धेरैले भनेको हामी सुन्छौं, 'मलाई ग्यास्ट्रिक छ। खाली पेट बस्नै हुँदैन। थोरै थोरै खाइरहनुपर्छ, नभए पेट दुख्छ। वाकवाक लाग्छ। पेट फुल्छ।'
के भोको पेटमा ग्यास्ट्रिक हुने हो? वा खाँदाखाँदै पनि हुन्छ? या खाने शैली नमिलेर हुने हो?
यो लेखमा ग्यास्ट्रिकका यिनै प्रश्नका उत्तर र समाधानका केही प्रभावकारी उपाय उल्लेख गरिएको छ।
ग्यास्ट्रिकको शाब्दिक अर्थ 'पेट' भन्ने हुन्छ। पेटको भित्री तह म्युकोसा सुन्निनु वा रातो हुनुलाई अंग्रेजीमा ग्यास्ट्राइटिस भनिन्छ।
हामीकहाँ पेट पोल्ने, दुख्ने, फुल्ने आदि समस्यालाई ग्यास्ट्रिक भयो भन्ने चलन छ। ग्यास्ट्राइटिसमा पेटको माथिल्लो भाग अर्थात् दुई करङको बीच भागमा, नाइटो वरिपरि र तल्लो भागमा दुख्ने, फुल्ने, वाकवाक लाग्ने हुन्छ। कसैकसैलाई ग्यास सर्दै छाती, पछाडि ढाडको पातासम्म दुख्ने हुन्छ।
सामान्यतया ग्यास्ट्राइटिस दुई प्रकारका हुन्छन्ः एक्युट र क्रोनिक।
एक्युटमा अचानक लक्षण देखिन्छ। खाना मिलाएपछि एक-दुई दिनदेखि हप्ता दिनमा कम हुन्छ।
क्रोनिक भने एक्युट ग्यास्ट्राइटिसको गलत उपचार र अनुचित आहारविहारका कारण हुन्छ। यो लामो समयसम्म रहन्छ। बेला बेलामा सताइरहन्छ।
क्रोनिक ग्यास्ट्राइटिस पनि दुख्ने (इरोजिभ) र नदुख्ने (नन इरोजिभ) गरी दुई किसिमको हुन्छ तर दुवैको लक्षण समान हुन्छ। इरोजिभमा पेटको भित्री छाला खुइलिने, रातो भएर स-साना घाउ र छाला पर्ने हुन्छ। धेरै पेट दुख्ने, वान्ता हुने र दिसामा रगत देखिने हुन्छ। यसको सही उपचार भएन भने पछि अल्सर हुन सक्छ।
नन इरोजिभमा पेटमा घाउ हुँदैन तर भित्री सतह रातो र बाक्लो हुन्छ जस कारण पेटको लचकता कम हुन्छ र खानेबित्तिकै फुल्छ। लामो समयसम्म यस्तो अवस्था रहे अल्सर हुन सक्छ।
खाली पेट बस्दा ग्यास्ट्रिक हुन्छ भनिन्छ तर पेट खाली हुन नसक्दा झन् ग्यास बन्न सक्छ। हामीले खाएको खाना राम्रोसँग पाचन भएर बाँकी आमाशयबाट आन्द्रामा जानुपर्छ। खाना पूरा पच्न कम्तीमा चारदेखि ५ घन्टा लाग्छ। कुचुकुचु वा आवश्यकताभन्दा बढी खाएमा राम्रोसँग पच्न सक्दैन। खाना पेटमै कुहिन्छ र ग्यास बन्छ। त्यही ग्यास यताउति सर्नुलाई 'गानो सर्नु' भनिन्छ।
कारणहरूः
- शरीरलाई चाहिनेभन्दा बढी खानु। जतिसुकै हल्का र प्राकृतिक आहार खाए पनि उकुसमुकुस हुने गरी खाएमा पेट चल्न सक्दैन। पाचन हुन पेट चल्नुपर्छ। पेट नचल्दा खाना कुहिन्छ र ग्यास बन्छ।
