‘नमस्कार म्याम! म सरोज रिजाल रेडियो नेपालबाट। तपाईंसँग ‘साहित्य संसार’ कार्यक्रममा कुराकानी गर्न सकिन्छ कि भनेर सम्पर्क गरेको हुँ। तपाईंको सम्पर्क नम्बर दिनुभए आभारी हुने थिएँ।’ म्यासेन्जरमा टुप्लुक्क आयो, रिजाल सरको म्यासेज।
तीजको रोमाञ्चकतामा हराएको छ मेरो मन यतिबेला।
एकातिर तिजको उल्लास छ, अर्को सरको म्यासेजले उत्साही भएकी छु। रेडियो नेपालको निम्तो पाएर हर्षित हुन्छु, ‘अहो! रेडियो नेपालमा गएर साहित्यिक कुराकानी गर्ने! आफैलाई प्रश्न गर्छु। आफ्नै मनको नाङ्लोमा आफ्ना विचारहरूलाई निफन्न थाल्छु। यस्तो सुनौलो अवसर छोड्नु हुँदैन भन्दैछ मेरो मन। तिज सकिएकै छैन, लौ जा त मलाई अर्को महत्त्वपूर्ण चाड आएजस्तै भयो। अनि तुरून्त रिप्लाई गरेँ, ‘हस् सर हार्दिक धन्यवाद!’
मैले आफ्नो सम्पर्क नम्बर पनि म्यासेन्जरमा पठाउन ढिलो गरिनँ। सरसँग कुराकानी सहजै भयो। कार्यक्रम योजना तय भयो, भदौ २३ गते आइतबार रेडियो नेपाल जाने पक्का भयो। साथमा कवि भारती न्यौपाने दिदीसँगै जाने हुँदा मलाई अझ ढुक्क भयो।
तीज सकियो। ऋषिपञ्चमीको दिन सम्पूर्ण काम भ्याएर ११ बजे सिंहदरबार पुग्न मलाई धौधौ पर्लाजस्तै भएको छ। गुर्जुधाराबाट बानेश्वर जाने गाडीमा चढेकी छु। धन्न सिट पाएकी छु। कलंकीदेखि नै गाडीले पञ्चमीको पाइला गन्न थालिसकेको छ। टेकु पुगेपछि सडकभरि देख्छु यातायातका साधनहरूले गरेको सामूहिक ध्यान अभ्यास। गाडीमा अरू यात्री छट्पट गरेका छन् तर मेरो मनमा अतीतको रेडियो अचानक बज्न थाल्यो, ‘जदौ साहित्य संसार कार्यक्रमबाट दाहाल यज्ञनिधिको।’
झसङ्ग हुन्छु।
कानमा साहित्य संसार कार्यक्रमको त्यो मीठो धून बज्न थाल्छ। आँखामा दाहाल यज्ञनिधि सरको अनुहार उत्रिन्छ। दाहाल सरप्रति हृदयभरि सम्मानको सगरमाथा ठडिन्छ। शिरनत हुन्छु त्यो भद्र काया र मीठो आवाजको सम्मोहनमा। वर्तमान र अतीतको रोटे पिङमा आनन्दले झुलेकी छु। साहित्य नबुझ्दै मैले सुनेको साहित्य संसार कार्यक्रममा आज म आफै साहित्यिक वार्ताका लागि हिँडेकी छु।मस्तिष्कभरि नाच्न थाल्छ मेरो अतीत। स्कुल जाने समयमा रेडियोमा जदौ! भन्दै आउँथे दाहाल यज्ञनिधि।
रेडियोसँग सम्बन्धित कथाहरू आमाले सुनाउनुहुन्थ्यो। रेडियोको विज्ञानलाई बुझ्न छोडेर रेडियोका पुरानै दन्त्यकथातिर यो मन मोडिन्थ्यो। मस्तिष्कलाई कसले बोझिल हुनदिओस्। विज्ञानका रहस्य कसले खोतलोस्। सुरूमा रेडियो देखेपछि सोझासाझा मान्छेले रेडियोप्रति गरेका सोझासाझा प्रतिक्रियाहरू सुनेरै म रमाउन थालेकी थिएँ।
