समाजले तपाईंको उमेरको आधारमा यो गर्ने, यो नगर्ने भनी तपाईंमाथि नियन्त्रण गर्न नदिनुहोस्।
करिब ३७ लाख ज्येष्ठ नागरिक भएको देशमा दैनिक जसो ज्येष्ठ नागरिकमाथि कुनै न कुनै तवरबाट कुनै न कुनै हिंसा भएको छ। यसै कुराको पुष्टि पोखरामा सार्वजनिक बसमा यात्रा गर्दा जब सहचालकले भन्दै थिए- 'हाम्रा त बस चालक नै ज्येष्ठ नागरिक छन्, तपाईं कहाँ छुटका लागि ज्येष्ठ नागरिकको परिचयपत्र देखाउनु हुन्छ!'
अड्डा अदालतमा होस या सरकारी निकायमा वा सार्वजनिक सेवामा, ज्येष्ठ नागरिकहरू पीडित छन्। सकारात्मक कुरा पनि गरौँ। जहाँ ज्येष्ठ नागरिकले सेवा, सुरक्षा तथा सम्मान पाएका छन् जसमा वृद्ध भत्ता पनि एक हो। तर यो भत्ता बारेमा कहिले पार्टीको योगदान, कहिले आर्थिक बोझ, कहिले वितरणमुखी भन्ने गरिन्छ।
ज्येष्ठ नागरिकको पीडा सबैभन्दा बढी विदेशमा सन्तान पठाउनेहरूको घरमा छ जहाँ एकातिर पीडा, अर्कोतिर बाध्यता छ। 'बिरालो मारेको सबैले देख्छन् तर तर खाएको कसैले देख्दैनन्' यो भनाइ मिल्दो छ।
सन्तान बढायो, हुर्कायो अनि पैसासहित विदेश पठायो। यहाँ आफू परिवार एक्लै। सार्वजनिक बसमा यात्रा गर्दै गर्दा भेटको क्रममा एकजना ज्येष्ठ नागरिक भन्दै हुनुहुन्थ्यो, 'जेठी छोरी अमेरिकालाई बेचेँ, माइलो छोरो अस्ट्रेलियालाई, अर्को कान्छो जापानलाई। हामी बूढाबूढीलाई केही न केही। बस् भनौँ भने यहाँ केही छैन भन्छन्, छ भनौँ भने धारो खोल्यो हावा आउँछ, बस चढ्यो ठाउँमा पुग्न गाह्रो छ, अड्डा अदालतमा गयो काम ढिला हुन्छ। ऋण गरेर पढ्यो, जागिर पाउन गाह्रो, कसरी रोक्ने? जहाँ गयो त्यही समस्या छ। विदेशमा नि बुटो त छैन तर मेहनतको कदर छ। यहाँ अस्पतालमा गयो पैसाको खोलो उपचार छैन, स्कुल कलेजको कुरा नगरौँ पढाइ कम पैसा धेरै। यस्तै छ यहाँको चलन।
एकजना छिमेकीको घर गयो, अर्को छिमेकी कहाँ गयो उस्तै छ। सबै घरमा बुढा बाआमा छन्, सन्तान विदेशमा। कोही उतै बस्ने गरी गएका छन्, कोही यदाकदा आउँछन्। पैसा आउँछ, नासो आउँछ तर आफ्नो मायाको पासो आउँदैन। बुढेसकालमा छोराछोरी चाहिने बेलामा उनीहरू विदेशमा छन्। पैसाले न अस्पताल लान्छ न भान्सामा पकाउँछ। यस्तै छ बाबु हाम्रो दुखेसो। म चल्न सक्दिनँ। बुढाले यसो बाहिर सडकतिर गएर तरकारीसम्म किनेर ल्याउनु हुन्छ।'
यी त भए दुःखका कुरा सुखका कुरा पनि छन् तर पनि ज्येष्ठहरू पीडामै छन्। उनीहरूका सन्तान देश, छिमेक, गाउँ आफन्त सबैको भलो चाहन्छन्। भलो नभएको देख्दा पनि पीडामा छन्। उनीहरू अरूको बढी चिन्ता लिन्छन्। चाहे देशको होस या टोलको या समाजको वा सन्तानको। चिन्ता लिने पनि नसक्ने नै रहेछ। सावाँको भन्दा ब्याजको बढी माया धेरै हुन्छ। यता मनोविज्ञानवालाहरू हजुरबा हजुरआमासँग बसेका नातिनातिना धेरै माया प्रेम पाएर बिग्रने, मात्तिने, भनेको नमान्ने, नटेर्ने, आज्ञाकारी नहुने समस्या आउँछ भन्छन्।
