अचानक धेरैपछि एउटा साथीको म्यासेज आयो, 'के छ मिमी खबर? भविष्यको योजना के छ?'
धेरैजसो म्यासेजको उत्तर म तुरून्तै दिने गर्छु। सोचविचार धेरै नगरिकन झट्ट मनमा जे आयो त्यही। लामो समयपछि साथीको म्यासेज आयो, त्यो पनि दुई उत्तर नै नभएका प्रश्नसहित।
हालखबर भन्यौँ भने उही पुरानो दिनचर्या; उठ्यो, पढ्न गयो, फर्कियो, सुत्यो। केही नौलो, केही रोमाञ्चक, केही 'वर्थव्हाइल' केही छैन। उही पुराना गीत, पुराना याद, पुरानै मान्छे। सोचेँ साथीलाई चासो होला नयाँ प्रगतिको, नयाँ उपलब्धिको, नयाँ खुड्किलोको। ऊ चाहन्छ होला मैले भरेका उडानका अतरंगी किस्साकहानी सुन्न। म भने जमिनमा घिस्रिँदै छु महिनौंदेखि।
'केही छैन यार' म निरस रिप्लाई दिन्छु।
उसले मलाई भावी योजनाको बारेमा सोधेको छ। मलाई अर्को घण्टा के गर्ने पनि थाहा छैन। एकछिन सोचेँ, 'स्कुटर किन्ने प्लान बनाउँदै छु।' तर झल्याँस्स उसले अस्ति इन्स्टामा हालेको टेस्लाको तस्बिर आँखा अगाडि आयो। विदेशमा साथीले टेस्ला किनिसक्यो आफू यहाँ भुक्का! के सुनाउनु आफ्नो योजनाजस्तो भयो।
"योजना? त्यो पनि थाहा छैन यार। चलिराछ।' म विक्षिप्त उत्तर दिन्छु।
मैले उसलाई पक्कै रिस उठाएको हुनुपर्छ।
उसले सोध्छ, 'त्यसो भए कसरी दिन बित्छ तेरो?'
म आँखा बन्द गर्छु र मेरो दिन सम्झन्छु।
सबेरै ४ बजे बिउँझिएको, झ्याल बाहिर पानी दर्किरहेको थियो। उठेर तातो पानी तताएर एक गिलास खाएको। त्यसपछि नित्यकर्म सक्नासाथ हतारहतार स्कुटर सिक्न दौडिएको। त्यहाँ ८ बनाउन नजान्दा सन्देश सरको आँखामा झल्किएको निराशा। आधा घण्टा सिकेपछि घर फर्किएको। बिदाको दिन परेर पो त। दिन यत्तिकैमा सकियो। तेत्रो २४ घण्टामा मैले गरेको यही हो? म आफैलाई प्रश्न गर्छु।
'सुतेर' दुई थोपा आँसुसहित, जबर्जस्ती मुख च्यातेको हाहा इमोजी पठाउँछु।
तर म निदाएको थिइनँ। वास्तवमा निदाउन छोडेको धेरै भइसकेको छ। निद्रामा पनि यिनै प्रश्नहरू सपना बनेर आइरहन्छन्।
'अब के गर्ने? भोलि के होला? भविष्य कस्तो होला?'
यो अचम्मको उमेर रहेछ। हेर्दाहेर्दै जिम्मेवारीहरू आँखा अगाडि सर्दैसर्दै आउँदै छन्। एउटा यस्तो बेला थियो जब खाली रमाइलो गर्न मात्र मन लाग्थ्यो। रातभर फिल्म हेरेर बस्न सकिन्थ्यो, घुम्न निस्किँदा दिन बितेको पत्तो हुन्नथ्यो। अहिले रमाइलो गर्दा पनि मन भारी भएर आउने गर्छ। डर उही भोलिको।
अरूसँग आफ्नो जीवन तुलना गर्न हुँदैन थाहा हुँदाहुँदै पनि मनले नमान्दो रहेछ। सँगैका साथीहरू कहाँकहाँ पुगिसके भन्ने वास्तविकताले धेरै सताउँछ। अरूको खुसीमा दुःखी भएको हैन। तर आफ्नो लथालिङ्ग जीवन हेरेर कहाली लाग्छ।
म सोचमा मग्न थिएँ फेरि मोबाइल टिङ्ग गर्यो।
'बाहिर जाने विचार छ कि छैन?'