मलाई गाउँलेहरूले सुनाएका रेडियोसम्बन्धी कथाहरू नै प्रिय लाग्थ्यो। सुरू सुरूमा रेडियो आउँदा मान्छेले गरेका उटपट्याङ् सुन्नमा रस जो बसेको थियो। ठूलै भए पनि पनि रेडियोको विज्ञानबाट अनविज्ञ रहेको समय थियो। मनमा रेडियोप्रतिका तमाम प्रश्नहरू उठिरहन्थे। आखिर रेडियोभित्र कहाँ बस्छन् होला यी बोल्ने मान्छेहरू? के खान्छन् होला त्यत्रा मान्छेहरूले ? रेडियोको संसार हेर्ने मन सानैमा पलाएको रहेछ।
आमाले कहिलेकाहीँ रेडियो नबज्दा रेडियो बनाउन एसिया इलेक्ट्रोनिक्समा पठाउनुहुन्थ्यो। रेडियोको करङ फुकालेको हेर्न अघोर रहर लाग्थ्यो तर आफ्नो रेडियो करङ खोलेको कहिले देखिनँ। ‘बनाएर राखिदिन्छु, तिमी स्कुल छुट्टी भएपछि आऊ है लिन’ भन्थे ती रेडियो बनाउने एसिया दाइ। घर लगेपछि पनि चिहाउँथेँ रेडियोको भित्र तर कोही देख्दिनँ थिएँ। अनि आफ्नै मनले भन्थ्यो, ‘आँखाले नदेख्ने कीरा जस्ता मान्छे बोलेका होलान्। बारम्बार रेडियोभित्रको रहस्य खोतल्न उत्सुक हुन्थेँ। रेडियोको छिद्रहरूबाट देख्थेँ राता राता तारहरू बटारिए मान्छे झैं उभिएका। लाग्थो तिनै हुन् ताररूपी मान्छेहरू, जो भित्रबाट बोल्छन्। घरी घरी शङ्का पनि उठ्थ्यो के जादू छ आकिर यो रेडियोमा? आखिर कहाँबाट बोल्छन् यी मान्छेहरू ममा कौतूहल सिर्जना हुन्थ्यो। मस्तिष्क थाक्थ्यो भेउ नपाएर। अहिले रमाएकी छु अतीतका मीठा पलहरूमा पौडिएर।
हाम्रो घरमा आएको पहिलो रेडियोको नौलो इतिहास सुन्दै आएकी थिएँ। आमा भन्नुहुन्थ्यो, ‘ उः त्यो बाकस हेर त नानी तेरो बुबाले रेडियो राख्न बनाउनुभएको।’
म छक्क पर्थेँ।
म अटाउने त्यो ठूलो बाकसमा कत्रो रेडियो थियो होला? त्यो ठूलो रेडियोको अवशेष चाहिँ कता गयो होला ? त्यो जिज्ञासा राख्ने बुद्धि किन आएन। त्यो ठूलो रेडियो कसले लग्यो होला भन्ने जानकारी लिन किन जाँगर चलेनछ मलाई। आमाले सुनाएका रेडियोका कथा सुन्दै ठीक भएछ।
आमा भन्नुहुन्थ्यो, ‘हाम्रो घरमा ठूलो रेडियो आएपछि टाढा टाढाबाट मान्छेहरू रेडियो नै हेर्नका लागि सातुसामल लिएर आउँथे रे। जनकपुर लगेर ब्याट्री चार्ज गर्नु पर्थ्यो रे। बर्दिबासदेखि मान्छेले बोकेर गौरनटोलसम्म ल्याएको रेडियो इतिहासले मलाई वर्तमानमा स्वाट्ट ओराल्यो।
गाडी त्रिपुरेश्वर कटिसकेछ। ताउरमाउर गर्छु, माइतीघर ओर्लिन। भारती दिदी हात्तीवनबाट माइतीघर आउँदै हुनुहुन्छ। गाडीबाट झरेर बस बिसौनीमा प्रतीक्षारत छु। भदौको घाम खपिसक्नु छैन। छाता ओडेर उभिएकी छु तीस मिनेटसम्म। त्यो प्रचण्ड घाममा म तीस मिनेटसम्म अतीतमै हराएकी छु र त घामले पोलेको पनि पत्तो पाइनँ।
