कहिलेकाहीँ मलाई निद्रा, चरा र कफी एकअर्काका दुश्मन हुन् कि जस्तो लाग्छ!
साँच्चै चराको चर्तिकला हेर्न बिहानको मिठो निद्रा त्याग्नुपर्ने! मिठो निद्रा भगाउन कफी खानुपर्ने!
यस्तै रमाइला कुरा सोच्दै म झिसमिसेमा क्यामरा, दुरबिन र झोला बोकेर निस्किएँ।
त्यो दिन कहाँ जाने हो भन्ने टुंगो थियो — एउटा चराको नाच हेर्न।
मध्य अमेरिकामा पाइने ग्रेटर प्रेरी चिकेन नाच्नमा खप्पिस चरा हो। नामैले थाहा हुन्छ यो कुखुरा परिवारको प्रजाति हो। यो प्रजातिको परिवारलाई फेजिनिडे भनिन्छ। सिजन सुरू भएपछि यो परिवारमा पर्ने चराहरू फाँटमा जम्मा भएर आफ्नो नाच देखाउँछन्।
यिनीहरूले यसरी नाच देखाउने ठाउँलाई लेक भनेर चिनिन्छ। त्यो दिन म लेक जाँदै थिएँ।
ती चरा रमाइलो वा बसन्त ऋतु सुरू भएको खुसियालीमा नाच्ने होइनन्। यिनीहरू नाच्छन् बाध्यताले, प्रजनन गर्नुपर्ने बाध्यताले।
धेरैलाई सुन्दा अचम्म लाग्ला, प्रजननसँग नाचको के सम्बन्ध भनेर! तर चराहरूमा नाच्नु र गाउनु प्रजननका महत्त्वपूर्ण पाटा हुन्।
म झिसमिसेमै त्यहाँ पुग्नुको पनि कारण थियो। ती प्रेरी चिकेन त्यहाँ जम्मा भएर आफ्नो नाच देखाउनु अगाडि नै हामी त्यहाँ पुग्नुपर्थ्यो। र, एउटा सानो काठको अस्थायी घर (ब्लाइन्ड) भित्र लुक्नुपर्थ्यो। त्यो सानो घरको झ्यालबाट हामी ती चरा नाचेको हेर्ने वाला थियौं। त्यहाँ भित्र लुक्दा तिनले हामीलाई देख्दैन थिए र निर्धक्कसँग आफ्नो नाच देखाउँथे।
झिसमिसेमै त्यहाँ पुग्दा पनि पर कतैबाट प्रेरी चिकेन कराएको आवाज आइरहेको थियो। लेकमा अँध्यारो भएकाले प्रस्ट देखिने अवस्था भने थिएन।
हामी आफ्नो ब्लाइन्डभित्र पस्यौं। केहीबेर कुरेपछि बिस्तारै ती चराको आवाज आउन थाल्यो।
केही कुखुरा उडेर अगाडि आएका हुन् कि जस्तो देखिँदै थियो। आवाज चर्को हुँदै गइरहेको थियो। सूर्योदयको समय नजिकिँदै जाँदा हामीले ती कुखुरा देख्न थाल्यौं। तिनीहरूले सँगै पखेटा जुधाउँदा पाइपमा पानी फुक्दा आउने हुँ हुँ हुँ जस्तै आवाज निस्किने रहेछ।
भुइँमा टाउको निहुर्याउँदै फनफनी घुमेर भालेहरू पोथी आकर्षित गर्न खोज्दै थिए।
नाचले मात्र नहुने भएर त होला, भालेहरू आफ्नो घाँटी फुलाएर रङहरूको प्रदर्शन पनि गर्दै थिए।
प्रेरी चिकेनको नजिकैको सन्तान सेज ग्राउसले पनि यस्तै प्रकारको नाच देखाउँछ रे!
