मेरा प्रिय विद्यार्थी,
बिहान पाँच बजेदेखि दिनचर्या सुरु गर्छु। बिहानभर कक्षा कोठामा भुल्छु। दिनभर आफ्नै संसारको अध्ययनमा रमाउँछु। बेलुकी पुनः कक्षा कोठामै हुन्छु। राति घर फिरेर थकित मनलाई भुलाउन यसो टिभी खोल्छु। प्रायजसो समाचारको स्क्रिनमा भिडका भिड दृश्य कैद गरेको विमानस्थलका भिडिओ हेर्छु। दिक्क लागेर सामाजिक सञ्जालमा मन भुलाउन खोज्छु।
उफ्! मन चसक्क हुन्छ। दिमाग भारी बन्छ। लामो श्वास लिन्छु। पोस्टको कमेन्ट बटममा औँलाका टुप्पा रगडिने त बानी परेको छ। आफ्नै विद्यार्थीको फोटो, अभिभावक साथीहरूको पोस्ट। लेखिएको हुन्छ— वैदेशिक रोजगारको लागि... बधाई छ। शुभयात्रा...। भारी मन पारेर आँखा चिम्म गर्छु। मनले मानी नमानी 'शुभ यात्रा ...' लेख्छु।
बिहान मात्रै कक्षामा उनको नाम हाजिर रजिस्टरबाट बोलाएको छु. 'एस सर' भन्ने आवाज आउँदैन। मेरो नजर सिधा उनी बस्ने बेन्चमा पर्छ। त्यहीँ बस्ने उसको साथी प्वाक्क बोल्छ— 'सर, आज ऊ अनुपस्थित छे।' लाग्थ्यो कुनै काम पर्यो होला। उनी केही दिनदेखि अनुपस्थित थिइन्।
बेलुका फेसबुकमा उनकै फोटो थियो। जसलाई मेरो नजरले अझै पनि कक्षाकोठामा देखेको छ तर वास्तविकता फेरियो। उनी मेरो कक्षाबाट टाढा छिन्। सायद जापान भन्ने देशको भाषा कक्षामा। जापनिज भाषा सिक्दै होलिन्। बिरानो सहरको उज्यालो कोठामा आफ्ना तिलमिलाएको सपना सम्हाल्दै होलिन्। मध्यरातमा आमाको काख, बाबाको धाप सम्झेर सिरानी ओसिलो पार्लिन्। साँझ बिहान दौँतरी र आफ्नो आँगनी सम्झेर विक्षिप्त बन्लिन्।
फेरि दिनका चमक झमक र व्यस्तताले सारा भुलेर भाषा पाठशालाबाट फुत्त निस्केर दुई चार थान कृत्रिम मुस्कान छरेर सेल्फी खिच्छिन्। छिनभरमै पोस्ट गरेर छुटेका साथी, संगती, नातागोता, छर छिमेकलाई जापान छु, रमाएको छु भन्ने भान पार्छिन्। फोटोको मुनि आउने कमेन्ट, लाइक, रियाक्ट हेरेर मन भुलाउने प्रयास गर्छिन्। एउटै कक्षामा महिनौँ सँगै हुँदा पनि नबोल्ने साथीहरूले पनि कमेन्ट गरेको देख्दा मक्ख पर्छिन्। घर देशको याद भुलाउने चेष्टा गर्छिन्।
प्रिय विद्यार्थी...
