दुरबिन बोकेर एयरपोर्टको टर्मिनलबाट बाहिर हेर्दै गरेको मलाई कसैले सोध्यो, 'के हेरिरहेको?'
'चरा,' भनेर म मुसुक्क हाँसेँ।
चरा हेर्ने लामो यात्रामा निस्किँदा म टर्मिनलमै पनि बाहिरतिर हेरिरहेको हुन्छु। आफू वरिपरि नियालेर घोरिने बानी परेको छ। घोरिएको देखेर मान्छेहरू मलाई अनेक प्रश्न सोध्न आउँछन्।
मेरो उत्तर भने सधैं उस्तै हुन्छ — चरा।
मान्छेले दिने प्रतिक्रिया, उल्टै सोध्ने प्रश्न पनि कम रमाइला हुँदैनन्।
कसैले आफ्नो घरको 'फिडर' मा आउने चराबारे बताउँछन्, कसैले आफू पनि चराप्रेमी भएको भन्छन्। कसैले आफूलाई मनपर्ने चराको बखान गर्छन्। कहिलेकाहीँ त चरा देखेर डर लाग्छ भन्ने मान्छे पनि भेटिन्छन्।
चरा देखेरै डराउने मान्छे भेट्दा सुरूमा मै अचम्म परेको थिएँ। अचेल सामान्य लाग्छ।
त्यो दिन उनले भने मलाई कहाँ र किन जान लागेको भनेर सोधेका थिए।
चरा खोज्न क्यालिफोर्निया जान लागेको भनेपछि उनले अचम्म मानेर एकछिन मलाई हेरे।
अनि सोधे, 'चरै खोज्न भनेर त्यहाँसम्म?'
'हजुर!'
मैले उनलाई भन्न सकिनँ, चरा खोज्नेहरूको संसार विचित्रको छ। यो विचित्र संसारमा फसेपछि यसले आफूतिरै तानिरहन्छ। सानो चरा देखेर लाग्ने रमाइलोको कुनै वर्णन गर्न सकिँदैन। एउटा चरा खोज्न घन्टौं बिताइदिन सक्ने धैर्य कहाँबाट आउँछ, हामीलाई पनि थाहा हुँदैन।
मान्छेहरूलाई चराको आकर्षणले किन तान्छ भन्ने प्रश्नको कुनै उत्तर छैन। बुद्धि विकास हुँदै जाँदा उत्सुकता भरिएको मान्छेलाई सायद संसार देखेर आश्चर्य जाग्यो होला। आफ्नो वरिपरिका जीवजन्तु र वनस्पतिहरूसँग आकर्षित हुँदै गए होलान्। तिनका क्रियाकलाप देखेर रमाए होलान्।
चरा अवलोकन (बर्डिङ) मा मान्छेहरूले धेरै प्रगति गरेका छन्। चरा हेर्ने सोख र अनुसन्धानका विधिहरू बनाए। चरा खोज्ने, तिनको रेकर्ड राख्ने र यसमा प्रतिस्पर्धा गर्ने आफ्नै संस्कृति बसालेका छन्।
त्यहीमध्ये हो अमेरिकी बर्डिङ संसारमा चलेको 'बिग इयर' अर्थात् 'ठूलो वर्ष'।
ठूलो वर्षको अर्थ एकै वर्षमा सबभन्दा धेरै चरा खोज्नु हो। सन् १९७३ मा अमेरिकाको क्यान्सस सहरका १९ वर्षीय केन कफम्यानले वर्षमा ६ सय ७१ प्रजातिका चरा भेटेर रेकर्ड राखे। उनले त्यो वर्ष जतिसक्दो धेरै चरा भेट्ने र तिनको विवरण राख्ने लक्ष्य राखेका थिए। ती किशोरसँग न आफ्नो गाडी थियो, न जागिर। बाटोमा मान्छेहरूसँग लिफ्ट मागेर हुन्छ कि, धेरै हिँडेर हुन्छ, उनले आफ्नो इच्छा पूरा गरेरै छोडे। पछि त्यो रमाइलो यात्रा र गतिविधि बारे 'किङ्बर्ड हाइवे' भन्ने किताबै लेखे।
अमेरिकी बर्ड वाचर फिबी स्नेटसिंगरलाई क्यान्सर लागेको थियो। डाक्टरले ६ महिना मात्र बाँच्छौं भनेपछि उनी त्यही समयमा चरा हेर्न निस्किइन्। आफ्नो जीवनभरि ८ हजार ३ सय ९८ प्रजातिका चरा भेटेको रेकर्ड बनाइन्। यति धेरै चरा देख्ने र रेकर्ड राख्ने उनी संसारमै पहिलो व्यक्ति थिइन्।