- खाना राम्ररी नचपाइ खानु। छिटोछिटो खाँदा पाचक रस कम हुन्छ, पाचनको काम अवरूद्ध हुन्छ र ग्यास बन्छ।
- खाना र पानी बीचको समयान्तर नमिल्नु।
- एक खाना र अर्को खानाको अन्तर कम हुनु।
- गुण नमिलेका र एकैपटक धेरै परिकारका खाना मिसाएर खानु।
- धेरै चिल्लो, तारेभुटेका, बढी खुर्सानी, मसालेदार, अमिला र पुराना अचार, बासी वा एकै खाना पटकपटक तताएर खानु।
- फाइबर कम भएका मैदाजन्य खाना, जंक तथा फास्टफुड खानु।
- धेरै प्रोटिन र बोसोयुक्त खाना खानु।
- कब्जियत हुनु।
- धूमपान, सूर्तिजन्य र मदिरापान गर्नु।
- चिया, कफी, चिसो पेय धेरै खानु।
- दिउँसो खाना खानेबित्तिकै सुत्नु। राती ढिला सुत्नु र बिहान ढिला उठ्नु। राम्ररी निदाउन नसक्नु।
- खाना खानेबित्तिकै भारी व्यायाम वा धपेडी हुने काम गर्नु।
- तनाव र रिस, लोभ, मोह, डर, चिन्ता जस्ता अनुचित विचार हुनु।
- शारीरिक व्यायाम नहुनु।
- धेरै औषधि खानु।
लक्षणहरूः
- नाइटो र नाइटोभन्दा माथिको भाग दुख्ने।
- बारम्बार ढ्याउ आउने।
- मुखमा अमिलो पानी आउने।
- रिंगटा लाग्ने।
- वाकवाकी लाग्ने। वान्ता भएमा खाएका कुरा वान्तामा निस्किने, अमिलो गन्हाउने।
- पेट भारी हुने, पेट पोले जस्तो हुने। खाए पनि, नखाए पनि पेट बटारिने, डम्म हुने, फुलिरहने।
- खाना नपच्ने, नरूच्ने।
- ग्यास सरेर शरीरका विभिन्न भाग दुख्ने, छाती भारी हुने, सास फेर्न समस्या हुने, टाउको भारी हुने र दुख्ने।
- मन बेचैन हुने, निद्रा कम लाग्ने।
- दिसा कहिलो पातलो त कहिले कब्जियत हुने।
- ग्यास्ट्रिक बिग्रेर अल्सर भएमा वान्तामा रगत देखा पर्ने।
- कालो दिसा जाने।
ग्यास बढेको अवस्थामा के गर्ने?
- ठोस आहार खाए पेट फुल्ने, दुख्ने भएकाले ठोस आहार नखाने।
- दूध र दुग्धजन्य पदार्थ, चिल्लो, तारेभुटेको, धेरैचोटि तताएको, पिरो, मसालेदार, अमिलो, सिसीमा राखिएको पुरानो अचार, सुख्खा, भुटेका, पोलेका (रोटी, मकै, हरियो मकै, भटमास, चिउरा) नखाने।
- माछा, मासु, गेडागुडी, अन्डा, दाल, गोलभेँडा, हरियो धनियाँ, तामा, अमिला फल, मैदा, जंकफुड, फास्टफुड, काँचो, चिसो खानेकुरा नखाने।
- बिस्तारै तातो वा मनतातो पानी मात्र पिउने। तातोपानीले मात्र नभएमा बिरेनुन मिसाएर पिउने। यसले ग्यास निस्कासनमा मद्दत गर्छ।
- दुवै हात रगडेर तातो बनाएर पेटमा सेक्ने। यसले राहत मिल्छ। ग्यास कम भएपछि झोलिला खानेकुरा, ताजा तरकारीको सुप वा जाउलो खान सकिन्छ। बिस्तारै मसला बिनाको सादा आहार थोरै लिन सकिन्छ।