मलाई शिक्षक हुँ भन्न पनि सङ्कोच लाग्न थालेको छ। तिमीभन्दा कच्चा उमेरबाट शिक्षक बनेका हुँ। बाह्र कक्षाको रिजल्ट कुर्दै गर्दा आफ्नो रहरले भन्दा पनि विद्यालयको तत्कालीन आवश्यकता र आफ्नै मजबुरीले कक्षाकोठा छिर्न पुगेको पनि आज दुई दर्जन वर्ष पूरा भएछन्। मनले मानी नमानी सुरु गरेको पेसामा म आजसम्म पूर्ण सन्तुष्टिसाथ रमाइरहेको छु।
गर्व लाग्छ। चौबिस वर्षमा केही हजार विद्यार्थीलाई सकेको ज्ञान बाँड्न पाएको छु। वर्षौँको थोपा-थोपा कमाइले जोडेको एक तलाको घरमा बसेर अग्लो घरबाट पढ्न आएका महाजनका छोराछोरीको सम्मान पाएको छु। व्यवसायमा रमाउँदै महँगो गाडीमा हुइँकिएका भाइहरूले म पुरानो स्कुटी रोकेर उभिँदा छेउमा आएर 'दर्शन गुरु' भनेको स्पर्श गरेको छु। हाफ प्यान्ट लगाएर कुनै कार्यालयमा छिर्दा चटक्क सुट टाईमा सजिएका हाकिम साबहरू जुरुक्क उठेर 'अभिवादन सर' भनेको देख्न पाएको छु। उपचार गर्न अस्पताल जाँदा स्टेथेस्कोप भिरेर परैबाट 'गुरु हजुरलाई के भयो? के सेवा गरौँ?' भन्ने चेला डाक्टरहरू भेटेको छु। जिल्ला भित्रका गाउँ बस्तीमा हिँड्दा गौँडा पिच्छे नमस्कार पाएको छु।
विद्यालयमा छोराको भर्ना गर्न जाँदा 'सरले हामीलाई पढाउनुभयो अब हामी सरको छोरालाई पढाउन पाएका छौँ, हामी त लक्की है सर' भन्ने मीठो वचन सुनेको छु। शिक्षक नै भएर पनि जिन्दगीका कैयौँ रसिला किस्सा सम्हालेको छु। एलकेजीमा पढाउँदै गर्दा नाकदेखि गालासम्म लतपतिएको बच्चाको सिँगान कापीको पन्नाले पुछिदिएर खुसी पारेर पढाएको छु। एक कक्षामा पढाएको नानीलाई स्नातकोत्तरमा दीक्षित बनाएको छु। सँगै परीक्षा दिएर कुर्नै विषयमा अनुत्तीर्ण आफ्नै सहपाठी साथीहरूलाई अघिल्लो वर्षको विषय ट्युसन पढाएर पैसा लिएको छु।
कक्षा युकेजीमा गणितको जोड सिकाउँदा क्यारी ओभर भन्न नजानेर विद्यार्थीसँग सिकेको छु। आठ कक्षाको कुनै विद्यार्थीको गृहकार्य परीक्षण गर्दा अङ्ग्रेजी कर्सिभ अक्षर नचिनेर सोही विद्यार्थीसँग कर्सिभ लेख्न सिकेको छु। कक्षा ६ को पाठ्यपुस्तकमा राखिएको मार्टिन्यू भन्ने कविको क्रिकेट सम्बन्धी लेखिएको 'सिट्स एण्ड आडट' भन्ने कविता नबुझेर क्रिकेट खेलाडीसँग नियम सिकेपछि मात्र पढाएको छु। यी किस्साहरूले मलाई आज विद्यावारिधिको विद्यार्थी भएर मात्रै हैन हरदिन म कक्षा कोठामा शिक्षकभन्दा पनि सिकारु हुँ भन्ने भावना आइरहन्छ।
प्रिय विद्यार्थी,
तपाईंलाई लाग्यो होला, शिक्षक मात्रै यस्तो सम्मान पाउने र मीठा किस्सा सम्हाल्ने पेसा हो भनेर लेखकले प्रमाणित गर्दै छ। त्यसो बिलकुल होइन। सबै पेसा, व्यवसाय र कर्म समान महत्त्वका हुन्छन्। सबैको आआफ्नै महत्त्व छ। जुनसुकै पेसा व्यवसायमा पनि रमाउन सकिन्छ। कुरा यत्ति हो कि यी सबै पेसा, व्यवसाय गर्न बाटो देखाउने पक्कै पनि शिक्षक हुन्।
खैर केही छैन। शिक्षक नै नभए पनि समाजको मान सम्मान र इज्जत लिन सकेका कैयौँ व्यक्तिहरू हामी वरिपरि देख्छौँ। विडम्बना! हाम्रो समाजले अझ भनौँ हामी आफैँले सबै पेसाहरूलाई एउटै नजरले वा समदृष्टिले हेर्न सकेका छैनौँ। जसको प्रत्यक्ष असर हो मजस्ता शिक्षकको कक्षा कोठा जुन दिनदिनै रित्तिँदै छन्।
बिहान कक्षामा नाम बोलाएको कैयौँ पात्रहरू बेलुकी अर्कै देशमा ल्यान्ड भइसकेका हुन्छन्। देशको अब्बल विश्वविद्यालयमा स्नातक गर्दै गरेका उत्कृष्ट विद्यार्थीहरू आफ्नो देशमा भविष्य देख्दैनन्। आफ्नै देशमा पढेर विद्वान बनेर मजस्तै विश्वविद्यालयमा अध्यापन गरिरहेका खुङ्खार प्राध्यापकहरू आफ्नो सन्ततिको लागि आफ्नो विश्वविद्यालय योग्य ठान्दैनन्। यही माटोमा सिकेर व्यवसायमा अब्बल ठहरिएका सफल व्यवसायीहरू आउँदो पुस्ताको लागि व्यापार व्यवसायमा ठाउँ देख्दैनन्। अरू त अरू राजनीतिमार्फत समाजसेवा गरेर देश बनाइरहेका छौँ भनेर कहिल्यै नथाक्ने वडाध्यक्षदेखि उपल्लो स्तरका नेताहरू आफ्ना घरका नयाँ पुस्तालाई आफ्नो देशमा अड्याउन सक्दैनन्।
प्रिय विद्यार्थीहरू...