नोआ स्ट्राइकरले सन् २०१५ मा एकै वर्षमा विश्वभरिका सबभन्दा धेरै चरा देखेर अर्को विश्व कीर्तिमान कायम गरे। उनले एकै वर्षमा ६ हजार ४२ प्रजातिका चरा देखेको रेकर्ड उतारेका छन्।
गएको वर्ष म पनि आफ्नो सानो संस्करणको 'बिग इयर' मा लागेको थिएँ। त्यो वर्ष पाँच सय प्रजातिका नयाँ चरा भेट्ने लक्ष्य थियो।
विश्वमा दस हजारभन्दा धेरै प्रजातिका चरा छन्। त्यही पनि एक-दुई देश घुम्दा समेत पाँच सय चरा जम्मा गर्न गाह्रो हुन्छ।
सन् २०२३ को पहिलो दिन म चितवन राष्ट्र निकुञ्जमा थिएँ। नेपालमा चरा भेट्न सबभन्दा राम्रो ठाउँ हो चितवन।
पहिलो दिन नै एक सय एक प्रजातिका चरा भेटिएका थिए।
चितवनबाट फर्केकै साता म अमेरिका फर्किएँ। म बस्ने फार्गोमा चिसो रहँदासम्म खासै चरा पाइने आस थिएन। बसन्त ऋतु सुरू नभई चराहरू जम्मा हुँदैनन्।
बसन्त ऋतुको सुरूआतमै अमेरिकाको पूर्वी क्षेत्रको म्यागी मार्स डुल्न जाने योजना थियो। त्यो चरा यात्राबारे मैले लेखिसकेँ।
फार्गो फर्किएपछि आफू बस्ने ठाउँभन्दा एक घन्टा पर एउटा नयाँ लाइफर (पहिलोपटक देखेको चरा) भेटेँ — अपल्यान्ड स्यान्डपाइपर।
यो चरा मैले केही वर्षदेखि खोजिरहेको थिएँ। घाँसे मैदानतिर बस्न रूचाउने यो चरा मैले भेट्दा गाईवस्तुसँगै फाँटमा चरिरहेको थियो।
बेर्ड्स स्प्यारो म बस्ने राज्य नर्थ डकोटाको मध्य भागमा प्रजननको समयमा जम्मा हुन्छन्। एकपटक म तिनकै खोजीमा लागेँ। घाँसे मैदानमा बस्न र प्रजनन गर्न रूचाउने यो चरा खोज्न निकै गाह्रो रहेछ। १०-१५ किलोमिटर घाँसे मैदान हिँड्दा पनि बेर्ड्स स्प्यारो भेटिएन।
तर त्यो यात्रामा अरू दुई लाइफर भेटेँ।
मेरो अहिलेसम्मकै लाइफर नम्बर ६५३ भेट्दाको घटना रोचक थियो।
समुद्रतिर पाइनेमध्ये मलाई एकदम देख्न मन लागेको चरामा पर्छ 'एगर'। जर्मन भाषामा एगर भन्नाले सिकारी बुझिन्छ। अट्लान्टिक वा प्रशान्त महासागरतिर पाइने यो चरा म बस्ने ठाउँभन्दा ४ घन्टा पर मिनेसोटास्थित दुलुथ सहरको सुपेरियर तालमा आइपुगेको थियो।
'इबर्ड' मा यो सूचना देखेपछि म हतारिँदै दुलुथतिर हिँडे।
इबर्डमा ९/१० ठाउँमा चरा छ है भन्ने जानकारी थियो।
ठाउँ भनिए पनि यही हाँगा, यही रूख भन्ने जानकारी त इबर्डमा हुने कुरा भएन। म तीन ठाउँ पुगेँ। एगर कतै देखिएन। केही हप्ताअगाडि एउटा तटमा देखिएको रहेछ। त्यता पनि प्रयास गर्नुपर्यो भनेर हिँडेँ।
तालछेउ बालुवाको तटमा जुत्ता खोलेर हिँड्दै थिएँ। त्यो तट त हजारौं मान्छेले भरिएको थियो। वरपर कतै चराहरूको नामोनिसान थिएन।
कहिलेकाहीँ आफूले खोजेको चरा पाँच वर्षसम्म नि भेटिँदैन — म आफैंलाई सम्झाउन थालेँ।
तर कहिलेकाहीँ आफूले खोजिरहेको चरा उडेर आफ्नै अगाडि आएर बसिदिन बेर लगाउन्न नि!