यसरी विधि मिलाउँदै गरेमा लक्षणहरू हराउन थाल्छन्। आहार, विहारसँगै विचारमा पनि ध्यान दिनुपर्छ। स्वस्थ रहन मन पनि स्वस्थ हुनुपर्छ।
ग्यास्ट्रिकमा योगले पनि धेरै लाभ गर्छ। यहाँ ग्यास निस्कासन गर्न सहयोग गर्ने केही योगासनबारे चर्चा गरिएको छ।
पवन मुक्तासन
उत्तानो सुत्ने। दुवै खुट्टा जोड्ने। दुवै हातलाई टाउको माथि लगरे सिधा राख्ने।
अब सास छोड्दै बायाँ खुट्टा खुम्च्याउने। दुवै हातले घुँडामुनि समाउने र टाउको उठाएर चिउँडोले घुँडा छुने प्रयास गर्ने। अर्को खुट्टा भुइँमा सिधा हुनुपर्छ।
दस गन्ने र सास तान्दै खुट्टालाई सिधा गर्ने। पाँच-पाँचपटक गर्ने।
पवनमुक्तासन २
अब सास छोड्दै दुवै घुँडा खुम्च्याएर दुवै हातले घुँडामुनि समाउने र टाउको उठाएर चिउँडोले दुवै घुँडाको बीचमा छुने प्रयास गर्ने।
दस गन्ने र सास तान्दै बीचमा फर्किने। पाँच-पाँचपटक गर्ने।
भुजंगासन
घोप्टो सुत्ने। दुवै खुट्टा सिधा पछाडि जोडेर राख्ने। दुवै हातलाई काँधको बराबर दायाँबायाँ राख्ने। सास तान्दै पेटदेखि माथिको भाग उठाउने र टाउकोमाथि फर्काएर आकाश हेर्ने। सबै बल हात र पेटमा हुन्छ।
दस गन्ने र सास छोड्दै बीचमा फर्किने। पाँच-पाँचपटक गर्ने।
धनुरासन
दुवै खुट्टालाई घुँडासम्म खुम्च्याउने, दुवै हात पछाडि लगेर खुट्टाका गोलीगाँठामा समाउने। सास तान्दै सम्पूर्ण बल पेटमा लगाएर पेटले मात्र टेकेर अगाडि र पछाडिको भाग बराबर उठाउने। हात तन्काएर खुट्टाले पछाडि धकेल्ने प्रयास गर्ने। यो अवस्थामा शरीरको आकार धनुष जस्तो बन्छ।
बीस-तीस गन्ने र सास छोड्दै बीचमा फर्किने। पाँचपाँच पटक गर्ने।
नौकासन
उत्तानो सुत्ने। सास तान्दै हात, खुट्टा र टाउको समानान्तर हुने गरी हिपले मात्र भुइँ टेकाएर करिब ३० डिग्रीमा उठाउने।
तीस गन्ने र सास छोड्दै बिचमा फर्किने। पाँचपाँच पटक गर्ने।
तिर्यक ताडासन
सिधा उभिने, खुट्टालाई एक-दुई फिट फटाउने। सास तान्दै दुवै हातलाई टाउको माथि जोडेर राख्ने। अब सास छोड्दै कम्मरदेखि बायाँतिर झुक्ने। दुवै हातले दुवै कान छोएर सिधा बायाँ तन्काउने, आँखाले सिधा हेरिरहने। झुक्दा अगाडि वा पछाडि झुक्नु हुँदैन कम्मरदेखि तनक्क तन्किएर सिधा झुक्ने जति सकिन्छ त्यति मात्र झुक्ने।
दस गन्ने र सास तान्दै बीचमा फर्किने। पाँच-पाँच पटक गर्ने।
अर्ध चन्द्रासन
दुवै खुट्टा जोड्ने। सास तान्दै दुवै हात कानबाट सिधा टाउको माथि लगेर नमस्कार गरेर राख्ने। अब सास छोड्दै अघि जस्तै बायाँ कोखातिर निहुरिने, हातलाई कानको सिधा बायाँ तनक्क तन्काउने, सास छोडिरहने।