फेरि पनि भन्छु। यी सबै परिस्थितिका बाबजुद पनि यदि हामी हाम्रै माटोमा रम्न सकेनौँ भने के होला केही वर्षपछि हाम्रो समाजको हालत? कस्तो बन्ला तपाईंको सन्तति हुर्कने समाज? कहाँ लानुहुन्छ आफ्ना सन्तानलाई आफ्नो माटो चिनाउन? कसरी दिनुहुन्छ उनीहरूलाई हाम्रो मौलिक पहिचान? तपाईंको नाकले नेपाली माटोको बास्ना लिन चाहन्छ तर तपाईंले नशा नशामा जापान, कोरिया, अस्ट्रेलिया, क्यानडा, अमेरिका, युरोपको मात चढाउनु भएको छ। आफू नेपालमा जन्मिएर हुर्किएर जापानमा वर्षौँ रामेन उमालेर कोरियामा बर्गर बनाउने केटासँग जीवन जोडेर अस्ट्रेलियाको पिआर लिँदै मेलबर्नमा जन्माएको बच्चाले कुन देश र समाजको मौलिकता ग्रहण गर्ला?
छ महिना वर्ष दिनको दूधे बालक छोडेर विमानस्थलमा खादा र माला पहिरिएर ट्रली गुडाउँदै चिच्याइरहेको बालक हेरेर बलिन्द्र आँसु झार्दै गरेको टिकटक भिडिओ पछि तिनै सन्ततिले हेरेर बुझ्दा कस्तो महसुस गर्लान्? बुढेसकालमा थलिएर ओछ्यान परेका आमाबाबुले अस्पताल लैजाने मान्छे नपाउँदा तपाईंले कमाएको यान वा डलरको के अर्थ? आमाको निधनमा चार दिन लास कुराएर गरेको अन्त्येष्टिको र मृत्यु कर्मको कुन महत्त्व रहन्छ?
प्रिय विद्यार्थीहरू...
त्यसैले एक पटक गम्भीर भएर सोचौँ त। माटो हाम्रो जन्मभूमि हो। हाम्रो माटो अब्बल छ। कम्तीमा आजका दिनसम्म हाम्रा आमा बुवाले यही माटो प्रयोग गरेर हामीलाई हुर्काए। आज हामी कम्तीमा माटोबाट माथि उठेर सोच्न सकेका छौँ। संसारका प्रविधि नियालेका छौँ। आमसञ्चार प्रयोग गरेका छौँ। यद्यपि कक्षाकोठामा सीप सिक्ने अवसर पाएनौँ होला। केही छैन। एक छिन ठन्डा दिमागले सोचौँ। संसारका नवीन प्रविधि र अब्बल व्यवसाय विकास गर्ने व्यक्तिहरू पनि त आखिर शतप्रतिशत उत्कृष्ट शिक्षालय पढेका हुँदैनन् नि।
थाह छ। भोगेको छु। विद्यार्थी काल, युवा अवस्था सपना बढी देखिने तर अभाव नै अभावले दैनिकी झेलिने जीवनका अप्ठ्यारा वर्षहरू हुन्। पटकै पिच्छे आमाबुवासँग माग्न लाज हुने तर आफ्नो खुट्टामा उभिन पनि नसक्ने परिस्थितिमा गुज्रिने जीवनको महत्त्वपूर्ण कालखण्ड बेहोरेको छु। लाग्छ तापाईंको आँखाबाट पनि म उसै गरी अभाव र आतुस देख्न सक्छु तर पनि म भन्न चाहन्छु कि आफ्नो जवानी र जोसलाई सेलाउन नदिन पढ्दै गरेको स्नातकको कक्षा चटक्कै छोडेर बिदेसिन पुग्दा तत्काल केही राहत मिल्ला। खल्तीमा, खातामा बिस्तारै रकम बढ्दै जला तर हाम्रा आउँदै गरेका पुस्तामा मौलिकता, धर्म, संस्कृति र माटोप्रतिको लगाव, मोह कालान्तरमा सकिएर जानेछ।
हामी कुनै दिन हाम्रा सन्ततिलाई आफ्नो पहिचान दिलाउन, आफ्नोपन दिलाउन, पिता पुर्खाका विरासत थमाउन नमज्जाले चुक्नेछौँ। जसरी म आज कक्षामा बोलाएको नाम भोलि बोलाउन असमर्थ हुनेछु। दिनदिनै रित्तिँदै गएको कक्षा कोठा देखेर कैयौँ पटक टोलाएको छु। झस्किएको छु तर पनि आस मारेको छैन।