हिप्पोक्रेट्सका अनुसार 'हाम्रो खाना हाम्रो औषधि हुनुपर्छ र हाम्रो औषधि हाम्रो खाना हुनुपर्छ' भन्ने मत छ। जुन आज पनि सान्दर्भिक छ। खाना नै स्वास्थ्य हो भन्ने मत छ। विश्वभरका मानिसमध्ये फ्रान्सेलीहरू खानाखाने प्रयोजनको लागि धेरै समय खर्चिनेमा पर्छन्।
केही दिनअघि राजधानीमा हाम्रो बिर्सिएको खाना र मधुमेह विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भएको थिएँ। कार्यक्रममा न्यून पौष्टिक आहार, मोटोपना र नसर्ने रोगको विषयमा निकै चर्चा रह्यो। कार्यक्रममा कोदोका वैज्ञानिकदेखि कृषिविज्ञ तथा मेडिकल डाक्टरसम्मको उपस्थिति थियो। कोदोको बारेमा तथ्य प्रस्तुत गर्दै कृषि वैज्ञानिकले कोदोबाट बन्ने मदिराको बारेमा समेत वकालत गर्दै 'नट ब्यान्ड बट ब्रान्ड' भन्ने अभिव्यक्ति राखे। हामीकहाँ माघ महिनामा कोदो चल्दैन। अहिले कोदोको धेरै परिकार बन्ने गरेको बताए।
हाम्रा गाउँघरका खाना हराउनुमा कतै न कतै हाम्रो चलन, परम्परा, रुढिवाद, धर्म, संस्कार पनि जिम्मेवार छ। जस्तो कि गोलभेडा, भेन्टा, मुला, कालो दाल, कोदो, च्याउ र भटमासलाई उदाहरण मान्न सकिन्छ। नेपालले झण्डै एक अर्बको कोदो आयात गर्ने र उक्त कोदोको धेरै अंश रक्सी बनाउने चलन छ। कोदोको आयात निर्यात दुवै हुन्छ। विश्वमा कोदो उत्पादन हुने मुलुकमा नेपाल पनि छ। हुने र नहुने बीचको दूरी बढाउने कारण हाम्रो पुरातन खाद्यान्नको उपेक्षा हुनसक्छ। यो कुराको उदाहरण कर्णाली प्रदेश हुन सक्छ।
राजधानीको एक होटलमा गरिएको उक्त कृषि र स्वास्थ्यलाई जोडेर तयार गरिएको कार्यक्रममा खानपान, जीवनशैली, दवाइ, अर्गानिक खाना, प्याकेटको खानाको बारेमा चर्चा गर्ने क्रममा एकजना सहभागीले भन्दै हुनुहुन्थ्यो- 'बेलैमा हाम्रा पुर्खाहरूले जानेर अदुवा र बेसार खान सिकाए नभए त हामी धेरै कमजोर हुन्थ्यौँ।' कोरोनाको समयमा बेसार र अदुवाले निकै चर्चा पायो। हामीलाई केही पनि राहत दियो।
हाम्रा खानामा रहेको मिश्रण; अमिलो, गुलियो, नुनिलो, टर्रो, तिता पाँच स्वाद स्वास्थ्यको लागि अचुक छ। माघमा घिउ, चाकु, तरुल, पिडालु, सखरखण्ड, गर्मिमा जौको सातु र सर्वत, वर्षायाम बालीको समाप्तीपछि गेडागुडि मिश्रण, बाली थन्क्याउने बेला न्वाई खाने, साउनमा खिर खाने, माघमा खित्रो, पुस पन्ध्रमा चाम्रे आदि खाने चलन पनि रोग प्रतिरोधात्मक क्षमता बढाउने अचुक विधि नै हो।
नेपाली खानामा बेसार, अदुवा, लसुन, प्याज, मेथि, जिरा, टिम्वुर, मरिच, ज्वानो र खुर्सानीको मात्रा छ जसबाट स्वास्थ्यलाई फाइदा पुग्छ। ज्वरो आए, रुघा लागे, दम बढे, घाँटी दुखे, पेट दुखे, हात गोडा दुखे,घाउचोट लागे सबैजसो दुखाइ तथा बिमारीमा बेसार अदुवा अचुक छ। काउरो, कोइरालो, सिम्लीकान, निउरो, कर्कलो जस्ता वनस्पतीलाई तरकारी र अचारको रुपमा खाने गरिन्छ जुन वनस्पती मौसमी हुन्छ।
