'हुन त २०८१ सालमा सुरू नि भयो। नयाँ बिहे पनि धमाधम हुन नि थालिरहेको छ। बिहे गर्न जुरेकाहरूको बिहे भयो हामीलाई भोज खान भ्याइनभ्याई छ तर तिम्रो बिहेको दिन जुरेन है? हामीलाई तिम्रो बिहेको भोज खानु रहर छ,' दिपकले मप्रति प्रश्नरूपी कटाक्ष गर्यो।
म मुसुक्क हाँसेँ तर उसको प्रश्नको जवाफ दिइनँ।
हामी एक ठाउँमा बस्यौं भने कयौं क्षेत्र, विषय वस्तुमा गफ हुन्छ तर आज उसले मेरो टाँङ्ग खिच्दै थियो।
कसको कहिले बिहे हुँदैछ, कहिले भयो? कसरी भयो, कस्तो खालको बिहे भयो? अर्थात् बिहेसँग हरेक जानकारी आजकल सामाजिक सञ्जालबाट पाउने भएको छ। यदि बिहे भयो तर फेसबुकमा पोस्ट्याइएन भने बिहे अपुरै होला नि भने पनि भान हुन थाल्यो।
यति मात्रै कहाँ हो र! बिहेको निमन्त्रणा पनि सामाजिक संजालबाटै पठाउने र पाउने पनि गरेको छ।
यही विषयमा कुरा गर्दैगर्दा अर्को साथी ठाकुरले सुनायो।
एक जनाको बिहे नै रोक्यो नि सञ्जालले गर्दा!
'के भन्छ हौ तिमी अचम्मै कुरा गर्दैछौ त,'
ठाकुरलाई सोधेँ- के भाको हो र? आजकल त समाजिक सञ्जालले गर्दा जोडी भेटाउन सजिलो भएको छ, बिहेको अगाडिको यात्रा तय गर्नभन्दा अगाडि आत्मीयता बनाउन सहज ‘प्लेटफर्म’ बनेको छ, तिमी भन्दै छौ बिहे रोक्यो रे। पक्कै केही नराम्रो गरे होला।' मैले आफ्ना विचार नि थपेँ।
'विवाहको सबै कुरा फिक्स भएर पनि १, २, ३ हैन ४ वटा बिहे रोकियो। जसको कारण फेसबुक हो। ५/६ वर्ष अगाडिको कुरा हो, सेल्फी खिचेर फेसबुकमा अपलोड गर्यो त्यो फोटा अझै त्यहाँ छ तर उक्त फेसबुक केही समययता चलाएको छैन, न आइडी थाहा छ, न पासपोर्ड थाहा रहेछ', ठाकुरको जबाफ थियो।
'हैट, अनि त्यो फोटोदेखि बिहेको के सम्बन्ध? फोटोले पनि बिहे नै टुट्ने हो र? जे पनि कुरा गर्छौ यार तिमिी पनि, जहाँ फेसबुकले गर्दा कयौँको सम्बन्ध बनेको छ। आफ्नै देशमा मात्रै हैन देशबाहिरकोसँग लगनगाँठो भएको कयौं समाचार पढेको छु। पक्कै नराम्रो फोटो हुनुपर्छ, तर समाजको मर्यादा बाहिर गएर केही राख्यो भने समाजिक सञ्जालले स्वीकार्दैन अनि पनि त्यस्तो?,' दिपकले झर्को गरी प्रश्नसँग विचार पनि राख्यो।
'फोटोमा त्यस्तो पनि नराम्रो छैन,' ठाकुरले फोटो देखाउँदै भन्यो।
फोटोमा अगाडि एक युवाले हातमा बियर लिएको छ, पछाडि ३ जना युवती १ जना युवा छ, ‘क्याप्सन’ मा ‘चियरस्’ लेखेको छ।
'जाबो यो फोटोले बिहे ‘क्यान्सल’ भएको रहेछ?,' टाउकोमा हात राख्दै दिपकले प्रश्न सोध्यो।
