मलाई बाले २०३१ सालतिर पोखरामा साबुन फ्याक्ट्री खोलेको थाहा छ। ‘व्यर्थ छ जीवन त्यसको, उद्यम बिना बित्दछ जीवन उसको’ भन्ने प्रसिद्ध भनाइ छ तर म उद्यमी बन्न सकिनँ।
बन्न नसकेको उद्यमी म अध्यापनमा छु। उद्यममा २४ औँ घण्टा खट्नुपर्ने पढेको र सुनेको थिएँ तर बाले म सानो छँदा गरेको साबुन फ्याक्ट्रीमा बालाई मैले प्रायः देख्दिन थिएँ। त्यसैले होला बाको फ्याक्ट्री नचलेको।
बा केही सामाजिक, केही अरूको सहयोग गर्न रुचाउने, केही भद्रगोले थिए नै। त्यसैले सबैले बालाई कजाउँथे, लदाउँथे। उनी पनि लदिन खट्न दंग पर्थे। कजाउनेको दोष थिएन, सायद बाको भाग्य त्यस्तै थियो कि?
उद्यमशीलता पढाउँदा विद्यार्थीले कक्षामा मलाई सोध्ने एउटै प्रश्न थियो- ‘सर, तपाईंले किन व्यवसाय नगरेको?’ म नाजवाफ हुन्थेँ। बोल्ने भन्ने शब्द थिएन। मैले व्यवसायमा लाग्दा म एसएलसी दिएको थिएँ तर त्यो बाले सुरु गरेको पसल थियो। बाले चलाएको सुरु गरेको भए पनि पसलबाट मैले केही सिकेँ। त्यो बेलाको पसलमा करिब ३० हजार जतिको लगानी थियो कि सायद।
कक्षा कोठामा विद्यार्थीलाई मेरो सधैँ उही जवाफ हुन्थ्यो। ‘पढ्ने बेला आफ्नो काम गरियो, अहिले आफ्नो काम गर्ने बेला जागिर खाँदै छु।’
मेरो उत्तर सुनेर उनीहरू छक्क पर्दथे।
‘हजारको नोट साट्नु बाउलाई काट्नु सरह हो’ भन्ने कहावत सुनेको थिएँ। गहकिलो लाग्यो। यस्तो सोच राख्ने हाम्रो समाजले जोखिम कसरी उठाउला त? यस कारण पनि विदेशीले आएर हाम्रा घर गाउँमा जोखिम मोलेर काम गर्ने अनि हामी तिनै विदेशीले खोलेको उद्यममा नोकरी गर्ने। हाम्रो नियति यही त हो नि। मैले कक्षा ४ मा ‘मनी एट्रयाक्ट मनी’ भनेर पढेको थिएँ तर ममा यो सुद्धी थिएन।
उद्यमशीलता पढाउँदा जोसेफ सम्पिटरको सिद्धान्त मात्र पढेको थिएँ जो उद्यमशीलताका परिकल्पनाकार थिए। उनैले अर्थशास्त्रको एक भाग उद्यमशीलतालाई छुट्टै उद्यमशीलता विधा बनाए।
त्यो बेला या नि २०४४ ताका पढ्दै गर्दा पसल पनि गरिन्थ्यो। कतिपय पढे लेखेको माया मान्ने आफन्तले नपढेर पसलमा बसेको भनेर गाली पनि गर्दथे र भन्थे- ‘पढ्ने बेला पसलमा बसेर गल्ती गर्दै छौ।’ अहिले त्यो बेला सँगै पढ्ने सहपाठी देशकै ठुला मान्छे बनेका छन्।
हालसालै एक जना विद्धानले अन्तर्वार्तामा जोखिमबाट भागेर जागिर खानेले के उद्यमशीलता पढाउला भन्ने तर्क गरेको सुनेँ। यसैले यो बा र आफ्नो उद्यमको असफल कथा पस्कँदै छु। अन्यथा नलिनुहोला।
हुन त आफै नमरी स्वर्ग देखिन्न भन्छन् र पनि सामर्थ्यवान् मानिसले मृत्युलाई पनि टाल्न सक्छ। अर्थात् पर धकेल्न सक्छ। यस कारण मनमा दृढ सङ्कल्प र विश्वास गरेमा उद्यमको प्रयास अवश्य सफल हुन्छ नै।
