'बुहारी हेर त, यी बिहेको निम्तो आएको रहेछ, सिँढीमा कसले छोडेर गएछ यो कार्ड। कसको बिहेको हो,' मलाई कार्ड देखाउँदै सासूआमा हाँस्दै आउनुभयो।
उहाँको हातमा दुई वटा निम्तो कार्ड छ। हातमा लिएर म कार्ड हेर्छु।
सासूससुरा र श्रीमानको नाममा बेग्ला बेग्लै निम्तो आएको छ। श्रीमानको कार्डमा सुश्री र श्रीमती प्रष्टसँग काटेको छ। वृद्ध हुनुभएका सासूससुराको कार्डमा सुश्रीलाई जिउँदै राखिएको छ। चुलै निम्तो कतै लेखेको पनि छैन। श्रीमानको नाममा आएको कार्डमा श्रीमती र सुश्रीको निर्मम हत्या गरिएको देख्छु। च्वाट्ट च्वाट्ट रातो मसीको धारिलो छुराले रेटेको छ। सुश्री मात्र काटेको भए त ठीकै हो, जानु पनि हुँदैन धेरै जना। श्रीमानको साथीको घरबाट निम्तो आएको भए पनि ठीकै हो एक जनालाई मात्र बोलाए भन्नु। यो त पारिवारिक निम्तो हो।
यो बिहेको निम्तो श्रीमान नातेदारबाट आएको छ। कार्ड पढेपछि मेरो मनमा चिसो पस्यो। बिहे शनिबार परेको छैन। सासूससुरा आफैँ जान सक्नुहुन्न। श्रीमानलाई यो हप्ता कोर्ष सक्ने धपेडी छ, बिदा लिनै मिल्दैन। अब कसले लैजान्छ बुढाबुढीलाई यो बिहेमा। मनमा कुरा अड्किन्छ।
अनि सासूआमालाई भन्छु, ‘आमा हजुरहरूलाई आएको निम्तो हो अब छोरालाई बिदा लिनु भन्नु है। हेर्नु त मलाई त निम्तै छैन। अझ रातो मसीले श्रीमतीलाई जानी जानी रेटेको छ। के गर्नु छोरीको बिहे रहेछ। एक जना त जानै पर्यो,' मेरो कुरा सुनेर सासूआमा चिन्तित हुनुभयो।
आमाको मनमा कुरा खेल्न थालेको चाल पाउँछु, ‘सधैँ बुहारीले नै लिएर हिँड्छे जता जाँदा पनि। तर यो कस्तो निम्तो आयो छोरालाई बोलाउने बुहारीको नाम काट्ने।'
उहाँको अनुहार अँधेरिन्छ। राति सबै जना जम्मा हुन्छौं। छोराले बिहेमा कुनै पनि हालतमा जान नमिल्ने अवस्था देखाउनुहुन्छ। मलाई पनि जानै मन लाग्दैन नबोलाएको ठाउँमा। बिहेमा नजाने निधो हुन्छ।
जति जति बिहे नजिकिन्छ सासूआमाको अनुहार उतिउति निराश देख्छु। उहाँको मनमा कुरा खेलेको पनि चाल पाउँछु। पर्सिको बिहे छ।
सासूआमा भन्नुहुन्छ, ‘नानी मेन्धी सक्कियो? तिम्रो कपाल त सेतै देख्छु त मेन्धी भिजाएर लगाऊ, सेतो कपाल नराम्रो देखियो। थोरै मेन्धी म पनि अगाडिको कपालमा दल्नुपर्ला अलि धैरै भिजाऊ है।'
हे भगवान! आमाको आश अझ मरेको छैन बिहेमा जाने। उहाँले मलाई राम्रोसँग चिन्नु भएको छ। बुहारीले लैजान्छे कि भन्ने आशा अझ जीवितै छ। उहाँको कुरा सुनेर मलाई उहाँको असाध्यै माया लाग्छ। जाबो एउटा बिहेमा एक्लै जान सक्ने अवस्था छैन अब मेरी सासूआमाको। म सोच्छु, भोलि मेरो पनि गति यस्तै त होला। सानासाना रहर पूरा गर्न सन्तानको मुख ताक्नु पर्ने दिन मेरो पनि त आउँछ होला। अनि मनमनै आफ्नो स्वाभिमानलाई बिर्सिन खोज्छु।