'हो नि, सबै केटी पक्षका एउटै गुनासो छ यसरी ‘पब्लीकली’ वियर खाएको युवतीहरूसँग फोटो राख्ने व्यावहारिक युवा नहोला रे, र मेरो छोरीको लागि उपयुक्त हुँदैन केटा हुन सक्दैन भन्नेर सबै कुरा तय भएर पनि अहिलेसम्म ४ वटा बिहे रोकिएको छ रे।'
'हामीलाई पनि थाहा छ आजकल बिहेको लागि युवा र युवतीको ‘क्यारेक्टर सर्टिफिकेट’ सामाजिक सञ्जालबाट पाउँछ नि,' ठाकुरको जबाफ।
'बिहे रोकिएको कुरा थाहा पाएपछि दिपक छाँगाबाट खसेझैं भयो। म अचम्मित भएकै थिएँ, वास्तविकता यही हो त? सोच्न बाध्य भएँ।
जुन फेसबुकले टाढाको मान्छेसँग सम्बन्ध बनाउन सहज बनाउँछ, कतिको बिहे पनि हुन्छ, मान्छेको जीवन बचाउनदेखि लिएर सूचना सम्प्रेषण मात्रै हैन कैयौं कुरालाई सहज बनाउने काम गरेको छ।
मलाई एक जना केटी साथीले आफ्ना बिहेको कुरा सुनाएको यहाँ सेयर गर्न खोजेँ।
***
मेरो बिहेको कुरा घरमा चल्न थालेको धेरै भयो तर विभिन्न कारणले बिहे गर्ने सोचेको थिइनँ। जब बिहे गर्न निधो गरेँ। आफ्नै हिसाबले केटा पनि खोजेँ घरमा सुनाएँ तर बिहे कुरा अगाडि बढ्ने छाँट्काँट देखिनँ। केटा सामाजिक छैन रे फेसबुकमा फोटै छैन, के गर्छ, जीवनका उपलब्धिहरू पनि केही देखिएन भन्ने घरको गुनासो थियो।
उसको चाहना थियो चिनेकोसँगै विवाह होस्। उसको चाहना थियो त्यही भएर बिहे गर्नका लागि चिनेको मान्छे खोज्यो तर अझै बिहे हुने कि नहुने टुंगो छैन। दिपकलाई यो कुरा सुन्नेर सारै अनौठो लाग्यो।
गजबका अवस्था आएका छन्। कुनै बेला कसको, कहिले, कोसँग, बिहे भयो खबर नहुने, अहिले संजालमा पोष्टाएन भने बिहे अपुरो हुने भयो। आफ्नो शुद्धता, योग्यता, उपलब्धि, कतिको चर्चित छ अन्य विभिन्न कुराहरूको प्रमाणपत्र आजकल सामाजिक सञ्जालले दिन लागेको छ।
'संजालले बिहे मात्रै रोकिँदैन, बिहे गराउँछ, जागिर खोजिदिन्छ यति मात्रै हैन टाढाका मान्छेहरूसँग आत्मीयता बनाउँछ तर यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरामा भरपर्छ,' दिपकले थप्यो।
'केटोले गफ दिने भयो। ठाकुरले ठाटा गर्यो दिपकसँग, तिम्रो बिहे गर्ने हो कहिले गर्ने हो?,' मतिर प्रश्न तेर्स्यायो।
'थाहा छैन यार बिहे कहिले गर्नेबारे सोचेको छैन। तर सञ्जालले कसैको बिहे रोकिन्छ, कसैको बिहे अड्किन्छ। उनीहरूको बिहे सहज होस् अनि म सोचौंला नि हाँस्दै जवाफ दिएँ।
'सब गफै दिने हो। ल चिया खाऊ एउटा काम गर्नुपर्छ,'दिपकले भन्यो।