२०४४ देखि २०५० सालसम्म सानोतिनो उद्यम गरियो। उद्यम पनि के भन्ने, पसल भन्न पर्यो। यसबाट भए पनि केही अनुभव भने पक्कै गरियो। जसमा जोखिम लगन सिप, मेहनत, माग आदि चाहिन्छ। उक्त अनुभव संगाले पनि उद्यमशीलता पढाउने गरेर उहाँ विद्धानले भनेजस्तो जोखिम भने मैले मोलेको थिइनँ। त्यस कारण उहाँको परिभाषामा म उद्यमका लागि योग्य होइन न त उद्यमशीलता पढाउनका लागि नै।
सन २००९ देखि निरन्तर २०२३ सम्म विभिन्न निजी कलेजहरूमा स्नातकदेखि स्नातकोत्तरसम्म उद्यमशीलता विषयमा शिक्षण गरेँ। जानेर पढाएँ, नजानेर पढाए कि ती विद्यार्थीलाई थाहा होला, कि त भगवानलाई, कि मेरो ब्रह्मलाई।
मैले सिकाउने गरेको उद्यमशीलता ‘सबैले गर्ने व्यवसाय काम, इलम, उद्यम, उद्यम नै होइन; काम, उद्यम, इलम त त्यो हो जुन अरू कसैले नगरेको होस् या पृथक्, भिन्न होस्।’
यो मेरो सिकाइले कति विद्यार्थीले फाइदा पाए होलान् या पाएनन् होला तर मैले सिकाउन भरमग्दुर प्रयास गरेकै हुँ। यही पढाउने क्रममा उद्यमशीलताको बारेमा एउटा पुस्तक लेखेँ जुन त्रिवि, पोखरा र पूर्वाञ्चललाई मिल्ने छ। दोस्रो संस्करण निकाल्ने कुचेष्टा गरिनँ।
उद्यमकै कुरा गर्दा एक जना सिधा लिम्बु मित्र र म भएर काठमाडौँमा कन्सल्टेन्सी पनि खोल्यौँ। घर उहाँकै दाइको थियो। हामी तीन जनाको पार्टनशीप भयो। हुन त हजुरमाले पार्टनरी काम फाप्दैन भन्नुहुन्थ्यो तर वहाँहरू असल भएकाले म ढुक्क थिएँ। कन्सल्टेन्सी कम्पनीमा दर्ता त गरियो। दर्ता गरेर मात्र नेपालमा व्यवसाय गर्न पाइने सकिने रहेनछ। कि त आफ्ना बा नेता हुनुपर्यो कि बा ठुलो हाकिम। आफू परियो सर्वसाधारण मान्छेको छोरा। उहाँ पार्टनर मित्रहरू पनि त्यस्तै आगे न पिछे।
कन्सल्टेन्सी चलाउन त तगारो लगाउने शिक्षा मन्त्रालय रहेछ। कम्पनी दर्ता गरेपछि थाहा भयो, करमा दर्ता पनि गरियो। शिक्षा मन्त्रालयले एउटा निवेदन लियो अनि सानो चिर्कटोमा दर्ता नम्बर लेखेर दियो। दर्ता हुने, चलाउने अनुमति दिने कुरै थिएन। एक प्रकारको ग्रेट वाल जस्तो कडा सिन्डिकेट रहेछ। कन्सल्टेन्सी चलाउनेलाई प्रहरीले मानव तस्कर बुझ्दो रहेछ। धन्य हाम्रो सोच, बुद्धि अनि गिदी।
यो सबै भोगेर मलाई थापाथलीको एउटा बोर्डको याद आयो ।त्यसमा लेखिएको थियो- ‘गरी खान देऊ।’ सोचेँ, त्यो बिचरालाई यस्तै सताएर र आत्तिएर यो लेखेको होला नि। बल्ल थाहा भयो सरकारी अफिसका मान्छेको मूल्य जागिर र काम नै कागज देखाएर हलो अड्काउने नै रहेछ।
शैक्षिक काउन्सेलर अर्थात् परामर्शदाता लाइसेन्स भएर, भाषा शिक्षक बनेर र शैक्षिक पेसामा दशकौँदेखि आबद्ध हुँदा पनि योग्यता नपुग्ने रहेछ हाम्रो सिन्डिकेट शिक्षामा, सबैको जय होस्।