‘आज शनिबार ११ बजे पाण्डव सुनुवारको ‘फोनइन’ कार्यक्रम आउँछ। ओई ! केटी ब्याट्री सकिन्छ, रेडियोबन्द गरिहाल।’ रेडियो नेपालबाट त्यो बेला प्रसारण हुने निकै लोकप्रिय कार्यक्रम थियो ‘फोनइन’। फोन गरेर अनुरोध गरिने गीति कार्यक्रम।
शनिबारको फोनइन कार्यक्रम र एक बजेपछिको नाटक मेरो पनि मन पर्ने कार्यक्रम थिए। म फेरि अतीतको भर्याङ उक्लिन्छु, ‘म रेडियोकै वरिपरि घुम्छु, ‘ओई हट् मेरो रेडियो नचला। तँ नाटक सुन म फोनइन कार्यक्रम सुन्छु।’ मेरी दिदी प्रायः मलाई भन्छे। दिदीसँगै बसेर म पनि कार्यक्रम सुन्ने मन गर्छु। दिदीलाई अनुरोध गर्छु। तर दिदी आफ्नी साथीलाई लिएर रेडियो बोक्दै उत्तरकोठातिर छिर्छे। ढ्याम्म ढोका थुन्छे र भित्रबाट चुक्कुल पनि लगाउँछे। मलाई हुनसम्मको औडाहा हुन्छ। आँखाबाट भेरी कोशी अनायास बग्न थाल्छन्। निकैबेर आँखामा बादल फाटेपछि वर्षा थामिन्छ। अनि दगुर्छु रेडियोमा आएको फोन सुन्न। ढोकामा अढेस लागेर कान थाप्छु भित्र। दिदी र दिदीकी साथी रेडियो सुन्दै खितखित गर्छन्। मेरो मन अझ छट्पटिन्छ।
भिमानको घरबाट म एकैचोटि थापाथली चोकमा पुनः झर्छु। गाडीको हर्न जोडले बज्छ। मेरो ध्यान भारती दिदीतिर दौडन्छ। घडीले ११ बजेर दश मिनेट गएको संकेत गर्छ। दिदीलाई फोन गर्छु।
‘आइपुग्न लागेँ’ भन्ने दिदीको शब्द सुनेर मख्ख पर्दै फोन बन्द गर्छु। म पुनःरेडियोकै स्मृतिमा रमाउन थाल्छु, ‘रेडियोप्रतिको मोह हाम्रो पुस्तालाई कस्तो थियो भन्ने कुरा मनभरि उठेको छ। सम्झिन खोज्छु २०५२ सालमा रेडियो नेपालभित्र छिरेर हेरेका दृश्यहरू। धोका दिन्छ स्मृतिले। शून्य छ स्मरण। उत्तिखेर घडीमा ध्यान जान्छ। अहो! समयमा पुग्नुपर्ने किन दिदी आउनुभएन। पुनः दिदीलाई फोन गर्छु। दिदी त अगाडि गइसक्नुभएछ। हाम्रो भेट माइतीघरमा हुन्छ। खुसीले ओतप्रोत भएको मुहार लिएर दिदी माइक्रोबाट ओर्लनु हुन्छ।
अब हाम्रा पाइला दगुरेका छन् सिंहदरबारतिर। अन्नपूर्ण अस्पताल अगाडि पुग्दा सरोज सरको फोन पनि आयो। गाडीले पनि आज पञ्चमीको पाइला चालेर ढिलो भएको जानकारी सिंहदरबारसम्मै पुग्छ। सरोज सरले सोध्नुभएको थियो, ‘तपाईंलाई सिंहदरबारभित्र प्रवेश गर्न पास चाहिन्छ कि चाहिँदैन म्याम?’ धन्न मैले चाहिन्छ भनेछु। हामी सिंहदरबारको दक्षिण गेटतिर लाग्यौं। १ नम्बर झ्यालमा गएर नागरिकता देखाएर पास पनि लियौं। हाम्रो र ब्यागको परीक्षण भएपछि भित्र सजिलै प्रवेश गर्यौं। अब हामी सिंहदरबारभित्र हिँड्दै छौं। निकै सफा छ भित्रको वातावरण। काठमाडौं नै हो र भन्ने भान पनि भयो। मन्त्रालयहरू वरिपरि देखिन्छन्। सेता सर्ट लगाएका राष्ट्रसेवकहरू ओहोरदोहोर गरेका छन्। मेरो स्मृतिमा यो ठाउँ कतै छैन अहिले। दिदीको पछि पछि हिँडेकी छु नौली बनेर। हामी रेडियो नेपाल परिसरमा आइपुगेका छौं। पानी बोक्न बिर्सिएर काकाकुल भएका छौं यो प्रचण्ड घाममा। स्टुडियोको हातामा डिस्पेन्सरमा राखेको पानीको जार देखियो। पानी खान नजिकै गएँ।
राम ! राम ! जार त सफा नै थियो तर पानी थाप्ने ठाउँमा हरियो लेउ लपक्क लागेको देखेर पानी खानै मन लागेन। नजिकै क्याफ्टेरिया रहेछ। भारती दिदी पानी किन्न दगुर्नुभयो अचम्म पनि कस्तो त्यहाँ पनि पानी सकिएको रहेछ।
सरोज सरलाई फोन गरेर हामी रेडियो नेपालको स्टुडियोमा आइपुगेको जानकारी दियौं। पानीको चर्चा चुलियो केहीबेर। एकातिर घाँटी सुकेको छ, अर्कोतिर मनमा डर डर लागेको छ। साहित्यका महान् हस्तीहरू आएर साहित्यिक वार्ता गर्ने ठाउँमा म बबुरी अहिले उभिएकी छु।
कस्तो प्रश्न सोध्नु होला? मनमा कुरा छड्किरहेकै अवस्थामा हामीलाई लिएर सरोज सर स्टुडियोभित्र प्रवेश गर्नुभयो। हाम्रा जुत्ताहरू हामीलाई कुरेर बाहिरै बसे, जुत्ताको दराजमा। तिनीहरू निषेधित थिए भित्र जानलाई। हामी अब रेकर्डिङ हलमा छौं। सामानविहीन कोठा नौलो छ। छाना पनि नौलो छ। कोठामा एउटा माइक छ। एउटा टेबल र छ चारवटा कुर्सीहरू छन्। पारदर्शी सीसाबाट देखिन्छ प्राविधिक सहयोगी दिदीलाई। केहीबेर अनौपचारिक कुराकानीपछि हाम्रो साहित्यिक वार्ता आरम्भ हुन्छ। करिब आधा घण्टाको कुराकानी राम्रै भएको जानकारी भारती दिदीले दिनुहुँदा म ढुक्क भएँ।
सातपत्रे छाला सुक्ने भदौको चर्को घाममा हाम्रो ओठमुख सुक्नु कुनै नौलो कुरा थिएन। असिनपसिन भएर हामी रेडियो नेपालभित्र पुगेका थियौं। भन्नै बिर्सिएकी हामीलाई सरोज सरले त तातो पानी अघि नै ल्याइदिनुभएको थियो। खोकी लागेको छातीलाई तातोपानीको स्वागत लाभदायक नै भयो। बोल्दाबोल्दै खोकीले च्यापेको बेला तातो पानीले साथ दियो। हाम्रो कुराकानी सकिएपछि ताराप्रसाद वस्ती सर पनि स्टुडियोमै आउनुभयो।
फेसबुकमा त हाम्रो चिनजान थियो तर आज प्रत्यक्ष भेट हुँदा आनन्दित भएकी छु। अब हामी अनौपचारिक चियावार्ताको लागि रेडियो नेपालको क्याफ्टेरियातिर लाग्यौं। चिनीबिनाको चियाले हृदय गद्गद भयो र दोहोर्याएर अर्को कप चिया पनि पिउन लोभियौं। हाम्रो कुराकानी पारिवारदेखि रेडियो नेपालसम्मकै भयो करिब एक घण्टा।
