक्रमहरू प्रसारण हुन्थ्यो। नेपाल टेलिभिजनका तत्कालीन महाप्रबन्धक नीर शाह र कुनै एक शाखामा कार्यरत चलचित्र अभिनेता कृष्ण मल्ललाई देख्दा आफ्ना लागि केही उपलब्धि भए झैँ लाग्दथ्यो। त्यसअघि वहाँहरू अभिनीत सिनेमा हेरिसकेको थिएँ। नेपाल टेलिभिजनले प्रसारण गर्ने कार्यक्रमहरूमध्ये विजय कुमारले सञ्चालन गरेको ‘आठ बजे’ धेरैले रुचाउने गर्दथे। जुन कार्यक्रम नेपाल टेलिभिजनले बेलुकी आठ बजे नै प्रसारण गर्दथ्यो।
सुरुमा नेपाल टेलिभिजनबाट समाचार वाचन गर्नेहरूमा दुर्गानाथ शर्मा र रमा सिंह थिए भने पछि डा. सुबोध पोखरेल र अरूले पनि समाचार वाचन गर्दथे। एक जना वाचिकाले समाचार वाचन गर्दागर्दै सिँगान पुछेको दृश्यले चर्चा पाएको थियो। उनलाई रुघाखोकीले ग्रस्त पारेको देखिन्थ्यो। नेपाल टेलिभिजनबाट प्रसारण हुनेमध्ये सन्तोष पन्तको ‘आजभोलिका कुरा’ नामको कार्यक्रम पनि धेरैले रुचाउँदै आए। पछि ‘आजभोलिका कुरा’ लाई नाम परिवर्तन गरेर ‘हिजोआजका कुरा’ कायम गरियो। पछि हाँस्य-व्यंग्य कार्यक्रम ट्वाक्कटुक्क’ ले पनि राम्रै स्थान पाएको थियो।
२०४३ फागुन २० गते दशरथ रंगशालामा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धा बिच फुटबल प्रतियोगिता भइरहेको थियो। हामी खाना खाएर फुटबल म्याच हेर्न दशरथ रंगशाला जाने क्रममा शहिदगेटनिर पुगेका के थियौँ, अचानक ज्यादै वेगका साथ पानी र हुरी आउन थाल्यो। जस्ताहरू अन्धाधुन्ध उड्न थालेपछि हामीहरू अतालियौँ। शहिदगेटबाट हामी तत्कालै फर्कियौँ। डेरामा फर्केर घरबेटीको टिभीमा समाचार हेर्दा रंगशालामा भागदौड भई भर्याङको चेपमा खुट्टा अड्किई कुल्चिएर ९३ जनाले ज्यान गुमाएको दुःखद समाचार सुन्नुपर्यो। एकछिनपछि घरबेटीका छोरा नरेन्द्र श्रेष्ठ घाइते भई प्राथमिक उपचारपश्चात् हस्याङफस्याङ गर्दै घर आएपछि घटना बारे बताए। अलि अगाडि नै रंगशाला प्रवेश गरेको भए हामी के हुन्थ्यौँ थाहा थिएन। धन्न फर्केर आएकोमा आफूलाई भाग्यमानी ठान्यौँ।
चर्चित हास्य कलाकार, अभिनेता तथा गायक हरिवंश आचार्यसँग २०४२ सालमा डिल्लीबजार ओरालोमा रहेको स्टक एक्सचेन्ज लिमिटेड परिसरमा मेरो परिचय भएको थियो। त्यसपछि उनीसँग भेट भएन। तर उनले अभिनय गरेका नाटक, प्यारोडी, चलचित्र हेरेँ। गाउँमा छँदा मदनकृष्ण र हरिवंशद्वारा रेडियो नेपालबाट सञ्चालित कार्यक्रम रस रङमा प्रस्तुत भएको मैले कहिल्यै नबिर्सिने एक अंश यस प्रकार छ-
‘मास्तिरको मास्तरले मुन्तिरको मास्तरलाई वास्ता गर्ने भए पो मुन्तिरको मास्तरले मास्तिरको मास्तरलाई वास्ता गर्छ।’