पहुँच, सम्पर्क, तागत, पावर हुनेले नै चलाउने रहेछ कन्सल्टेन्सी जस्तो लाग्यो। ती विद्वानले जोखिम मोल्ने उद्यमी भनेको यस्तो पो हुँदो रहेछ भन्ने लाग्यो। उहाँ विद्धानप्रति म सम्मान गर्छु किनकि उहाँले यथार्थको पर्दा उघारिदिनु भयो। सबैलाई भ्रम चिर्न काम लाग्छ।
चाहे पसल होस् या बस या कन्सल्टेन्सी सबैमा लगन जोखिम, धैर्यता, मेहनत, निरन्तरता चाहिने रहेछ। त्यो ममा थिएन। यसैले म उद्यमी नबनी गोठालो बनेँ, बनिरहेछु। अब मसँग बाले मलाई दिएको पसल जस्तो मेरो छोरालाई दिने केही छैन। मैले गरेका जागिर सार्न र हस्तान्तरण गर्न मिल्दैन।
बाले साबुन फ्याक्ट्री खोल्न एनआइडिसी नेपाल औद्योगिक विकास निगमबाट ६० हजार ऋण लिएका थिए अरे। त्यो बेला हाकिमसँग भनाभन भएर कारखाना बेचेछन्। केही समय त साबुन पनि उत्पादन भएको थियो रे। कच्चा पदार्थ किन्न कानपुर जानुपर्ने, मिस्त्री भारतीय थिए रे; हजुरमाले भनेको सुनेको। साबुन बनाउने कराई तथा अन्य औजार केही पछिल्ला वर्षसम्म पनि त्यसै परिरहेको मैले समेत देखेँ।
यस कारण नेताले, मन्त्रीले चिच्याएर, कराएर बोलेर भाषण गरेर समृद्धि आउन्न। समृद्धिको लागि कर्मचारीतन्त्रदेखि बैंकसम्म, करदेखि स्थानीय निकायसम्मको अवरोध चिर्न पर्छ। कराएर, लेखेर, बोलेर, नारा बनाएर, घोषणापत्र बनाएर समृद्धि कदापि आउन्न।
बा मात्र किन? म पनि भद्रगोले नै छु। हुन त व्यवस्थापन मूल विषय लिएर पढेको हुँ। त्यसैले पढाइ सबै थोक पक्कै होइन, बुझ्न जरुरी छ। पढ्नु र ग्रहण गर्नु फरक कुरा हो। हरिवंशले गीतमा भनेझैँ ‘बाउन्न गुस्सा त्रिपन्न ठक्कर खाएको मान्छे हुँ।’
बाले साबुन फ्याक्ट्रीका समानहरू लथपत्र फ्याँकेझैँ मैले पनि पसलका सामानहरू अलपत्र पारेँ। जवानी गयो, समय गयो तर उद्यमी बन्न सकिनँ। यसैले होला करियर जोखिम भनेका। पसल चलिरहेको थियो हाम्रो। पसलसँगै अन्य ६/७ वटा पसल पनि थिए, ती पसल राम्रो चल्थे। लगानी पनि मनग्गे गरेका थिए तर हामीकोमा लगानी नगण्य थियो। यो देखेर घरबेटी बाले अब पसलको भाडा बढाउँछु भन्नुभयो। यस कारण पनि पसल छोड्न पर्ने भयो। पसलमा पैसाको अभावमा सामान नै थिएन। २०४८ साल ताका पसल बेचियो। सबै सामान लथालिङ्ग र भताभुङ्ग भयो।
उद्यम गर्न सही समय, सही स्थान, सही व्यवसाय, सही व्यक्ति, सही लगानी, व्यवसाय छनौट आदि महत्त्वपूर्ण छन्।
उद्यम छाडेर उद्यमशीलता पढाएको सत्य होइन तर सबै उद्यमशीलता व्यवसाय हुन्, यो भनाइ घत पर्दो छ। ‘पसल, दोकान, काम, इलम, व्यवसाय त सबैले गर्छन् तर नौलो, अनौठो, फरक, भिन्न दर्जाको पसल, व्यवसाय, काम मात्र उद्यमीले मात्र गर्छन्।’ यसको उदाहरणमा जस्तो कि बनना कटेज, ट्राउट माछा, कालिज फार्म, अस्ट्रिज फार्म, ड्रागन खेती, गँड्यौला खेती, पार्टी बस आदि।
