हरेक वर्ष गर्मी सकिएर जाडो लाग्दा होस् या जाडो सकिएर गर्मी लाग्दा अतिरिक्त काम सुरू हुन्छन् मेरा।
दराजमा थन्क्याएर राखेका लुगाहरू घाममा सुकाउने, सुकाएका लुगा धुने अनि धोएका लुगाहरू पुनः सुकाउने, उठाउने, पट्याउने र थन्क्याउने कामले मलाई सधैँ न्याक्छ।
गृहिणी हुँ, भन्नेले त भनिदिन्छन् कामै पो के हुन्छ र? तर कामै नभएकी म फुर्सद कतै भेट्दिनँ, आफ्नै घरमा।
बेफुर्सदिलो आफ्नै समय चोरेर केही पुस्तक पढ्न थालेकी छु। रातको केही निद्रा सापट लिएर केही भाव कोर्न थालेकी छु। दिनभरि घरै बस्ने भए पनि मौसमले काँचुली फेर्दा मलाई समयले नै डसिरहन्छ। अरू दिनभन्दा अझ चाडपर्व र शनिबार जिम्मेवारीको धामनले लखेटिरहन्छ।
शनिबारकै दिन छ सबैलाई खाना खुवाएर भान्साको काममा नाच्दैछु। मलाई भान्सा मन परेर हो कि किन हो, धेरै समय भान्सामै बित्छ। माथिल्लो तल्लामा छ भान्सा। मलाई डर लाग्छ भनेर भात खाने टेबुलमा किताब कापी साथी बनेर हाँसिरहेका छन्। हात जुठा भाँडामा नाचिरहेका छन्। सुन्छु, म्यासेन्जरमा धेरैपटक बजेको फोनको घण्टी।
फोन चार्जमा राखेर भान्साको काम छिमल्दै छु। फोनको आवाज तीव्र भएपछि जेठी छोरीले फोन ल्याएर दिन्छे। म चिसो पानीले हात पखाल्दै सोध्छु, 'कसको फोन हो नानी?'
छोरी मुस्कुराउँदै भन्छे, 'हजुरको स्कुलका साथीहरूको।'
स्कुलका साथी सुन्नेबित्तिकै भाँडा बेसिनमा छोडेर चिसै हातले फोन समाउन हतारिन्छु। निकैबेर कुराकानी हुन्छ।
बेलायतबाट सावित्रा, धुलिखेलबाट रूपा, भक्तपुरबाट तुला अनि गुर्जुधाराबाट म जोडिएका छौं, प्रविधिको रमाइलो संसारमा।
प्रायः हामी चार वटीको भलाकुसारी अलि बाक्लै हुन्छ। निकैबेर बोलेर होला मोबाइलमा ब्याट्री सकिएको रातो सूचना आउँछ। छोरीलाई अह्राउँछु, 'सुनु मेरो मोबाइल चार्जमा लगेर राखिदेऊ त।' छोरी बोल्दै भान्सा कोठामा आउँछे।
'कति रमाइलो छ है हजुरलाई। घरी भिमानका साथी। घरी कलमका साथी। घरी जनकपुरका साथी। घरी कोइराला फेमिली। मामु हजुर कति मज्जाले हाँस्न र रमाउन सक्नुहुन्छ है! आफ्ना स्कुल पढ्दाका पुराना साथीहरूसँगको ग्रुपच्याटमा।
स्कुलका साथीहरूसँग छुटेको तीसौँ वर्ष नाघिसक्यो होला तर पनि भर्खरै स्कुल पढ्दाको जस्तो उत्साह र उमङ्ग देख्छु त हजुरहरू सबैमा।
कसरी हजुरहरूको सम्बन्ध यति मजबुत बन्यो? घरी घरी त मलाई हजुरहरूको यो लोभलाग्दो आत्मीय वार्तालाप सुन्दा त डाहा पनि लाग्छ। हजुरहरूको यो कस्तो अटुट मित्रता? प्रविधिविहीन समयमा कति वर्ष भेट पनि भएन होला है हजुरहरूको? हजुरहरू बोल्दा बाल्यकालको त्यो निश्चलता आज पनि हजुरहरू प्रत्येकको अनुहारमा देख्छु। अझ पनि बाल्यकालको त्यो परम आनन्द र खुसी सबैको मुहारमा स्पष्ट देख्न पाउँदा म दंगदास पर्छु। हाउ इट्स पोसिबल? ओ माई गड! इट्स अमेजिङ! सबैका आ-आफ्ना कति घेरै जिम्मेवारीहरू होलान्। समस्याहरू होलान्। सबैका पीरका पोका पनि त बोकिनसक्नुका होलान् तर पनि कसरी हाँस्न सक्नुभएको सबै पीरव्यथा भुलेर? वाउ ! आई एम सो प्राउड अफ यू'