आखिर किन बाहिर जानैपर्ने यो रोग सवार छ हामी जनमानसमा? हुन त देशको अवस्था देखेर पलायन हुन मन लाग्नु स्वाभाविक नै होला तर विदेश जाने योजना बनाउनु किन अपरिहार्य भएको छ?
एक मनले भन्न मन थियो, 'किन विदेश जानु र?' तर फेसबुक भरी छरिएका प्रफुल्ल अनुहारले मलाई विदेश जाने सोचबाट धेरै पर भाग्न दिएन।
'सोच्दै छु', म उत्तर दिन्छु।
कुराकानी निकै एकतर्फी भयो जस्तो लागेर मैले उसलाई प्रश्न गरेँ, 'तिमीलाई कस्तो छ?'
उसको रिप्लाई झट्ट आयो, 'मेरो त मस्त छ यार। काम गर्छु, पढ्छु, घुम्छु। अब अर्को महिना नेपाल आउँदै छु, भेट्नु पर्छ है?'
मेरो मन चसक्क दुख्यो।
नेपाल आउँदा कुन मुख लिएर भेट्न जाने भन्ने सोचले अहिलेदेखि नै त्राहीमाम हुन थालेँ। आखिर ठुलो हुँदै जाँदा किन यति असुरक्षित महसुस हुन्छ आफ्नै जिन्दगी?
आफ्ना सानासाना उपलब्धिहरू पनि बेकार लाग्ने, अरूले गरेका हरेक कुरा ठूला लाग्ने। मलाई थाहा छ जीवन दौड होइन। तर पनि म हरेक पाइलामा ट्रफी खोजिरहेको हुन्छु। अरूको प्रगतिमा जति खुसी भए पनि रातपख फेरि यथार्थले घच्घच्याउँछ, 'खोइ तेरो ? खोइ तँ ? खोइ अरू?'
जिन्दगी सुधार गर्नका लागि नै कति साथी विदेशिए। आफ्नो जिन्दगी सुधार कसरी गर्ने यही दुविधामा दिनदिनै मन पिरोलिरहन्छ। कति सेल्फ-हेल्प पुस्तक पढियो। कति मोटिभेस्नल स्पिच सुनियो। कति मान्छेका थरीथरी सुझाव सुनियो। तर भित्रको खोक्लोपन कसरी पुर्ने? अरूले भनेको सुनेर पनि जीवनमा उचित ढङ्गले कार्यान्वयन गर्न खै सकिएको?
सायद 'म' पात्र म मात्र नभई थुप्रै नेपाली युवा हुनुपर्छ।
नैराश्यले हामीलाई किन यति बिघ्न सताइरहेको छ। सानै उमेरदेखि निरन्तर पढ्न अनि पढाइ सकेर जागिर खाने प्रवृत्ति थियो। त्यही अनुसार केही नगरी पढियो। अहिले आएर, 'हसल' कल्चरले हामीलाई समस्या दिन्छ। आजको सामाजिक संरचनाले हामीलाई उत्पादनशील हुनैपर्छ भन्ने जोड गरेको छ।
पढ्दापढ्दै काम गर्ने, त्यो पनि न्यूनतम तलबमा अनि तुलना विदेशमा भएकाहरूसँग। जमाना 'इन्फ्लुएन्सर'हरूको भइसकेको छ। कुन फोन बोक्दा 'ट्रेन्डी', कुन लुगा लगाउँदा, 'अप टु डेट', कुन ठाउँमा जाँदा ,'ह्यप्पेनिङ' सबै उनीहरूले भन्दिन्छन्।
हामीले चाहेको जीवनको अनुमानित छवि हामीसँग भएको जीवनभन्दा फरक छ।
हामी दैनिक रूपमा उठेर देख्ने सांसारिक वास्तविकताको तुलनामा सामाजिक सञ्जाल र लोकप्रिय संस्कृतिले हामीलाई चखाएका सपनाहरू धेरै चम्किला छन्। हामी धेरै प्रयास बिना चिजहरू छिटो चाहन्छौं।
हामी तत्काल सन्तुष्टि चाहन्छौं। हामी चाहन्छौं कि चिजहरू हाम्रो गतिमा होस् र जीवन हाम्रो हातमा होस् जब कि धेरै पटक हामी जीवनको हातमा हुन्छौं।