आफैंसँग गफ गर्दै रनभुल्ल परिरहेका बेला एउटा चरा उडेर अगाडि आयो।
के यही यो र एगर?
मेरा आँखा चनाखा भए।
त्यो चरा उडेर एउटा जोडीको अगाडि गएर बस्यो। उनीहरू सायद पिकनिक मनाउँदै थिए। सानो ढुंगाले हानेर भगाउन खोजे।
म त 'ए...!' भनेर कराएछु।
धन्न उनीहरूको सानो ढुंगाले त्यो चरा उडेन र मैले तस्बिर लिन पाएँ — लाइफर नम्बर ६५३ पारासिटिक एगर।
त्यस्तै रोचक भयो लाइफर नम्बर ६५६ भेट्दा।
'रेल' प्रजातिका चराहरू स-साना सिमसारतिर बस्छन्। एक त पानीको वरपर पाइने झारहरूमा बस्ने, त्यसमाथि सानो हुने भएकाले यिनको खोजी मुस्किल हुन्छ। तीमध्ये खोज्न झन् गाह्रो हुन्छ 'यल्लो रेल'
धेरै वर्षसम्म बर्डिङ गरेकाहरूले पनि आफ्नो जीवनसूचीमा हाल्न नसक्ने चरामा पर्छ यो। मैले पनि आश मारिसकेको थिएँ। फार्गोमा देखिएला भन्ने त चिताएकै थिइनँ।
एक दिन बिहान फार्गो नै बस्ने दीपेन्द्र दाइ हस्याङफस्याङ गर्दै आए।
'अनुज, मैले यहाँ घरबाहिर एउटा चरा भेटेको छु,' उनले भने।
माइग्रेसनको ताका धेरै चराहरू थाकेर वा उड्ने क्रममा ऐनामा ठोक्किएर झर्छन्। तिनै होलान् भन्ने सोच्दै म दाइको पछिपछि लागेँ।
यल्लो रेल पो रहेछ!
देख्छु भन्ने आशै मारेको चरा घरको झ्यालबाहिर आएर बसेको देखेर म दंगै परेँ।
केही दिनपछि फेरि फार्गोमै दुइटा लाइफर थपिए — स्याबिन्स गल र रेड फ्यालारोप।
स्याबिन्स गल मेरो वर्षका लागि ३८३ नम्बरको चरा थियो।
पाँच सय पुग्न धेरै चराहरू बाँकी थिए। आफ्नो लक्ष्यमा पुग्न नोभेम्बर महिनामा म पश्चिमी टेक्ससतिर चरा हेर्न गएँ। टेक्ससमा पुग्नु र 'ग्रे कलर्ड बकार्ड' अमेरिकामा दोस्रोपटक देखा पर्नु मात्र संयोग थिएन, भोलिपल्ट उसलाई मैले आफ्नै आँखाले देख्न पाएँ।
मेरो लाइफर नम्बर ६९४ — रोडसाइड हक।
यो चरा अमेरिकामा देख्न निकै मुस्किल पर्छ।
चरा खोजेर फर्किँदा साँझ परेको थियो। गाडी हुइँक्याउँदै साथी र म जिन्दगीबारे गफ गरिरहेका थियौं। एक्कासि गाडीअगाडि एउटा सेतो चरा उडेर आयो।
बार्न आवल (उल्लु) रहेछ।
टेक्ससको यात्रामा मैले ३६ वटा लाइफर जम्मा गरेँ।
बाँकी चरा मैले फार्गोमा पाउँदिन थिएँ। कुनै नयाँ ठाउँ जानुपर्थ्यो। पाँच सय पुर्याएरै छोड्छु भन्ने अठोट लिएको थिएँ।
'क्यालिफोर्निया जानु नै उचित हुन्छ,' कहाँ जाने सोचिरहेका बेला मेरो मनले फ्याट्ट भन्यो।
त्यसपछि म क्यालिफोर्नियाको सनफ्रान्सिस्को जान हिँडेँ। मेरो चरा अवलोकन टर्मिनलबाटै सुरू भएको थियो। अनि म घोरिएको देखेर ती अपरिचित व्यक्तिले छक्क परेर सोधेका थिए।