दस गन्ने र सास तान्दै बीचमा फर्किने। पाँच-पाँच पटक गर्ने।
त्रिकोणासन
दुवै खुट्टालाई जति सकिन्छ फटाउने, दुवै हातलाई दायाँबायाँ सिधा गर्ने। अब सास तान्दै दायाँ हात दायाँ कान छुवाउँदै सिधा गर्ने अनि सास छाड्दै बायाँ हातले बायाँ खुट्टा छुने, खुट्टा नखुम्च्याउने र दायाँ हातले दायाँ कान छुवाउँदै दायाँतिर भुइँको समानान्तर हुनेगरी सिधा राख्ने। हत्केला भुइँतिर फर्काउने र आँखाले हत्केला हेरिरहने।
दस गन्ने र सास तान्दै बीचमा आउने। पाँच-पाँचपटक गर्ने।
कटी चक्रासन
दुवै खुट्टालाई २ फिट जति फटाउने, दुवै हातलाई सास तान्दै अगाडि सिधा गर्ने। अब सास छोड्दै बायाँतिर कम्मर मर्काउँदै हातलाई १८० डिग्री घुमाउने र टाउकोलाई घुमाएर कुम हेरिरहने।
दस गन्ने र सास तान्दै बीचमा आउने। पाँच-पाँचपटक गर्ने।
कौवासन
दुवै खुट्टालाई अलिक फटाएर टुक्रुक्क बस्ने। हात दुवै घुँडा माथि राख्ने। अब सास छोड्दै बायाँ घुँडाले दायाँ खुट्टा छुवाउने। कम्मर दायाँतिर मर्काउने, टाउकोले पछाडि कुम हेरिरहने।
दस गन्ने र सास तान्दै बीचमा आउने। पाँच-पाँचपटक गर्ने।
जानुसिरासन
ढाड र गर्धनलाई सिधा राखेर बस्ने, दुवै खुट्टा अगाडि सिधा राख्ने। अब बायाँ खुट्टा सिधा राखेर दायाँ खुट्टालाई घुँडासम्म खुम्च्याएर कुर्कुच्चाले बायाँ तिघ्रा छुवाउने।
सास तान्दै दुवै हात माथि (दुवै कान छुवाउँदै) सिधा ९० डिग्रीमा उठाउने र सास छोड्दै दुवै हातले पैताला छुने। कुहिनाले भुइँ छुवाउँदै निधारले घुँडा छुने प्रयास गर्ने।
दस गन्ने र सास तान्दै बीचमा फर्किने। पाँच-पाँचपटक गर्ने।
ध्यान दिनुपर्ने कुराः टाउकोले घुँडा छुँदा घुँडा नउठाउने, खुट्टा सिधा राख्ने।
पश्चिामोउत्तानासन
दुवै खुट्टा सिधा राख्ने।
दुवै हातलाई अघि जस्तै सास तान्दै टाउको माथि सिधा लैजाने र सास छोड्दै निहुरिएर हातले दुवै पैताला समाउने। निधारले घुँडा छुने।
दस गन्ने र सास तान्दै बीचमा फर्किने पाँचपटक गर्ने।
अर्धमछिन्द्रासन
दुवै खुट्टालाई सिधा राखेरै बस्ने। अब बायाँ खुट्टालाई खुम्च्याएर दायाँ हिप नजिकै राख्ने। त्यसपछि दायाँ खुट्टालाई बायाँ घुँडा अगाडि ल्याएर पैतालाले ढ्याप्प भुइँ टेकाएर घुँडा माथि फर्काएर राख्ने।