छोरीको प्रश्नहरू सुनेर म आफैं छक्क पर्छु 'अहो! हो त नि कति मज्जाले हामी दिल खोलेर हाँस्छौँ है! जति चिन्ता भए पनि बाल्यकालका साथीहरूसँग कुरा गरेपछि चिन्ता जति छुमन्तर हुन्छन्। कपाल फुलेर तीलचामल हुन लागिसके तर बाल्यकालका साथी जम्मा भएर कुरा गर्न थाल्यौं भने हामी सबैले आफ्नो उमेर बिर्सिएर अतीतको इन्द्रेणीका सातै रङमा नुहाउन थाल्छौं।
म अनायासै छोरीलाई भन्न पुग्छु, 'छोरी हाम्रो मित्रता अर्ग्यानिक रहेछ। सायद कमलाको पानीमा ऊर्जा भरपुर थियो। चिरकालसम्म त्यो ऊर्जाले काम गरेको जस्तो छ। मनलाई खुसी राख्ने कला भिमानको माटोले थाहै नपाइ सिकाएछ नानी।' छोरी हाँस्दै फोन बोकेर आफ्नो कोठातिर जान्छे।
म पनि बेसिनमा भाँडा माझ्दै समयको रमाइलो रेल चढेर भिमान बजारमा ओर्लन्छु।
भिमान बजारभन्दा ठीक पारिपट्टि म हुर्किएको समय छ। मेरो प्यारो गाउँ छ। घर छ। मेरी आमाको ऊर्जावान् मुहार छ। खेतको आली नै आली, कुलोको डिलैडिल, कमलाको बगरैबगर भएर भिमान स्कुल ओहोरदोहोर गरिरहेकी आफैंलाई देख्छु।
मौसमका सबै रङले रङ्गिएको वातावरणलाई चुनौती दिएर हिँडेको उमेर नियाल्छु। कहिले बर्खाको भेलमा दर्बिलो गोडा टेकेर खोला तर्दै गरेकी निर्भीक अनितालाई देख्छु।
घरी सिसौघारीबाट चोरबाढीले बगाउँदै कमलाको तलतल पुर्याउँदा रामचन्द्र र कैलाशले खोलाबाट निकालेको डरलाग्दो समय देख्छु। घरी हिउँदमा ढुङ्गाको पुल तरेर पानी नै नछोई कमला तरेको रोमाञ्चकारी दृश्य हेरेर मक्ख पर्छु।
कमला खोला तरेर एक घण्टाको बाटो छिचोलेर आउनु पर्छ स्कुल। कहिले सप्रिएका मकैघारी चारकोसे झाडीझैं हामीलाई तर्साउन सुसाएको सुन्छ। मकैको फाँट आँखाले देखुन्जेल चारैतिर दृष्टिगोचर हुन्छ। बिहान चार बजेदेखि मूलबाटोमा मानस आवाजहरू पोखिन थाल्छन्। मकैको जङ्गलमा मान्छेको आवाजले हामीलाई सुरक्षा दिन्छ। भिमान बजारमा दूध बेच्न जाने किसानहरूको पाइला पछ्याउन पाउँदा हाम्रो सासको गति अलि कम हुन्छ।
'अनिता ओइ चाँडो आइजो!' नवीन मूलबाटोको माचनेरबाट जोड जोडले मलाई बोलाउँदै छ। बिहानै ट्यूसन पढ्न जानु छ। आमा हतारिँदै नवीनलाई जानकारी दिनुहुन्छ, 'नवीन! अनिता आउनै लागि, एकैछिन पर्ख है। सातु र दूध खाँदैछे। तिमी पनि खाने भए आऊ।'
म एक सासमा सातु खाएर मूलबाटोमा पुग्छु।