२०६० देखि २०६९ सालसम्म हाम्रो बसाइ चाबहिलमा भयो। सामान्य प्रशासन मन्त्रालयको स्टाफ बस कर्मचारी ल्याउन आउँथ्यो। नारायण गोपालका साङ्गीतिक समूहका तबला वादक राजु अग्रवाल पनि सो बस कुरिराख्नु हुन्थ्यो। अग्रवाल कार्यरत रेडियो नेपाल र म कार्यरत उद्योग मन्त्रालय सिंहदरबारभित्र एकै ठाउँ भएकोले बसमा चढ्दा पनि हाम्रो सिट सँगसँगै हुन्थ्यो। मैले नारायण गोपालका बारेमा जिज्ञासा राख्थेँ। उहाँले नारायण गोपालका अम्मलका बारेमा जवाफ दिँदै भन्नुहुन्थ्यो। जे होस् अम्मली भए पनि इतिहासमा नाम रचेका नारायण गोपालका कालजयी गीतहरू धेरैले सुन्छन्। उनकै नाममा साङ्गीतिक प्रतिष्ठान छ, नारायण गोपाल चोक छ, नारायण गोपाल सडक छ।
राजुले मेरो कपाल झरेको र फुलेको देखेर मलाई भन्नुहुन्थ्यो- ‘म तपाईंलाई इन्डियाबाट कपाल झर्नबाट र फुल्नबाट रोक्ने तेल ल्याइदिन्छु।’ यसरी मेरो वहाँसँग लामै संगत भयो। मेरो सरुवा अन्यत्रै भएकोले सामान्य प्रशासन मन्त्रालयको स्टाफ बस चढ्ने मौका मिलेन र राजु अग्रवालसँग पनि भेट भएन, न त मैले कपाल नफुल्ने र नझर्ने तेल नै पाएँ।
एकै नजरमा माया बस्यो है…!
२०४५ सालतिरको कुरा हो, म २४ वर्षको लक्का जवान थिएँ। एक दिन विश्वज्योति सिनेमा हलमा शनिवार बिहानको शोमा ‘तकदिर’ नामको हिन्दी सिनेमा हेर्न हलमा प्रवेश गरेँ। हलमा सिनेमाको कास्टिङअघि खाली समयमा नेपाली गीत बजाइन्थ्यो। त्यस दिन ‘एकै नजरमा माया बस्यो है, लुकीछिपी हेरिइदिनाले’ बोलको गीत बज्यो। मिठो शब्द, संगीत र स्वरले सजिएको त्यो गीत मलाई खुब मन पर्यो, जुन मैले पहिला सुनेकै थिइनँ।
त्यस ताका वरिष्ठ गायक पाण्डव सुनुवारले रेडियो नेपालबाट ‘फोन-इन’ कार्यक्रम सञ्चालन गर्थे। त्यो फोन गरेर गीत सुन्ने र अर्को दिन प्रसारण गर्ने कार्यक्रम थियो। फोन सम्पर्कमा आउन चिट्ठा परे झैँ हुन्थ्यो। एक दिन सौभाग्यवश मैले गरेको फोन लागिहाल्यो। सुनुवारसँग केही बेरको गन्थनपछि अनुरोधअनुसार त्यहीँ गीत बज्यो। त्यो गीत पछिपछि फोन-इनमा धेरैको छनोटमा पर्यो, धेरैले फर्माइस गर्न थाले। पटक पटकको फोन-इनमा धेरै बज्यो। त्यसपछि रेडियो नेपालले नियमित रूपमा बजाइरहन थाल्यो- उमेश पाण्डेको स्वरको त्यो गीत।
पछि दिपेश किशोर भट्टराईले रिमिक्स गरेर गाए र दुवै संस्करणमा बजारमा गुन्जिरहे। पाण्डव सुनुवार सेवारत रेडियो नेपाल र म सेवारत उद्योग मन्त्रालय आमनेसामने भएको हुँदा रेडियो नेपालको क्यान्टिनमा पाण्डव सुनुवारसँगै एउटै टेबुलमा बसेर दिउँसोको खाजा खाँदा र चिया पिउँदा र सानातिना गफ गर्दाका सम्झना पनि ताजै छन्।