बा पहिलादेखि नै पैसा खेलाउनु पर्ने मानिस, त्यसैले अनेक किसिमका काममा हात हाल्नुभयो तर सफल हुनु भएन। यो त एउटा दृष्टान्त हो। सबैले सफल मानिसको कथा पढ्छन् लेख्छन् तर असफल मानिसको कथाबाट पनि केही पाउन सकिन्छ। यो आफ्नो बखान वा चर्चा कदापि होइन, अन्यथा नलागोस्।
दुई वटा डुंगामा खुट्टा राख्नु; उद्यम थाल्नु अनि सामाजिक बन्न खोज्नु, समाजसेवामा लाग्नु कदापि मेल खाँदैन। उद्यमशीलता एउटा साधना हो, धावन्ते खेती भनेझैँ खेती लगाएपछि खेतीमा धाउन सक्नुपर्छ नत्र खेती हुँदैन। उद्यम पनि त्यस्तै हो।
सबै उद्यमशीलता पढाउने शिक्षकहरू उद्यमी नै हुन्छन् भन्ने छैन। किनकि उद्यमीलाई सिला बटुल्ने फुर्सद हुँदैन। उनीहरू डक्कैको पछाडि लाग्छन्। यस कारण पढाउन आउँदैनन् सिवाय गेस्ट लेक्चर। पढाउने त त्यही सिद्धान्त पढेकाले नै हो तर ऊ पनि अपडेट हुनुपर्छ। यो साँचो हो, आवश्यक हो।
उद्यमशीलता सफल नहुनुमा जोखिम लिन नसक्नु मनोवैज्ञानिक, पारिवारिक, सामाजिक, आर्थिक, पेसागत र करियरको जोखिम हुन्छ नै। यो सब जोखिम मोल्न तयार हुनुपर्छ। पसले वा व्यवसायीको दुलहीहरूले कहिलेकाहीँ गुनासो गर्छन्- ‘म त वहाँको जेठी बुढी हुँ, कान्छी बुढी त पसल, काम हो मेरा बुढाको।’ कुरा सत्य हो, यसो गरे मात्र सही उद्यमी बनिन्छ, सफल भइन्छ।
बाका सबैजसो त्यो बेलाका साथीहरू उद्यमी नै छन्। अहिले पनि उनीहरूले बुबालाई असफल उद्यमी भनेर चिन्छन्। बाले उद्यम त निकै गरे, सोचे तर समय दिएनन्। न त स्वार्थी बन्न नै सके न सामाजिक भावना छोड्नै। त्यसैले बा उद्यमी बनेनन्। जुन बेला पोखरा काठमाडौँ रुटमा १० वटा मात्र बस चल्दथे, त्यति बेला बाले वाणिज्य बैङ्कबाट ऋण लिएर बस किनेर चलाएका थिए। बस किने लगत्तै समाजसेवी बनेर बस समितिमा कोषाध्यक्ष बने तर बस भने रेखदेखको अभावमा खोक्रो बन्यो।
पोखराका अहिलेका जाने मानेका व्यवसायी उबेलाका बस व्यवसायी थिए। उनीहरूले छलाङ मारे। नयाँ काममा लागे। हाम्रा बा छेपारोले खाँभो समाएझैँ समाएर बसे, असफल बने। उद्यम सुरु त गरे, लगन राख्न सकेनन्। यस कारण पनि उद्यमी बन्न सकेनन्।
जब तपाईं अरूको कल्याण सोच्नुहुन्छ नि आफ्नो कल्याणलाई धक्का पुग्छ। भन्नका लागि त अरूको कल्याण गरे आफ्नो कल्याण हुन्छ भनिन्छ तर यो आदर्शले रित्तो पेट भरिन्न।
उद्यमी बनौँ, उद्यमी बन्न सबैले पढ्नै पर्छ भन्ने छैन। विद्यालयमा विद्यार्थीको स्तर, सोच, रुचि हेरेर उद्यम सिकाऊँ। स्वावलम्बी बनाऊँ। व्यवहारिक शिक्षा दिऊँ। किताबका ठेलीभन्दा ज्ञानका वचन सिकाऊँ, बालबालिका तथा युवा सबैमा व्यवहारिक शिक्षा सिकाऊँ। पाठ्यक्रममा तत्काल परिवर्तन गरौँ। उद्यमतर्फ लैजाऊँ। शिक्षा उपयोगी बनाऊँ। शिक्षा रोजगारीको मूल बनाऊँ बेरोजगारीको कारखाना हैन।