आ! आमालाई लगिदिन्छु बिहेमा, यस्तो रहर गर्नुभएको छ। के इख लिनु निम्तो दिएनन् भनेर? उमेर बुढो भए पनि रहर बुढो हुँदैन क्यारे। म सोच्न थाल्छु हे, ईश्वर! यस्तो पनि समय आउने रहेछ जीवनको उत्तरार्धमा। बाघ मारेर ल्याउन सक्ने मान्छेले पनि आफ्ना साना साना रहर पूरा गर्न अरूको भर पर्नुपर्ने रहेछ।
गाउँमा भए मेरी सासूले दुई चार जनालाई हात समातेर हिँडाउनु हुन्थ्यो आज सहरको यो भीडमा मेरो हात समातेर हिँड्न खोज्दै हुनुहुन्छ। यो सहरले उहाँको आँटलाई खर्लप्पै निल्यो। उहाँको हिम्मतलाई निमोठिदियो। दर्बिलो गोडा कम्पित तुल्याइदियो। नत्र मेरी सासू पहाड पनि फोड्न सक्ने एक बहादुर नारी हो। सासूआमाको मन बिहेमा जान उल्लासित भएको देख्छु। छोराको फुर्सद छैन बुहारी जान्न भन्छे आमालाई पर्नु पिर परेको छ। मलाई उहाँको छट्पटीले पोल्न थाल्छ।
उहाँको विवशताले न्याँक्न थाल्छ। कठैबरी कति कुर्नु घर। कति बस्नु कोठामा। कहिलेकाहीँ त जान मन लाग्नु स्वाभाविक नै हो। हृदय कति प्रफुल्ल हुन्छ आफन्तको माझमा केहीबेर रमाउँदा पनि। उहाँका इष्टमित्रहरू भेला हुँदा कति मज्जाले हृदय खोलेर हाँस्नुहुन्छ। विगतका कुरा गरेर वर्तमानमा कति हर्षित हुनुहुन्छ।
म एक्लै जता जान पनि सक्छु। मलाई कसैले डोर्याउनु पर्दैन। तर पनि कहिलेकाहीँ कतै जान नपाउँदा मन कुँडिन्छ। मलाई पनि त रमाइलो लाग्छ आफन्तसँग भेटघाट गर्दा। सासूको मन र मेरो मन एकै त हो। म त जहाँ पनि जान सक्छु तर सासूलाई लगिदिनु पर्छ। यस्तै कुरा सोच्दै टाउकोमा दल्न मेन्धी भिजाउँछु।
भोलिपल्ट सासूआमा मेरो मन नाप्नुहुन्छ, 'हेर नानी त्यो बेहुलीलाई त मैले मेरै काखमा हुर्काएकी हुँ। त्यसको बा पनि हाम्रै काखमा हुर्किएको। खुरूक्क हिँड तिमी बिहेमा, हामीलाई बोलाएकै छन्। हाम्रो कार्डमा सुश्री काटेको छैन, तिमी छोरी जस्तै त हौ। बोलाउन बिर्सिएका हुन्। जानी जानी नाम काटेका होइनन्। त्यो मान्छे त्यस्तो हुँदै होइन। कति मनकारी छ। त्यत्रा मान्छे बोलाउँदा तिमीलाई किन काट्थ्यो बरा! कसलाई कार्डमा नाम लेख्ने जिम्मा दिएको थियो त्यसको बदमासी हो। हुनसक्छ झुक्किएर त्यतातिर कलम दलिएको। अथवा सुश्री काट्न खोज्दा श्रीमती पनि काटिएको हुनसक्छ। हिँड कसैले सोधे भने आमालाई लिएर आएको भन्नु। केही हुँदैन।