दाल, भात, तरकारी, अचार जस्ता पुरातन खानालाई सबैमा कार्व अर्थात् कार्बोहाइड्रेट हुन्छ खान हुन्न भन्ने जमातको पछाडि लागेर नयाँ पुस्ता विचलित भइरहेको छ। हाम्रो विविध खानालाई त्यागेर हामी प्रशोधित खानातर्फ उन्मुख छौँ। हरेक घरमा नानीबाबुहरूले भात खान मन गर्दैनन्, उनीहरूको दिमाग कार्व नराम्रो भन्ने परेको छ। बरु उनीहरू कर्नफ्लेक्स र पपकर्न खान्छन्। भनाइ छ नि यदि तपाईं खानालाई औषधि जस्तो गरेर खानुहुन्न भने पछि गएर औषधिलाई खाना जस्तो गरेर खानुपर्छ। यो भनाइ हामी नेपालीबीच अति सान्दर्भिक तथा मार्मिक छ।
कालिमाटीको तरकारीदेखि जुम्लाको सिमीसम्म, नेपालका खुदोदेखि अमेरिकाको मोलासको बारेमा समेत सहभागीहरूले कार्यक्रममा चर्चा गरेका थिए। हामीले बिर्सेका खानेकुराहरूको बारेमा प्रशंसा गरियो। सल्फरमुक्त चिनीको पाउच देखेर एकजना सहभागीले आफूले गाउँमा खुदो पेल्दा त्यो पाक्दै गरेको खुदोमा अदुवा राखेर पकाएर खाएको मिठो सम्झना पनि त्यतिकै सुन्न लायक थियो। सहरमा पनि केही महानुभावहरू सक्कर हालेको चिया पिउँछन्। चिनीभन्दा सक्कर जाति भन्ने मत थियो।
आफू विज्ञापनकै मानिस भएकाले पनि सहभागीहरूबाट विज्ञापनको कारण यो सबै नसर्ने रोगको वृद्धि र मोटोपना बढेको भन्ने तर्कको विरोध गर्न मेरो धर्म थियो जसमा मैले विज्ञापन अर्थतन्त्र हो, यसले उत्पादन बढाउने, खरिद र उपभोग बढाउने भएकाले जागिर र रोजिरोटी यसमा जोडिएको छ। विज्ञापनका सकारात्मक पक्षहरू छन्।
स्वस्थ्य खानाको बहस गर्दै गर्दा मिडियाको सचेतना, विज्ञापनको सकारात्मक पक्ष बिर्सनु हुँदैन। कार्यक्रमका मुख्य श्रोत व्यक्ति दुई जना विदेशी वक्ताहरू बारम्बार काठमाडौं आउने गरेका रहेछन्। उनीहरू बाटोमा हिँड्दै गर्दा पेप्सीकोला १६ किमि भन्ने बोर्ड सडकमा देखेर त्यसको फोटो खिचेर ल्याएको हामीलाई देखाए। सहभागीहरूले त्यसमा बहुराष्ट्रिय कम्पनीको प्रभाव रहेको स्विकारे।
बेलायतस्थित ग्रीनविच र ग्लासो विश्वविद्यालयबाट आएका दुई वक्ता मध्येका एकजना बेलायती डाक्टरबाट निकै सारगर्भित भनाइ सुनियो जसमा धेरै रोग अधिक मात्रामा खाना खाएको कारणले लाग्दोरहेछ। वक्ताले आफूले केही मधुमेहका नेपाली बिरामीहरूमा गरेको अनुसन्धानमा मानिसलाई २१ सय क्यालोरी दैनिक चाहिने तर मधुमेहका बिरामीहरूलाई ८०० क्यालोरी मात्र खान दिएर औषधि छुटाउने प्रयास गरेकोमा मधुमेहका बिरामीहरूबाट भोज, पार्टी र चाडपर्व भैरहने हुँदा आफूहरूलाई ८०० मात्रले नपुग्ने सिकायत गरेको बताए। उनको अध्ययनमा क्यालोरी घटाएर औषधि घटाउन सकिन्छ। सहभागीको एक प्रश्नमा चिनी खाए मधुमेह हुने, इन्टरमिनेन्ट फाष्टिङबाट मधुमेह घटाउने सहज हुने विषयमा काब्रोहाइड्रेट क्यालोरी खाना कम गर्नु लाभदायक हुने विज्ञले बताए।