उसले त झन् आफ्नो घाँटी फुलाएर बेलुन जस्तै बनाउने रहेछ।
कुनै बेला म बस्ने राज्यतिर (नर्थ डकोटा) पानीमा पाइने यो चरा आजभोलि आफ्नो वासस्थान मासिँदै गएकाले गर्दा यहाँ पाउनै छोडिसक्यो।
कुनै दिन यो चराको नाच हेर्ने मौका मिल्छ कि भन्ने आश अझै छ।
रमाइलो नाच देखाउने अरू पनि चरा छन्।
मध्य अमेरिकादेखि दक्षिण अमेरिकाको उत्तर-पश्चिमी भागमा एउटा भँगेरा जत्रै चरा पाइन्छ — कालो शरीरमा रातो टाउको अनि पहेँलो खुट्टा भएको।
चराको नाम हो रेड क्याप्ड म्यानकिन।
स्कुलको कुनै कार्यक्रममा विद्यार्थीहरूले नाच्न पोसाक लगाएजस्तै देखिन्छन् यी चरा। र, त्यही भेषमा उनीहरू दिल खोलेर नाच्छन्।
प्रेरी चिकेन जस्तै रेड क्याप्ड म्यानकिन नाच्ने ठाउँलाई लेक नै भनिन्छ। तर यो सानो चरा भुइँमा नाच्दैन। कुनै खुला रूखको हाँगा खोज्छ र त्यहीँ नाच्छ।
सबभन्दा रमाइलो कुरा त, उसको नाच विश्व प्रसिद्ध नर्तक 'माइकल ज्याक्सन' ले प्रचलनमा ल्याएको 'मून-वाक' जस्तो देखिन्छ।
यो चरा नाच्दा आफ्नो पखेटाबाट आवाज निकाल्छ। संगीत मिलाएको होला!
अझै अचम्मको नाच त ब्लु म्यानकिनमा हुन्छ।
यो चरामा एउटा भालेले होइन, दुईदेखि दसवटा भाले मिलेर एउटा पोथीलाई आकर्षण गर्न खोज्छन्। पोथी फकाउन प्रतिस्पर्धा भएपछि त सबैमा यही रित होला नि भन्ने सोच्नुहोला। तर यिनको रमाइलो बेग्लै छ।
चराको समूहमा एउटा अल्फा (जनावर जगतमा अल्फा भन्नाले नेता भन्ने बुझिन्छ) भाले हुन्छ। उसले मुख्य नाच देखाउँछ। बाँकी भालेले त्यो अल्फालाई सहयोग मात्र गर्ने हुन्। उनीहरू सिकारू चरा हुन्छन्। कसरी नाच्ने भनेर अल्फा भालेबाट सिक्छन्। सिक्दै उसलाई सहयोग गर्छन्।
राम्रो नाच सिके उनीहरूले पनि अर्को वर्ष अरू सिकारू चरा जम्मा गरेर आफ्नो नाच देखाउँछन्। यस्तो लाग्छ, उनीहरूले हरेक सिजनमा 'इन्टर्न' नियुक्त गर्छन् र कामको अनुभव बोकेर अर्को वर्ष ती इन्टर्नहरू आफ्नो नाच देखाउनतिर लाग्छन्।
ब्लु म्यानकिनको नाच हेर्न फोटोमा क्लिक गर्नुहोस्।
यसरी नै बथानमा नाच्ने चरामा पर्छन् फ्लमिङ्गो।
गुलाबी रङको ठूलो घाँटी भएका यी चरा धेरै सुन्दर हुन्छन्। सम्भोगका बेलामा यी चरा सयौंको संख्यामा जम्मा भएर झुन्डमै नाच्छन्। आफ्नो लामो घाँटी तन्काएर दायाँ बायाँ फर्काउँदै फटाफट आफू रहेको पोखरी वा भुइँमा हिँड्छन्। त्यसरी नाच्दा सबभन्दा फरक हिसाबले टाउको हल्लाउने र घुम्न सक्ने फ्लमिङ्गोको सम्भोगको दर धेरै हुने अध्ययनले देखाउँछ। जसले राम्रो नाच्न सक्यो, पोथीले उसलाई नै छान्छे!
