म सानो छँदा मेरा आमाबुबाले भन्ने एउटा कुरा सम्झिन्छु – छोरा, तँ कुनै दिन ठूलो मान्छे बन्लास्, पैसा कमाउलास्, हामी आमाबाबुलाई बसीबसी खान पाउने गरी पाल्लास्!
त्यो बेला काम गर्नु दुःख हो, काम नगरी खान पाउनु सुख हो भन्ने मान्यता थियो। शरीर मोटोघाटो देखिनु राम्रो मानिन्थ्यो। त्यसैअनुसार आमाबुबा छोराले सुख दिएर बसीबसी खान पाउने कुरा गर्नुहुन्थ्यो।
बढ्दो आधुनिकतासँगै सहरमा आफ्नो मोटरसाइकल, स्कुटर र कार हुनु समाजमा उच्च प्रतिष्ठाको विषय बन्यो। गाउँगाउँमा पनि बाटोघाटो विस्तार हुँदै जाँदा मोटरसाइकल र स्कुटरको होडबाजी बढ्न थाल्यो। यी साधन घरघरमा पुगे।
ससाना सहर ठूला हुँदै गए, त्यससँगै अव्यवस्थित र प्रदूषित पनि भए। दैनिक एक-दुई घन्टा हिँड्ने बानी भएका मान्छे अब मोटरसाइकल र स्कुटर नभई नसक्ने भए। यसबाट अझ अघि बढेर कार पनि सामान्य हुन थाल्यो।
खानपिनको शैलीमा पनि बिस्तारै परिवर्तन आउन थाल्यो। खानाको मात्रा बढ्दै गयो तर हिँड्ने र कसरत गर्ने अभ्यास ह्वात्तै घट्यो। शारीरिक श्रम घट्यो। जीवनशैलीमा आएको यस्तो परिवर्तनले शरीरमा मोटोपन बढ्दै गयो। मदिरापान र धूमपान जस्ता हानिकारक पदार्थको सेवन पनि बढ्दै गयो। बढ्दो सहरीकरण र औद्योगिकीकरणले वातावरण प्रदूषण बढ्दै गयो।
यो सबैको परिणाममा नसर्ने रोगको व्यापकता पनि बढ्दै गयो।
नेपालमा नसर्ने रोगहरूमध्ये धेरैको मृत्यु गराउनेमा मुख्य हो मुटुसम्बन्धी रोग। यसको मुख्य कारणमा उच्च रक्तचाप, मुटुमा कुनै रोग, कोलेस्टेरोल वृद्धि देखापरेको छ।
मुटुसम्बन्धी रोगले नेपालमा मात्र नभई विश्वमै कुल मृत्युमा ३० प्रतिशत हिस्सा ओगट्छ। नेपालमा कयौं बिरामी आफूलाई उच्च रक्तचाप भएको थाहा नपाई हृदयाघातको अवस्थामा पुग्ने गरेका छन्।
नेपालमा कुल मृत्युको १६ प्रतिशत हिस्सा हृदयाघातको छ। बेलैमा उपचार नपाएर नै हृदयाघात हुने गर्छ। नेपालमा मुटुसम्बन्धी रोगको रोकथामको काम अन्त्यन्तै नगन्य छ। मुटुसम्बन्धी अस्पतालहरू ठूला सहरमा केन्द्रित छन्। कतिपय बिरामी अस्पताल पुग्नै पाउँदैनन्।
गरिबी, रोगप्रति चेतनाको अभाव, यातायातमा असुविधा, टाढाको अस्पताल जस्ता कारणले समयमा उपचार नपाउने अवस्था व्याप्त छ।
नेपालमा नसर्ने रोगहरूमा वायु प्रदूषणले निम्त्याउने रोगहरू प्रमुख समस्याका रूपमा छन्। वायु प्रदूषणले श्वासप्रश्वासबाट सोझै असर पुर्याउने भएकाले दम र फोक्सोको क्यान्सर हुने सम्भावना निकै बढी हुन्छ। मुटुरोग र हृदयाघातको सम्भावना पनि त्यत्तिकै हुन्छ। डायबेटिज (मधुमेह) टाइप-टू लगायतका प्राणघातक रोग पनि निम्त्याउँछ।