अब सास तान्दै जुन खुट्टा मुनि छ, त्यही तर्फको हात माथि उठाउँदै दायाँ घुँडाबाट लगेर दायाँ खुट्टाकै पैताला समाउने र सास छोड्दै दायाँ हातलाई कम्मर पछाडि लगेर जति सकिन्छ त्यति पेटतिर लाने प्रयास गर्ने। पेट पनि सकेसम्म मोड्ने र टाउको घुमाएर कम्मरमा मोडिएको हातको कुहिना हेर्ने प्रयास गर्ने।
दस गन्ने, सास तान्दै बीचमा फर्किने। पाँच-पाँचपटक गर्ने।
मलासन
सिधा उभिने। खुट्टालाई एक-डेढ फिट फटाउँदै टुक्रुक्क बस्ने।
अब दुबै हातका कुहिनाले दुवै घुँडालाई सकेसम्म धकेलेर फटाउने र हातलाई नमस्ते गरेर छातीमा राख्ने। केही बेर बस्ने र सास तान्दै उभिने।
तीनदेखि पाँचपटक गर्ने।
आश्वासन
उत्तानो सुत्ने, हातलाई गर्धनमुनि लगेर लक गर्ने। दुवै कुहिनाले भुइँ छुने। दुवै खुट्टा घुँडासम्म खुम्चाएर सास छोड्दै बायाँ मोड्ने र टाउकोले विपरीत दिशा दायाँ कुहिना हेर्ने। सास छोडिरहने। पेटलाई मोडिरहने।
दसदेखि तीस गन्ने र बीचमा फर्किने। पाँच-पाँचपटक गर्ने।
ग्यास्ट्राइटिस हुनेले ध्यान दिनुपर्ने कुराहरू
- बिहान उठ्नेबित्तिकै खाली पेटमा ३-४ गिलास (करिब १ लिटर) मनतातो पानी पिउने। त्यसपछि मात्र दिसापिसाब गर्ने।
- बिहान एक घन्टा शरीरका सम्पूर्ण जोर्नीहरू सञ्चालन हुने योग व्यायाम, मर्निङ-वाक तथा अन्य व्यायाम अनिवार्य गर्ने।
- ९-१० बजे खाना खाने हो भने नास्ता नलिने। यदि ढिला ११-१२ बज्छ भने मात्र लिने। नास्तामा ताजा फलफूल वा तरकारीका सुप लिन सकिन्छ।
- बिहानको ९-१० बजे खाना खाने। हरेक खानासँग प्रशस्त हरिया सागसब्जी र अन्तमा सलाद गाजर, स्याउ आदि लिने। राम्ररी चपाएर खाने।
- दिउँसो खाजा २-३ बजे खाने। खाजामा हलुका ताजा तरकारीका सुप वा जाउलो वा फल लिने।
- बेलुकी खाना ७-८ बजेभित्र, सुत्नुभन्दा २-३ घन्टा अगाडि नै खाइसक्ने। ध्यान रहोस्, दिउँसो टन्न खाजा खाएको छ भने बेलुकी हल्का मात्र खाने। बेलुकी भारी खानाहरू माछा, मासु, अन्डा, गेडागुडी आदि नलिने।
- खाना खानेबित्तिकै ५ देखि १० मिनेट बज्रासनमा बस्ने। यसले पाचनमा सहयोग पुर्याउँछ।
- दुई खानाको अन्तर कम्तीमा ४-५ घण्टाको राख्ने। बीचमा पानीबाहेक केही पनि कुचुकुचु नखाने।
- प्रतिघन्टा एक-एक गिलास पानी खाने। खाना, खाजा, ठोस आहारसँग पानी नलिने। कम्तीमा तीस मिनेटदेखि एक घन्टाको अन्तर राख्ने। बेलुकी एक गिलास मनतातो पानी पिएर सुत्ने।
- बेलुकी समयमै करिब १० बजे सुत्ने। ६-७ घन्टा आनन्दले निदाउने। बिहान सूर्य उदाउनु अगाडि उठ्ने।
- मन सधैं ठेगानमा राख्ने। नरिसाउने, चिन्ता नलिने!
(रामदेवी महर्जन योग तथा उचित आहार, विहार र विचार प्रशिक्षक हुन्।)