आजका युवाहरू आफ्नै अपेक्षामा फिट हुन नसक्दा निराश छन्। आजका युवाहरू आफ्नै घर वरिपरि पनि बाटो नभेटिएका कारण हराएका छन्। आजका युवाहरू दिवास्वप्न देख्दै रातको निद्रा गुमाइरहेका छन्। आजका युवाहरूले देशप्रतिको आशा गुमाएका छन् । त्योभन्दा बढी, तिनीहरूले आफैमा आशा गुमाइरहेका छन्। आजका युवाहरू सामाजिक रूपमा अज्कल्टा, मानसिक रूपमा पीडित र शारीरिक रूपमा आक्रान्त छन्। यसै कारण हामी जीवनले फ्याँकेको सानोभन्दा सानो असुविधालाई पनि प्रहार गर्छौं।
हामीसँग बाँच्ने कला र हामीसँग भएका यावत् कुराहरूका लागि थोरै कृतज्ञताको कमी छ। हामीले सिकेका छौं कि शीर्षमा पुग्न आवश्यक छ तर हामीले कसरी सिँढी चढ्ने सिक्न अझै बाँकी छ। नेपाली युवाहरू विभिन्न किसिमका दुःखसँग परिचित छन् । तर यो दु:खबाट कसरी मुक्त हुने थाहा छैन।
युवाहरू चुपचाप पीडा भोगिरहेकाले देशले ठूलो पीडा भोगिरहेको छ। आकांक्षाले मात्र नभई प्रेरणाले भरिएको जीवन कसरी जिउने भनेर सिकाउनमा हाम्रो शिक्षा प्रणाली व्यवस्थित रूपमा असफल भएको छ।
हामीलाई अवसरहरू समात्न भनिएको छ तर कसरी खोज्ने भनेर सिकाइएको छैन। शोकाकुल, निराश र आक्रोशित युवाहरूलाई यो अन्धकारबाट बाहिर ल्याउनको लागि आशा, प्रेरणा र मार्गदर्शक ज्योति चाहिएको छ। यो प्रकाश एउटा कुशल नेतृत्व, भरपर्दो प्रशासनिक प्रणाली र थप सहयोगी सामाजिक संरचनाको रूपमा आउन सक्छ।
अब के गर्ने भन्ने त्रासदीले हामीलाई रातरात सताउन नदिन उपायको आवश्यकता छ। भविष्यको डरले वर्तमान तोडफोड गर्नु अत्यन्त अनुचित छ भन्ने हामीले बुझ्न जरूरी छ।
जीवन अन्धो प्रतिस्पर्धा मात्र होइन।
अरूसँग तुलना गर्दा हामीलाई सधैं अशान्ति र बेचैनी हुन्छ। परिवारले यस्तो संस्कृतिको खेती गर्नुपर्छ जहाँ तुलना गर्नु सामान्य मानिँदैन। जीवनमा हाम्रो खुसीको मापन अरूको जिन्दगीसँग को दाँजो हुनुहुँदैन। युवाहरूले आफ्नो व्यक्तित्व र विशिष्टतालाई जीवनको एक हिस्साको रूपमा अँगाल्नुपर्छ।
हामीहरूले जीवनका सामान्य गतिविधिहरूमा पनि पूर्णता खोज्न आवश्यक छ। सन्तुष्टि सधैं फेन्सी कार, विस्तृत खाना वा ब्रान्डेड लुगाबाट आउँदैन। उत्पादकता तपाईंले कति कमाउनुभयो भनेर मात्र होइन तर तपाईंले आफ्नो जीवन कति खुसीसाथ बिताउनुहुन्छ भनेर मापन गर्नुपर्छ। युवाहरूलाई राम्रो भविष्यको आशा चाहिन्छ तर अझ महत्त्वपूर्ण कुरा उनीहरूलाई आज बाँच्नको लागि चालक शक्ति चाहिन्छ।
मानक मापन विदेशको भ्रामक चकाचौँधको तराजुले गर्नु अर्थहीन छ।
आफूले गरिरहेका सानाभन्दा साना कुराहरू सार्थक छ भनेर हौसला प्रदान गर्ने भित्री आवाजको हामी सबैलाई चाहना छ।
सायद अनिमात्र म आफ्नो साथीलाई निर्धक्क भई भेट्न सक्छु कि?
सायद अनिमात्र युवाहरूको कायापलट होला कि?
सायद अनिमात्र देशबाट युवा भाग्न छोड्थे कि?
सायद अनिमात्र देश परिवर्तन हुन्थ्यो कि?