वातावरण प्रदूषण नेपालको मात्र नभई विश्वमै मानव मृत्युको दोस्रो प्रमुख कारक मानिन्छ। नेपालमा वायु प्रदूषणले सिर्जना गरेको स्वास्थ्य समस्या सहरी क्षेत्रभित्र निकै भयावह छ। वायु प्रदूषण रोक्न विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले केही उपायहरू सिफारिस गरेको छ। नेपालले डब्लुएचओका सिफारिस कार्यान्वयनसँगै शिक्षा र जनचेनता अभिवृद्धिमा प्राथामिकता दिनु अत्यावश्यक छ।
नेपालमा मिर्गौलासम्बन्धी रोगले पनि लामो समयदेखि जनस्वास्थ्यमा असर पारेको छ। मिर्गौलाले दैनिक करिब १८० लिटर रगत सफा गर्छ, करिब दुई लिटर पिसाब फाल्छ। पिसाबमा शरीरलाई नचाहिने र हानिकारक यौगिकहरू हुन्छन्। मिर्गौला नाजुक हुँदै गएर काम नलाग्ने भयो भने मानिस मृत्युको नजिकमा पुग्छ। बाँच्ने उपाय मिर्गौला फेर्नु मात्र हुन जान्छ। मिर्गौला फेर्नु निकै जटिल र महँगो प्रक्रिया हो। त्यसपछिको जीवन पनि निकै संवेदनशील र महँगो हुन्छ।
समय समयमा मिर्गौला परीक्षण गराउनु र सुरक्षित राख्नु नै यससम्बन्धी रोगबाट बच्ने मुख्य उपाय हो। जति चाँडो रोगको अवस्था पत्ता लाग्छ त्यति नै बढी उपचार सम्भव हुन्छ। सामान्यतया मिर्गौला कमजोर र रोगी हुँदै गएको थाहा हुँदैन। रोग लागिसकेको हुन्छ तर लक्षण थाहा हुँदैन, उपचार नलाग्ने अवस्थामा पुगिसकेपछि मात्र थाहा हुन्छ। यस्तो अवस्था आउन नदिने एउटै उपाय समय समयमा परीक्षण गराउनु हो।
विशेषज्ञहरूका अनुसार अहिले मिर्गौला रोग पहिचानसम्बन्धी भरपर्दा विधि र उपकरणहरू उपलब्ध छन्।
नेपालमा मुख्य नसर्ने रोगहरूमा अर्को हो क्यान्सर। विश्वमा क्यान्सर रोगको निदान बढ्दै गएको छ। उपचारविधि पनि विकसित र प्रभावकारी हुँदै छ। बेलैमा निदान हुन सक्यो भने उपचार पनि सहज हुन्छ। यसैकारण विकसित मुलुकहरूमा क्यान्सरबाट हुने मृत्यु घट्दै गएको पाइएको छ।
नेपालमा भने फरक अवस्था छ। क्यान्सरले मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ। विकसित देशको तुलनामा नेपालमा फोक्सोको, आन्द्राको र मुखको क्यान्सरको बढी देखिने गरेको छ। महिलामा स्तनको र पाठेघरको क्यान्सर बढी छ।
विज्ञहरूका अनुसार नेपालमा क्यान्सर रोगमा विशेष किसिमको अनुसन्धान आवश्यक छ। उपचार निकै महँगो पर्ने भएकाले पनि नेपालमा यो रोग निकै ठूलो समस्याका रूपमा छ।
नसर्ने रोगमा बढ्दै गएको अर्को हो मानसिक समस्या। नेपाली समाजमा मानसिक स्वास्थ्य समस्या बढ्दै जानुमा कमजोर आर्थिक अवस्था र बेरोजगारी मुख्य कारण मानिएको छ। यी र अन्य कारणले तनाव बढ्दै जाँदा मानिस डिप्रेसनको अवस्थामा पुग्छ। कोही महिलामा सुत्केरीपछि डिप्रेसन हुन सक्छ। विकसित मुलुकहरूमा बालबालिकादेखि वृद्धसम्ममा डिप्रेसन बढ्दै गएको पाइएको छ।