तिमी र म जाऔँ। हेर छोरीको बिहे नजाँदा खल्लो हुन्छ। मलाई अघोर रहर पनि लागेको छ त्यसको बिहे हेर्न। छोरोको बिदा लिनै मिल्दैन भन्छ। तिमी कति खान्छौ र हिँड् बा जाऊँ। दिउँसोको बिहे छ फुत्त पुगेर छट्टै आउँला।'
आमाको कुरा सुनेर मलाई हाँस्न मन लाग्छ। उहाँको बिहेमा जाने रहर देखेर म पग्लिन्छु। राति छोरालाई सुनाउँछु। उहाँ रिसाउनु हुन्छ। 'त्यस्तो कार्डमा तँ कसरी जान्छेस्' भन्नु हुन्छ। कुनै पनि हालतमा बिहेमा नजानू भन्नुहुन्छ। अब उहाँलाई नै सम्झाउँछु।
'कठैबरी बेहुलीका बाआमाले पक्कै निम्तो कार्डमा नाम लेखेनन्। कसैलाई त्यो काम जिम्मा दिएका थिए होलान्। कार्डमा नाम लेख्ने मान्छेले काटिदियो होला के गर्नू! आखिर हाम्रो घरमा तीन जनालाई बोलाएकै छन्। आमालाई लिएर जान्छु। के गर्नु देशविदेश घुमाउन सकेको छैन। तीर्थयात्रा गराउन सकेको छैन। जाबो कहिलेकाहीँ आउने बिहे, पार्टी, ब्रतबन्ध, पूजा, श्राद्धमा पनि किन नलग्दिनु। मै लैजान्छु। बेहुलीको बाले मलाई किन आएको भनेर भने मसँग उत्तर छ।
बिहेको भोज खानलाई जान लागेकी होइन। मेरो मानसम्मानभन्दा ठूलो मेरो कर्तव्य रहेछ। के मलाई जान मन होला त? तर आमा जान खोज्नुभएको छ। मलाई हिँड् भन्नुहुन्छ। अरूको खुसीमा रमाउन सक्नु मेरो कमजोरी पटक्कै हैन होला। हो, मलाई स्वाभिमान र अभिमानको सन्तुलन कायम राख्न आउँछ तर यहाँ ७४ वर्षकी सासूआमाको रहर पूरा गर्नु छ। म जान्नँ भनेर अड्डी कसेकी थिएँ तर के गर्नु? हजुर गए त मलाई ढुक्क हुन्थ्यो नि!
ल भन्नु त को छ आमालाई लिएर जाने मान्छे? अनि मैले यसरी मान खोजेँ भने कसरी चल्छ घरबार। मैले सही र गलत, न्याय र अन्याय, मान, अपमान केलाउन थालेँ भने त समस्या समाधान गर्न मुस्किन पर्छ परिवारमा। मैले हठ छोड्दा आमाको मुहारमा खुसी झुल्किन्छ भने मेरो स्वाभिमान पक्कै मर्दैन।'
मैले यति भन्दा पनि उहाँलाई भरसक नबोलाएको ठाउँमा नगए हुन्थ्यो भन्ने लाग्छ। तर हामी जाने पक्का भयौं। बिहेमा आएको कार्डले जाने कि नजाने भन्ने विमर्श हिँड्ने बेलासम्म चलेकै छ।
ससुराबा भन्नुहुन्छ, 'यो कुनै तरिका हो। निम्तो दिने, श्रीमानको निम्तोमा श्रीमतीलाई काट्छन्, त्यो पनि सबै चिनेजानेको ठाउँमा, केटाकेटीलाई नबोलाए त फरक परेन तर धत्त! म त जाँदिनँ, म बुढो मान्छे तिमीहरू जाओ।'
बाबालाई फलफूल, खाजा र पानी राखिदिएर हामी सासूबुहारी बिहेमा जान्छौं। धन्न कसैले किन आएकी भनेनन्। सासूआमाको खुसी मोबाइलमा समेट्न मलाई मुस्किल भएको छ। सबै चिनेजानेका मान्छे आएका छन्। आमालाई गरेको माया, प्रेम देखेर म दङ्ग परेकी छु। बेलाबेला झस्किन्छु म त नबोलाएकी पाहुना पो हुँ त। फेरि हेर्छु सासूआमाको उज्यालो मुहार। करिब दुई घण्टा बसेर हामी फर्किन्छौं।