एकजना आफन्तले भन्दै हुनुहुन्थ्यो- 'सरकारले त्यसै पेन्सन दिएको रहेनछ किनकि आजकल त नामै, मोबाइल नम्बर नै बिर्सने रहेछ। दिमागले कम काम गर्दो रहेछ।' यसो भन्दा सोच्दै गर्दा विदेशबाट विशेषज्ञ बनेर आउने ६० काटेकाहरूको जमात हेर्दा त्यो पेन्सनको कुरा पनि सत्य होइन जस्तो लाग्छ। हाम्रो आहार, खानपान, व्यायाम, सुताइ, निद्रा, खटाइ, मनोरञ्जन, दिमाग र शरीरलाई आराम बाँच्ने तरिका आदि पनि माइने राख्दछ।
ज्येष्ठ नागरिकमा पनि विधवाभन्दा विदुरको सङ्ख्या कम छ किनकि पुरुषको मृत्युदर बढी छ। काठमाडौँ उपत्यकामा हरेक घरधुरीमा समस्या छ जहाँ ज्येष्ठहरू एक्लै छन्। सन्तान विदेशमा यहाँ ज्येष्ठको इज्जत छैन, अपवाद राजनीतिक नेतृत्वको ज्येष्ठ बाहेक।
धेरै बुबाहरूको गुनासो हुन्छ, 'म बुढोलाई कसले सुन्छ र टेर्छ र? दिन उमेरका सँग पो मान्छेले गन्छन्, सुन्छन्, टेर्छन्।' ज्येष्ठ नागरिकहरूको मानसिक स्वास्थ्य पनि बिग्रेको छ। मनोविमर्श छैन, आफ्ना पीडा भन्ने, सुनाउने, देखाउने, बुझाउने ठाउँ नै छैन।
कान नसुन्ने, आँखा कम देख्ने, कान कम सुन्ने, मोतीबिन्दु हात गोडा कमजोर, रक्तचाप, मधुमेह, प्रोस्टेट पाठेघरका, दाँत दुख्ने समस्याहरू छन्। न त सन्तानले उपचारका लागि लैजान्छन् न ज्येष्ठले समस्या बताउँछन्। कतिपय उनीहरू समस्या बताए पनि कसैले उपचारका लैजान्न भन्ने छ। कतिपयको भने पनि सन्तानले विविध कारणले उपचार नगराएको पीडा छ।
उता ज्येष्ठले सम्मान पाउन त परै जाओस् भत्ता समेत झ्वाम्म पार्ने जमात पनि धेरै छ। बिचरा ज्येष्ठहरू, त्यही भत्ता पनि सन्तानलाई दिन्छन्। बाबु आमाको मन छोराछोरीमाथि छोराछोरीको मन ढुंगामुढा माथि भने झैँ छ।
ज्येष्ठहरू हाल विविध काममा संलग्न छन् जो सराहनीय छ, यसमा हामी कटाक्ष गर्नु पर्दैन। उमेर भएसम्म, हात खुट्टा चलेसम्म, शरीरले काम दिएसम्म सकेसम्म काम गर्नु पर्छ। हातखुट्टा चल्दै माथि भगवान्को शरणमा जान पाए हुन्थ्यो भन्ने मत ९९ प्रतिशत ज्येष्ठको छ।
हरेक ज्येष्ठ भएको घरमा समस्या छ। सक्षम, हुने खानेले, कामकाजीले आआफ्नो गच्छेअनुसार कामदार, सुसारे, नर्स राखेका छन्। तर सबै नेपालीलाई त्यो सम्भव छैन। तसर्थ पीडामा छन्। काम गर्ने पर्ने बाध्यता छ। ज्येष्ठलाई समय कसरी दिने?
समय त परै जाओस्, 'बचनम किम दरिद्र' भने झैँ भेट हुँदा समेत प्रिय, मधुर, शीतल, नरम बोल्ने बानी छैन। हामी सबैजसोमा यो समस्या छ। यसमा कारण पनि होलान् तथापि ज्येष्ठको अपमान कुसंस्कार नै हो। कतिपय ज्येष्ठ सरकारको भत्ताले अम्मल चलेको छ भन्छन्। सरकारले दिएको तेल खास्टामा थापेर खानु भन्ने गर्छन्।
ज्येष्ठले गरेको श्रम र मेहनतको इज्जत गरौँ। यसबाट ज्येष्ठको सम्मान हुनेछ। सरकारले पेन्सन दिएको पूर्णकालीन रूपमा काममा गर्न नसक्ने भनेर होला तर अल्पकालको काम ज्येष्ठलाई भुल्ने, समय काट्ने, मन बहलाउने ठाउँ पनि भएको छ।