नेपालजस्तो विकासशील देशमा पनि डिप्रेसन बढ्दै गएको पाइएको छ। सबै प्रकारका मानसिक रोगको रोकथामका उपायहरू अपनाउनु अपरिहार्य छ। नेपालमा नवजात शिशुकी आमामा हुने डिप्रेसनको समस्या प्राथमिकतामा नपरेको विज्ञहरूको भनाइ छ।
विभिन्न अनुसन्धान रिपोर्टहरूले नेपालमा नसर्ने रोग बढ्दै गरेका देखाएका छन्। यसमा सुविधाभोगी हुने गरी जीवनशैलीमा हुँदै गरेको परिवर्तन र बढ्दो प्रदूषणको भूमिका मुख्य मानिएको छ।
नेपालमा बढी मानवीय क्षति हुने अर्को समस्या सडक दुर्घटना पनि हो। नेपालको तथ्यांक हेर्दा सडक दुर्घटना र अन्य कारणले लाग्ने चोटपटक मृत्युका कारणहरूमा दोस्रो ठूलो कारण रहेको पाइन्छ।
विज्ञका अनुसार सडक दुर्घटना निकै बढी हुने गरे पनि तथ्यांक संकलन र अनुसन्धानमा नेपाल निकै पछाडि छ। यसकारण हिमाली तथा पहाडी क्षेत्रहरूमा हुने सडक दुर्घटना र चोटपटकको तथ्यांक निकै कम संकलन हुन्छ।
नेपालमा सडक दुर्घटना लगायत अन्य किसिमका दुर्घटना र चोटपटक रोकथाम सम्बन्धी जगाउनु आवश्यक छ।
नसर्ने रोग रोकथामका उपायहरू धेरै छन्। उपचार विधि र सुविधामा पनि बढोत्तरी भएको छ। यसो भए पनि सरकारीस्तरबाट प्रभावकारी काम हुनसकेको देखिँदैन। जनचेतना अभिवृद्धि प्राथमिकतामा छैन।
'डिजिटल हेल्थ टेक्नोलोजी' का माध्यमबाट छिटो, सस्तो र भरपर्दो तरिकाले स्वास्थ्य प्रवर्द्धनमा मद्दत गर्न सकिने भए पनि यस दिशामा पर्याप्त काम हुन नसकेको विज्ञहरूको भनाइ छ। जनस्वास्थ्य प्रवर्द्धन गर्न स्वास्थ्यकर्मीहरूलाई समयानुकूल तालिम दिनुपर्छ। समुदायमा जनचेतना अभिवृद्धिका कार्यक्रम चलाउनुपर्छ। 'बटम टप अप्रोच' अनुसार स्थानीय तहमा वडास्तबाट काम सुरू गर्नुपर्छ। यसैअनुसार तथ्यांक संकलन बलियो बनाउनुपर्छ।
विकसित देशहरूले अनुसन्धानबाट प्रयोगमा ल्याएका रोकथाम र उपचारका प्रभावकारी विधिहरू भित्र्याउनुपर्छ। नेपाली अनुसन्धानकर्ता र विज्ञहरूलाई प्रोत्साहित गर्दै नेपाली परिवेशअनुसार स्वास्थ्य चेतना फैलाउने काम गर्नुपर्छ।
मुख्य कुरा जनचेतना हो। रोगसम्बन्धी चेतना भएपछि समयमा उपचार गराउन मद्दत पुग्छ। सरकारले जनचेतना अभिवृद्धिका कार्यक्रम चलाउन आवश्यक छ।
यसरी नेपालीहरूको स्वास्थ्य प्रवर्द्धन गर्दै औसत आयु बढाउन सकिन्छ।
(लेखक डा. दिपराज थापा जनस्वास्थ्य विज्ञ हुन्। उनी स्वीडेनमा प्राध्यापक तथा अनुसन्धानकर्ताका रूपमा कार्यरत छन्। यो लेख उनको आफ्नो धारणासहित निरी नेपालले आयोजना गरेको भर्चुअल गोष्ठीमा सहभागी विज्ञहरूबाट व्यक्त विचारमा आधारित छ।)
ट्विटर-@DrDipRajThapa
(दिपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)