'तपाईं के गर्नुहुन्छ नि?,' होटलको पल्लो कुनाबाट आउँदै गरेको उसले मलाई सोध्यो।
उसको आवाजले म आफैभित्र प्रश्न गर्न थालेँ- साँच्चै म के गर्छु? सपनाहरू बनाउँछु अनि तिनै सपनाको मलामी जान्छु। अनि फेरि पालुवा पलाउँछन्, म मलजल गर्न थाल्छु। होइन, म त किताब लेख्छु, अध्ययन पनि त उत्तिकै गर्छु। त्यो कामभित्र पर्दैन र? त्यो पनि त काम हो।
यो मेरो मनोवाद थियो।
उसले फेरि सोध्यो- सिरियस हुनुभयो त?
'हजुर केही गर्दिनँ, म तपाईंहरूजस्तै नयाँ साथी बनाउने, भेट्ने र खुसी हुने काम गर्छु।'
'त्यति मात्रै? केही त गर्नुहोला अरू?'
उसको बारम्बारको सोधाइले मलाई रिस पनि उठेको थियो।
'हजुर मैले मास्टर्स सकेँ। अहिले थेसिस गरिरहेको छु।'
'मास्टर्स सकेको मान्छे केही नगरी बस्नुभएको किन नि?'
फेरि मैले सोचेँ- साँच्चै मैले किन केही गरेको छैन? अध्ययन गर्नु, समाज बुझ्नु, किताब पढ्नु, किताब लेख्नु नि काम हो नि होइन र? यो कुरा उसलाई म बुझाउन सक्दिनँ थिएँ। त्यसैले भनेँ- हजुर बेरोजगार छु। कामको खोजीमा।
'हो र? कस्तो खालको काम गर्ने सोचमा हुनुहुन्छ नि?,' मलाई उसको सोधाइ किन किन मन नै परिरहेको थिएन। ऊ यसरी सोधिरहेको थियो कि ऊ कुनै कम्पनीको मालिक हो जसले मेरो लागि जागिर रेडी गरिराखेको छ। इच्छा बमोजिम जागिर दिन्छ।
अनि भनेँ- अब हेरौं उपर्युक्त काम पाए गर्ने हो।
'अनि अहिले दिन कसरी बिताउनु हुन्छ नि?'
'म लेखेर दिन बिताउँछु, पढेर दिन बिताउँछु , कहिलेकाहीँ आर्यघाटमा दिनभरी बसेर दिन बिताउँछु, कहिलेकाहीँ मन मिल्ने साथीहरूसँग बसेर दिन बिताउँछु।'
मेरो कुराले ऊ हाँस्यो।
'निकै साहित्यिक कुरा आयो नि।'
'साहित्यलाई मन पराउने मान्छे म यस्तै विषयमा रूचि छन्। किन किन कहिले पनि धेरै पैसा कमाउने, कसैलाई उछिन्ने, कसैलाई पछार्ने सोच आएन। म फरक प्रकृतिको मान्छे छु।'
मेरो कुराले उसलाई हाँसो लागिरहेको थियो। ऊ मेरो साथीको पनि साथी थियो। जसलाई मैले पहिलोपटक साथीकै माध्यमबाट चिनेको थिएँ। अरूको अनावश्यक खोजीनीति गर्ने र होच्याउने उसको प्रवृत्ति मलाई कहिले पनि मन परेन। तसर्थ, मलाई त्यस्ता मानिस भेट्न मन लाग्थ्यो जसले म सक्दिनँ भनेको काममा समेत ऊर्जा दिएर मलाई काम गर्न प्रेरणा दिऊन्। उनीहरूसँग भेट्दा सकारात्मक ऊर्जा मिलोस्। मैले गरिरहेको काममा कमजोर अनुभूति गरिरहेको भएँ पनि उसको भेटले मलाई केही हुँ भन्ने आभाष देओस्। त्यो मान्छेसँग भेटेपछि लामो यात्रापछि भेटिएको चौतारीजस्तो होस् न, जहाँ दिनभरी बस्दा पनि हिँड्न मन नलाग्ने। तर, कतिपय मानिससँगको भेट भने साँच्चै दिक्दार लाग्ने हुने।
मलाई अहिले पनि याद छ, मलाई सानोमा सरहरूले भविष्यमा मन लागेको पेसा कापीमा लेखेर दिन लगाएको। त्यतिबेला मैले समाजसेवा लेखेको थिएँ। तर, समाज सेवाका बारेमा धेरै ज्ञान भने थिएन। अनि साहित्यको बारेमा पनि त्यति जानकार थिइनँ। तर, जतिबेला थाहा पाएँ मेरो लागि नशा सरह भयो। साहित्यबिनाको जीवन कल्पना गर्न नसक्ने भएँ। विभिन्न कथा, उपन्यास, कविता पढ्न र त्यस बारेमा लेख्ने उर्जा आफै आउन थाले।
कलेज जीवन सुरू भएसँगै म लेखनमा लाग्न थालेँ। कविता, उपन्यास र लेखहरू लेख्न खुसी लाग्ने। तर, मानिसहरू लेखनलाई पनि के पेसा बनाउनु भन्दै नाक खुम्च्याउँथे। घरमा कोही पाहुना आउँदा पनि के गर्दैछौ भन्दा लेख्छु, साहित्यकार बन्ने मन छ भन्दा मलाई सम्झाउँथे।
'यस्तो लेखनसेखन केही काम छैन, कि सरकारी जागिर खाऊ कि विदेश जाऊ, नभए पनि राम्रो कुनै कम्पनीमा काम सुरू गर। लेखनमा भविष्य छैन।'
म फेरि सोचमग्न हुन्थेँ- जुन काममा मलाई मन छ त्यसमा भविष्य छैन अनि जुन काम म गर्न चाहन्नँ त्यसमा किन प्रेसर दिएको होला। साहित्यकार हुनु भनेको करियर सक्याउनु हो र?