सातु खाएर मुख कुल्ला गर्न पनि भ्याएकी छैन। ऊ मलाई कुरेर बसिरहेको छ। चोर बिरालोले दूध खाएर भागेझैं ओठको तलमाथि जिब्रो घुमाउँछु। दूध बेच्न हिँडेका मान्छेको सारमा हिँड्दा मेरो सासले ठूलै खलाँती फुक्न थाल्छ। मकैघारीको बाटोभरि हाम्रो वाक्य फुट्दैन। कमलाको बगरतिरबाट एकैचोटि स्यालहरू कराउँछन्। म झसङ्ग हुन्छु अनि अझ दगुर्छु। खोला तरिसक्दा पूर्वबाट सूर्यले एक अँगालो उज्यालो पोखिदिन्छ, हामी हिँड्ने बाटोभरि।
उज्यालोमा हाम्रा पाइलाहरू उड्न थाल्छन्। बजार छिचोलेर हामी गुणराज सरको आँगनमा पुग्छौं।
सरसँग हिसाब सिक्न गुन्द्रीभरि सूर्यको प्रकाश छरिएझैं छरिएका छौं हामीहरू पनि। करिब डेढ घण्टा हिसाबमा हराएपछि अंग्रेजी भाषाको समरमा तुलाको घरतिर खुर्मुरिन्छौं। सृजनात्मक उमेरमा पनि अंग्रेजीको भूतले तर्साउन थालिसकेको छ।
डर पसेर हो या महत्तो सरसँग समीकरण नै नमिलेर हो अङ्ग्रेजीसँग सम्बन्ध नै मजबुत हुन सकेन।
दुई औंलाको बीचमा पेन राखेर फनन पार्ने सरको बानी देखेर अङ्ग्रेजीसँग झन् बोल्नै मन लाग्दैन। एक घण्टाको निरस समय तन्किएर नाइल नदी बन्न पुग्छ। उत्तिनखेर पेटमा आन्द्राहरू बाझ्न थाल्छन्, टाउको दुख्न थाल्छ। स्कुल जाने समय भएको जानकारी पेटले मज्जाले दिन्छ। बल्लतल्ल अङ्ग्रेजीको डरलाग्दो गुफाको ढोका खुल्छ। अनुहार उज्यालो हुन्छ। गोडाहरू ऊर्जाशील हुन्छन्।
हामी पुष्पराज होटलतिर ओरालिन्छौं। मलाई पुष्पराज होटलभन्दा रूपाको होटल भन्न असाध्यै मनपर्छ। रूपा मेरी प्रिय सखी। नाम जस्तै रूपवती छे रूपा। रूप मात्र होइन मान्छे पनि सारै असल। आफ्नो उत्कृष्ट व्यवहारले सबै साथीहरूलाई मोहनी नै लगाउँछे ऊ। उसको होटल हाम्रो लागि घर नै भएको छ। खाना खानको लागि पैसा तत्काल तिर्नु पर्दैन, हाम्रो पनि कर्मचारीहरूको जस्तै खाता छ नि! आइतबार, सोमबार, मङ्गलबार सादा खाना। बुधबार सादा भातमा दही। बिहीबार पुनः सादा भात। शुक्रबार कुखुराको मासु र भात। सादा भातमा लसुनले झानेको मुसुरोको दाल। लोकल गोलभेँडाको पीरो अचार। आलुको मसिनो भुजिया नियमित छ। अनि मौसम अनुसारको तरकारी नै चौरासी व्यञ्जन हुन्छ।
नवीनको खातामा मेरो भन्दा अलि नै बढी दहीको फरमान छ। मलाई चाहिँ भातसँग दही त्यति मिठो लाग्दैन। तर कहिलेकाहीँ मलाई भात निल्न गाह्रो हुन्छ, आमाको भान्सा जिब्रोमा आउँछ। एक गाँस नै निल्न सक्दिनँ। त्यो बेला रूपा ठूली दिदी भएर म नजिकै आउँछे।
'ओई कति भात खेलाएर बसेकी। चाँडो खा अबेर हुन्छ स्कुल जान।' रूपा मैले खाएको बेन्चमा आएर हेर्छे। मेरो मुख नमिठो भएको रूपाले चाल पाइहाली, आमाले जस्तै। अनि मायालु पाराले सोध्छे , ‘तरकारी मिठो लागेन हो? मासु खान्छेस् त?'