अमेरिकाको राष्ट्रिय चरा बाल्ड इगलको नाच अलि फरक शैलीको हुन्छ।
यिनको नाचमा भाले र पोथी आकाशमाथि एकअर्काको नंग्रा जोड्छन् र फनफनी घुम्दै तल झर्छन्। लगभग भुइँमै नखस्दासम्म यिनीहरू त्यसरी झरिरहन्छन्। अन्तिम क्षणमा एकअर्काका खुट्टा छाडेर उड्छन्। कहिलेकाहीँ त नंग्रा यस्तो जोडिएका हुने रहेछन्, भुइँमा खस्दासम्म पनि तिनका खुट्टा फुस्किन पाउँदैनन्।
अझ पपुवान्युगिनीमा पाइने फ्लेम बावर बर्डले सबभन्दा पहिले आफ्नो गुँड बनाउँछ। त्यो गुँडबाहिर मज्जाले सफा गर्छ। नचाहिने कुराहरू हटाउँछ। र, आफूलाई चित्त बुझ्दो सफा भएजस्तो लागेपछि उसले पोथीलाई मनपर्छ होला भनेर वनजंगलमा वा मानववस्ती नजिकै पाइने चम्किला र रंगीत वस्तुहरू जम्मा गर्छ। आफ्नो मञ्च सजिएपछि नाच्न थाल्छ।
सर्वप्रथम ऊ पोथीको अगाडि उभिन्छ र आफ्नो शरीर दायाँबायाँ हल्लाउँदै नाच्छ।
त्यसको नाच हेर्दा मान्छेहरू नै नाचिरहेजस्तो पनि भान हुन्छ।
यो चराले पोथीले ध्यान दिएकी छ कि छैन भनेर समय समयमा पनि हेरिरहन्छ। अझ रमाइलो कुरा, यो चराले नाच्दा नाच्दै आफ्नो आँखाको आकार पनि सानो र ठूलो बनाउँछ।
फ्लेम बावर बर्डको नाच हेर्न तलको फोटोमा क्लिक गर्नुहोस्।
तपाईंहरूलाई चरा नाचेको कुरा गर्दा मयुर चाहिँ खोइ भन्ने भयो होला। मयुरको त नाच मात्र नभएर प्वाँखको लम्बाइ, रङ र आकारले पनि पोथीलाई प्रभाव पार्छ।
पोथी मयुरका लागि भालेमा जति राम्रो प्वाँख हुन्छ, उसको जिन त्यति नै राम्रो हुन्छ र त्यो नै राम्रो भाले हो भन्ने हुन्छ। र, भालेले पनि केही कमी नराखी नाचको माध्यमबाट रंगीन प्वाँखहरू प्रदर्शनी गर्छ।
हाम्रो दक्षिण तराई भेगमा पाइने सारसको नाच उस्तै राम्रो हुन्छ। भाले र पोथी खेतमा वा फाँटमा जम्मा भएर उफ्रीउफ्री नाच्छन्। त्यो बेला तिनले आवाज पनि निकाल्छन्। सायद आफ्नो मायाको भावना एकअर्कालाई व्यक्त गरेका हुन्!
सारसको नाच हेर्न तलको फोटोमा क्लिक गर्नुहोस्।
नेपालमै पाइने सिउरे डुबुल्की चराको नाच एकदमै रोचक हुन्छ।
पानीमा बस्न रमाउने यो चरा पानीमै नाच्छ। भाले र पोथीले दायाँबायाँ आफ्नो टाउको हल्लाउँछन्, डुबुल्की मार्दै एकअर्कातिर आउँछन् र पोखरीमा भएका झारपात टिपेर फेरि आफ्नो टाउको हल्लाउँदै एकअर्कालाई आफूले खोजेको अहारा देखाउँछन्।
यो चरा जाडो याममा जहाँ बसेको हुन्छ, त्यही ठाउँमै आफ्नो जोडी बनाइसकेको हुन्छ। प्रजनन गर्न आएको नयाँ ठाउँमा तिनले धेरैजसो आफ्नो सम्बन्ध बलियो बनाउन विभिन्न गतिविधि गर्ने अध्ययनले देखाउँछ।
सिउरे डुबुल्की चराको नाच हेर्न तलको फोटोमा क्लिक गर्नुहोस्।
संसारभरि मासिँदै गएको वासस्थानले यी प्रकृतिका चरालाई पक्कै असर गरेको छ।
हजारौं वर्ष अगाडिदेखि चराहरूमा नाच्ने प्रथा विकास भएको हो। अझै हजारौं वर्षसम्म तिनीहरू नाच्न पाइरहुन्।
हामी मानिसहरू तिनको नाच हेरेर रमाऔं र तिनीहरू नाच्ने ठाउँ नमासिदिऔं है?
(लेखक अनुज घिमिरेले नर्थ डाकोटा स्टेट युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन्।)
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)