मेरो मनमा रेडियोबाट प्रसारित हुने नाटकको भूतले अझ छोडेको थिएन। सरोज सरले नाटक मञ्चन हुने कोठासम्म हामीलाई लिएर जानुभयो। खाट, भर्याङ ढोका, झ्याल सबैको आवाज जस्ताको तस्तै नाटकमा आउने गरी निर्माण गरिएको स्टुडियो देखेर म पुनः दसैंको शुम्भ निशुम्भको त्यो नाटकमा पुगेँ।
कृषि कार्यक्रमका जेटियो बाबु र बूढी आमैको आवाज टड्कारो भएर गुञ्जियो। रेडियो नेपालको आँगनमा म खोज्दै थिएँ मेरो त्यो स्वर्णिम बाल्यकाल। आमाले सुन्ने गरेको घटना र विचार कार्यक्रम। हरिविनोद अधिकारी र सीता कोइरालाको आवाज पनि स्मृतिको आँगनबाटै सुन्न भ्याएँ। बासुदेव मुनाल सरले मलाई बोलाएको झैँ लाग्यो, ‘मेरा प्यारा प्यारा भाइबहिनीहरू रेडियो नजिकै आऊ।’ मलाई अहिले मेरो विगतले निकै लोभ्याएको छ। आज अतीत किन प्यारो लाग्दैछ। शरीर सिंहदरबारमा भए पनि म पुगेकी छु भिमान। रेडियोको त्यो सुन्दर समयमा आज फेरि हराउन मन छ। दिदीसँग झगडा गरेर पुनः रेडियो खोस्न मन छ। बिहान पाँच बजेदेखि नै आउने सुमधुर भजनहरू सम्झिँदै छु। हरेक घण्टा सुन्नु पर्थ्यो मेरी आमालाई समाचार। विश्व परिवेश कार्यक्रम सुन्न आमा सधैं कर गर्नुहुन्थ्यो। स्कुल नभएको समयमा म सुन्थेँ विश्व परिवेश। बडो मीठो आवाज थियो कार्यक्रम प्रस्तोताको। खोइ कसले सञ्चालन गर्थ्यो विश्वपरिवेश कार्यक्रम त्योबेला बिर्सिएछु। रेडियोबाट प्रसारण हुने हिन्दी र आधुनिक गीत मेरा लागि अझ विशेष थिए। चलचित्रका गीत पनि प्रिय लाग्थे। दिदी जनकपुरतिर गएको बेला शनिबारको दिन मेरो घरमा बिहानदेखि नै फूल साउण्डमा रेडियो बज्थ्यो। करिब एक घण्टा रेडियोले आराम गर्थ्यो। एक बजेपछि पुनः कान ठाडा हुन्थे नाटक सुन्न। यस्तै यस्तै कुरा मनमा खेलेका छन् अहिले।
करिब तीस वर्ष अगाडिको मेरा स्मृतिले केही काम गरेन। मात्र यति सम्झियो। पहिलोपटक काठमाडौं आएर सिंहदरबारभित्र समाचार भन्ने ठाउँ हेरेकी थिएँ। गीत रेकर्ड गर्ने ठाउँ पनि हेरेकी थिएँ तर आज ‘जिली न गाँठी’ भएको छ। सिंहदरबारभित्रको एउटा सम्झना चाहिँ अझ ताजै रहेछ। मैले कोकाकोला यतै कतैको क्यान्टिनमा खाएकी थिएँ पहिलोपटक। नाकबाट कोकाकोला सर्किएर झन्डै सिलटिमुर खाएकी थिइनँ। रोमाञ्चित भएको छ आजको भेटवार्ता र निमिट्यान्न हुनै लागेको मेरो अतीतको सिंहदरबार। निकै समयसम्म रेडियो नेपाल परिसरभित्रै बसेर रमायौं। फोटो खिच्यौं। ताराप्रसाद सर र सरोज रिजाल सरसँग बिदा माग्दै मनभरि सम्झनाका ताजा कोसेली बोकेर घर आएँ र सबै कुरा केही नराखी सुनाएँ।