सार्वजनिक गाडीमा आउँदै छौं। त्रिपुरेश्वरबाट दुई जना भद्र महिलाहरू गाडीमा चढे। हामीभन्दा ठीक पछाडिको सिटमा बसेका छन्। हातभरि सपिङ ब्याग छ। भाटभटेनीको झोला मरिकुच्च छ। पछाडि आएर बडो कष्टले बस्छन्। सायद एउटी चाहिँ सार्वजनिक गाडी उतिसाह्रो चढ्दिनन् जस्तो लाग्यो। उनीहरू गफिन्छन्। मेरो कानमा उनीहरूका वार्तालाप आएर ठोकिन्छ, ‘के हो तँ त जताजता जान्छेस् सासू चेप्दै हिँड्छेस् त। तँलाई दिक्क लाग्दैन सासूलाई घिच्याउँदै बिहे, पार्टीमा हिँड्न। म भन्दिन्छु मलाई त कसैको डरै लाग्दैन, म त सासूकै अगाडि बुढालाई थर्काउँछु। आमा जाने भए म जान्नँ। म जाने भए आमा जानुहुन्न। आखिर त्यहाँ गएर आमाले केही खाने होइन बेकारमा किन जानुपर्यो पार्टीमा आफ्नै घरको बिहे, पार्टीमा त जानै पर्यो नत्र नगए पनि हुन्छ। मान्छेले देख्दा पनि बुढी मान्छे पार्टी पार्टी हिँडेको जस्तो। जानुपर्दैन। यति भनेपछि बुढिया आफैँ भन्नुहुन्छ, ‘हो त नि तिमीहरू जाओ म जान्नँ, आखिर म केही खाने होइन। आ! बुढाबुढी त चुप लागेर घरै बसे भैहाल्छनि।'
अर्की भद्र महिला बोलेको सुन्छु, 'सीमा मलाई पनि त्यस्तै लाग्थ्यो पहिला पहिला। हामी पनि आमालाई भरसक लिएर हिँड्दैन थियौँ। उहाँ आफैँ पनि हिँड्न मान्नुहुन्न तर तीन महिना अमेरिका पुगेर आएपछि त म सासूलाई पनि लिएर हिँड्छु बाई ! मलाई त माया लाग्छ।'
अर्की बोल्छे, 'तेरो पो गाडी छ र सासू बोकी बोकी हिँड्छेस् सार्वजनिक गाडीमा हिँड्नु परे बोक्थिस् तेरी सासू। पठाओको भाडा तिर्नु कि गिफ्ट दिनु। गाडी हुनेलाई भन्न सजिलो छ।'
अर्की साथी पुनः बोल्छे, 'होइन यार अस्ति तीन महिना अमेरिका बस्दा थाहा पाएँ अरूको आशमा बाँच्नुपर्दा कस्तो हुँदोरहेछ भन्ने कुरा। हामी यति सक्षम छौं तर हामी पनि अमेरिकामा एक्लै हिँड्न नसक्ने रहेछौं। छोराको बिदा कहिले होला र हामीलाई लिएर हिँड्ला भनेर कुर्नुपर्यो। घरमा सबै कुरा थियो तर बाहिर हिँड्दा जुन रमाइलो हुन्छ त्यो घरमा हुँदैन नि! अनि आमालाई झलझली सम्झिएँ। हामी सधैं छोडेर हिँड्छौं उहाँलाई तर यही काठमाडौं उहाँ अमेरिका जस्तो छ। आफैँ हिँड्न सक्नुहुन्न मन त लाग्दो हो नि। सबै ठाउँमा त उहाँ आफैँ जानुहुन्न तर जान्छु भनेको ठाउँमा त हेर लग्दिनुपर्छ।'
'लु लु धेरै खोक्नु पर्दैन। मलाई त झ्याउ लाग्छ बुढाबुढी लिएर हिँड्न।' ती महिलाहरू कलंकीमा झरे।
सासूआमा मलाई पुलुक्क हेर्नुहुन्छ।
म निदाएजस्तो गर्छु।
(अनिता कोइरालाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)