साथी राजेश म जान लागेको ठाउँतिरै बस्थ्यो। म क्रिसमसको एक दिनअगाडि सनफ्रान्सिस्को पुगेँ।
एक हप्ता बाँकी थियो — ६२ चरा भेटेँ भने लक्ष्य पुग्थ्यो।
राती १२ बजे म राजेशको घर पुगेँ। त्यतिखेर त चरा पाइने कुरा मेरो मनमा थिएन। ओछ्यानमा पल्टेर राजेशसँग कुरा गर्दै गर्दा बाहिर ग्रेट हर्न्ड आवल (उल्लु) कराएको सुनियो।
क्यालिफोर्नियाको यात्रा नै उल्लुबाट सुरू भयो। राती बसेर भोलिपल्ट कहाँ कहाँ जान सकिन्छ भनेर हेर्न थालियो। क्यालिफोर्नियामा मलाई एकदमै हेर्न मन लागेको चरा थियो 'क्यालिफोर्निया कन्डर'।
यो एक प्रकारको गिद्ध हो। सन् १९८० ताका अमेरिकामा करिब बीसवटा जति बाँकी भएका यी चरा संरक्षणवादी र वैज्ञानिकहरूको मेहनतले अहिले पाँच सय जति पुगेका छन्।
राजेशले कन्डर देखिसकेको रहेछ। उसले क्यालिफोर्नियाको पिनकल्स नेसनल पार्कमा देखेको बताएपछि हामी त्यतै जाने भयौं। ठाउँ पनि राम्रो रहेछ, नेपालकै याद दिलायो।
राष्ट्रिय निकुञ्जको पार्किङ लटमा पुग्न नपाई ओकटिट्माउस र क्यालिफोर्निया स्क्रबज मेरो लाइफर लिस्टमा जोडिए। निकुञ्जका डाँडा चढ्दै गर्दा हामी नेपालमा पाइने चराहरूको कुरा गर्दै थियौं। पाँच-सात किलोमिटर हिँड्दा पनि कन्डरको नामनिशान थिएन। आकाशमा टन्नै रेभन (राजा काग) र टर्की भल्चरहरू भने देखिन्थे।
'पहिले देखेको कतातिर हो?' मैले राजेशलाई सोधेँ।
'यतैतिर हो मैले देखेको त, टन्नै देखिएको थियो,' उसले भन्यो।
'कत्रो थियो देख्दा?'
उसले टर्की भल्चरतिर देखाएर त्यो जत्रै भन्यो।
'हत्तेरी! हो र?' म अचम्म परेँ।
म अचम्म परेको देखेर ऊ अलमलियो।
'किन र?'
'कहाँ यत्रो सानो हुनु त? आकाशमा हुँदा त सानो तिनो प्लेनजस्तै हुन्छ,' मैले भनेँ।
डाँडाको टुप्पोमा पुगेर तल झर्दा पनि कन्डर देखिएको थिएन। क्षितिजमा बादलले डाँडा ढाकेझैं कन्डर देख्ने मेरो आशमा बादल लाग्न थाल्यो।
एक जना मान्छे हामीसँग 'टनेल ट्रेल' जाने बाटो सोध्न आए। हामीले बाटो देखाएपछि उनले हामीलाई के खोज्दै हिँडिरहेका छौ भनेर सोधे।
'कन्डर,' मैले भनेँ।
उनले खुसी हुँदै मलाई भनिदिए, 'एक माइल पर गयौ भने एउटा रूखमा तिमीले दुइटा कन्डर देख्छौ।'
राजेश र मेरो हिँडाइको गति बढ्यो। लागेको थकाइ एकैचोटि हराएर अर्कै प्रकारको जोस आयो।
तर एक माइलभन्दा धेरै हिँडिसक्दा पनि कन्डर देखिएन।
तीव्र गतिमा ओरालो हिँड्दै गर्दा मैले राजेशलाई भनेँ, 'त्यो मान्छेले नि टर्की भल्चर नै पो देखेको हो कि क्या हो?'