म रून्चे अनुहार लगाएर पुलुक्क रूपाको मुख हेर्दै भन्न पुग्छु, 'आज शुक्रबार होइन, अनि?'
भात मिठो नलागेपछि मलाई हप्तैभरि शुक्रबार भैदिए पनि हुनेझैं लाग्छ। मासु खाने पालो शुक्रबार मात्र छ। खातामा आमाले लेखाए अनुसार नै खाना मिल्छ। मैले त्यसो भनेपछि रूपाको अनुहारमा बादल लाग्छ। रूपा पल्याकपुलुक हेर्छे बाआमालाई। हामीले खाना खाने ठाउँभन्दा ठ्याक्कै भित्रपट्टि छ होटलको भान्सा। अग्लो ठाउँमा माटोको दुईमुखे ठूलो चुलोमा भात, दाल हाँसिरहेको छ। बाहिरको अर्को चुलोमा हेर्दै खाऊँ खाऊँ लाग्ने मासु पाकिरहेको छ। त्यो मासुको बास्ना बेजोडले फैलिएको छ होटलभरि। दालभात भित्र पाकाएर मासु चाहिँ किन बाहिरको चुलोमा पाक्छ सधैं? यो प्रश्नको उत्तर त्यतिबेला अझ स्पष्ट हुन्छ जब भात नमिठो लागेर मासुको बास्नामा स्वाद खोज्न थाल्छु। म बुझ्दैछु बास्नाको विज्ञान। सादा खाना खान्छु भनेर बसेको मान्छेले पनि त्यो मासुको बास्ना सुँघेपछि मासु नखाई छोड्दैनन्। मैले पनि कतिचोटि मासुको बास्ना सुँघेर सादा भात चपाएकी छु। धन्न रूपा मेरी हो नत्र बासनाको पैसा पनि आमासँग लिन्थी होली। भात खान छोडेर कुरा चपाएको रूपाले चाल पाउँछे। मैले अलमल गरेको थाहा पाएपछि रूपा नजिकै आएर इसारा गर्दै साउती मार्छे ,'ओइ ! भात लिएर भित्र आइज।' म पनि लुरुक्क परेर भातको थाल बोक्दै रूपासँग भात खान भित्रै झिर्छु।
‘ओई! तँ पनि मासुको झोलसँग भात खा। चोक्टालाई पो पैसा पर्छ त झोललाई पर्दैन।' रूपा फुस्फुसाउँदै मासुको झोल मेरो भातमा खन्याउँछे। म पनि सपासप भात थपेर खान थाल्छु। बाआमाको आँखा छलेर आफ्नो भागबाट फुत्त मासु झिकेर भन्छे –'ला खा फल मासु हो ।' म पनि क्वाप्प मुखमा हाल्छु।'
जिब्रो टोकिन्छ, म झल्याँस्स हुन्छु। अझै बेसिनमै हराएकी रहेछु। अतीतको रेल पुनः गुर्जुधारा आएर भान्सामा रोकिएको थाहै भएन।
हाम्रो मित्रता कति मजबुत बनेको रहेछ भन्ने कुरा यी र यस्तै आत्मीय बानीले म सम्झिँदै छु। छोरी पुनः बोल्दै आउँछे, ‘मामु हजुरको फोन फेरि आयो। तल नै आउनू है। म आर्टिकल लेख्दै छु। म त मोबाइल ल्याउन सक्दिनँ अब।'
भान्साको काम अझ सकिएको छैन। हतार भएको छ। म माथिबाट भन्छु 'सुनु वाइफाई बन्द गरेर मोबाइल चार्ज गर्देऊ। मलाई हतार भएको छ।'
छोरी हाँस्दै अझ जोडले कराउँछे –'हजुरको कलमको साथी भन्ने ग्रुपबाट फोन आएको छ वाइफाई बन्द गरिदिऊँ।'
म हतारिँदै भन्छु, 'पख पख म नै तल आएँ। केही काम भए र त कल गरेका होलान् नि।'
दुवै छोरीहरू मरीमरी हाँस्दै आ-आफ्नो कोठातिर जान्छन्। म फोनमा निकैबेर पुनः हराउँछु।