साथै उनीहरूले सडकमा फालेको फोहरको डुंगुरमा भएको हिलो पानीमाथि तैरिरहेको लेजको प्याकेट देखाउदै यो विज्ञापन अझ प्रभावकारी छ भन्ने तर्क गरे। म विज्ञापनको प्रतिनिधित्व गर्ने व्यक्ति चिनेर बारम्बार वक्ताहरू मलाई इंगित गर्दथे। विज्ञापनको कुरा गर्दा उपभोक्ता सचेतना, जागरण, बस्तु र सेवा प्रयोग विधिको प्रचार जो मानिसको जीवनस्तरसँग पनि जोडिएको छ। तसर्थ एकाध भ्रामक कुरा हेरेर समग्र विज्ञापनको विरोध गर्नु अन्यथा हुन्छ।
कुनै समय मार्सी चामलको चर्चा चल्यो जुन बेला मूलधारका नेताबाट मार्सीको भात खाँदै गरेको फोटो भाइरल बन्यो। त्यसपछि मार्सी चामलको खपत बढ्यो। मधुमेह अर्थात् चिनी रोगबाट बँच्न हाम्रा घरेलु खाना प्रर्वद्धन गर्नुपर्ने विषयमा सबैले जोडदार माग उठाए जुन कुरा प्रर्वद्धन गर्न पनि विज्ञापन नै चाहिन्छ।
डब्लुएचओको परिभाषाअनुसार 'स्वस्थ्यकर आहार नै राम्रो स्वास्थ्य र पौष्टिकताको लागि महत्वपूर्ण छ।' हाम्रो धर्म परम्परा, धर्म संस्कार, रीतिरिवाज, चाडपर्व सबै खानासँग जोडिएको छ जुन स्वास्थ्यसँग पनि जोडिएको छ। अहिले समस्या बढ्नु हाम्रो आयको मूल हिस्सा स्वास्थ्यमा औषधि उपचारमा खर्चिनुको कारण हामी हाम्रो परम्परा चाडपर्व रीतिरिवाज तथा धर्म संस्कारबाट टाढिँदै छौँ जसबाट हामी हाम्रो खानाबाट टाढा र आयातीत खानासँग नजिकै हुँदैछौँ।
काउनो, घैया, जौ, फापर, कोदो, मकै, उवा जस्ता हाम्रा अन्नमा ज्यादै ताकत रहेता पनि हामी सहरिया जीवनशैलीले घेरिएका हुनाले प्याकेटका कुराहरूमा लगाव छ नै। घरेलु खानाको प्रसंगमा जामसोम, काठमाडौं र पोखरामा किनेको फापरको पिठोको भिन्नता केलाउँदा उदाहरणबाट के पनि प्रष्ट भयो भने बजारीकरण र गुणस्तरमा कहीँ न कहीँ बदमासी छ। नगरपालिका र गाउँपालिकाले कोल्ड स्टोर बनाएर सिजनको तरकारी भण्डारण गर्ने बेसिजनमा बेच्ने गर्न सकिन्छ जसबाट पनि किसानलाई राहत हुन्छ।
दूध, दही बेचेर सहरबाट प्याकेटको दूध किन्ने किसान, फलफूल बेचेर चाउचाउ किन्ने र जातअनुसार खानपान, शिक्षा तथा जनचेतनाको अभाव, खरिदमा पितृसत्तात्मक निर्णय, फितलो कानुन अनुगमनबाट नसर्ने रोगको महामारी बढेको छ जसमा मधुमेह पनि एक हो। जाडो छल्न घिउ-चाकु, गर्मी छल्न मोही, सक्कर, पानी, सातु खाने चलन त्यसै आएको होइन। मकै घर, बनाना कटेज, भक्का, थकाली भान्सा जस्ता व्यवसायिक मोडल उदाहरण हुन्।
सहरिया जनसंख्या वृद्धिसँगै बारीको डिलमा बसेर, ब्राम्हणबाट ताउलो–खडकुलोमा पकाएको भतेरमा टपरी, बोता र ठहरमा खाने कुरा सम्भव छैन। अब हामी हाम्रो पुस्ता सबै कर्म पार्टी प्यालेसमा सम्पन्न गर्छौँ जसबाट हामी नजानिँदो रुपमा प्रशोधित खानातर्फ उन्मुख भैरहेका छौँ।