राजेश हाँस्यो।
केही बेरपछि मैले भनेँ — अब त भेटिन्न होला!
ठ्याक्कै त्यतिबेला मैले पर रूखमा ठूलो आकार देखेँ। मुटुको ढुकढुकी बढ्यो।
हतार हतार दुरबिन झिकेर रूखतिर हेरेँ, देखेँ — क्यालिफोर्निया कन्डर।
लाइफर नम्बर ६९७।
राजेशले धेरै बेरसम्म त्यो कन्डरलाई हेरिरह्यो। हामी लगभग त्यहाँ २०-२५ मिनेट नै त्यो कन्डर हेरेर बस्यौं। ट्रेलमा हिँडिरहेका दुई जोडीलाई पनि कन्डर देखायौं। उनीहरू खुसी भए।
ल तिमीहरूलाई हेर्न पुग्यो भने जसरी ती दुवै चराले उडान भरे।
मैले हाँसेर राजेशलाई सोधेँ, 'छैन त प्लेनजस्तै देखिने?'
हुन पनि कन्डर आकाशमा उड्दा सानोतिनो प्लेनजस्तो देखिन्थ्यो। पखेटाको कुल लम्बाइ लगभग दस फिट हुने त्यो चरा आनन्दले आकाशमा उडिरह्यो। मेरो मन पनि त्यही कन्डरसँगै बतासियो।
त्यही यात्रामा मैले मेरो लाइफर सूचीको नम्बर ७०० कटाएको थिएँ।
७०० नम्बरमा थियो ओकटिट्माउस।
भोलिपल्ट राजेशको बिदा थिएन। म एक्लै ट्रेन चढेर सनफ्रान्सिस्कोको प्रसिद्ध गोल्डेन गेट पार्कतिर लागेँ।
त्यहाँ बिहानै पुगेर चरा खोज्न थालेँ। सहरको बीचमा जंगलै भन्न मिल्ने पार्क देखेर मन लोभियो। त्यहाँ पनि मैले ६ वटा लाइफर जोडेँ।
६-७ घन्टा त्यही पार्कमा चरा हेरेर बिताएँ।
चराकै खोजीमा डुलिरहेका तीन जनाको एउटा टोलीले मलाई ओसन बिच (किनार) तिर गए अझै धेरै चरा देख्न सकिने बताए।
भोलिपल्ट म ओसन बिच गएँ, दुइटा लाइफर जोडेँ।
ती दुईमा 'स्नोइ प्लभर' मलाई एकदम मनपर्यो। सानो प्रकारको यो राजपुत्रिका चरा एकदम रमाइला हुने रहेछ। समुद्री तटमा कुदिरहने!
लाइफर नम्बर ७१९ स्नोइ प्लभर हेरेर म रमाइरहेको थिएँ।
भुइँमा बसेर फोटो खिच्दै गर्दा पछाडि कोही कराएको सुनेँ। फर्केर हेरेको मानिसहरू मलाई नै केही भनिरहेका रहेछन्। समुद्रको छालले त मलाई पछ्याउँदै रहेछ। उठेर कुद्दा कुद्दै पानीले भिजाइहाल्यो।
अन्तिम दिन, चरा खोजीमा राजेशले भुइँमा लुकेर बसेको बरोइङ आवल पत्ता लगायो। यो उल्लु भुइँमा प्वालभित्र बस्छ।
चितवनदेखि क्यालिफोर्नियाको यात्राको अन्त्यसम्म मैले ४७६ चराहरू मात्र भेटेँ। त्यो वर्षको लक्ष्य पाँच सय पुर्याउन सकिएन।
तर जति भेटिए, तिनले दिएको मज्जा र यात्रामा सिकिएका कुराको भने नम्बरमा गणना गर्न सकिन्न।
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
(लेखक अनुज घिमिरेले नर्थ डाकोटा स्टेट युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन्।)