यही प्रश्नको चौतर्फी घेरामा म पटकपटक परेको छु, निरूत्तर भएको छु पटकपटक।
केही दिनअघि मदन पुरस्कार समेत जितेका एक जना लेखक भेट भयो। उनलाई मसँगै बस्ने साथीले पुनः प्रश्न गर्यो, 'तपाईं के गर्नुहुन्छ नि?'
जबकि केहीबेर अघिसम्म त्यही साथी मदन पुरस्कार जितेकोमा बधाई दिइरहेको थियो।
मलाई उसको के गर्नुहुन्छ भन्ने प्रश्नले बिझायो।
उसले सामान्य तरिकाले उत्तर दियो- म पूर्णकालीन लेखक।
'पूर्णकालीन लेखक भएर बाँच्न सजिलो छ?'
'खै के भनौं बाँचिरहेको छु।'
हरेकलाई लेखक भएर कसरी बाँच्न सकिन्छ भन्ने प्रश्नको उत्तर दिँदादिँदै अनुत्तरित भएको म जतिबेलै त्यहीँ प्रश्नको सामना गर्थेँ। मलाई लेखेर खाने वातावरण सरकारले किन नबनाइदिएको होला? पटकपटक लागिरह्यो। किनभने अरू कामतिर लागेपछि दिमाग एकत्रित हुन पाउँदैन लेख्न लागेका कुरा समेत पटकपटक मरेर जान्छन्। अफिसको दिनभरीको थकाइ, पारिवारिक दायित्व र कतिपय भैपरी आउने घटनाले लेख्न लागेका विषयहरू पटकपटक मरेको मलाई अनुभूति छ।
तसर्थ, म फूलटाइम लेखक नै बन्न चाहन्थेँ, तर त्यसमा मलाई न समाजले न राज्यले सहयोग गर्यो। लेख्ने काम भनेको केही नहुँदा र सबै सकिएपछि सोखका लागि मात्रै लेख्ने भन्ने मानसिकताको हाबी भयो।
प्रश्नैप्रश्नको घेराबाट आफैलाई कैयौं पटक प्रश्न गरेको छु। पैसा मात्रै जीवन देख्ने यो समाजमा टन्न पैसा कमाउन नसक्ने मेरो लेखनीको काम छ त? फेरि आफैलाई उत्तर दिन्छु, मैले टन्न पैसा कमाउनका लागि लेख्न खोजेको पनि त होइन, यो त मेरो रूचि हो नि!
लेखेरै जीवन गुजार्ने काम नराम्रो भएँ सेक्सपियर किन सेक्सपियर बने? होमर किन होमर भएर विश्वचर्चित भए अनि लक्ष्मी प्रसाद देवकोटा किन चर्चामा आए? आज लेख्नेहरूकै कथा त बजारमा चर्चामा छन्। कसैले केही पनि रचना गरेन भने अरू मानिसले के पढ्लान्, कुन कथा र इतिहास हेर्लान्?
लेख्नु भनेको अक्षरहरूको संग्रह मात्रै हो त? हैन नि? लेख्नु भनेको त कसैको भावनाको सम्बोधन गर्नु, इतिहासको संरक्षण गर्नु पनि हो, समय परिस्थितिको यथार्थ चित्रण गर्नु हो? नेपालमा भएका यति ठूला जनआन्दोलनमा विद्रोही लेखकहरूको कति ठूलो भूमिका छ। उनीहरू नभएको भए यी सबै सम्भव थियो त? कलमको शक्ति अरू केहीसँग तुलना होला र?
हो, यही कुरा म उनीहरूलाई बुझाउन चाहन्थेँ, जसले मलाई पटकपटक लेखक नि के बन्नु, लेखेर नि बाँचिन्छ र? भन्दै प्रश्न गरे।
मेरो लेखनप्रतिको जोश जाँगरलाई व्यर्थ बनाउन खोजे। तर, मैले त्यसो गरिनँ। सबैलाई हाँस्दै उत्तर दिएँ- अब अर्को काम पनि खोज्दै छु, बेरोजगार छु। तर, ती सबैले मलाई जागिरको सुझाव त दिए तर कसैले पनि खोजिदिएनन्।
फेरि, यस्तो पनि लाग्छ, धेरै साहित्यिक व्यक्तिहरूको सपना पनि त धेरै ठूलो हुँदैन अनि मेरो पनि त धेरै ठूलो सपना कहाँ छ त? मलाई पनि धेरै पैसैपैसा कमाउनु छैन। कसैलाई पछारेर अघि जानु छैन, बस् आफूले कल्पना गरेका विषयलाई लेखनको माध्यमबाट उतार्नुछ, पाठकहरूबीच लैजानु छ। अनि म सपना धेरै नदेखेको, लेखेरै खुसी हुने मानिसलाई तँ लेख्ने मात्रै काम गर्छस्? भन्दै मन चसक्क हुने प्रश्न किन गर्छन् होला मानिसहरू? पटकपटक नलागेको पनि होइन, म लेखेरै मात्रै बस्न सक्छु? तर, मेरो नजरबाट हेर्दा लेख्नु, सिर्जना गर्नुजस्तो गाह्रो काम अरू के होला त? कहिलेकाहीँ महिनौंसम्म पनि दुई पेज लेख्न सकिँदैन भनेपछि यो धेरै जटिल र गाह्रो काम हो। जसलाई मैले आफ्नो रूचिको विषय मानेको छु। तसर्थ, लेख्ने विषय सोचेजस्तो हलुका र सामान्य छैन। जसलाई म जीवनभरी निरन्तरता दिन चाहन्छु।